आइफोन ११को जोडबल क्यामरामै

शनिबार, भदौ २८, २०७६

आइफोन ११को जोडबल क्यामरामै

एप्पलले आइफोनको २०१९ का सिरिज सार्वजनिक गरेको छ । विश्वकै महँगो ग्याजेट ब्राण्ड एप्पलका नयाँ स्मार्टफोन सिरिज सार्वजनिक कार्यक्रम विश्वभरबाट प्रत्यक्ष हेरिरहेका उपभोक्तामाझ आइफोनको एघारौं सिरिज आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स स्मार्टफोन सार्वजनिक गरिएको छ ।

नयाँ सिरिजका फ्ल्यागशीपमा के विशेषता नयाँ छन् त ? एप्पलमा नयाँ मात्र नभई पुरानो फिचर पनि आएको छ । एन्ड्रोइड फोनहरु बेजललेस स्क्रीनमा आइरहँदा एप्पलले भने यसअघिको आफ्नो भर्सनमा हरेको फुल स्क्रीन डिस्प्लेलाई निरन्तरता दिनुको साटो पुरानै नोच स्क्रीनमा फर्केको छ । विशेषगरि त्रिपल क्यामरा सेटअप एप्पलको नयाँ फिचर हो भने चिपसेट र -याममा अपग्रेड गरेको छ । कम्पनीले आइफोन बाहेका ग्याजेटहरु एप्पल वाच, एप्पल आइप्याड र एप्पल टिभी प्लस लगाएत नयाँ उत्पादन गरेको छ । नयाँ आइप्याड ल्यापटप भन्दा २ गुणा तिब्र गतिको भएको कम्पनीको दाबी छ ।

आइफोन ११ को सबैभन्दा फरक विशेषता भनेकै क्यामरा अपग्रेड हो । एप्पलले गत वर्ष सार्वजनिक गरिएका आइफोनका सिरिजको तुलनामा क्यामराको क्षमता बढाएको छ भने डिजाइनमा पनि नयाँपन दिएको छ । गत वर्ष बजारमा ल्याइएका आइफोन एक्सआरमा एउटा मात्र (१२ मेगापिक्सेल) रियर क्यामरा थियो भने आइफोन एक्सएसमा १२ मेगापिक्सेलको वाइड र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा थियो । आइफोन ११ मा क्यामरा क्वालिटी आइफोन एक्सएसकै जस्तो छ तर बाँकी दुईवटामा भने त्रिपल क्यामरा सेटअप राखिएको छ भने आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा वाइड, अल्ट्रा वाइड र टेलिफोटो लेन्स जडित त्रिपल रियर क्यामरा रहेका छन् । दुबै फोनका तीनवटै क्यामरा १२÷१२ मेगापिक्सेलका छन् । गत वर्षका आइफोन एक्स आर र आइफोन एक्सएसमा फ्रन्ट क्यामरा ७-७ मेगापिक्सेलका क्यामरा रहेकोमा आइफोन ११ सिरिजका फ्रन्ट क्यामरा सबै १२ मेगापिक्सेलका छन् ।

आइफोनको चारकुने क्यामरा डिजाइन एप्पलको प्रतिस्पर्धी ब्राण्ड ह्वावेको मेट २० प्रोको डिजाइनसँग मिल्दो देखिन्छ । गुणस्तरको हिसाब कम्पनीहरुका आ–आफ्नै भए पनि चारकुने क्यामरा सेटअप भने मेट २० प्रो र एप्पलको आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको एउटै जस्तो देखिन्छ । झट्ट हेर्दा देखिने फरक भनेको ह्वावेको मेट २० प्रोको क्यामरा माथिल्लो भागको केही तल तर वरपर नभई बीचमा छ भने एप्पलको क्यामरा माथिको बायाँ कुनामा रहेको छ । यसअघि सामसङको नोट सिरिजका नयाँ फ्यागशीपको क्यामरा पनि त्यसअघि नै बजारमा आइरहेको ह्वावेको पी ३० सिरिजको झैं छ । यद्यपी डिजाइन मिल्दो देखिनु भनेको कम्पनीले एक अर्काको चोरेको भन्दा पनि प्रतिस्पर्धी कम्पनीहरुले उपभोक्ताको रुची अनुसार डिजाइनहरु बनाउँदा उस्तै देखिएको पनि हुन सक्छ । डिजाइनसँगै महत्व राख्ने भनेको फोनको फिचर र गुणस्तरका विषय हुन् । जुन ब्रान्डपिच्छे फरक फरक छन् । एप्पल आफ्नै अपरेटिङ सिस्टम र हार्डवेयर पनि सोही अनुसार विस्तारै अग्रेड गर्दै आएको कम्पनी हो ।

