एउटा इन्जिनियरको ‘पागलपन’ : १५३ करोडमा गाई फार्म, प्रतिदिन ३० हजार लिटर दूध उत्पादन

शनिबार, साउन १०, २०७७

एउटा इन्जिनियरको ‘पागलपन’ : १५३ करोडमा गाई फार्म, प्रतिदिन ३० हजार लिटर दूध उत्पादन

पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल इन्जिनियर’ श्यामवदन कै हो ।

उनले भारतको बैङ्गलोरमा कम्प्युटर इन्जिनियरिङ र एमबीए गरे । दुईवटा डिग्रीले राम्रो ठाउँमा जागिर खान उनी सक्षम छन् । तर उनले पितापुर्खाले अपनाएको पशुपालनलाई मुख्य पेसा बनाउने निधो गरे । त्यसपछि सुरु भयो ‘पागलपन’को यात्रा ।

१२ वर्षअघि उनी एउटा दाना उद्योगमा अन्य सुविधासहित मासिक सवा लाख रुपैयाँ तलब बुझ्ने प्रवन्धक थिए । तर मनको हुटहुटीले जागिर छाडेर पशुपालन व्यवसाय सुरु गरे, कुल पाँचवटा गाईबाट । समाजका लागि उनी पागल भएको त्यतिखेरैदेखि हो ।

अभिभावकले पनि हप्काए, ‘गाईभैँसी नै स्याहार्नु थियो भने किन त्यत्रो पढ्नुपरेको ?’ सबैका लागि श्यामवदनसँग एउटै उत्तर थियो, ‘आमनेपाली किसानको आँटभरोसा बढाउन म इन्जिनियरले पशुपालन गर्नुपर्ने भयो ।’ नाखुस बनेका अभिभावकले पनि हप्काए, ‘गाईभैँसी नै स्याहार्नु थियो भने किन त्यत्रो पढ्नुपरेको ?’ सबैका लागि श्यामवदनसँग एउटै उत्तर थियो, ‘आमनेपाली किसानको आँटभरोसा बढाउन म इन्जिनियरले पशुपालन गर्नुपर्ने भयो ।’

त्यो सुनेर अविभावक झन् रिसाउँथे, अरू हाँस्दै बाटो लाग्थे । ‘सबैले आलोचना गर्दा एकदमै तनाव हुन्थ्यो, साँच्चै गलत बाटो त रोजिएन भन्ने चिन्ता लाग्थ्यो’, श्यामवदन ती दिन सम्झन्छन्, ‘अर्कोतिर समाजमा नयाँ काम गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास थियो । अन्ततः त्यसैले जित्यो ।’

१२ वर्षमा जीवन फेरियो

नेपाली समाजमा चलनचल्तीको एउटा उखान छ– ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ श्यामवदन यादवको कुरा सुन्दै जाँदा १२ वर्षमा उनले चाहेजसरी नै जीवन बदलेको बुझिन्छ ।

उनले पाँचवटा गाईबाट सुरु गरेको कलश क्याटल फर्ममा १५० वटासम्म गाई पुगे । उनले दूधकोभन्दा दुग्धजन्य पदार्थको बजार राम्रो देखे । त्यसैको परिणाम थियो– प्रतिदिन २४ हजार लिटर दूध प्रशोधन गर्ने पूर्ण स्वचालित कलश मिल्क इन्डस्ट्री ।

उद्योगमा दूधबाट दही, घिउ, पनिर, मिठाई, आइसक्रिम, केक र पेस्ट्री जस्ता दुग्धजन्य उत्पादन बिक्री गर्न उनले ‘डेरी हब’ खोले । त्यसरी फार्मिङ, प्रोसेसिङ र मार्केटिङको सञ्जाल खडा भयो । उचित मोलमा गुणस्तरीय पदार्थ पाएपछि उपभोक्ता खुसी हुन्छन् । त्यसकै परिणाम थियो– वीरगञ्जमा खुलेको डेरी हबको शाखा हेटौंडा, चितवन, लालबन्दीलगायत देशका नौवटा सहरमा विस्तार हुनु ।

करिब सात लाख रुपैयाँबाट सुरु भएको कलश क्याटल फर्ममा नै अहिले २० करोड रुपैयाँ लगानी भइसकेको छ ।

७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । फार्मले पनि नाफासँगै सूर्य नेपाल इन्टरप्रेनरसिप अवार्ड, लियो तथा ग्लोबल इन्टरप्रेनरसिप अवार्ड, कृषि मन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य संघको बेस्ट इन्टरप्रेनरसिप अवार्ड पाएको छ ।

व्यवसायको मुनाफा र सामाजिक सम्मानले श्यामवदनको जीवन नफेरिने कुरै भएन ।

१५३ करोड किन र केका लागि ?

