कोरोना सङ्कट पश्चात् कता जाँदैछ विश्व अर्थतन्त्र

सोमवार, जेष्ठ २६, २०७७

सिए बाल चन्द्र श्रेष्ठ 'प्रबाह'

कोरोना सङ्कट पश्चात् कता जाँदैछ विश्व अर्थतन्त्र

कोरोना सङ्कट एकातिर हाम्र्रो लागि ठूलो चुनौती बनेको छ । सँगसँगै यसका दीर्घकालिन रुपमा मानव हितमा थुप्रै लाभहरु समेत सृजना गर्दैछ । यो सङ्कट पश्चात् विश्वमा थुप्रै सम्भावनाहरु पनि सृजना हुनेछन् । विश्वमा प्राकृतिक सन्तुलन कायम राख्न र प्रदूषण नियन्त्रणको लागि यस सङ्कटले हामीलाई निकै नै लाभ पुग्ने अवस्था छ । विदेशबाट फर्किने युवाहरुको सही परिचालन हुनसके दीर्घकालिन रुपमा हाम्रो अवस्था माथि उठाउन ठूलो सहयोग पुग्नेछ । पश्चिमी आविष्कारको रुपमा विकास भएको सूचना प्रविधिको प्रयोग र पूर्वीय दर्शनबाट विकास भएका मानवीय संस्कार र रीतिस्थितिलाई एकै ठाउँमा ल्याइदिएर हाम्रा आफ्ना मौलिक पहिचानको संरक्षण र परिचालनमा हामीलाई प्रोत्साहित गरेको छ ।

यद्यपि धनी र गरीव बीच पछिल्ला बर्षहरुमा दुरी घट्ने क्रममा रहेकोमा यस संकटले हामीलाई पुःन धनी र गरीबहरु बीचको दूरी बढाउने अवस्था सृजना हुने आँकलन पनि गर्न सकिन्छ । चीन र अमेरिका जस्ता ठूला शक्ति राष्ट्रहरु मिलेर सङ्कट न्यूनीकरणको लागि अघी बढ्नसके यसबाट सिङ्गो विश्वले नै राम्रो लाभ लिन सक्नेथियो । यी देशहरुले अहमको भावना नराखी कठिन परिस्थितिमा एकजुट हुन सक्ने हो भने विश्वभर मानवीयता सद्भाव र एकता विकास हुन सक्छ । पुनः मानव हितको लागि नयाँ सम्भावना सृजना गर्न सकिन्छ । तर अहिलेको अवस्थालाई हेर्दा त्यो अवस्था भने देखिँदैन । अहिले तत्काल शक्ति राष्ट्रहरु मिल्न नसक्ने हो भने यसले विश्वमा युद्ध र प्रतिशोधको वातावरण सृजना गर्नमा पनि यस सङ्कटले सघाउ पुर्याउन सक्छ । जुन हाम्रो चाहना होइन ।

विश्वको लागि यस कोरोनाले थुप्रै नकारात्मक असरहरु सृजना गरेको छ नै । यद्यपि सकारात्मक दृष्टिले हेर्ने हो भने अबका दिनमा नेपाल जस्तो देशलाई आत्मनिर्भर बनाउनको लागि समेत राम्र्रो भूमिका निर्वाह गर्नमा यसले पक्कै सहयोग गर्नेछ भन्नेमा आशावादी हुन सकिन्छ ।

अबको बाटो के हुन सक्छ ?

अबका दिनमा विश्व सामुहिक भलाईको लागि एउटै ठाउँमा उभिनु जरुरी छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई हेर्दा विश्व थप भयङ्कटर मोड तिर गइरहेको देख्न सकिन्छ । यसले विश्व राजनीतिमा कोरोना सङ्कटसँगै नयाँ तरङ्ग पैदा हुँदै गरेको समेत बुझ्न सकिन्छ । नेपालमा पनि कोरोना सङ्कट अझै बढ्दै नै गइरहेको अवस्था छ । यससँगै यसको व्यवस्थापन थप चुनौतीपूर्ण हुने निश्चित छ ।

हुनतः नेपालको गरीबी दर १७–१८ प्रतिशत मात्रै छ । साथै नेपालीहरुमा सेवाभाव कायमै रहेको कारण नेपालमा अहिले सम्म खानाकै समस्या सृजना भएको भन्ने अवस्था त सुनिएको छैन । तर पनि अबका दिनहरु कठिन अवश्य हुन सक्छन् । यस्तो अवस्थामा हाम्रो लागि मानसिक समस्या समेत सृजना हुन सक्ने कुरामा विचार गर्दै हाम्रो मनोबल बढाउन सहयोग पुग्ने कार्यक्रमहरु समेत सञ्चालन गर्नु जरुरी देखिन्छ । यसको लागि जागरुक युवाहरुलाई त्यस बमोजिमको ज्ञान प्रदान गरी उनीहरुलाई थप जनशक्तिमा यस्तो कार्यको लागि प्रोत्साहित गर्नु जरुरी समेत देखिएको छ ।

