कथा: विदेशको मोह

शनिबार, अशोज १०, २०७७

अदिति श्रेष्ठ

कथा: विदेशको मोह

धरान बजारबाट उकालो लागेपछि लक्ष्मी चोक आउछ । लक्ष्मी चोकमा अन्तराम विश्वकर्माको सानो चिटिक्क परेको घर छ । अन्तराम कि श्रीमती शिव कुमारी र छोरा अशोक तीन जनाको परिवार छ । अन्तरामले एउटा मात्र छोरालाई दुःख गरेर बोर्डिङ पढाए । अशोक पढ्नमा अब्बल थियो । उचाईछुने चाहनाले उ धुमधामसंग मनमा लगाएर पढ्थ्यो उँ । प्रथम त म भै हाल्छु नी भन्ने उसमा आत्मविश्वास पनि थियो ।

अन्तराम घर गृहस्थीको गाडी चलाउन समूहको घरमा राजमिस्त्रीको काम गर्छन् । आफूले नपढेको हुँदा अर्काको काम गर्नु परेको मनमनै सोच्छन् उनी । शिवकुमारी घर धन्दामा व्यस्त हुन्छिन् । उनी घरआँगन र सानो करेसाबारीको काममा दिन बिताउँछिन् । अन्तरामको परिवार सुखी परिवारनै देखिन्छ । अशोक जन्मेपछि शिवकुमारीले अर्को सन्तान जन्माइनन् । अशोक पनि दश छोरा बराबर एक्लै छन् । दश कक्षा पढेपछि एघार बाह्र पढन अशोकलाई पैसा लागेन् । छात्रवृती पाए । राम्रो अंक ल्याएको हुदाँ विज्ञाननै पढे । एघार, बाह्रमा पचासि प्रतिशत ल्याएपछि अन्तरामको खुट्टा भुइँमा थिएन् । जसरी भए पनि म अशोकलाई इन्जीनियर बनाउछु भनेर काठमाडौँ पढाए ।

अशोक धरान छाडेर काठमाण्डौ आए ।

इन्जीनियर पढन पुल्चोक क्याम्पसमा परिक्षा दिए । त्यहाँ छात्रवृतिमा नाम निस्केन । अशोकले अमेरिका पढ्न जाने चाहना आफ्ना वुवालाई सुनाए । छोराले पढ्नका लागि अमेरिका जाने कुरो सुनाउँदा अनन्तरामलाई नराम्रो लागेन । इन्जीनियर पढ्न जानलाई विश्वविद्यालयहरुमा आवदेन दिए अशोकले । युनिभर्सिटी अफ मिसिसिपीबाट उनीलाई पढ्न पाउने पत्र आयो । अशोक अमेरिका जाने तयारीमा जुट्यो । अन्तरामसँग पैसा थिएन ।

अठार लाख कहाँबाट ल्याउने शिव कुमारीसँग सल्लाह गरे । अन्तमा घर बेच्ने निर्णय भयो । हतारमा पैसा चाहिएको हुँदा बीस लाखमा घर बेचे । त्यसपछि अमरचौकमा डेरा सरे । अशोक घर बेचेको चार दिनपछि अमेरिकाको मिसिसिपी जान उड्यो । हातमा रहेको दुई लाख बैङ्कमा राखेपछि अन्तरामले शिवकुमारीलाई भने–पाँच वर्षपछि छोराले अर्को घर किन्छ । अमेरिकामा यहाँ जस्तो हुदैन । अरे ! त्यहाँको एक डलर यहाँको सय रुपीयाँ बढी हुन्छ रे । इन्जीनियरले त धेरै पैसा कमाउँछन् । हामीले सानो घर त बेचेर ठिकै गर्यौ अनन्तरामले शिव कुरमारीलाई सुनाए । उनी दङ्ग परेर हेरिरहिन अनन्तरामलाई ।

