खाडीमा नेपालको खानेपानी निर्यातको प्रचुर सम्भावना,२०२२ को विश्वकप अवसर

सोमवार, मंसिर १५, २०७७

खाडीमा नेपालको खानेपानी निर्यातको प्रचुर सम्भावना,२०२२ को विश्वकप अवसर

सन् २०१८ मा मध्यपूर्वी क्षेत्रले १८ करोड ३० लाख अमेरिकी डलर मूल्यबराबर बोतलको खानेपानी आयात गर्याे ।सोही वर्ष गल्फ काउन्सिल फर कोअपरेसन (जिसिसी) ले १७ करोड डलरमा बोतल पानी आयात गर्याे ।

जिसीसीमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स गरी ६ मुलुक आवद्ध छन् । मध्यपूर्वी क्षेत्रमा जिसीसीसहितका १६ देश छन् ।

युरोमिटर इन्टरनेसनलको एक प्रतिवेदन अनुसार विगत पाँच वर्षमा मध्यपूर्वी देशहरूमा बोतलको पानीको उपभोग तिहाइभन्दा बढीले वृद्धि भएको छ ।सन् २०१८ मा त्यहाँको खानेपानीको बजार आकार झन्डै १९ अर्ब डलर पुगेको थियो । सन् २०२४ सम्ममा त्यो बढेर झन्डै साढे २५ अर्ब पुग्ने अनुमान छ ।कतार वातावरण तथा उर्जा अनुसन्धान संस्थानले गरेको एक सर्भे अनुसार कतारको ३० प्रतिशत जनसंख्यालेमात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ ।खानेपानीको बढ्दो मागकाबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदमा उल्लेख छ ।

बढ्दो जनसंख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतना लगायतका कारण त्यहाँका जनता धाराको पानीबाट ‘मिनिरल वाटर’मा ‘सिफ्ट’ भएका छन् ।यसले पानी निर्यातका लागि मध्यपूर्वी क्षेत्रमा विशाल बजार देखाउँछ ।

मध्यपूर्वमा खानेपानी निर्यातको सम्भावनाबारे सरकारको ‘थिंक ट्यांक’ नीति अनुसन्धान प्रतिष्ठानले एउटा प्रतिवेदन तयार गरेको छ ।प्रतिवेदन भन्छ, ‘मध्यपूर्वमा नेपाली खानेपानी निर्यात गर्ने प्रशस्त सम्भावना छ ।’

अरब नै किन ?

विश्वमा पानीको संकटग्रस्त क्षेत्र मानिन्छ, मध्यपूर्वी अर्थात् खाडी क्षेत्र । पानी अभावका कारण पानीभन्दा कोकाकोला सस्तो हुने र तिर्खा मेटाउन त्यहाँका मानिसहरू पानीको सट्टा कोक पिउने गरेका किस्सा बेलाबेला सुन्नमा आउँछन् ।

नेपाल जलस्रोतमा दोस्रो धनी देश मानिन्छ । जलस्रोतको प्रचुर सम्भावना भए पनि नेपालले त्यसको उपयोग गर्न सकेको छैन ।नेपालले मध्यपूर्वी क्षेत्रकाे पानी संकटलाई उपयोग गर्न सकेको खण्डमा त्यसबाट मनग्य आम्दानी गर्न सक्ने सम्भावनालाई अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

मध्यपूर्वी क्षेत्रमा पानी निर्यातको सम्बन्धमा अध्ययन गरेका अनुसन्धाता सरोज ढकाल मध्यपूर्वीभित्र पनि जिसीसी मुलुकमा पानी निर्यातको प्रचुर सम्भावना देख्छन् ।‘हामीलाई बजारभन्दा पनि निरन्तर रुपमा पानी दिन सक्छौं कि सक्दैनौं भन्ने कुराको सुनिश्चितता मुख्य कुरा हो,’ उनी भन्छन् ।

नेपालको खानेपानी निर्यातको सम्बन्धमा अध्ययन गराएका प्रतिष्ठानका तत्कालीन अध्यक्ष डा. गणेश गुरुङ विद्यमान पानीको गुणस्तर स्तरोन्नती गरेर महंगो मूल्यमा बेच्न सकिने बताउँछन् ।‘खाडीमा पानी महंगो छ,’ उनी भन्छन्, ‘हामीसँग उपलब्ध पानीको स्तरोन्नती गरेर उच्च गुणस्तरीय बनाउन सक्यौं भने महंगो मूल्यमा पानी बेच्न सकिन्छ ।’

पानी निर्यातका लागि विश्वकप हुनसक्छ सुनौलो मौका

सन् २०२२ मा कतारको दोहामा विश्वकप फुटबल हुँदैछ । नेपालले चाहेको र प्रयास गरेको खण्डमा पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजारको दायरा बढाउने सुनौलो अवसर विश्वकप हुनसक्ने प्रतिवेदनले औंल्याएको छ ।