आफ्नो समाजलाई जागिरभन्दा ठूलो स्वरोजगारी हो भन्ने पाठ सिकाउन सफल श्यामवदन यादव त्यतिकैमा चुप बस्नेवाला छैनन् । उनी पुर्खाको परम्परागत पेशामा आधुनिक प्रविधि जोड्ने कसरतमा छन् । उनी कलश क्याटल फार्मलाई आधुनिक पशुपालन फार्म र उद्योगको रूपमा विस्तार गर्दैछन् ।

नौ वर्षअघि एक महिने तालिमका लागि इजरायल जाने मौका पाएका उनले स्वचलित गाई फार्म देखे । जर्मनीमा पनि त्यस्तै हेरे । त्यतिबेला मनमनै बनाएको योजना उनी अहिले कार्यान्वयन गर्दैछन् । ‘बैङ्कबाट ऋण लिएर एकअर्ब ५३ करोडको योजना अघि बढाएको छु’, श्यामवदन भन्छन्, ‘पर्साको ठोरी गाउँपालिका– ५, सुवर्णपुरमा जमिन किनेर फार्म बनाउने काम थालेको छ ।’

सुवर्णपुरको १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित फार्म निर्माणाधीन छ । फार्म सञ्चालनमा आएपछि प्रतिदिन ३० हजार लिटर दूध उत्पादन हुने उनले बताए । ठूलो योजना भए पनि धेरैजसो काम मेसिनबाट हुने भएकोले फार्ममा धेरै रोजगारी भने सिर्जना हुनेछैन । जर्मनीबाट ल्याइने मेसिनले दूध दुहुने, गोबर फाल्ने, दानापानी दिने, बिरामी भएको थाहा पाउनेलगायत सबैजसो काम गर्ने प्रोजेक्टका हेड इन्जिनियर पंकज कुमार बताउँछन् ।

सुवर्णपुरको १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित फार्म निर्माणाधीन छ । फार्म सञ्चालनमा आएपछि प्रतिदिन ३० हजार लिटर दूध उत्पादन हुने उनले बताए । ठूलो योजना भए पनि धेरैजसो काम मेसिनबाट हुने भएकोले फार्ममा धेरै रोजगारी भने सिर्जना हुनेछैन ।

उनका अनुसार, दैनिक ५० लिटर दूध दिने गाईले त्योभन्दा अलिकति पनि कम दूध दियो भने त्यसको कारण फार्ममा जडित सिस्टमले नै बताउँछ । फर्ममा बनिरहेको बायोग्यास प्लान्टबाट दैनिक ५०० किलोवाट बिजुली उत्पादन हुने पंकज कुमारले बताए ।

ग्यास प्लान्टसहित पूरा फार्मबाट प्रतिदिन २० टनसम्म कम्पोस्ट मल उत्पादन हुने अनुमान उनले सुनाए । लकडाउनले गर्दा रोकिएको फार्मको काम अहिले धमाधम भइरहेको छ ।

यो गाई फार्मको लागि प्रतिदिन २० टन दाना आवश्यक पर्छ । त्यसका लागि श्यामवदनले दाना उद्योग पनि खोल्ने योजना बनाएका छन् । दाना उद्योगबाट सुवर्णपुर र आसपासका सबै किसानले लाभ लिनसक्ने उनले बताए । घाँसका लागि फार्मलाई अर्को ८०० बिघा जमिन आवश्यक पर्ने उनको भनाइ छ । दाना र दूध उद्योगमा २५० जनाले प्रत्यक्ष रोजगारी पाउने उनको अनुमान छ ।

श्यावदनका अनुसार नेपालमा हाल पूर्ण स्वचालित गाई फार्म छैन । यस्तो फार्म बनाउन भारत र इजरायलबाट प्राविधिक ल्याउनुपर्छ, यसले लागत बढेको छ । तर आफ्नो सपना पूरा गर्न श्यामवदन लागिपरेका छन् । ‘यो काम मेरो लागि मात्र हैन, समग्र कृषि क्षेत्रलाई उठाउन हो । त्यसैले साथ पाएको छु’ उनले भने ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::