कोरोनाको महामारी साम्य हुँदै गर्दा साउदीमा पुनर्विचार गर्ने श्रमिक बढ्दै

शनिबार, साउन १०, २०७७

कोरोनाको महामारी साम्य हुँदै गर्दा साउदीमा पुनर्विचार गर्ने श्रमिक बढ्दै

कोभिड–१९को महामारी सुरु भएदेखि नै खाडी र मलेसियाका दूतावास र नियोगहरुमा २४ घण्टा नै फोनको घण्टी बज्थे । घर फर्काउन गुहार माग्नेदेखि कम्पनीले काम र तलब नदिएको लगायतका विभिन्नखालका सयौं गुनासाहरु आउँथे ।

त्यतिबेला श्रम गन्तव्य मुलुकका धेरै दूतावासहरुको निष्कर्ष थियो, कोरोना कारणका अब ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाउने छन् ।संख्या कति त ? दूतावासका अधिकारीलाई अड्कल काट्न गाह्रो थियो । जति महामारी बढ्दै थियो, उद्धारका लागि दूतावासले खुला गरेको अनलाइन फारम भर्नेदेखि दूतावासमै फोन गर्नेको संख्या दिनानुदिन बढ्दै थियो  तर  कोरोनाको महामारी साम्य हुँदै गर्दा  नेपाली श्रमिकहरु त्यतिबेला जस्तो धेरै निरास छैनन्  कारण हो, नेपाली कामदारमा परेको अपेक्षितभन्दा कम प्रभाव ।

अहिले दूतावासहरुमा फोन आउने क्रम पातलिएको छ, अनलाइनमा स्वदेश फिर्तिको फराम भर्नेहरु पनि घटेका छन् ।

अहिलेसम्म चार्टर्ड उडानको टिकट काटेर मंगलबारसम्म ३२ हजार ८७८ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसमध्ये कति जना रोजगारी गुमाएर फर्किएका हुन् भन्ने तथ्यांक सरकारसँग छैन ।तर, कोभिड–१९को महामारी मत्थर हुँदै जाँदा ती श्रम गन्तब्य मुलुकमा पूर्वानुमान गरिएभन्दा कम संख्यामा कामदारहरु प्रभावित भएको विश्लेषण हुन थालेका छन् । तथापि, विदेशस्थित नियोगहरुले तथ्यांकमा त्यसलाई व्याख्या गर्न भने सकेका छैनन् ।

वैदेशिक रोजगार बोर्डले महामारी सुरु हुँदै गर्दा करिब ४ लाख ७ हजार कामदारले तत्कालै रोजगारी गुमाउने आकलन सार्वजनिक गरेको थियो । १ लाख २७ हजारलाई तत्काल उद्धार गर्नुपर्ने र २ लाख ८० हजार रोजगारी गुमाएर फर्किने अनुमान थियो ।भिसा अवधि सकिएका बाहेक करार अवधि बाँकी छँदै पनि धेरैले बीचैमा जागिर गुमाएर फर्किनुपर्ने बाध्यात्मक अवस्था आउला भन्ने डर सरकारलाई थियो । तर, अहिले पूर्वाअनुमानभन्दा केही फरक परिदृश्य देखिएको दूतावासका अधिकारीहरु बताउँछन् ।

श्रम गन्तव्य मुलुकमा कोरोनाको महामारी नियन्त्रण हुँदै गर्दा प्रभावित हुने नेपाली कामदारको संख्या पनि ठूलो हुने अवस्था नदेखिएको भन्दै दूतावासमा खुसी व्यक्त हुन थालेको छ ।यद्यपि धेरै नेपालीहरुले कोभिड–१९को महामारीका कारण कार्यस्थलमा समस्या भोगिरहेको राजदूतहरु बताउँछन् । कतिले रोजगारीबाटै हात धुनुपरेको छ । तर, त्यो संख्या कति हो भने तथ्यांक छैन ।श्रम गन्तव्य मुलुकले कोभिड–१९ विरुद्ध लिएको प्रभावकारी कदम चालेकाले विस्तारै आर्थिक गतिविधि बढ्दै गएपछि रोजगारीमा अपेक्षाभन्दा कम संकट आएको तर्क अधिकारीहरुको छ ।

साउदीमा पुनर्विचार गर्ने श्रमिक बढ्दै

महामारी सुरु हुँदै गर्दा साउदीमा २० हजारको उद्धार गर्नुपर्ने अवस्था आउने र १ लाख कामदार रोजगार गुमाएर फर्किने वैदेशिक रोजगार बोर्डको अनुमान थियो ।

साउदीस्थित नेपाली दूतावासले भने अहिलेसम्म कोभिड–१९को महामारीका कारण कति नेपालीले रोजगारी गुमाउनुपर्यो भन्ने अड्कल पनि गर्न सकेको छैन । यहाँबाट अहिले पनि करिब २५ हजार नेपालीले स्वदेश फर्किन इच्छा देखाएका छन् । ५ हजार ४४ जना फर्किसकेका छन् ।

साउदीका लागि नेपाली राजदूत डा. महेन्दप्रसाद्र सिंह राजपुत घर जान इच्छा देखाउने अधिकांश नेपाली रोजगारीमा कुन नै समस्या भएकै कारण फर्किन चाहेकाले उनीहरुलाई प्रभावितकै नजरमा हेर्नुपर्ने तर्क गर्छन् ।ठूलो भूगोल भएकाले आफूहरुले कति कामदारले रोजगारीबाट हात धुनुपर्यो भन्ने यकीन तथ्यांक तयार गर्न नसकेको उनी बताउँछन् । तर, साउदीमा प्रभावित कामदारको संख्या सानो भने नभएको उनको भनाइ छ ।राजपुतका अनुसार महामारी विस्तारै कम हुँदै जाँदा साउदीमा पनि आर्थिक गतिविधि बढ्दै गएकाले अब आशाका किरण भने देखिन थालेका छन् ।

‘सुरुबाटै हामीलाई यो महामारीको के कस्तो अवस्था ल्याउँछ भन्ने आकलन गर्न गाह्रो थियो, अझ पनि यसले कति नेपालीलाई बेरोजगार बनायो भन्न गाहे नै छ,’ उनी भन्छन्,‘कोही नेपालीको कम्पनी खुलेको छैन, कम्पनीले रोजगारी गयो है पनि भनेको छैन, कसैले थोरै काम गरेर कम तलब बुझ्दैछन् ।’उनका अनुसार सबै कामदारको समस्या एकै खालको छैन । कसैको रोजगारी गुमिसिकेकाले घर फर्किनैपर्ने अवस्था छ ।

कति भने घर फर्किएर पनि कामविहीन हुने भएकाले साउदीमा कम्पनीले जति काम दिन्छ त्यति नै गर्छु भन्ने मानसिकतामा समेत छन् । अन्यत्र जस्तै साउदीमा पनि पहिले घर जान आतुर भएकाहरुले पुनर्विचार गर्न थालेका छन् । कतिपयले कम्पनीमा पाएको काम गर्ने र केही समस्या भएपनि रोजगारी नछोड्ने बताउन थालेका छन् । यस्ता कारणले पनि कति नेपाली अहिले कामविहीन भएर बसेका छन् भन्न अप्ठेरो भएको राजदूत राजपुतको तर्क छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::