आमाको मन त हो कहिलेकाँही घरमा हुदाँ छोरा सम्झेर एक्लै रुन्थीन् शिव कुमारी । मनको पीडा भन्ने ठाउँ थिएनन् । सन्तान टाढा भएको कुन आमालाई मन पर्छ र ? मन भित्रको अग्नीको ज्वाला कसैले देख्दैनन् । अन्तरामले छोराको तारिफ गरेर बस्दा उनको मन झस्किन्छ । अर्काको देशमा कस्ले माया गर्दछ । छोराको मायामा चुर्लुम्म डुबेको उनको मन निथ्रुक्क भिज्छ ।

हप्तामा एकपल्ट फोनमा कुरा गरे पनि आमाको मन अघाउँदैन् । बाबु के खाइस् ? सञ्चै छस् ? उनको मुटु गाँठो पर्छ । सोध्न मन लागेका कुरा सोध्न सक्दिनन् । लुगा कस्ले धोइदिन्छन् ? कती कर गरेर खाना खुवाउनु पथ्र्याे । राम्ररी खादैनस् । कति दुब्लाएको छस् ? बेलामा खानु बिरामी परिस् भने खबर गर्नुनी भन्दा अन्तरामले ‘कति कचकच गरेकि’ भनेर हातको फोन खोस्छन् । राम्ररी पढ्नु काम कति घण्टा गर्छस ? पैसा कति हुन्छ ? अल्छी नगर्नु भनेर सम्झाउछन् अनन्तराम । अशोकले पनि सामान्य जवाफ दिएर फोन राख्छन् । चार वर्ष बित्यो । अशोकले बुबा आमा अमेरिका आउनु भन्दा अन्तरामको खुट्टा भुइँमा थिएन । शिव कुमारीको मन आकाशमाथि उड्यो छोरा भेटने आशमा अमेरिकन दूतावास गए । भिसा लिन आएका दम्पतिका मनमा आशको उज्यालो दियो बलेको थियो । पालैपालौ सबै भित्र जादै थिए । उनीहरु पनि पालो पर्खेर बसे । पालो आएपछि भित्र गए । अन्र्तवार्ता लिन बसेकाले सोधेको सबै प्रश्नको उत्तर दिएपछि तपाईहरु अमेरिका जान सक्नुहुन्न भनेर फर्काइदिए ।

अमेरिकन दुताबासको अगाडि आए । छक्क परेर केहि समय उभिरहे । मनमा छोरा भेटने इच्छा सँगालेर बनाएको वालुवाको घर भरंग भत्कियो । त्यही दिन काठमाडौंबाट धरान फर्के । बैकमा राखेको दुई लाख सकियो । अमेरिका जान पनि पाएनन् ।

अन्तरामले आफ्नो पुरानो काम फेरि सुरु गरे । जीवनरुपी गोरेटोमा हिँड्न धेरै कठिन थियो । उमेर खस्कदै जाँदा काम गर्न गाह्रो भएको उनलाई । काम नगरि खान पाइदैन । छोराको उज्वल भविष्यको कामना गर्दै दिन बितिरहेकोछ ।

अशोकले एक दिन फोनमा पचास हजार पठाइदिएको छु भन्यो । अन्तराम धेरै खुशी भए । बैङ्कमा गएर पैसा ल्याए । त्यो पचास हजार शिवकुमारीलाई दिदै भने अब हाम्रो दुःखका दिन गए । छोराले एकैपल्ट पचास हजार पठायो । यो पचास हजारले अन्तरामको जीवनमा अनन्त खुशी दियो । दिन बितिरहेको छ । तीन महिना पछाडी फेरि अशोकले आइफोन पठाइ दियो । बुबाको मुख हेर्ने दिन आइफोन पाउँदा अन्तराम आकाशको इन्द्रेणी भन्दा माथि पुगेको अनुभूुतिमा रमाइरहेको छन् । साथीहरुसँग बसेर फोटो खिच्ने उनको दैनिकी बनेको छ आजभोली । दशै तिहारको खर्च भनेर फेरि अशोकले अन्तरामलाई पचास हजार पठाइदिए ।

