आइपीओ आकर्षण, ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको आउँदै

बुधबार, भदौ २१, २०७४

आइपीओ आकर्षण, ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको आउँदै

काठमाडौं : पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । धितोपत्र बोर्डमा अहिले १८ वटा कम्पनी आइपीओ तथा एफपीओ जारी गर्न अनुमतिको पर्खाइमा छन् । यी मध्ये ३ वटा कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् । कम्पनीहरुले कुल ५ करोड २ लाख ८८ हजार ७६३ कित्ता सेयर जारी गर्न अनुमति मागेका छन् । कुल ३ अर्ब ४१ करोड ३३ लाख ३ हजार ५०० रुपैयाँको आइपीओमात्र जारी हुन लागेको हो । आइपीओ जारी गर्न अनुमति माग्ने अधिकांश कम्पनीहरु जलविद्युत समूहका छन् । कुल १४ वटा जलविद्युत कम्पनीमध्ये ८ वटाले आयोजना प्रभावित स्थानीयबासीलाई र एउटाले एफपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यसैगरी, रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले भने संस्थापक सेयर धारण गर्ने कम्पनी, ऋण प्रदायक कम्पनी र सञ्चय कोषका सदस्य रहेका कर्मचारीलाई आइपीओ निष्कासन गर्न लागेका हुन् । पाइपलाइनमा रहेका कम्पनीमध्ये रसुवागढीले सबैभन्दा धेरै १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्कासन गर्न लागेको हो । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गर्न अनुमति मागेको हो । यता, धितोपत्र बोर्डमा २ वटा माइक्रोफाइनान्स, एउटा वाणिज्य बैंक र एउटा इन्सुरेन्स कम्पनी पनि पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका एनएमबी बैंक र प्रिमियर इन्सुरेन्सले एफपीओ निष्कासनका लागि अनुमति मागेका हुन् । एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ ल्याउन लागेको हो भने प्रिमियरले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ ल्याउन अनुमति मागेको छ ।
एफपीओ अनुमति माग्ने बुटवल पावर कम्पनी र प्रिमियर इन्सुरेन्सले प्रिमियम भाउ पनि तोकेका छन् । तर यसलाई धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छैन । बुटवलले फेस भ्यालु १०० रुपैयाँमा ३७० रुपयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपीओ ल्याउने जनाएको छ । यसैगरी, प्रिमियरले पनि ९०४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १ हजार ४ रुपैयाँ भाउ तोकेको छ । यता, एनएमबि बैंकको एफपीओ भने धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ । नयाँ प्रावधान अनुसार एक पटक एफपीओ जारी गरेको ५ वर्षपछि मात्र फेरि एफपीओ ल्याउन पाइन्छ । यस अनुसार बैंकको एफपीओ के हुने निर्णय भइनसके पनि धितोपत्र बोर्डको पाइपलाइनमा भने रहिरहेको छ । यसअघि शिखर इन्सुरेन्सले पनि एफपीओ जारी गर्न अनुमति मागेको थियो । तर नयाँ प्रावधानसँग मेल नहुँदा शिखरको एफपीओ धितोपत्र बोर्डले पाइपलाइनबाट हटाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::