
सोमवार, असार १५, २०७७
भिष्म के भुषाल
असारैको पन्ध्र रिमझिम झरी खेत भरियो । अँध्यारैमा जागी झटपट उठी ठिक्क परियो ।। कुलो छेकी आली थुनिकन छिटै आउनु भनी । बुबाका आज्ञाले म पनि त हिंडें फुर्फुर बनी ।।१।।
फुकाओ गोरू लौ, अब त हिडओ बेर नगरी । जुटाओ रोपाहार् नमल सुरती बस्दछ झरी । ठुली-कान्छी च्यूरा भर र कुटुरो बाँध र झर । दही ठेकी बोकी म बरू हिडुला तर्खर गर ।।२।।
भनी बाले उर्दी गरिकन सबै खेत झरियो । जुटे सात् हल् गोरू तल बगरमा जोत्न परि गो ।। सिँदूरेले भाँच्यो पटपट जुवा हेर दगुर्यो । उता फाली फुत्क्यो अनि हरिसको ठेटि नि झर्यो ।।३।। पसे एक् हल् गोरू चरचर चरे व्याड हरियो । धपा केटा! झट्टै टुलुटुलु अझै हेर्छ कति यो? भनी बाले भन्दा थरथर भएँ खेद्न कसिएँ । कसो तिन्का सिङ्मा उनिइन बरै धन्न बचियो ।।४।। उपल्लारे कान्छी नरुझ त्यसरी ब्याड ल पस । ठुला'रेकी सेती छुपुछुपु बिऊ रोप न बस ।। सुपाखोले जेठा हलबल गरी खुर्क त कुना । लुरे केटा! तैंले अलिकति पिरो अम्चुर बना ।।५।। बुहारी नौलीको लखटि-लखटी हुर्मत लिए हिलो छ्यापाछ्यापी खितितिति गरे मख्ख म थिएँ ।। मलाई के छोड्थे लथपथ गरे टाँक चुँडियो । यसै हल्लीखल्ली गरिकन सबै काम पनि भो ।।६।। सबै गोरू फोई खललल हिलो साफ गरियो । हलो जूवा बोकी लुरुलुरू सबै गाउँ झरियो ।। असारे भाकामा मधुर सुनिए नृत्य पनि भो । अहो ! मानो रोपी अब त सकियो दङ्ग परियो ।।७।।Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया