जस्तो विचार, उस्तै जिन्दगी

मङ्लबार, अशोज ६, २०७७

जस्तो विचार, उस्तै जिन्दगी

हाम्रो वरपर रहेका कुनै पनि वस्तु कुरुप छैनन् । हरेकले आफ्नो अपूर्व सौन्दर्यको प्रकाशन गरिरहेका छन् । सौन्दर्य सीमित र एउटै किसिमको अवश्य हुँदैन तर हरेक वस्तुका फरक नाम, काम र शैलीमा सौन्दर्यको अस्तित्व जीवित हुन्छ ।

हामी ब्रह्माण्डको केन्द्रमा छौँ । हामी छौँ र ब्रह्माण्ड छ । संसार हाम्रो परिधिमा छ । हाम्रा हरेक संवेदनाको सूक्ष्मतम अनुभूति ब्रह्माण्डीय ऊर्जालाई हुने गर्दछ । हामीले गर्ने व्यवहार र विचार कहिल्यै निरर्थक हुँदैनन्, तिनले कुनै न कुनै परिणाम दिएरै छाड्दछन् । ब्रह्माण्ड यति सचेत र सतर्क छ कि हरेक संवेदना र प्रयत्नको प्रतिक्रिया तुरून्त व्यक्त गर्दछ ।

ब्रह्माण्ड सधैँ हाम्रो मनोकांक्षा पूरा गर्न तयार भएर बसेको छ । हामी जे चाहन्छौँ, त्यही आफूतिर आकर्षित गर्दछौँ । हाम्रो मानसपटलमा उत्पन्न हुने हरेक विचार र सोचाइहरु तत्काल ब्रह्माण्डीय ऊर्जासँग गएर ठोकिन्छन् र त्यस्तै विचार र सोचाइबमोजिमका परिणामहरु लिएर फर्कन्छन् । यसरी हेर्दा हाम्रा आजसम्मका परिणाम र उपलब्धिहरु हाम्रै चिन्तन र विचारका परिणति हुन्, प्रतिफल हुन् ।

हाम्रो राम्रो परिणाम राम्रो विचारको साक्षात् उदाहरण हो । यदि हामीसँग दुःखद नतिजाहरु छन् भने हामीले दुःखद विचारहरु मानसपटलमा उत्पन्न गरेका थियौँ भनेर बुझ्नुपर्दछ । यदि हामीलाई आनन्द, शान्ति र सन्तोष उत्पन्न गर्ने परिणामको अपेक्षा र चाहना छ भने त्यसैअनुसारको विचार मनमा आउनु आवश्यक छ ।

मान्छेको जीवन नै उसका विचारको प्रतिबिम्ब हो । यदि सकारात्मक विचार धारण गर्दछ भने उसले सकारात्मक प्रतिफल प्राप्त गर्दछ, नकारात्मक विचार धारण गर्दछ भने नकारात्मक प्रतिफलमा चित्त बुझाउनुपर्दछ ।

कुनै पनि वृक्ष विकसित हुनका लागि उसले वीज बनेर रोपिनुपर्दछ । हरेक बीउले बोट र वृक्षको रुप धारण गर्ने हुन् । हामीले प्राप्त गरेका उपलब्धि वृक्ष हुन् भने तिनका लागि गरिएका विचारहरु वीज हुन् । मनुष्यजीवनको यात्रा यही विचाररुपी वीजबाट पैदा हुन्छ । खप्तड स्वामीलगायतका विद्वान्हरुले यही विचारलाई नै जीवनको सर्वोन्नत र अपूर्व शक्ति मानेका छन् ।

आज हामीसँग उपलब्ध हैसियतका डिजाइनर स्वयम् हामी हौँ । हामीले हिजो जे सोच्यौँ वा विचार गर्यो, हामी आज त्यही भयौँ । भोलि हामी जे बन्न चाहन्छौँ, आज त्यस्तै विचारलाई बारम्बार मनमा विकास गरिरहनुपर्दछ ।

आज हामीसँग हत्या, हिंसा, अशान्ति र अव्यवस्था छ भने हिजो हामीले यस्तै विचार गर्यो भन्ने कुरामा शङ्का छैन । हामी जति नकारात्मक र ध्वंसात्मक विचारलाई धारण गर्दछौँ, त्यति नै हामीबाट नकारात्मक एवम् ध्वंसात्मक क्रियाकलापहरु भइरहने छन् । यसो हुनुका पछाडि जहिले पनि हामीले लिने विचारको हात र साथ रहेको हुन्छ किनकि विचार नै हाम्रो व्यवहारका उत्पे्ररक हुन् ।

