कब्जियत भयो के गर्ने ?

शुक्रबार, जेष्ठ १४, २०७८

कब्जियत भयो के गर्ने ?

मान्छेका साना या ठूला विभिन्न थरी स्वास्थ्य समस्याहरु हुने गर्दछन् । यी मध्ये हेर्दा सानो तर सारै दुःख दिनेमध्येको एउटा समस्या कब्जियत पनि हो । एक हप्तामा तीनपटक भन्दा कम वा लगातार तीन दिनभन्दा बढी समयसम्म आन्द्राहरुमा जम्मा भएको विकार दिसाका रुपमा शरीरबाहिर ननिस्कनुलाई कब्जियत भएको भनिन्छ । कब्जियत हुँदा दिसा नहुने मात्र होइन, दिसा कडा हुने, पेट फुल्ने, खाना रुचि नहुने, निद्रा नपर्ने, बेचैनी हुने, छातीमा पीडा हुने, दम बढ्ने, रक्तचाप बढ्ने जस्ता चिताउँदै नचिताएका समस्यासमेत देखा पर्न सक्छन् । यस्तै प्रकारले कडा दिसा हुँदा गुदद्वार च्यातिने, पाइल्स उत्पन्न हुने, रक्तश्राव हुने, गुदद्वार खस्ने जस्ता समस्या पनि देखिन सक्छन् । कब्जियतका कारणले हृदयघात हुने सम्भावनासमेत रहन्छ । खानामा फाइबरको मात्रा कम हुनु, शरीरमा पानीको मात्रा घट्नु, शारीरिक गतिविधि र व्यायाममा कमी हुनु, थाइराइड हर्मोन कम हुनु, क्याल्सियमको मात्रा बढी हुनुबाट कब्जियत उत्पन्न हुन सक्छ । यस्तै प्रकारले धेरै दूध र दूधबाट बनेका परिकारहरु खानु, यात्राको समयमा दैनिक गतिविधिको समय तालिकामा गडबडी हुनु, खाने–सुत्ने समयमा गडबडी हुनु, दिसा लाग्दा रोकेर बस्नु, मानसिक तनाव हुनु आदि सबै कब्जियतका कारणहरु हुन सक्छन् । रोगको लक्षणको रुपमा कुरा गर्दा थाइराइड, मधुमेह, डिप्रेसन, आन्द्राको क्यान्सर, पार्किन्सन्स, मस्तिष्क घात आदि रोगहरुमा कब्जियत एक समस्या बनेर आउन सक्छ । यस्तै प्रकारले गर्भवती महिलामा पनि पेटभित्रको बच्चाले आन्द्रालाई थिचेर कब्जियत गराउन सक्छ । कब्जियत हुने अर्को महत्वपूर्ण कारण भनेको औषधि हो । त्यस्ता धेरै औषधिहरु हुन्, जसले कब्जियत गराउन सक्छन् । ती मध्ये प्रमुख हुन्– पेन किलर, डिप्रेसन, छारेरोगलगायतका मानसिक रोगको उपचारमा प्रयोग हुने औषधिहरु, आइरन चक्की, एलर्जीका औषधिहरु, उच्च रक्तचापको उपचारमा प्रयोग हुने केही औषधिहरु, ग्यास्ट्रिकको उपचारमा प्रयोग हुने क्याल्सियम वा आल्मुनियम मिसिएको एन्टासिडको झोल आदि । कारण थाहा पाउन सके कब्जियतलाई ठीक पार्न सो कारण हटाए वा कब्जियत गराउने रोगको उपचार गरे समस्या समाधान हुन सक्छ । यसका अतिरिक्त दिसा नरम पार्ने विभिन्न खाने औषधिहरु पनि पाइन्छ । आफूलाई कुनले फाइदा गर्छ त्यही रोज्नुपर्छ । धेरैजसो अवस्थामा जीवनशैली नै कब्जियतको निर्णायक पक्ष हो । कब्जियत घटाउने औषधि खाएर यो रोग ठीक हुँदैन । यसको समाधान जीवनशैली सुधारमा नै खोज्नुपर्छ ।क्रोनिक कब्जियतका जटिलताहरु झनै अप्रिय छन् । पाइल्स उत्पन्न हुने र त्यसबाट रक्तश्राव हुने, गुदद्वारमा चिरा पर्ने र च्यात्तिनेले मान्छेलाई सजिलोसँग बाँच्न दिँदैन । पेट फुल्ने, खाना नरुच्ने र निद्रा नपर्ने भएपछि यसै पनि मानसिक तनाव उत्पन्न हुन्छ अनि बिस्तारै डिप्रेसनमा जाने डर हुन्छ । डिप्रेसनबाट कब्जियत हुने मात्र होइन, कब्जियतबाट डिप्रेसन पनि हुन सक्छ अनि यो चक्र चलिरहन्छ । यो चक्र औषधिले तोड्न सक्दैन । यसलाई मानसिक तनाव मुक्तिसहितको स्वस्थ जीवनशैलीले मात्र तोड्न सक्छ । यदि तपाईंलाई