कोल्टे फेरिएको राजनीति

मङ्लबार, बैशाख ७, २०७८

एन.मिडिया न्युज डेस्क

यतिबेला राजनीति कोल्टे फेरिएको छ । सत्तामा भएकाहरूलाई सत्तामा हुनुको कुनै स्वाद छैन, उता सडकमा भएकाहरूलाई भोलि नै सत्ताधारी होइने लालसाले गाँजेको छ । आन्तरिक रूपमा राजनीति कोल्टे फेरेको फे¥यै छ । यो केवल घरेलु राजनीतिको मात्रै पटकथा हैन । विश्व राजनीतिको सामान्य बाछिटा हो । यसै विषयमा समसामयिक राजनीतिको संक्षिप्त आकलन गर्ने यो आलेखको ध्येय रहेको छ । अमेरिकामा ४६ राष्ट्रपतिमध्ये जम्मा तेह्रजनाले बाहेक दोस्रो अवधिमा पराजय भोगी एक अवधिमा नै ह्वाइट हाउसको दरबार छोड्न प¥यो । उता भ्लादिमिर पुटिन भने सन् १९९९ देखि अकण्टक सत्ताको शिखरमा आसीन हुनुहुन्छ । र अझै दुई कार्यकालका लागि कायम रहने लालसा व्यक्त गर्नुभएको छ । उता जर्मन चान्सलर एङ्गेला मर्केलले लगातार दुई दशक लामो सत्ताको नेतृत्व गर्नुभयो । ७० पुग्न लागेका सि जिन पिड झण्डै एक दशकदेखि सर्वोच्च नेताका रूपमा एक दार्शनिकका रूपमा विकासका लागि एक विश्वदृष्टिकोण निर्माताका रूपमा आफूलाई परिचित गराउनुभयो । लामो समय शासनको बागडोर समाल्नेहरूले कुनै न कुनै पहिचान बनाएर आफू र आफ्नो मुलुकलाई विश्वसामु चिनाएका छन् ।

राजनेताले अर्को पुस्ताको बारेमा चिन्तन गर्छ, नेताले अर्को चुनावसम्मका लागि चिन्तन गर्छ । तर न नेता न राजनेता बरु खलनायकहरूले आफू आफ्नो परिवार वा गुटबाहेक अरू सबैलाई शत्रु, बुद्धु, ग्वँवार वा यस्तै यस्तै उपनामबाट कटाक्ष गर्ने गर्छ । कुनै बेला विश्व राजनीतिको केन्द्र अमेरिका युद्ध निर्यात गर्दथ्यो । यही प्रक्रियामा इराक इरान वार (युद्ध), अमेरिका इराक वार, अफगानिस्तान वारजस्ता अनेकन वार अमेरिकाका फस्टाउँदा व्यवसाय बने । कालान्तरमा आफगानिस्तानमा जुन सरकारलाई अपदस्त गरी तिनका विरुद्ध वार एगेन्स्ट टेरोर (आतङ्कविरुद्धको युद्ध) को नाममा युद्ध छेडेको थियो झण्डै एक दशकमात्रै पछि तिनै आतङ्कवादीहरूसँग अमेरिकाले वार्ता गर्ने र वैधानिक सत्ताले वार्ताको सर्तहरू मानिदिनुपर्ने अवस्थामा पु¥यायो । सिरियाका विद्रोहीहरूलाई अमेरिकी साथ र समर्थनमा वैधानिक सिरियाली सत्ता थर्कमान हुनपर्ने अवस्था आइलागेको छ ।

