एनआरएन हरु समेतको प्रबर्धन रहेको दोर्दीखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

मङ्लबार, भदौ १७, २०७६

एनआरएन हरु समेतको प्रबर्धन रहेको दोर्दीखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको २ हजार ७ सय ८० मिटर सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । ४ वर्षमा सुरुङ खन्ने कार्य सकिएसँगै आइतबार निर्माण कम्पनीका निर्देशक चन्द्र ढकाल, कार्यकारी निर्देशक गुरुप्रसाद ढकाललगायतले सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

आयोजनाका इन्जिनियर दिपक ज्ञवालीका अनुसार आयोजनाको निर्माण ०७२ फागुनदेखि सुरू भएकाे थियो । सुरुमा इको इन्फ्रा बिल्डरले सुरुङ निर्माण थाले पनि राम्रोसँग काम नगरेको भन्दै उक्त कम्पनीलाई हटाएर निर्माण कम्पनीले 'मल्टी इन्फ्रा स्ट्रक्चर डेभलपमेन्ट कम्पनी'लाई भर्ना गरेको थियो । सुरुङ सुरु हुने ठाउँ (इनलेट) साविक चिती गाविस-४ रियाले र सुरुङ सकिने ठाउँ (आउटलेट) साविक चिती ७ रामचोकमा छ । साविकको चिती गाविस हाल बेँसीसहर नगरपालिका-११ मा पर्छ ।

हेडवर्क्सबाट इनलेटसम्म ३ हजार २ सय हेडरेस पाइपलाइन रहनेछ । यसको ६ सय मिटर जडान बाँकी छ । आउटलेटबाट पावर हाउससम्म ७ सय मिटरको पेनस्टक रहेको ज्ञावलीले बताए । आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले २०७२ वैशाख १२ गतेको भूकम्प, त्यसपछिको नाकाबन्दी, आयोजना क्षेत्रमा आउने बाढी पहिरो, सुरुङमा भेटिएको नरम चट्टाल लगायतले आयोजनाको निर्माणकार्यमा ढिलाइ भएको बताए ।

आयोजनाको दोर्दी गाउँपालिका ६ ढोडेनी, ७ फलेनी र ८ बन्सारबीच दोर्दीखोलामा हेडर्वक्स निर्माण गरिएको छ । बेँसीसहर ११ चितीको रामचोकबेँसीमा विद्युत गृह निर्माण गरिएको छ । आयोजनाको ८० प्रतिशत बढी निर्माण सकिएको आयोजनाका इन्जिनियर ज्ञवालीले बताए । ९-९ मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन रहने विद्युत गृहको बाहिरी काम लगभग सकिएको आयोजनाले बताएको छ । आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ । आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघन्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ ।

आयोजनाले प्राधिकरणसँग चलनचल्तीको दरअनुसार हिउँद (सुक्खा याम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । २०६९ असार १ गते पीपीए गरेको आयोजनाले २ वर्षपछि निर्माण थालेको थियो । ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको उक्त आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७ प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ । यसका लागि प्राइम कमर्सियल बैङ्कको अगुवाइमा ७ वटा वैक र एउटा जलविद्युत विकास तथा लगानी कम्पनीको बैङ्क तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवर्द्धकको ३५ प्रतिशत इक्विटी रहनेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::