कोरोना संक्रमणमुक्त भएपनि लामो समयसम्म असर देखिने : अध्ययन

शुक्रबार, अशोज ९, २०७७

कोरोना संक्रमणमुक्त भएपनि लामो समयसम्म असर देखिने : अध्ययन

कोरोना भाइरसको संक्रमणबाट मुक्त भए पनि त्यसको असर पछिसम्म देखिरहने एक अध्ययनले देखाएको छ।

नेपाल स्वास्थ्य अुनसन्धान परिषदले गरेको अध्ययनले सामान्य लक्षण भएका युवा र वयस्कमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने र ३५ प्रतिशत व्यक्तिहरुमा निको भएको २/३ हप्ता सम्म पनि रुघाखोकी लाग्ने, सास फेर्न ग्राहो हुने, थकान महसुस हुने जस्ता समस्या देखिने पाइएको हो।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा अध्ययनले देखाएको मुख्य विषय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

डा ज्ञवालीका अनुसार देशका सातै प्रदेशबाट संक्रमण भई निको भएका ५५२ जना व्यक्तिको संख्यात्मक र २५ जना व्यक्तिमा गुणात्मक विधिबाट सर्भेक्षण गरिएको थियो। जसमा शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यवस्थाबारे अनुसन्धान गरिएको थियो।

अनुसन्धानमा सहभागी भएका १० दशमलब ९ प्रतिशत व्यक्तिहरुमा रुघाखोकी लाग्ने, हच्छयूँ आउने, चिसो महसुस हुने, गन्ध र स्वाद थाहा नपाउने तथा सामान्य काम गर्दा समेत कमजोर महसूस हुने जस्ता लक्षण देखिएको थियो। भने ८९ दशमलब १ प्रतिशत व्यक्तिको स्वास्थ्य सामान्य रहेको पाइएको थियो।

अध्ययनले नेपालमा कोरोना संक्रमण भई निको भएका व्यक्तिमा गरेको स्वास्थ्यवस्था मुल्यांकन सर्भेमा झन्डै ९९ प्रतिशतको ट्राभल हिस्ट्री (यात्रा गरेको) पाइएको छ। जसमध्ये ६९ प्रतिशत संक्रमितले आन्तरिक र २९ प्रतिशतले अन्तर्राष्ट्रिय यात्रा गरेको पाइएको छ।

डा ज्ञवालीले स्वास्थ्यकर्मी, स्वास्थ्य समाजसेवी र कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिमा पोष्ट ट्रम्याटिक डिसअर्डर र पोष्ट ट्रम्याटिक सिन्ड्रोम भएको पाइएको छ। त्यसैगरि, सर्भेक्षण सहभागी मध्ये ७० जना दीर्घरोगी रहेको परिषद्ले जानकारी दिएको छ। जसमध्ये पनि सबैभन्दा बढी मधुमेह, मुटुसम्बन्धी, दम रोगी, श्वासप्रश्वासम्बन्धी रोग र केहीमा एचआइभी संक्रमित पनि देखिएको छ।

कोरोना पश्चात १२ प्रतिशतसम्म धुम्रपान र मद्यमान सेवन गर्न कम गरेको पाइएको छ। सो सर्भेले ८० प्रतिशत निको भएका व्यक्तिले घरायसी, घर बाहिर र आर्थिक काम सहजै गरेको पाइएको छ। भने ९ दशमलब ६ प्रतिशतले घरायसी, ९ प्रतिशतले घरबाहिर र ११ प्रतिशतले आर्थिक अवस्था काम गर्न अरुको सहायता लिएको पाइएको छ।

मानसिक स्वास्थ्यको अवस्था हेर्दा १५ दशमलब १ प्रतिशतले कोभिड१९ प्रकोपबारे बारम्बार दिक्क लाग्ने, नकारात्मक विचार आउने, ्७ दशमलब ७ प्रतिशतमा नकारात्मक सोचाई आउने, २१ दशमलब ४ प्रतिशतमा कामको चिन्ता, १९ दशमलब २ प्रतिशतमा घराउसी चिन्ता र २९ दशमलब ९ प्रतिशतमा बेरोजगारीका कारण आर्थिक चिन्ता भएको पाइएको छ।

संक्रमित व्यक्तिले रिर्पोट नेगेटिभ नभएसम्म आफुलाई अरुबाट अलग राख्नुपरेकाले मासिक कमाईमा असर परेको पाइएको छ।

कोभिडको डरका कारण संक्रमितहरुले आफन्तबाट स्नेह र प्रेम नपाएको पनि गुनासो गरेका छन्।

निको भएका व्यक्तिको सामाजिक स्वास्थ्य अवस्था हेर्दा ८४ दशमलब ३ प्रतिशत व्यक्तिले सामाजिक विभेद र दुव्यर्वहारले मानसिक समस्या भोग्नु परेको बताएका छन् भने केही व्यक्तिले तनावको प्रमुख कारण अविश्वसनीय समाचार, समाजिक सञ्जालका कारण पोजिटिभ भन्दा बढी चिन्तित बनाएको पाइएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::