संसार सुन्दर र समुन्नत छ । यहाँ कुनै कुराको अभाव छैन । यो संसाररुपी महासागरबाट हामीले जे चाह्यौँ, त्यही ग्रहण गर्न सक्छौँ । केवल हामीमा चाहना हुनुपर्यो, इच्छा हुनुपर्यो । हामी कल्पना गर्ने कुरामा पनि गरिब छौँ, चाहने कुरामा पनि हिम्मत गर्न सक्दैनौँ ।

जब हामी आफूलाई सम्पन्न भएको विचार गरेर समेत अभ्यस्त तुल्याउन सक्दैनौँ भने सम्पन्न कसरी बन्न सक्छौँ ? आफूलाई सर्वहारा ठानेर हामीले गल्ती गर्दैछौँ, गरिब ठानेर गल्ती गर्दैछौँ र कमजोर ठानेर हामीले स्वयम्माथि अपराध गरिरहेका छौँ ।

ब्रह्माण्ड त हामीलाई दिनका लागि तयार भएर बसेको छ । बस्, हामीले माग्नुछ । हामी जे माग्छौँ, ब्रह्माण्ड हामीलाई त्यही दिन तयार छ । ब्रह्माण्डीय ऊर्जा र शक्तिप्रति हामीलाई विश्वास छैन, त्यसैले पनि हामी सम्पन्नताको विचार गर्न चाहँदैनौँ ।

‘द सेक्रेट’ नामक पुस्तकमा एक जना विद्वान्ले लेखेका छन्– ‘आकाशमा सूर्य हाम्रा लागि उदाएको छ । चराहरुको गीत हाम्रा लागि हो । समुद्रमा ज्वारभाटा हाम्रा लागि आउँछ । आकाशमा ताराहरु हाम्रा लागि चम्कन्छन् । हामी छौँ र न ब्रह्माण्डको अस्तित्व छ । हामी नभए यी कुनै पनि कुराको अर्थ रहने थिएन ।

हाम्रो शरीर स्वयम्मा ब्रह्माण्डको एउटा सानो रुप हो । ब्रह्माण्डको गर्भमा हुने कम्पन र हाम्रो मुटुको चाल एउटै गतिमा गतिमान छन् । हाम्रो मुटुको चाल र घडीको चालले ब्रह्माण्डीय सजीवतालाई व्यक्त गरिरहेका छन् । यही ब्रह्माण्डीय सत्यसँग हाम्रो जीवनको सत्य पनि प्रत्यक्ष जोडिएको हुन्छ ।

समुद्र शान्त छ । शान्त समुद्रमा हामीले एउटा सानो ढुङ्गा फाल्यौँ भने पनि त्यसले आफ्नो प्रतिक्रियास्वरुप तरङ्ग पैदा गर्दछ । अनि त्यही ब्रह्माण्डबाट हाम्रा विचारबमोजिमको फल हाम्रो हातमा हामीलाई उपलब्ध हुन्छ ।

जीवन त्यसैले सुन्दर छ । हामीसँग सबैथोक छ । हामी कल्पनामा हरेक चीज पैदा गर्न सक्छौँ । हाम्रो मस्तिष्क खुला जमिन हो । हामीले त्यहाँ विचारको वीजारोपण गर्नुछ र त्यसअनुसारको नतिजाको खेती गर्नुछ । हामीले धान रोपेको खेतमा धान नै फल्छ । गहुँ रोप्यौँ भने गहुँ नै फल्छ । हामी रोप्नका लागि स्वतन्त्र छौँ ।

धान रोपेर गहुँको आशा गर्न सकिँदैन । खेत हामीले जे रोप्यौँ, त्यसको फल दिनका लागि तयार छ ।यदि हामीले हाम्रो मस्तिष्करुपी खेतमा बारम्बार अभाव, रोग, शोक, दरिद्रता र अशान्तिका विचारवीजलाई रोप्छौँ भने सम्पन्नता, स्वास्थ्य र शान्ति कहिल्यै पाउन सक्दैनौँ ।

यदि स्वास्थ्य चाहने हो भने मस्तिष्कमा आफू स्वस्थ रहेको कल्पना बारम्बार गरिरहनुपर्दछ । धन चाहने हो भने आफू धनी भएको र बैंक खातामा प्रशस्त सम्पत्ति भएको विचार बारम्बार गरिरहनुपर्दछ । बारम्बार गरिएको यही विचार कालान्तरमा यथार्थमा बदलिएरै छाड्छ । यसमा दुई मत छैन ।

