अमेरिका मा नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठले जिते एमी अवार्ड, रचियो इतिहास

सोमवार, असार ६, २०७९

अमेरिका मा नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठले जिते एमी अवार्ड, रचियो इतिहास

अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् । उनले सरस्वती पूजा नामको सांस्कृतिक बृत्तचित्रबाट एमी अवार्ड जित्न सफल भएका हुन् ।

अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परेका थिए । तर यसपटक भने अवार्ड जित्नमा सफलता मिलेको हो । अवार्ड जितेपछि श्रेष्ठले नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवकको कुरा भएको बताए ।

यसपटक उनका ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका थिए । क्यालिफोर्नियाको पाल्म स्प्रींगमा आयोजित ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका तीनवटा बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए ।

फेस्टिभल्स श्रृंखलाबाट दशैं पर्व, सरस्वती पूजा पर्व र महा शिवरात्री पर्व नामका उनका बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए । फेस्टिभल्स श्रेष्ठबाट निर्मित ५ भागको बृत्तचित्र श्रृङ्खला हो जसले दैवी प्रेरित रहस्यमय संस्कृति र नेपाली जनताको विविधताको अनुभवका साथमा नेपालको मिथक, किंवदन्ती र पुरातन परम्पराहरूलाई उजागर गरेको छ ।

फेस्टिभल शृङ्खलामा प्रेमपूर्ण परिश्रम रहेको र यसलाई बनाउन तीन वर्ष लागेको श्रेष्ठको भनाई छ । दर्शकहरु बृत्तचित्रको माध्यमबाट भर्चुअल रुपमा नेपालको यात्रामा जानसक्ने र नेपालको समृद्ध संस्कृतिको बारेमा केही भएपनि जान्न सक्ने श्रेष्ठले बताए ।यो बृत्तचित्र हेरेपछि उनीहरुले नेपाललाई भ्रमणका लागि गन्तव्य बनाउने निर्णय गर्न सक्ने र त्यसले गर्दा नेपालको पर्यटन उद्योगलाई निसंन्देह मद्दत गर्ने श्रेष्ठको विश्वास रहेको छ ।

श्रेष्ठको यो बृत्तचित्र विश्वचर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो । अमेरिकाको लस एन्जलसमा रहेको क्रियटिभ हाइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो बृत्तचित्र १७ वटा एसियाली मुलुकमा प्रशारण गरिएको थियो । यही कम्पनीको ब्यानरमा निर्मित सामाग्रीहरुले विभिन्न अवार्डहरु जित्न सफल भएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::