
आइतवार, मंसिर २६, २०७८
भावी नेतृत्वका लागि कांग्रेसमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि चार समूहगत र दुई स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी परेको छ ।आइतबार युबराज न्यौपाने ले शेखर कोईराला लाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिए पछी अब ५ जना बीच प्रतिस्पर्धा हुने भएको छ ।
संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बनेका छन् भने इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपाने पनि उम्मेदवार बनेका थिए ।
कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मत गणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ ।
देउवाले नेता कृष्णप्रसाद सिटौलाको समूहलाई पनि समेटेर प्यानल बनाएका छन् । यो समूहले पहिलो चरणमै जित निकाल्ने रणनीति बनाएको छ । उता सिंह, कोइराला र निधिले सकेसम्म चुनावी प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीति अख्तियार गरेका छन् ।
देउवा-सिटौलाको समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूणर्बहादुर खड्का उम्मेदवार बनेका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दिएका छन् । कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई अगाडि सारेका छन् । त्यस्तै, सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी साह र महामन्त्रीमा डा. राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
आठ सहमहामन्त्रीका लागि देउवा-सिटौलाको प्यानलबाट उमाकान्त चौधरी (थारू), मानबहादुर विश्वकर्मा (दलित), भीष्मराज आङ्देम्बे (जनजाति), डिना उपाध्याय (महिला), महेन्द्र यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम), जीवन शाही (पिछडिएको क्षेत्र) र किशोरसिंह राठौर (खस-आर्य)ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा देवराज चालिसे (खस-आर्य), बद्री पाण्डे (पिछडिएको क्षेत्र), जीवन परियार (दलित), कमला पन्त (महिला), विकास लामा (जनजाति), रामकृष्ण यादव (मधेसी), तेजुलाल चौधरी (थारू) र वकिल मियाँ (अल्पसंख्यक)ले उम्मेदवारी दिएका छन् । निधिले सहमहामन्त्रीमा चेतराज बराललाई अगाडि सारेका छन् ।
यस्तो अवस्थामा हुन्छ दोस्रो मतदान कांग्रेस विधानको दफा १६ मा केन्द्रीय सभापतिको निर्वाचनबारे व्यवस्था छ । दफा १६ (ख)ले ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था गरेको छ ।
दफा १६ (ग)मा पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ । तर, पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
फुट्यो इतर समूह, कोइराला परिवार पनि विभाजित सर्वसम्मत सभापतिको उम्मेदवार चयन गर्ने प्रयास सार्थक नभएसँगै संस्थापनइतर समूह विभाजित भएको छ । इतर समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइरालाले भिन्दाभिन्दै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
१३ औं महाधिवेशनमा एकैठाउँ रहेका कोइराला परिवारका सदस्यहरू १४औं महाधिवेशनमा विभाजित भएका छन् । इतर समूहबाट शेखरले आफ्नै नेतृत्वमा प्यानल बनाउँदा सुजताले भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र मनोनयन गरेका छन् । उनले शेखरको प्यानललाई सहयोग गर्ने भएका छन् ।
केन्द्रीय सदस्यमा मनोनयन गरे यी पदाधिकारीले
महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री सुनील थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । शशांक १३औँ महाधिवेशनका निर्वाचित महामन्त्री हुन् भने थापा पार्टी एकतापछि मनोनीत सहमहामन्त्री हुन् ।
बदलियो समीकरण
१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाका समूह थिए । उनीहरू तीनै जना सभापतिका दाबेदार थिए । तर, दोस्रो चरणमा देउवा-सिटौलाबीच समीकरण बनेपछि देउवा विजयी भएका थिए । १३औँका सभापतिका दाबेदार पौडेल १४औँमा केन्द्रीय सदस्यमा समेत उठेनन् ।
१३ औंमा पौडेल समूहमा रहेका प्रकाशमान र शेखरले भिन्दाभिन्दै प्यानल बनाएर सभापतिमा उम्मेदवारी दिएका छन् । उपसभापति विमलेन्द्र निधिले देउवासँग अलग भएर सभापतिमा उम्मेदवारी दिएका छन् । सिटौलाले अहिले भिन्दै प्यानल बनाएनन्, सुरुमै पदाधिकारीमा एक महामन्त्री र एक सहमहामन्त्री पद लिएर देउवासँग समीकरण गरे । सिटौलाले केन्द्रीय सदस्यमा समेत मनोनयन गरेनन् ।
संस्थापनमा असन्तुष्टि
उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा बनेका समीकरणले संस्थापन पक्षमा असन्तुष्टि देखिएको छ । यो समूहबाट महामन्त्रीमा आकांक्षा गरेका विश्वप्रकाश शर्मा प्यानलमा अटाउन नसकेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । त्यस्तै संस्थापन पक्षबाटै पदाधिकारीको आशा गरिरहेका नेता एनपी साउद प्यानलमा अटाएनन् ।
असन्तुष्टिस्वरूप उनले वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । महामन्त्रीका आकांक्षी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाण पनि असन्तुष्ट बनेका छन् । दुवैले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले एक्लै सभागृह पुगेर केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसमा राजेन्द्र लिंग्देलको पुनारोदय हुने संकेत
केहि समय अधि सम्पन्न राप्रपा को महाधिवेशन मार्फत स्थापित संस्थापन पक्षलाई पराजित गर्दै राजेन्द्र लिंग्देल को उदय भएको थियो,नेपाली राजनीतिमा बिरलै मात्र देखिने संस्थापन पक्षको पराजय लाई नेपाली समाजमा नेतृत्व परिवर्तनको घोत्तकको रुपमा अर्थ्याउन थालिएको छ।
महाधिबेशन मार्फत नेपाली कांग्रेसमा पनि राप्रपा मा जस्तै बैधानिक तवरबाट नेतृत्व परिवर्तन हुन सक्ने आंकलन गरिएको छ । पहिलो चरण मा नै निर्वाचनमा जित निकाल्ने गरि संस्थापन पक्षको तयारी लाई कम आकलन गर्नु नहुने एक पक्षको भनाई छ यधपी परिणाम को लागि दोश्रो चरणमा पुगे नेपाली कांग्रेसमा राजेन्द्र लिंग्देल को पुनरोदय नहोला भन्न सकिन्न....
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया