कृषि ऋणको माग बढ्यो, बैंकहरूको लगानी खर्ब नाघ्यो

मङ्लबार, बैशाख २५, २०७५

कृषि ऋणको माग बढ्यो, बैंकहरूको लगानी खर्ब नाघ्यो

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको बाध्यकारी नियम र कृषि ऋणको माग बढेपछि बैंकहरूको यस क्षेत्रमा लगानी वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रको लगानी चालु आर्थिक वर्षको फागुनसम्ममा १ खर्व २८ अर्ब रूपैयाँ पुगेको छ । गत वर्ष ८५ अर्ब ४५ करोड कृषिमा लगानी भएकोमा एक वर्पमा ५० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

कृषिलगायत उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गनुपर्ने राष्ट्र बैंकको नीति छ । यसैगरी व्यावसायीक कृषिमा आकर्षण बढेसँगै कर्जाको माग पनि वृद्धि भएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कूल लगानीको २५ प्रतिशत उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । त्यसमध्ये १५ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्छ ।

यसअघि उत्पादनशील क्षेत्रमा २० प्रतिशत र त्यसमध्ये १२ प्रतिशत कृषि र उर्जामा लगानी गर्नुपर्ने व्यवस्था थियो । गत आवको मौद्रिक नीतिमार्फत यसको सिमा बढाएको हो । राष्ट्र बैंकले तोकेको मापदण्ड पुर्याउनका लागि बैंकहरूले कृषि कर्जा बढाउँदै लगेका छन् । यसैगरी गत आवमा नै केन्द्रीय बैंकले कृषि कर्जाको व्याजमा अनुदान दिने नीतिसमेत संशोधन गरेको थियो ।

कृषि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । सरकारले दुई वर्षअघिको बजेटमार्फत घोषणा गरी व्यावसायीक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्तर्गत गत पुससम्ममा ६ अर्ब ६१ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समयमा व्यावसायीक कृषिप्रति सर्वसाधारणको आकर्षण बढीरहेको र बैंकमा कर्जाको माग पनि बढेको छ । विषेशगरी व्यावसायीक तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालनलगायतका क्षेत्रमा लाग्ने युवा बढीरहेका छन् । युवालाई व्यावसायीक कृषिमा आकर्षित गराउनका लागि सरकारले साना व्यवसायी तथा युवा स्वरोजगार कोष, व्यावसायीक कृषि तथा व्यापार आयोजना मार्फत पनि व्यावसायीक कृषिमा सहयोग गर्दै आएको छ ।

बैंकहरूले कृषि क्षेत्रमा गरेको लगानीमध्ये सबैभन्दा बढी पशुपालनमा ४२ अर्ब ६३ करोड रूपैयाँ लगानी छ । सरकारले साना किसान बैंकमार्फत मासुजन्य व्यावसायीक पशुपालनका लागि लगानी गरेकाले पनि यस क्षेत्रमा बढी कर्जा देखिएको हो । यसैगरी व्यावसायीक खेतीमा १४ अर्ब ३० करोड, चिया उत्पादनमा ३ अर्ब, माछापालनमा २ अर्ब र अन्य क्षेत्रमा ६६ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::