एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह

सोमवार, साउन ११, २०७८

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह

समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।

स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता प्रदान गर्न थालेको पालिकाहरूले जनाएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत तीन वर्षदेखि ६० वर्ष पूरा भई ७० वर्ष पूरा नभएका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता चालू आर्थिक वर्षदेखि प्रदान गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

“विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन वा घर छोडी गएका ६० वर्ष पूरा भएका विदुर एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता प्रदान गर्न लागिएको हो”, गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले भन्नुभयो, “समाजमा सामाजिक न्याय स्थापना गरी लैङ्गिक समानता कायम गर्न गाउँपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्न लागेको हो ।”

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले श्रीमतीको मृत्यु भएको तर पुनः विवाह नगरेका सबै उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ता प्रदान गर्दै आएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपियाँका दरले एकल पुरुष भत्ता प्रदान गर्दै आएको छ ।

नेपाल नगरपालिका नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार एकल पुरुषलाई प्रदान गरिने भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएपछि एउटा पालिकाले सुरु गरेको कार्यक्रम अन्य पालिकाले अनुसरण गर्न थालेको जनाएको छ ।

सङ्घीय सरकारले भने ७० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिक, ६० वर्ष पूरा भएका दलित र ६० वर्ष पूरा भएका कर्णाली क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यस्तै पाँच वर्ष उमेर पूरा नभएका कर्णाली क्षेत्रका बालबालिका र दलित बालबालिका, विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई मासिक रूपमा भत्ता दिँदै आएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::