कुनै बेला चीन अमेरिकाको शत्रु थियो । युद्धको घोषणा कुनै पनि बेला हुन सक्ने आकलन गरिएको थियो । कोरोनाको फैलावटका कारण अमेरिका थला प¥यो । चीन देशभित्र कोरोना नियन्त्रण गर्दै विश्वभर कोरोना विरुद्ध लड्ने सामग्रीहरूको उत्पादनसहित भ्याक्सिन उत्पादन र निर्यात गर्नमा व्यस्त रह्यो । तब यो तनाब केही समयका लागि मत्थर भयो । फेरि पनि चीन पहिलो अर्थतन्त्र हुने दौडमा भएका कारणले व्यापारमा परिणत भएको राजनीति अब चीनको हातमा जाने खतराबाट तर्सिएर चीन विरोधी विश्व अमेरिकी धुरीमा अरू राष्ट्रहरू बलात् टाँसिन पुगेको आजको अवस्था हो । संसारभर घाम नअस्ताउने देशका रूपमा चिनिने बेलायत आज युरोपियन युनियनबाट छुट्टिएर अमेरिकाको सहयोगी बन्न बिन्तीपत्र हाल्ने अवस्थामा पुगेको छ । बीचका दोगला राष्ट्रहरू चीन र अमेरिका दुवैबाट दोहन गर्ने र आफ्नो स्वार्थ अनुकूल धुरी समात्ने प्रवृत्ति देखाइरहेका छन् । विश्व राजनीतिमा फेरिएको यो कोल्टे कहाँ पुगेर बिसाइ मार्ने हो र यसका बाछिटाहरू साना मुलुकहरूमा के र कस्तो पर्ने हो, कसैले आकलन गरेको पाइँदैन ।

नेपाल शीत युद्धका बेला पनि असंलग्न राष्ट्रका रूपमा आफ्नो छवि बनाएर बस्यो । पछिल्लो चरण असंलग्न आन्दोलनको नेतृत्व र पहलकर्ताको रूपमा पनि भूमिका निर्वाह ग¥यो । त्यो अवधिमा यसले मुलुकलाई कति फाइदा ग¥यो भन्न बारेमा लेखाजोखा हुन बाँकी नै होला । तर भयानक पहिलो र दोस्रो विश्व युद्धका बखत नेपालीहरू युद्धमा सामेल भए पनि नेपाल देश आफैँ भने कसैको पक्ष वा विपक्षमा रहेन । त्यसैका कारण नेपाल कसैको उपनिवेश रहेन भन्ने गरिन्छ । भाडाको सिपाही सरी भारतीय र बेलायती सेनामा सहभागी भएर भारत र बेलायतका पक्षमा र अरू कुनै नेपालको दौत्य सम्बन्ध भएको राष्ट्रका विपक्षमा लडेको, लड्ने गरेको र आजपर्यत्न पनि त्यो स्थितिमा अन्तर नआएको तथ्यले भने बारम्बार सत्ताको बागडोर समाल्नेहरूलाई गिज्याउनुपर्ने हो । कुनै बेला संयुक्त राष्ट्रसङ्घको पुनर्संरचना हुँदा, सोको स्थायी सदस्यहरू थपिँदा, थपिएको सिटमा भारतले उम्मेदवारी दिँदा नेपालले भारतको पक्षमा मतदान गर्नेछ भन्ने दस्तावेजमा हस्ताक्षर पनि गरियो । श्रीलङ्काको विरुद्धमा राष्ट्रसङ्घमा मतदान हँुदा दक्षिण एसियाली मुलुक सबै र उत्तरी छिमेकी मुलुकले समेत विपक्षमा मतदान गर्दा सार्कमध्येकै एक मुलुक भारतले अनुपस्थिति जनायो, भारतकै पछाडि लागेर नेपाल पनि अनुपस्थित हुँदा सार्क राष्ट्रको अध्यक्ष यो मुलुक नेपालको न असंलग्न र तटस्थ नीतिको बचाउ भयो न चीन र भारतका बीचमा समान सम्बन्ध कायम राख्ने नेपालको संविधानको परिकल्पना बमोजिम राष्ट्र हितका पक्षमा काम भयो । यति हँुदा पनि राजनीतिले कोल्टे फेरेको औपचारिक घोषणा छैन ।