वर्षेनी विस्तारै फिचरहरुमा पनि अपग्रेड गर्दै जानु एप्पलको आफ्नै विशेषता हो । तर, पछिल्लो समयमा एन्ड्रोइड सिस्टमका फ्ल्यागशीप सिरिजका स्मार्टफोनहरुले फिचरहरु एक्कासी वृद्धि गर्दा एप्पलमाथि पनि अपग्रेडको गति बढाउनु पर्ने बाध्यात्मक अवस्था आएको देखिन्छ । आइफोन ११ को सिरिजमा आइफोन ११ मा डिउल क्यामरा सेटअप मात्र हुनु र बाँकी दुई वटामा मात्र त्रिपल सेटप राखिनुले उपभोक्ताको क्यामरा मोहलाई ‘क्यास’ गर्न खोजेको संकेतको रुपमा हेर्न सकिन्छ । किनकी क्यामरामा अल्ट्रा वाइड, वाइड र टेलिलेन्स सेटअपलाई ह्वावे, वनप्लस, साओमी, ओपो, भीभो लगाएतका चाइनिज ब्राण्डदेखि विश्वमै धेरै फोन बिक्री गर्ने कोरियन कम्पनी सामसङले पनि प्राथमिकतामा राखेर आफ्ना उत्पादन बजारमा ल्याएका छन् ।

लामो समयदेखि सामसङमात्र नजिकको प्रतिस्पर्धी रहेको एप्पलका लागि ह्वावे ठूलो चुनौतिको रुपमा देखिएको छ । अमेरिका र ह्वावेबीचको टकरावले एप्पललाई केही राहत मिले पनि विश्व बजारमा छरिएका दर्जनौं ब्राण्डका फ्ल्यागशीप स्मार्टफोनका फिचरलाई पनि वेवास्ता गरेर जान नसकिने बाध्यात्मक अवस्था भने छ । मंगलबारको एप्पल इभेन्टमा सार्वजनिक गरिएको आइफोन ११ मा एप्पलको नयाँ चीप ए१३ बायोनिक चीप प्रयोग गरिएको छ । आइफोन एक्सआरको अपग्रेडको भर्सनको रुपमा मात्र ल्याइएको यो स्मार्टफोनमा वाटर रेसिस्ट्यान्ट एण्ड ड्यूराबिलिटी भने थोरै बढाइएको छ । यसो त आइफोन ११ प्रो र प्रो म्याक्स पनि यसअघिको आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको अपग्रेडकै रुपमा आएका छन् । दुबै फोनमा नाइट मोड फीचर थपिएको छ भने सेल्फीमा स्लोमोफी अर्थात् सोलोमो फिचर दिइएको छ । नयाँ आइफोनले ६० फ्रेम प्रति सेकेण्डमा गतिमा फोर के भिडियो खिच्ने क्षमता राख्छन् । ब्याट्रीको क्षमतामा पनि थोरै सुधार गरिएको छ । यसअघिको आइफोनहरु भन्दा कम्तिमा १ घण्टादेखि ५ घण्टासम्म अतिरिक्त प्रयोग गर्न सकिने एप्पले जनाएको छ । विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछन् यी फोन । एप्पलले आफ्नो तीनै फ्ल्यागशीप फोनको सुरुवाती मूल्य सार्वजनिक गरेको छ । शुक्रबारदेखि बुकिङ खुला गरी सेप्टेम्बर २० तारिखदेखि उपलब्ध गराइने भनिएको आइफोनका नयाँ सिरिजको सुरुवाती मूल्य आइफोन ११ को ६ सय ९९ डलर, आइफोन ११ प्रोको ९९९ डलर र आइफोन ११ प्रो म्याक्सको सुरुवाती मूल्य १,०९९ डलर तोकेको छ । एप्पलका नयाँ आइफोनहरु बजारमा सेप्टेम्बर २० तारिखदेखि मात्र उपलब्ध हुनेछन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::