‘कतारको दोहामा हुन गइरहेको विश्वकपमा नेपालले पानी निर्यातका लागि स्थान लिनसक्ने सम्भावना देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।कतार विश्वबजारमा पानी आयात गर्ने देशमा ४४ औं स्थानमा छ । अहिले कतारले वार्षिक एक करोड १७ लाख डलरको पानी आयात गर्दै आएको छ ।

सन् २०२२ सम्ममा पानीको माग स्वभाविक गतिमा बढ्ने कुरा त छँदैछ, यसबाहेक पनि विश्वकपको अवसरमा आवश्यकता झन चुलिनेछ ।

विश्वकपमा कतारका ८ वटा रंगशालामा ३२ वटा देशको ६४ वटा खेल आयोजना हुँदैछन् । विश्वकपले त्यहाँ संसारभरका मानिसहरूको बाक्लो चहलपहल हुन्छ ।

‘त्यस्तो अवसरमा नेपालले ठाउँ पाउन त सक्छ, तर यसका लागि त्यहाँ पानी आपूर्ति गर्ने अन्य ठूला कम्पनीसँग सहकार्य गरेर आफ्नो उत्पादन बेच्न नेपाललाई सहज हुन्छ,’ अनुसन्धाता ढकाल भन्छन् ।

सन् २०२२ मा कतारमा पानी निर्यात गर्न नेपालको पानी निर्यातकर्ता प्रमुख कम्पनी ‘हिमालयज अन टप’ ले सबै मापदण्ड पूरा पनि गरिसकेको छ ।यसबारे कतारका सरकारी अधिकारीसँग वार्ता पनि भइसकेको छ । तर, अन्तिम निर्णय भने भइसकेको छैन ।

नेपालको पानीमा रहेका खनिजले हाडदेखि मुटु रोगसम्मको जोखिम कम गर्छ

विश्व स्वास्थ्य संगठनका अनुसार पिउने पानीमा पर्याप्त म्याग्नेसिम र क्याल्सियमको मात्रा मिलेमा यसले हाडसम्बन्धी रोग र मुटुुरोगको सम्भावना कम गराउँछ । यसको लागि ‘स्प्रिङ वाटर’ एक मुुख्य स्रोत होे । स्प्रिङ वाटरमा म्याग्नेसियम, क्याल्सियम, सोडियम र पोटाजियमजस्ता खनिज पदार्थ प्रचुर मात्रामा पाइन्छ ।

संसारमा पाइने जलस्रोतमध्ये २.६ प्रतिशतमात्र ताजा पानी हो, जुन पिउनयोग्य छ । त्यसमध्येको ठूलो हिस्सा नेपालको हिन्दुकुश हिमालय क्षेत्रमा पाइन्छ । हिन्दुकुश क्षेत्रको ‘स्प्रिङ’ र ‘ग्लेसियर’ पानी स्वास्थ्यका दृष्टिले अतिउत्तम मानिन्छ ।

पाँच हजार मिटर भन्दा अग्ला १५ सय, सात हजार मिटरभन्दा अग्ला ९० र आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमाल नेपालमा अवस्थित छन् ।उच्च हिमाल र असंख्य पहाडहरूका कारण हामीसँग ‘स्प्रिङ’ र ‘ग्लेसियर’ पानीका को असंख्य स्रोत छन् । यीमध्ये अधिकांश स्रोत मान्छेको पहुँच र सम्पर्कबाहिर छन् ।यो नै नेपालको पानी निर्यात गर्ने ‘ब्रान्डिङ’ माध्यम हुनसक्छ ।

जलवायु परिवर्तनको प्रभाव भएपनि उचित संरक्षण नीति र वित्तिय लगानी भएमा हिमनदीको पानी (ग्लेसियर वाटर) र स्प्रिङ वाटर सदावहार आम्दानीको स्रोत हुनसक्छ ।

हवाइजहाजबाट पानी निर्यात

खाडी मुलुकसँग सीधा जोडिएको नेपालको स्थलमार्ग छैन । समुद्रसँगको पहुँच नभएका कारण सामुद्रिक सुविधाको सम्भावना पनि छैन । यसका लागि एउटै उपाय हो, हवाई यातायातको उपयोग ।

नेपाल एइरलाइन्सको कार्गो शुल्क अत्याधिक सस्तो छ । साढे १ टनलाई किलोको दरले ४२ रुपैयाँ तोकिएको छ भने २ टनलाई प्रतिकिलो ३५ रुपैयाँ । कतारको दोहामा नियमित रुपमा नेपाल एयरलाइन्सको १२ देखि १५ उडान हुन्छ ।

पानी निर्यातका लागि यही उपाय अवलम्बन गर्न सकिने प्रतिवेदन औंल्याउँछ ।

तर, ३५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा ढुवानी गर्दा स्प्रिङ वाटरको गुणस्तर खस्किने सम्भावना भएका कारण यसका लागि तापक्रम नियन्त्रण विधि भने आवश्यक हुने अनुसन्धाता ढकाल बताउँछन् ।

  • साभार: नेपाल वाच

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::