कसरी च्यातियो भरतपुरमा मतपत्र ?

सोमवार, जेष्ठ १५, २०७४

भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहदा राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न हुँदा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीलाई मतगणनास्थलबाट पक्राउ गरिएको छ । गणना नमिलेको भन्दै टेबुलमा हानेर विवाद गर्न खोजेपछि अन्य समूहमा रहेकाले आएर मतपत्र च्यातेको साहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताउनुभयो

घिमिरेका अनुसार करिब एक सय मतपत्र च्यातिएको छ भने ३० भन्दा बढी धुजा भएको छ । च्यातिएको सहित गन्न बाँकी रहेका मतपत्र सिलबन्दी गरिएको छ । घटना बारे निर्वाचन आयोगलाई जानकारी गराइएको र निर्वाचन आयोगको निर्णय अनुसार मात्र अघि बढ्ने घिमिरेले बताउनुभयो । मतगणना स्थलको ढोकामा पनि सिलबन्दी गरिएको छ । 'च्यातिएको मतपत्र संकलन गरेर सबै सिलबन्दी गरेका छैां' घिमिरेले भन्नुभयो 'निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्छौ' ।

उहाँका अनुसार तीन भोट मिलेन भनेर विवाद सुरु गरिएको थियो । 'एउटाले टेबल ठोके त्यसपछि अर्को समूहमा रहेकाहरु आएर मतपत्र च्यातेका थिए।वडा नम्बर १९ को करिब २ हजार ४ सय मत गनेर सकिन लाग्दा मतपत्र च्यातेका थिए । उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । वडा नम्बर २० को पुरै गन्न बाँकी रहेको छ ।

मतगणना स्थलबाहिर रहेका एमाले कार्यकर्ताले समातिएका माओवादीका प्रतिनिधिमाथि कुटपिटको प्रयास गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । सो क्रममा एमालेका गंगालाल लामा पनि पक्राउ परेका छन । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवि ज्ञवालीले एमालेको पक्षमा मत आएपछि मतपत्र च्यात्ने काम गरेको आरोप लागाउुनु भएको छ । 'हार्न थालेपछि माओवादीले मतपत्रच्यातेको हो ' ज्ञवालीले भन्नुभयो 'लोकतन्त्रको उपहास गर्ने काम भएको छ' ।

उता नेकपा माओवादी केन्द्रका जल्ला ईन्चार्ज ईश्वरी भट्टराईले भने मतपत्र तानातान गर्दा च्यातिएको बताउनु भयो । माओवादीको पक्षमा मत बढी देखेपछि एमालेका एजेण्टले मतपत्र समातेको भन्दै त्यसको सुरक्षा गर्न खोज्दा भएको तानातानले मतपत्र च्यातिएको उहाँले आरोप लगाउँनुभयो । 'मुचुल्काको भन्दा बढी मत भएपछि राजनैतिक सहमति गर्न मानेनन्' भट्टराईले भन्नुभयो 'माओवादीको पक्षमा मत आउन थालेपछि मतको मुठा समाएर गोलमोटोल गर्न खोजेपछि हाम्रा प्रतिनिधिले मतपत्र समाउन खोज्दा च्यातिएको हो'

वडा नं १९ को करिब ६ सय मतगणना गर्न बाँकी थियो भने वडा नम्बर २० को ३ हजार ५ सय ६८ मतगन्न बाकी थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::