अल्सर: हुने कारणहरु र उपचार

आइतवार, पुस ६, २०७६

अल्सर: हुने कारणहरु र उपचार

पेट र आन्द्राको सबैभन्दा तल्लो भागमा हुने घाउलाई पेप्टिक अल्सर भनिन्छ । हाम्रो पेटमा खाना पचाउनका लागि विभिन्न प्रकारको एसिड उत्पन्न हुन्छ । कहिलेकाँही पेटमा एसिडको मात्रा धेरै भएमा एसिडिटी, अरुचि भएर पेटमा ग्यास भर्ना जान्छ र अन्त्यमा ग्यास्ट्रिक हुने गर्छ ।

कतिपय अवस्थामा उक्त एसिडले ग्यास्ट्रिकलाई बिगारेर पेटको विभिन्न ठाउँ र आन्द्रामा हुने घाउलाई पेप्टिक अल्सर भएको भनिने गर्छ । अव्यवस्थित समयमा खाने, घरमा बनको भन्दा बाहिरको धेरै खाने कारण पहिले ग्यास्ट्रिक हुने गर्छ र अझ लापरवाहीका कारण पछि गएर ग्यास्ट्रिक बिग्रेर अल्सरको समस्या देखा पर्न थाल्छ ।

दिनहुँ लामो समयसम्म नदुख्ने औषधिको सेवन, एसिड रिफ्लक्स भएको कारण, पेटको केही भागको मासु लाई नष्ट गरिदिन्छ । जसले गर्दा एसिड पेटको भित्रि पत्रामा पुगेर कोषहरू नष्ट गर्दै जाँदा बिस्तारी घाउ बन्छ, रगत आउँछ र पोल्ने गर्छ ।

यसका साथै अल्सर हुने अन्य धेरै कारणहरू पनि छन् जस्तै ब्याक्टेरियाले पेटमा आक्रमण गर्दा, चिन्ता तथा तनावका कारण पाचन प्रणालीमा असर पर्दा, चुरोट र रक्सीको सेवन हुन् । यस्ता अन्य कारणहरूले खासगरी पेटमा भइरहेको सानो–तिनो घाउहरूको आफैँ निको हुने प्रक्रियामा बाधा पारेर पेटको घाउलाई अझ बल्झाउने काम गर्छ । पेप्टिक अल्सर बिग्रिएर क्यान्सर हुन सक्ने सम्भावना अधिक हुन्छ ।

पेप्टिक अल्सरलाई दुई भागमा बिभाजन गरिएको छ । जस्तैः पेटको अल्सर र आन्द्राको असर । पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने, पेट ढुस्स हुने, भोक नलाग्ने, वाकवाकी लाग्ने, खाना खानेबित्तिकै पेट पोल्ने, दिसा कालो देखेमा (अल्सरबाट निस्केको रातो रगत पेट र आन्द्राको विभिन्न पदार्थसँग मिसिँदा कालो हुन्छ) पेटको अल्सर भएको लक्षण मानिन्छ ।

साथै, आन्द्राको अल्सर हुँदा नाइटो निर पोल्ने, दुखाइ पछाडि ढाड पट्टि सर्ने, खाना खानेबित्तिकै पेट पोल्न बन्द हुने तर १–२ घण्टामा फेरि पोल्न सुरु हुने गर्छ । यसको समाधानका लागि पेटमा अत्यधिक एसिड बन्न नदिने उपाय अपनाउनु पर्छ । बढी चिल्लो, पिरो र पचाउन गारो हुने कुरा कम खाने, थोरै–थोरै मात्रामा खाने, लामो समय काम गर्नेले बीचबीचमा खान मिल्ने हल्का स्न्याक (ड्राइ फ्रुट, फलफुल, बदाम, चना), सुत्नुअघि ३ घण्टाअघिबाट केही नखाने, पानी दिउँसो प्रशस्त मात्रामा पिउने, सुत्ने बेलामा नपिउने वा कम पिउने गर्दा केही हदसम्म समस्या कम हुने गर्छ ।

जंकफुड कम खाने, केफेनयुक्त पदार्थ, धुम्रपाम, मदिरापान तथा सुर्तीजन्य पदार्थहरू कम खाने वा खान छोड्ने, तौल घटाउने, दैनिक आधा घण्टा ब्यायाम गर्ने, एसिड रिफ्लक्स हुन नदिने उपायहरू अपनाउनु पर्छ । यदि यति सबै गर्दा पनि समस्या कम नभएको खण्डमा डाक्टरकहाँ गएर औषधि उपचार गराउनु पर्छ । सबै गर्दा पनि निको नभएको खण्डमा अपरेसन गर्नु पर्ने हुन सक्छ । नत्र क्यान्सर हुने सम्भावना रहने गर्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::