यसो गरे भोकले मर्दैनन् नेपालीहरुः

अहिलेको हाम्रो आवश्यकता भनेको खाद्यान्नको उपलब्धता नै मुख्य हो । नेपाल सरकारले अहिले नेपालीहरुको समग्र तथ्याङ्क स्थानीय निकाय मातहत तयार गरी गरीबीको रेखामुनि रहेका नेपालीहरु सबैको खातामा मासिक ५ हजार रुपियाँ सङ्कलन गर्नु उपयुक्त हुने प्रस्ताव डा. बाबुराम भट्टराईको छ । जुन अहिलेको परिवेशमा उपयुक्त हुन सक्छ भन्ने मेरो पनि धारणा हो । यसबाट सम्बन्धित सबै नेपालीहरु प्रत्यक्ष लाभान्वित हुन सक्छन् ।

विदेशबाट फर्किने नेपालीको व्यवस्थापन

नेपालीहरु रोजगारीको लागि विदेशिएकोमा कोरोना सङ्कट पश्चात् उनीहरु नेपालमा फर्कने क्रम शुरु भएको छ । विदेशिएका नेपालीहरु करिब २० देखि २५ प्रतिशत मात्र नेपालमा फर्कने हो भने पनि उनीहरुको व्यवस्थापन हाम्रो लागि ठूलो चुनौतीको विषय हुन सक्छ । नेपाल सरकारले बजेट मार्फत नेपालमा करिब ७ लाखलाई रोजगारी प्रदान गर्ने कार्यक्रम सार्वजनिक त गरेको छ । तर साँच्ची त्यति संङ्ख्यामा रोजगारी सृजना होला भन्नेमा आशङ्का रहने ठाऊँहरु पनि थुप्रै छन् । विगतलाई हेर्दा पनि त्यो कार्यक्रम सफल हुने अपेक्षा गर्न सकिँदैन ।

अर्को कुरा विदेशबाट नेपालमा फर्किने युवाहरुमा कुनै न कुनै सीप छ । उनीहरुले सिकेको सीप बमोजिमको काममा नेपालमा उनीहरुलाई लगाउन सकेको खण्डमा ती युवाहरुले नेपालको विकासको लागि ठूलो योगदान पुर्याउन सक्छन् ।

नेपाल सरकारले युवाहरुलाई लक्षित गरेर ५ प्रतिशत व्याजमा उक्त रकम उपलब्ध गराउने योजना सहित ठूलो रकम विनियोजन समेत गरेको छ । साँच्ची त्यो रकम लक्षित वर्गमा पुग्ने हो भने यसले युवाहरुको सीप र क्षमता बमोजिम उद्यमशिल बन्न केही हद सम्म सहयोग पुुर्याउनेछ ।

तर दुखको कुरा उक्त रकम कि त बैंकहरुले नीतिगत कठिनाइको कारण प्रयोग नै गर्न सक्दैनन्, कि त त्यो रकम पहुँचवालाहरुको मात्र पहुँचमा पुग्ने अवस्था रहन सक्छ । यस्तो अवस्थालाई विचार गर्दै सही तवरले त्यसको परिचालन हुने व्यवस्था गर्नु अहिलेको आवश्यकता बनेको छ ।

बौद्धिक वर्गको दायित्वः

राज्यले अब नेपालका बौद्धिक वर्गलाई राम्रो तवरले परिचालन गर्ने नीति लिनुपर्छ । उनीहरुलाई नीतिनिर्माण लगायतका कार्यमा परिचालन गर्नु जरुरी छ । जसबाट हामीले दीर्घकालिन लाभ हुनेगरी नीतिगत व्यवस्था गर्न सक्छौं । अब पनि हाम्रा निर्णयहरु हचुवाको भरमा हुने हो भने हाम्रो अवस्था अझ कठिन बन्दै जानेछ ।

वैदेशिक सहयाेग लिनुपर्ने अवस्था सृजना हुँदै

नेपालमा सङ्कट लामै समय रहने देखिएकाे छ । यसरी सङ्कट बढ्दै गएको खण्डमा भारत वा चीन जस्ता देशहरुबाट सुलभ दरमा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ । सहुलियत दरमा त्यस किसिमकाे सहयाेग लिन हामीले अप्ठ्यारो मान्नुहुँदैन । विभिन्न क्षेत्रका विशेषज्ञहरुको सल्लाह बमोजिम त्यस किसिमको कार्यमा नेपाल सरकारले उपयुक्त निर्णय पनि लिनुपर्छ ।

