डा.सविता थापा
प्रसुती तथा स्त्री रोग विशेषज्ञ
गर्भावस्थाको पाँचौं महिनामा गर्भमा रहेको बच्चाले हलचल गर्न थाल्छ । जसले आमालाई मीठो नौलो अनुभूति दिन्छ । बच्चाको तीव्र रुपमा भइरहेको विकासले यो महिनामा हल्का दुखाइ र असहज हुनसक्छ । जुन सामान्य हो ।
पाँचौं महिनाको अन्त्यसम्म गर्भावस्थाको आधा समय पार भइसकेको हुन्छ । यो महिनादेखि महिलाले बढी आराम गर्नुपर्छ ।
गर्भावस्थाको पाँचौं महिना १८ देखि २२ साताको बीचको समय हो । यो समयमा पाठेघरको आकार खर्बुजाको आकारमा बढ्दै जान्छ । सम्भवतः यो समय शरीरको तौल पनि बढ्ने हुँदा लुगा पनि खुकुलो र पहिलेको भन्दा ठूलो लगाउनुपर्ने हुन्छ ।
पेटको आकार बढेसँगै अङ्गहरू माथितर्फ धकेलिन्छ । जसकारण छाती पोलेको जस्तो पनि अनुभव हुनसक्छ । पेटको दबाब मूत्रथैलीमा पनि पर्ने हुँदा पटक-पटक पिसाब लाग्न सक्छ ।
लक्षण के कस्तो रहन्छ ?
– थप थकान महसुस हुनसक्छ ।
– यस अवधिमा पेटको दुखाइ, खुट्टा सुन्निने र तल्लो ढाडमा दुखाइ हुनसक्छ ।
– कब्जियतको समस्या ।
– गिजाबाट कमजोर हुनसक्छ ।
– यस अवधिमा धेरै महिलालाई सास फेर्न समस्या हुनसक्छ ।
– सेतो पानी बग्ने समस्या ।
– हर्मोनल परिवर्तनका कारण महिलाले तनाव र चिन्तित महसुस गर्न सक्छन् ।
– महिलाको नाकबाट रगत बग्ने पनि हुनसक्छ ।
– महिलाहरूलाई पहिलेको तुलनामा धेरै भोक लाग्न सक्छ ।
पाँचौं महिनामा बच्चाको विकासको गति
– यस अवधिमा बच्चा १३ देखि २५ सेन्टिमिटर अग्लो हुन सक्छ । साथै, बच्चाको वजन २०० देखि ३०० ग्रामसम्म हुनसक्छ ।
– बच्चाको मांसपेशी र हड्डी बाक्लो हुन्छ । जसकारण उनीहरुको हात, खुट्टा र औंलाहरु पूर्ण रूपले पनि बन्छन् ।
– गर्भावस्थाको पाँचौं महिनामा बच्चाको कपाल, कान, नङ लगायत अङ्ग बन्न थाल्छ ।
– बच्चाको मस्तिष्क र प्रतिरक्षा प्रणालीको विकास लगातार हुँदा बच्चा दिनप्रतिदिन सक्रिय हुन्छ ।
– बच्चा चलेको महसुस उसले गरेको हलचल पेट बाहिरै पनि देख्न सकिन्छ । जसलाई लात हानेको पनि भन्ने गरिन्छ ।
– यदि बच्चा छोरा हो भने उसको अण्डकोष विकास हुन्छ । छोरी हो भने गर्भाशय विकास हुन्छ । यही समयमा उसको निश्चित अण्डा पनि बन्न थाल्छ ।
कुन–कुन परीक्षण गर्नुपर्छ ?
एनोमली स्क्यान : यो एक सोनोग्राफी परीक्षण हो । यसले बच्चाको विकास कस्तो भइरहेको छ देखाउँछ । कुनै असामान्य लक्षण छ भने पनि पत्ता लाग्छ ।
रक्तचाप र मधुमेह : यो महिनामा मधुमेह र रक्तचाप बढ्न सक्छ । त्यसैले एक पटक चिकित्सकले परीक्षण गर्न सक्छन् ।
फेटल इको : यो परीक्षणबाट बच्चाको मुटुको अवस्था कस्तो छ भनेर जानकारी मिल्छ ।
के खाने ?
गर्भावस्थामा सन्तुलित खानेकुरा खान सकिन्छ । जसमा फलफूल, हरियो सागपात, ड्राइफ्रुट्स, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु र प्रशस्त झोलिलो खानेकुरा र पानी खानुपर्छ । यी सबै खानेकुरा कति खाने ? भन्ने कुरा चिकित्सकलाई सोध्नु उपयुक्त हुन्छ ।
फोलिक एसिडसँगै, क्याल्सियम र आइरनको सप्लिमेन्टको सेवन अनिवार्य गर्नुपर्छ ।
सावधानी
– भारी वस्तुहरू नउठाउने
– बायाँ छेउमा नसुत्ने
– पेटलाई टेकेर नसुत्ने
– काँचो खानेकुरा र समुन्द्री खानेकुरा नखाने
– मदिरा सेवन र धुम्रपान नगर्ने
– सडक अवरुद्ध भएको स्थानमा नजाने
– तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने
– लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने
व्यायाम
गर्भावस्थाको पाँचौं महिनामा हल्का खालका व्यायाम गर्नु उपयुक्त हुन्छ ।
घर वरपर घुमफिर गर्ने, योग प्रशिक्षकको सहायतामा र चिकित्सकको सल्लाहमा योग गर्न सकिन्छ । दैनिक हल्का क्रियाकलाप गर्न सकिन्छ । तर भारी काम भने गर्न हुँदैन ।
श्रीमान र परिवारको साथ आवश्यक
गर्भावस्थाको समय अलि चुनौतीपूर्ण पनि हुन्छ । यसबेला बढी भावुक हुने र मुड स्विङ भइराख्ने हुँदा गर्भवती महिलाको कुरा सुन्ने, सल्लाह दिनेजस्ता शारीरिक र मानसिक रुपमा श्रीमानको साथ अति आवश्यक हुन्छ ।
श्रीमान र परिवारको हेरचाह तथा हरेक उतारचढावमा साथ मिल्दा सुरुवाती महिनादेखि प्रसूतिको समयसम्म नै जटिलता कम हुन सक्छ । आफूलाई राम्रो लाग्ने केही सिर्जनशील कुरामा व्यस्त गराउने, साथीहरुसँग भेटघाट गर्ने, घुम्न जानेजस्ता कुराले गर्भावस्थामा खुसी मिल्न सक्छ, जसले सन्तान र आमा दुवैको स्वास्थ्यलाई राम्रो बनाउँदै लैजान्छ ।
स्रोत : अनलाई खबर