कब्जियत भएको छ भने निम्न लिखित कुराहरुमा ध्यान दिनु पर्दछ, १. कब्जियत हुनुको पछाडि कुनै कारण हुन सक्छ । यसकारण सबैभन्दा पहिले सो कारण पत्ता लगाउनोस्– खाना, पानी, खाइराखेका औषधिहरु, थाइराइड, डिप्रेसन, आन्द्राको क्यान्सर आदि रोगहरु, शारीरिक गतिविधिको कमी, मानसिक तनाव आदि । २. कारण पत्ता लागेपछि सो कारणबाट मुक्त हुने उपाय गर्नुहोस् । खानामा फाइबर बढाउने, पानी धेरै पिउने, शारीरिक गतिविधि बढाउने, थाइराइड, डिप्रेसन आदि रोगको उपचार गराउने, औषधिले हो रहेछ भने डाक्टरलाई भनेर औषधि फेर्न लगाउने, मानसिक तनाव व्यवस्थापन गर्ने आदि कार्यहरु अत्यन्तै उपयोगी छन् । ३. यदि कुनै कारण फेला परेन भने तपाईंले आफ्नो दैनिकीलाई निश्चित अनुशासनमा चलाउनुस् । सुत्ने, उठ्ने ठीक टाइममा (सुत्ने राति ११ बजेभन्दा ढिला नगर्ने, बिहान ६ बजेसम्ममा उठ्ने), बिहान हिँड्ने वा शारीरिक व्यायाम गर्ने, दैनिक ताजा फलफूल कम्तीमा ५ सय ग्राम, खानामा दुवै छाक हरिया तरकारी, एक छाक साग खाने, बेलुकी मासु नखाने, बेलुकीको खाना हलुका खाने र ७ बजेभित्र खाइसक्ने । बेलुकी भातको सट्टा मकैको च्याँख्ला, कोदो, फापर आदिको ढिँडो खाने । कब्जियतका लागि चामल र गहुँभन्दा मकै, कोदो र फापर बेस हुन्छ । बिहान दुई गिलास मन तातो पानी पिउने । दैनिक दुई गिलासभन्दा बढी दूध नपिउने । पेटको व्यायाम र पेटलाई प्रभावित पार्ने खालका प्राणायाम र ध्यान गर्ने । जङ्क फुड र कोक, फ्यान्टाजस्ता पेयपदार्थ नपिउने । पानी प्रशस्त मात्रामा पिउने (मुटु र मिर्गौला रोगीले डाक्टरको सल्लाहअनुसार पानीको मात्रा मिलाउने) । दिनदिनै एक मुठी अंकुरित गेडागुडी खाने । फर्सी, काँक्रो, सूर्यमुखी, आलस आदिका बियाँहरु सबै मिलाएर दैनिक एक ठूलो चम्चा बराबर खाने । अदुवा, लसुन, प्याज एकदम कम मात्र खाने । प्रसन्न रहने, रिस र क्रोध त्याग्ने । यी अत्यन्तै उपयोगी सल्लाहहरु हुन् । यसलाई व्यवहारमा लागू गरे कब्जियत मात्र होइन अन्य धेरै स्वास्थ्य समस्याको समाधान हुन्छ । ४. प्राकृतिक चिकित्सा पद्धतिमा पनि कब्जियत समाधानका अत्यन्तै प्रभावकारी उपायहरु छन् । खानपान, व्यायाम र योगका अतिरिक्त एनिमा लगाउने (गुदद्वारबाट पानी पठाएर आन्द्रा सफा गर्ने विधि), लघु शंखप्रक्षालन र पूर्ण शंखप्रक्षालन आदि विधिबाट आन्द्रालाई राम्रोसँग सफा गर्न सकिन्छ । ५. कुनै उपाय लागेन भने कब्जियत घटाउने औषधिको सेवन गर्ने । आयुर्वेदिक र एलोपेथिक औषधिहरु बजारमा किन्न पाइन्छन्– त्रिफला, सुविधा, दिव्यचूर्ण, इसवगोल, क्रिमाफिन, ल्याक्टुलोज आदि । शुरुवातमा आयुर्वेदिक औषधिको प्रयोग गर्ने । कसलाई कुन औषधि प्रभावकारी हुन्छ, यसै भन्न सकिँदैन । आफूमा प्रयोग गर्दै जाने । जुन फाइदाजनक छ त्यसको सेवन गर्ने । ६. बूढाबूढीलाई गुद्द्वारमा दिसाको गोटा अड्किएर कहिलेकाहीँ साह्रै कष्ट हुन्छ । उनीहरुले बल गर्न पनि धेरै सक्दैनन् । यस्तो अवस्थामा गुदद्वारमा चोरऔंला छिराएर गोटा निकाली दिनुपर्ने हुन्छ । ७. आन्द्रा बटारिएर वा आन्द्राको क्यान्सरजस्तो गम्भीर रोग लागेर उत्पन्न कब्जियतको उपचार शल्यक्रियाबाट गरिनुपर्दछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::