जवानीमा अपराध, बुढ्यौलीमा जेल

बिहिबार, कार्तिक ४, २०७३

जवानीमा अपराध, बुढ्यौलीमा जेल

काठमाडौं-‘आज एउटा ठूलो डरको अन्त भयो । २० वर्षसम्म म पक्राउ पर्ने त्रासमा बाँचें,’ प्रहरीले सोमबार हतकडी लगाउनासाथ थापाले भने, ‘काठमाडौंमा मलाई नपुग्दो थिएन तर थोरै लोभ गर्दा गाउँमा लुकेर बस्नुप¥यो, परिवारको इज्जत गयो ।’

पाप धुरीबाट कराउँछ भन्ने नेपाली कथन यतिबेला नारायणबहादुर थापासँग मेल खायो । ३५ वर्षे उमेरमा बाटो बिराएका थापालाई ५५ को हुँदा केन्द्रीय अनुसन्धान ब्युरोले नुवाकोटबाट पक्राउ गरेको हो ।

 ब्युरोका अनुसार थापा ०५३ पुस ९ मा काठमाडौं ज्ञानेश्वरमा भएको लागुऔषध खैरो हेरोइनको किनबेचमा सहभागी थिए । ज्ञानेश्वरस्थित एभरेस्ट ट्रेकिङमा स्टोर किपर रहेका थापाले आफ्ना साथी सरोजरत्न शाक्यसहितको समूहलाई खैरो हेरोइन लुकाउन र किनबेचका लागि आफ्नै कार्यालयको कोठा उपलब्ध गराएको कसुर अदालतले प्रमाणित गरेको थियो ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार शाक्यसहितको समूहले २० वर्षअघि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै रक्सौल पुगेर खैरो हेरोइन काठमाडौं ल्याएका थिए । थापा समेतको सहभागितामा ८५ हजारमा करिब आधा किलोग्राम खैरो हेरोइन काठमाडौंमा किनबेच गरेका बेला प्रहरीले छापा मारेको थियो ।

एसपी लोहनीका अनुसार घटनापछि फरार रहेका शाक्यलाई भने ब्युरोको टोलीले ०६९ मा पक्राउ गरिसकेको छ ।

थापाका एउटा छोरा दुबईमा, एउटा जापान र छोरी अमेरिका छन् । थापाको अहिले काठमाडौं मनमैंजुमा घर छ । थापा श्रीमतीसँग नुवाकोट बस्दै आएका थिए । नुवाकोट भदुटारमा असल किसान र सामाजिक कार्यकर्ताको परिचय बनाएका थापा महिना–महिना घरको भाडा उठाउन खुसुक्क काठमाडौं आउँथे ।

थापाले आफूलाई २० वर्षअघि पनि अभाव नभएको, शान्ति नै भएको तर सानो लोभले गर्दा त्यसपछि खुसी रहन नसकेको बयान प्रहरीमा दिएका छन् । ब्युरो टोलीका कमान्डर प्रहरी निरीक्षक भिष्म हुमागाईंले भने, ‘अभियुक्तलाई पक्राउ पर्नुअघि प्रत्येक दिन कहिले पक्राउ पर्छु भन्ने त्रास हुँदो रहेछ । उनले प्रहरी आफूतर्फ आउँदा पनि त्रास हुने गरेको र अहिले पक्राउ परेपछि मात्रै धेरै वर्षदेखिको त्रास  हटेको बयान दिए ।’

ब्युरोका अनुसार लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतले ०५६ चैत ३ गते थापासहित अन्यलाई सात वर्ष ६ महिना कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाअघि नै धरौटीमा रिहा भएका थापा त्यसयता प्रहरीबाट आफूलाई लुकाउँदै हिँडेका थिए । काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले ०५९ भदौ ११ मा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । पुनरावेदनको फैसलालाई ०६१ चैत ५ मा सर्वोच्च अदालतले सदर गरेपछि ब्युरो फैसला कार्यान्वयनमा जुटेको थियो ।

‘अदालतको पहिलो फैसलापछि फरार रहेका उनलाई अदालतको पछिल्लो फैसला समेत जानकारी रहेनछ,’ लोहनीले भने, ‘उनका आफन्त समेत कानुन व्यवसायी भएकाले पक्राउ नपर्दासम्म आफैं प्रहरी सम्पर्कमा नआएको देखियो । तर, काठमाडौं आउँदा पक्राउ पर्ने डरले मोबाइल समेत नुवाकोटमै छाड्दा रहेछन् ।’ nagariknews.com बाट साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::