ओलीलाई झड्का दिदै महन्थ प्रधानमन्त्रीको दाबेदार

बुधबार, जेष्ठ ५, २०७८

ओलीलाई झड्का दिदै महन्थ प्रधानमन्त्रीको दाबेदार

जनता समाजवादी पार्टीका प्रथम  अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । जसपाले आज विज्ञप्ति जारी गरी सरकारको नेतृत्वको अवसर पाए अगाडि बढ्ने स्पष्ट पारेको छ । रोचक यो छ कि विज्ञप्तिमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैको हस्ताक्षर छ ।

केही दिनअघिसम्म महन्थ र उपेन्द्र पार्टी नै फुट्ला जसरी फरक ढंगले बढेका थिए । महन्थ ओलीलाई साथ दिइरहेका थिए भने उपेन्द्र ओलीविरोधी गठबन्धनलाई । दुवै नेता एकाएक यु टर्न भएर आफ्नै नेतृत्वमा सरकार बनाउन अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।

जसपाले सरकारको नेतृत्वका लागि अगाडि बढ्ने औपचारिक निर्णय जेठ ८ र ९ मा कार्यकारिणी समितिको बैठकबाट गर्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । यसअघि उपेन्द्र समूह मात्र बालकुमारीमा बैठक राख्दै आएको थियो । महन्थ ठाकुर समूह बबरमहलमा बैठक बस्थ्यो ।

सरकारको नेतृत्वका लागि बलियो बन्न जसपाले ओली र ओलीविरोधी गठबन्धनबीच दूरी समेत बढाउन सफल भइसकेको छ । पछिल्लो समय ओली र ओलीविरोधी गठबन्धनबीच टकराव बढेको छ ।

ओलीलाई साथ दिदै आएका महन्थ एकाएक यु टर्न भई आफ्नै नेतृत्वमा सरकार निर्माणमा बढ्ने भएका छन् । उनले काँग्रेस र माओवादी केन्द्रको साथ पाउने सम्भावना पनि बढेर गएको छ । यसले ओलीलाई झड्का पर्ने सम्भावना बढेको छ ।

विश्वासको मत अबको २४ दिनभित्र लिइसक्नुपर्नेछ । ओलीले विश्वासको मत लिन नसके धारा ७६ को उपधारा ५ बमोजिम फेरि बहुमतको सरकार निर्माणको आव्हान राष्ट्रपतिबाट हुन सक्छ । त्यतिबेला ओलीविरोधी गठबन्धनले बहुमत देखाउन सके महन्थ ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना हुन सक्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::