व्यावसायिक क्षेत्रमा असर

अहिलेको लकडाउन र कोरोना संकटले गर्दा नेपालमा विभिन्न व्यावसायिक क्षेत्रहरुमा नराम्रो असर परेको छ । सबैभन्दा बढी असर पर्ने क्षेत्र भनेको पर्यटन हो । यस क्षेत्रमा ऊर्जाशिल युवाहरु संलग्न भएका छन् । पर्यटन क्षेत्रका मानिसहरु अहिले निकै नै आत्तिएका छन् । उनीहरुलाई तत्काल सम्बोधन गर्नु जरुरी छ । अहिले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने भनेर विगत देखि नै घोषणा गरिएको कारण यस क्षेत्रमा व्यवसायीहरुको निकै ठूलो रकम लगानी समेत भएको थियो । जुन अहिलेको सङ्कटले डुबेको छ ।

कोरोना सङ्कट पश्चात् नयाँ उदाउँदै सूचना प्रविधि

सूचना प्रविधि क्षेत्र कोरोना सङ्कट सँगै नयाँ उदाउने क्षेत्र बन्दैछ । आर्टिफिसियल इन्टेलिजेन्ट, रोबर्ट सिष्टम लगायत आइटीमा नेपालको लागि नयाँ क्षेत्र हुन सक्छन् । चीनको कुल आम्दानीको १८ प्रतिशत आय यसै सूचना प्रविधि क्षेत्रबाट नै हुने गरेको छ । जबकि अमेरिकामा आइटीको योगदान ८ प्रतिशत मात्र छ । देख्दा चीन र अमेरिकामा १० प्रतिशत मात्र फरक देखिएपनि पूर्ण तथ्यांकलाई हेर्दा यो अन्तर ५० गुणा भएको पाइन्छ । चीनले अनलाइन व्यवसाय प्रवद्र्धनको लागि निकै लामो समय देखि नै प्रयत्न गर्दै आएको थियो । अब नेपालमा पनि यस क्षेत्रको प्रवद्र्धनको लागि हामीले विशेष जागरुकता सहित काम गर्नु जरुरी छ ।

कृषिमा नयाँ प्रविधि

अबका दिनमा कृषिमा नयाँ प्रविधि भित्रिने र उत्पादन बढ्ने निश्चित छ । तर कृषिमा निर्भर जनशक्तिको सङ्ख्या नेपालमा अझै घट्नेछ । साथै कृषिको उत्पादकत्व भने प्रविधिको प्रयोग सँग बढ्न सक्छ । जुन हाम्रो चाहना पनि हो ।

अबका सम्भावना

पर्यटन, जडिबुटी, कृषि, जलविद्युत लगायतका क्षेत्रहरु नै नेपालको लागि दिगो रुपमा राम्रो सम्भावना भएका क्षेत्रहरु हुन् । यी क्षेत्रहरुको विशेष प्रवद्र्धन गर्न दीर्घकालिन योजना सहित अघी बढ्नु जरुरी छ ।

भर्चुअल शिक्षा र यसको प्रभावकारिता

नेपालमा अहिले अनलाइन भर्चुअल कक्षा सञ्चालन कार्य समेत निकै नै चुनौतीपूर्ण देखिएको छ । सबै गरी केवल १२ प्रतिशत विद्यार्थीको पहुँचमा अनलाइन कक्षा सञ्चालन हुन सक्ने देखिएको अहिलेको अवस्थामा यसलाई बाँकी ८८ प्रतिशतको पहुँचमा विस्तार गर्न निकै नै कठिन छ । अनलाइनको पहुँचमा नभएका बालबालिकाहरुलाई अब कसरी सम्बोधन गर्ने भन्नेमा राज्यले तत्कालै विशेष केही सोच्न सकेकोे छैन ।

यद्यपि राज्यले कम्तीमा ती बालबालिकाहरुलाई घरमा रहँदा कसरी सृजनशिल र उत्पादनमूलक बनाउन सकिन्छ भन्ने सम्बन्धमा स्थानीय निकायबाटै निगरानी गर्ने व्यवस्था गरी सोहीबमोजिम संस्कार विकास, कृषि तथा उत्पादनशिल र सीप विकासमूलक कार्यमा संलग्न बनाउन भने जरुरी थियो । तर राज्यले त्यस बारे पनि केही सोचेको पाईंदैन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::