चाकुकाे कथा !

मङ्लबार, पुस २९, २०७६

चाकुकाे कथा !

जाडोमा खासगरी माघे संक्रान्तिमा खाइने एक परिकार हो चाकु । चाकुलाई नेपाली चकलेटको रुपमा समेत चिनिन थालेको छ । काठमाडौं उपत्यकाको प्राचीन सहर टोखा र चाकु एक अर्काका पर्यायजस्तै बनेका छन् । तोरीको तेलका लागि खोकना र जुजु द्यौका लागि भक्तपुर भएजस्तै टोखा चाकुका लागि प्रख्यात छ । \

नेपाल भाषामा ‘तु’ भनेको उखु र ‘ख्य’ भनेको खुला ठाउँ हो। धेरै उखु खेती हुने भएकाले यस ठाउँलाई पहिले ‘तुख्य’ भनिन्थ्यो। जुन अहिले टोखाको नामले चिनिन्छ। स्थानीय काशीलाल श्रेष्ठका अनुसार यहाँ पहिले धेरै उखु खेती हुन्थ्यो। बाजेहरुले उखुको रस निकालेर त्यसलाई पकाइ चाकु बनाउँथे। चाकु पहिले नेवार समुदायले मात्र खाने भएतापनि अहिले सबैमाझ प्रिय छ। टोखा गेटबाट अघि बढ्ने बित्तिकै चाकुको मगमग बास्नाले जोकोहीलाई पनि लोभ्याउँछ। योमरी पून्ही सुरुभएसँगै टोखाका चाकु व्यापारीलाई अहिले चाकु बनाउन भ्याइनभ्याइ छ।

चाकु बनाउने काममा उत्तिकै मिहेनत पनि लाग्छ। चाकु बनाउन साधरणतया सख्खरलाई १३० डिग्री तापक्रम नहुन्जेल भाँडामा उमालिन्छ। उमालिएको चाकुलाई अथ (माटोको भाँडा)मा खन्याएर सेलाइन्छ। यसलाई झन् चिसो बनाउन सफा र चिसो जमिन वा मार्बलमा राखिन्छ। त्यसपछि सेलाएको चाकुलाई खम्बामा झुन्ड्याइएको किलामा अड्याई सरसर तानिन्छ। यसो गर्नाले चाकु अझ मिठो हुने र रंगपनि राम्रो आउने चाकु व्यापारी बताउँछन्।

चाकु शरीरका लागि पनि फाइदाजनक मानिन्छ। यसमा क्याल्सियम, फस्फोरस र आइरन लगायतका तत्वहरु पाइन्छ। सुत्केरी महिलालाई तागतका लागि हाम्रो समाजमा चाकु खुवाउने चलन छ। योमरी पुन्हि र माघे सक्रान्तिमा चाकुले विशेष महत्व राख्ने गर्दछ। जाडोमा तातो गराउने भएका कारण पनि पुस्तौंदेखि चाकुको महत्व हाम्रो समाजमा रहिआएको छ।

  • कान्तिपुर साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::