निजी क्षेत्रका २० आयोजनामा २ अर्ब ३१ करोडको क्षति

ट्रेन्डिङ

NA Media
गत बिहीबारदेखि लगातार रूपमा परेको वर्षाका कारण निजी क्षेत्रका २० जलविद्युत् आयोजनाका साथै आधा दर्जनभन्दा बढी सरकारी आयोजना प्रभावित भएका छन् ।
अविरल वर्षाले जलविद्युत् आयोजनाका साथै प्रसारण लाइनमा पनि क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको गोदक दमक खन्डको ५१ र ५२ न टावरमा पूर्ण क्षति पुगेको छ । यसैगरी, ५० र ५३ नं. टावरमा आंशिक क्षति भएको छ । यसले गर्दा काबेली कोरिडोरमा जोडिने १ सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

बाढीका कारण १८ बढी आयोजनामा क्षति पुगेको जनाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विगतको भन्दा फरक र ठूलो बाढी आएका कारण पनि जलविद्युत् आयोजनाहरूमा बढी क्षति भएको बताए । उनका अनुसार अहिलेसम्म प्राप्त भएको तथ्यांकनुसार २० आयोजना प्रभावित भएका र १८ आयोजनामा क्षति पुगेको छ । आयोजनास्थलसँगको सम्पर्क टुटेकाले यो संख्या अझ बढ्नसक्ने उनले बताए

जलविद्युत् आयोजनाको पावरहाउस, हेडवक्र्स र सामानहरू बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको इप्पानको तथ्यांक छ । बाढीका कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँचमार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उनको भनाइ छ ।

धेरै जलविद्युत् आयोजनाहरू लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको इप्पान अध्यक्ष कार्कीले बताए । बाढीपीडित आयोजनालाई राहत दिनका लागि आयोजनाका सामानमा राज्यले लगाएको २८ प्रतिशत कर हटाउनुपर्ने माग उनले गरे ।

बाढीबाट २ अर्ब ३१ करोड रुपैयाँबराबरको क्षति भएको आँकलन भएको उनले बताए । गत वर्ष पनि ३१ वटा आयोजनामा क्षति भएको उल्लेख गर्दै इप्पान अध्यक्ष कार्कीले भएका आयोजनाहरूमा सरकारले राहत र भ्याट छुट दिने भने पनि १ वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए ।

इप्पानका अनुसार मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बाग्मती साना जलविद्युत् आयोजना (मकवानपुर पावरहाउस) पूर्ण रूपमा डुबेको छ । बाँध क्षेत्रमा करिब १ अर्ब रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

यसैगरी, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव १ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा करिब २५ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

त्यस्तै, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समा क्षति पुगी उत्पादन बन्द भएको छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजना, इलाममा बाँध र टेलरेसमा क्षति पुगी उत्पादन बन्द भएको छ । सो आयोजनामा करिब ५ करोड रुपैयाँबराबर क्षति भएको आँकलन गरिएको छ ।

सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९ दशमलव ६ मेगावाटको माइखोला जलविद्युत् आयोजना इलाममा पनि करिब ७ करोड रुपैयाँबराबर क्षति पुगेको छ ।

फेमेखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पूर्ण रूपमा क्षति हुँदा करिब १० करोड रुपैयाँबराबर क्षति भएको छ । त्यस्तै, ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति हुँदा करिब २ करोड रुपैयाँबराबर क्षति भएको दाबी गरिएको छ ।

यसैगरी, ४० मेवाको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ । २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पनि पहुँचमार्गमा ठूलो क्षति भएको इप्पानले जनाएको छ ।

२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ भने तीनवटा कन्टेनर बगाउँदा करिब १० करोड रुपैयाँबराबर क्षति भएको जनाइएको छ ।

५ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति भएको, प्रसारण लाइनको टावर ढलेको, र पावरहाउसमा जडान गर्न ल्याइएका सामग्री बगाउँदा करिब १० करोड रुपैयाँबराबर क्षति भएको इप्पानको दाबी छ ।

त्यसैगरी, सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पावरहाउस पुरिएको छ । सो हाइड्रोको बाँधमा क्षति पुगेको छ भने अस्थायी पुल बगाएको हुँदा करिब ७ करोड रुपैयाँबराबर क्षति भएको इप्पानले जनाएको छ ।

सभाखोला ‘सी’ जलविद्युत् आयोजनामा पनि करिब ३ करोड रुपैयाँबराबर क्षति पुगेको छ । त्यस्तै, ८६ दशमलव ५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत्मा पहुँचमार्गमा क्षति पुगी करिब ८ करोड रुपैयाँबराबरको क्षति भएको छ ।

सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका दुईवटा स्काभेटर, दुईवटा लोडर र तीनवटा ट्रिपर बगाएको छ । यसैगरी, बेलिब्रिज र पावरहाउस स्काभेसन पुरिएको छ । यसबाट करिब २५ करोड रुपैयाँबराबरको क्षति भएको जनाइएको छ ।

२० मेगावाटको लाङटाङखोला जलविद्युत् आयोजनाको बाँध, क्याम्पहाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ । यसैगरी, खानीखोला जलविद्युत् आयोजनाको पावरहाउस डुबेको छ भने प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुग्नुका साथै पहुँचमार्ग धेरै ठाउँमा क्षतविक्षत हुँदा करिब १० करोड रुपैयाँबराबरको क्षति भएको जनाइएको छ ।

टुंगुन ठोस्ने जलविद्युत् आयोजनाको पावरहाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुग्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको इप्पानको भनाइ छ । यस्तै, १४ दशमलव ९ मेगावाटको मायाखोला जलविद्युत् आयोजनामा पनि २ करोड रुपैयाँबराबरको क्षति पुगेको छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025