औषधिविनाको उपचार अकुपन्चर

मङ्लबार, जेष्ठ १५, २०७५

  • डा. सुरज कर्माचार्य

नेपालमा अकुपन्चर चिकित्सा विधि भित्रिएको ६ दशकभन्दा बढी भयो । तर, लामो समय सामान्य तालिमका भरमा धेरैले यस विधिबाट उपचार गरे । अहिले पनि पर्याप्त विशेषज्ञको अभाव छ । यो औषधिविना उपचार गर्ने विधि हो । के हो त अकुपन्चर ?

के हो अकुपन्चर ?

अकुपन्चर चाइनिज चिकित्सा प्रविधि हो । पहिले–पहिले यसलाई चाइनिज ट्रेडिसनल मेडिसिन पनि भन्ने गरिन्थ्यो । अहिले भने ट्रेडिसनल भन्ने शब्द प्रचलनमा छैन । यो चाइनिज चिकित्साको एउटा हाँगा हो ।

यो चिकित्सा विधिमा सुई अर्थात् निडलले घोचेर उपचार गरिन्छ । त्यस्ता निडल खिया नलाग्ने खालका हुन्छन् । यस्ता सुई नौ प्रकारका हुन्छन् । मानिसको शरीरमा विशेषगरी तीन सय ६० वटा यस्ता पोइन्ट हुन्छन्, जहाँ अवरोध सिर्जना भएमा विभिन्न रोग लाग्ने गर्छ ।

बिरामीको प्रकृति हेरी तिनै प्वाइन्टमा सुईले घोचेर यसको उपचार गरिन्छ । कतिपयले अकुपन्चर गर्दा पीडा हुने बताउँछन् । तर, यो विधि पेनलेस हुन्छ । यो प्रविधिको प्रयोग गर्दा औषधिको प्रयोग गरिँदैन । केही मात्रामा जडीबुटी भने दिने गर्छौं । तर, अकुपन्चरबाट मात्रै पनि बिरामी निको हुन सक्छ ।

किन सुईले घोचिन्छ ?

अकुपन्चर चाइनिज मेडिसिनको सिद्धान्तअनुसार नै हुने गर्छ । शरीरमा विभिन्न च्यानल हुन्छन् । ती च्यानल असन्तुलित भएको अवस्थामा शरीर असन्तुलित हुन्छ र रोग लाग्छ । चाइनिज भाषामा जिउने शक्तिलाई छी भनिन्छ । त्यसैले मानिसलाई जीवित राख्छ ।

त्यस्तो शक्ति क्षयीकरण भएमा मानिसको मृत्यु हुन्छ । त्यसैले त्यस्ता शक्ति कम भयो भने त्यसका सम्बन्धित प्वाइन्टमा घोचेर उपचार गरिन्छ । जस्तो कि कलेजो जलेमा त्यसको असर मस्तिष्कसम्म पुग्छ र माइग्रेनको समस्या हुन्छ । त्यस्तो अवस्थामा अकुपन्चरले कलेजो जल्नबाट रोकेर मस्तिष्कसम्म पुग्न दिँदैन ।

कस्ता रोगलाई अकुपन्चर ?

अकुपन्चरबाट विभिन्न नयाँ पुराना गरी करिब पाँच सय रोग निको पार्न सकिन्छ । विशेषगरी स्नायु र हाडजोर्नीसम्बन्धी रोगलाई अकुपन्चर अत्यन्त लाभदायक हुन्छ । यसका साथै स्त्रीरोग, पेटसम्बन्धी, सबै प्रकारका बाथ, दम, पिनास, टाउको दुखाइ, यौनसम्बन्धी रोगलाई अकुपन्चरले निको पार्छ ।

तर, यसका पनि आफ्नै लिमिटेसन छन् । खासगरी अरू प्याथीबाट निको नहुने रोग अकुपन्चरले निको गराउँछ । यद्यपि, सबै प्रकारका रोग अकुपन्चरबाट निको हुन्छ भन्नेचाहिँ छैन ।

साइड इफेक्ट हुन्छ ?

यो प्रविधिबाट उपचार गर्दा कुनै पनि साइड इफेक्ट हुँदैन र त्यस्ता कुनै उदाहरण पनि भेटिएका छैनन् । तर, विज्ञबाट मात्र अकुपन्चर गराउन आवश्यक हुन्छ । सामान्य ट्रेनिङ लिएका मानिसले पनि अकुपन्चर गर्ने गरेको देखेका छौँ । त्यस्ताबाट भने जोगिन आवश्यक हुन्छ ।

अकुपन्चरको अवधि

बिरामीको प्रकार हेरेर अकुपन्चर गरिन्छ । समान्यतया १० दिनसम्मको अवधिदेखि उपचार हुन्छ । र, यो दुई–तीन महिनासम्म पनि लम्बिन सक्छ । प्रत्येक दिन एक घन्टाका दरले अकुपन्चर गर्ने गरिन्छ । आवश्यक परेमा यसलाई लम्ब्याएर पनि गर्न सकिन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::