शिव कुमारीले अन्तरामलाई अब राजमिस्त्रीको काम गर्न नजानु छोराको इज्जतको ख्याल राख्नु पर्छ भनिन् । अन्तरामलाई शिवकुमारीको कुरा ठिकै लाग्यो । अन्तराम धेरै बर्ष पछि घरमा बसे । काम नगरी बस्न नसक्ने छोराको इज्जत बचाउन काम छाडे । इन्जीनियरको बाबु आमा हुन पाउन गर्वको कुरा थियो । तीन चार महिनामा अशोकले पैसा पठाइरहेकै छ । अशोकले आज फोनमा आफूले मनपराएकी केटीको फोटो पठायो । गोरी राम्री केटीको फोटो हेरेर दुबैजना रमाए । एक महिना पछि बिहे गर्यौ भनेर खबर गर्यो । अशोकले अन्तरामलाई भर्खर बिहे गरेकोले खर्च दिन सक्दीन भन्दा उनीहरुलाई नराम्रो लाग्यो । जम्मा तीन पल्ट बुहारीसंग कुरा गरेका दुबै जनाले बोलेको बुझेनन् । अशोकले अलिअलि बुझाएपछि मात्र बुझे । बिहे गरेको चार महिनापछि अशोकले तीस हजार पठायो । अन्तरामको बैकको पैसा सकिन लागेको थियो ।

यो तीस हजारले राहतको काम गर्यो । तीस हजार पठाएको एक हप्ता नबित्दै शिव कुमारी बिरामी भइन् । छोराको नाम लिदै पाँच दिन अस्पताल बसेर घर आइन् । डाक्टरले कुनै रोग छैन् भनेर पठाए पनि उनी सुक्दै गईरहेकी थिइन् । ‘एउटा आँखा के आँखा’ भन्ने उखान जस्तै एउटा छोरा पनि बिदेशको मोहमा चुर्लुम्म डुबेर बस्यो ।शिवकुमारी केही रोग छैन भन्दा भन्दै तीन महिनापछि फेरि अस्पताल भर्ना भइन् । अन्तरामले धेरैपल्ट अशोकलाई फोन गरे फोन उठेन । बिहान बेलुका दश पन्ध्र पल्ट फोन गर्दा पनि फोन उठेन । फोन नउठ्दा छोरालाई केही भयो कि भन्ने शंकाले मनमा झन पीडा थपियो । शिवकुमारीले छोरासंग कुरा गर्छु भन्दा भन्दा थाकिन छोराले फोन उठाउदै उठाएन । आँखा भरी छचल्कीएको आँसु लुकाउन सकिनन् शिवकुमारीले । बगी रहयो । आँखाको छेउबाट बगेका आँसुका धारा रोकिएन ।

शिव कुमारीलाई त्यहि आँसु र छोरा टाढा भएको पिरले मृत्युको काँखमा लिएर गयो । आमाको मृत्यूको खबर सुनाउन फोन गर्दा पनि अशोकले फोन उठाएनन् । खबर गर्ने सबै तरिका अपनाए । मरेको शरीरको फोटो समेत पठाए तर पनि अशोकले जवाफ दिएनन् । अन्तमा छिमेकी साथीहरुको सहयोगले अन्तरामले शिवकुमारीको दाहसस्कार गरे । एक्कासी सम्पर्क बिच्छेद भएको अशोकको कुनै खबर आएन् ।

शिवकुमारीले एक्लो पारेर गएकी अन्तराम आजकाल एक्लो छैनन् । पिण्डेश्वर दन्तकाली मन्दिर बाहिर बोरा थाप्ने साथीसँगै दिन बित्छ । दिनभरी मागेको पैसा लिएर साझँमा भट्टी पसलमा जान्छन् दुई तीन गिलास रक्सी पिएर सडकको पेटीमा सुत्छन् । अध्यारो रातमा आत्मरामको साथी सडकका भुस्या कुकुर हुन्छन् । जता सुते पनि खाली छ भन्दै रात कटाउँछन । बिहान मिर्मिरेमा उठेर मन्दिरको ढोका कुर्न आउँछन् ।

  • साभार : संसारन्युज

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::