राष्ट्रवादको पहिचान बनाएको नेपाली जनमतले थाहा पाएको छैन वा वास्ता गरेको छैन वा ऊ पनि फेरिएको हो भन्न सकिने अवस्थामा छैन । अझ नेपालको विडम्बना त के रह्यो भने जसलाई समर्थन ग¥यो उसले त्यसलाई समर्थन नठान्ने बरु रणनीति ठान्ने । जसले समर्थन प्राप्त गर्न सकेन उसले विरोधी ठान्ने कुरा त सोझै बुझिने भयो । यसो गर्दा नेपालको पक्षधरताले वैधता र सहुलियत नपाउने उल्टो विरोधी कमाउने कूटनीति हालैका दिनहरूमा देखापर्ने गरेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली चासोको विषय बन्न नसक्ने बरु अमेरिकी र भारतीय चासो बन्ने ! घटनाक्रमहरूले राजनीति केवल कोल्टे मात्रै फेरेको छैन, यसले काँध नै फेरेको छ भन्ने देखाउँछन् । अबको भूमिका के भन्ने नै सर्वाधिक महìवको विषय हो । विगतबाट पाठ सिक्ने हो, भविष्य अनिश्चित छ त्यसप्रति पनि धेरै चिन्ता गर्ने हैन तर वर्तमान सबैभन्दा महìवको घडी हो । यो अवधिमा गर्ने निर्णयले भविष्यलाई दिशा निर्देश समेत गर्छ भन्ने भनाइमा विश्वास गर्ने हो भने नेपालले आफ्नो संविधानमा लेखेबमोजिमको असंलग्न परराष्ट्र नीति र छिमेकीहरूसँगको समदूरीको नीति नै कायम गर्नुको विकल्प छैन ।

उत्तर र दक्षिणका दुई छिमेकीमध्ये एकले गरेको प्रस्तावको पक्ष र अर्कोको प्रस्तावको विपक्षमा उभिने र अन्तर्राष्ट्रिय मन्चमा एकको विरुद्ध अर्कोको पक्षमा खुलेआम लाग्ने व्यवहार नेपालको परराष्ट्र नीतिको उल्लङ्घन त हुन्छ नै, संविधानको उल्लङ्घन हुने प्रष्ट छ । संविधानको उल्लङ्घन हुँदै जाँदा कालान्तरमा मुलुक छिमेकीको दबदबा, अनावश्यक दबाबमा पर्ने र अनावश्यक हस्तक्षेपलाई आमन्त्रण गर्ने कामको थालनी हुनेछ । भारत र पाकिस्तान दुवै नेपालको दौत्य सम्बन्ध कायम भएका देशहरू मात्रै नभएर सार्क राष्ट्रका सदस्यहरू पनि हुन् । नेपालीहरू भारतीय सेनामा कार्यरत छन् । उनीहरू पाकिस्तानका विरुद्धको लडाइमा अग्रमोर्चामा खटिने गर्छन् । भारतीय भूमिको रक्षाका लागि हरेकपटक बलिदान गर्न बाध्य छन् । अनि नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्ने पहिचानको के अर्थ हुन्छ ? दोक्लाम युद्धमा भारत र चीनको लडाइ जारी छ, कुनै पनि बेला त्यो भड्किन सक्ने खतरामा छ । यहाँ पनि भारतीय सेनामा कार्यरत नेपालीहरूलाई चीनका विरुद्ध लडाउने भारतको चाहना प्रष्ट बुझिन्छ । यतिबेला चीनले नेपाली जवान वा नेपालमाथि नै आक्रमण गरेमा नगर भन्ने नैतिक हिम्मत नेपाल सरकारले कहाँनेर बाँकी राखेको छ ? यस्तो संवेदनशील मामलामा नेपाल सरकारले आफ्नो दायित्व बोध गर्न पर्छ ।

प्रश्न उठ्न सक्छ, यो अवस्था आजको हैन । हिजैको होला तर राष्ट्रको बागडोर सम्हालेपछि यी कुरा गर्न पर्दैन भन्ने कहीँ कतै छ र ? अर्को प्रश्न पनि उठ्न सक्छ, हिजो के हेरेर बसेको त ? हो, हिजोभन्दा आज फरक हो भन्ने दावा गरिरहँदा हिजो गर्न नसकेका सबै काम आज गर्नुपर्छ । आज ती काम भइदिऊन् भन्ने अपेक्षा जनताको हो । यति कुरा गर्न सकिएन भने फेरि पनि जुन जोगी आए कानै चिरेका भन्ने उखान चरितार्थ हुनेछ ।

(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::