संसारमा गरिबी कहीँ छैन । यदि कतै छ भने हाम्रै मस्तिष्कको सानो गोलार्धभित्र छ, हाम्रै मानसिकतामा छ । सम्पन्नता छ भने पनि हाम्रै मस्तिष्कको संसारमा छ । कुनै पनि कुरा सबैभन्दा पहिले विचारका रुपमा हामीभित्र पैदा हुन्छ । त्यही विचारका आधारमा नै हामीले गर्ने व्यवहारहरुले साकार स्वरुप ग्रहण गर्ने गर्दछन् । यदि हाम्रो जीवनमा अभावैअभाव छन् भने हाम्रो मस्तिष्कमा पनि अभावैअभावका विचारवीज मात्रै बारम्बार रोपिन्छन् ।

मान्छे बाहिर जति सुन्दर छन्, व्यवहारमा छैनन् । आजकै मान्छेबाट संसारको सुन्दरता पनि नष्ट हुँदै गएको छ । ब्रह्माण्ड अपार सौन्दर्य र ऊर्जाको खानी हो । हामीले त्यही सौन्दर्य र सकारात्मक ऊर्जा प्राप्त गर्ने विचारलाई मस्तिष्कमा विकसित गर्नुछ । संसार हामीले सोचेभन्दा भव्य र सभ्य छ । हामी पनि हामीले कल्पना गरेभन्दा सम्पन्न र वैभवले युक्त छौँ ।

हामीले आफ्नो सम्भावनालाई सीमित परिधिमा केन्द्रित गरेका छौँ । सानो घर, सानो पद, साना मान्छेसँगको सङ्गत, सानो विचार, थोरै सम्पत्तिको दायरालाई नाघेर हामीले असीम सम्भावनाको क्षेत्रमा कहिल्यै प्रवेश गर्ने हिम्मत र साहस गरेनौँ । प्रतिफलमा आज हामी साना मान्छेलाई साथी बनाएर सानो पदका कारिन्दा बन्दै सानो घरको सङ्कीर्ण परिधिभित्र कैद छौँ । तर हाम्रो जीवन अपार, व्यापक र भव्य सम्भावनाको केन्द्र हो ।

संसारमा आनन्द नै आनन्द छ । मस्तिष्कमा कहिल्यै पनि भय, शोक र अव्यवस्थाको विचार ल्याउनु हुँदैन । जुन कुराले हामीलाई पीडा हुन्छ, त्यो विचारलाई तुरून्त बदलेर आनन्द हुने विचारलाई तत्काल धारण गर्नुपर्दछ । हामी डराएरै बाँचेका छौँ । हामीमा अपमान, भूत, मृत्यु, आक्रमण, रोग आदिका भयहरु विद्यमान छन् ।

डर नितान्त हाम्रो मानसिकताको परिणाम हो । बाहिर कतै पनि भूत छैन र तर्साउँदैन । मरेको मान्छेको लाससँग डराउनु किन ? हामीले जीवलाई, पशुलाई त्यसको मासु खाँदा नलागेको डर मान्छेको मरेको मासु देखेर किन लाग्छ ! मरेको खसीको शरीर र मान्छेको शरीरमा ता¤िवक भिन्नता नै के छ र ?

यदि मरेपछिको मान्छेको शरीर भूतमा बदलिन्छ भने खसी, बोका र कुखुराको शरीर पनि त भूतमा बदलिनु पर्ने नि ! त्यसैले भूतको डर नितान्त हामीभित्रको डर हो । भूतलाई हामीले लामो समयदेखि आफैँभित्र पालेर राखेका छौँ । यदि भित्रको भूतलाई लखेट्ने हो भने बाहिरको भूत आफैँ भाग्छ ।

अपमानको डर पनि किन मान्नु छ र ? हामी स्वयम् सम्मानित भए त पुगिहाल्यो नि ! नियम उल्लङ्घन गर्नुभएन । नचाहिने काम नगरेपछि केको अपमानको डर ? संसारमा भोलि हुने कुरालाई मनमा राखेर अधिक भयको चिन्तन गर्नु उपयुक्त हुँदैन । आकाश खस्यो भने के होला ? वा धर्ती फाट्यो भने के होला ? यस्ता नचाहिँदा र हुनै नसक्ने कुरा मनमा खेलाएर पलपल ग्रस्त हुनुको के अर्थ हुन्छ र ?

सानैदेखि हामी केटाकेटीहरुलाई भूतप्रेतको डर देखाउँदछौँ । उनीहरुमा हामी भूत र प्रेत जन्माइदिन्छौँ । उनीहरु त्यसैलाई मनमा पालेर राख्दछन् र जीवनभर डराइरहन्छन् । हामीमा पनि हाम्रा बाबुआमाले भूत र प्रेतको डर देखाएर मनोबल कमजोर बनाउने काम गरे । वास्तवमा कतै नभएको भूत जन्माउने स्वयम् हामी नै रहेछौँ ।

यसरी हेर्दा भूतप्रेत पनि हाम्रै विचारका परिणति हुन् । हामी स्रष्टा हौँ, जे चाहन्छौँ सिर्जना गर्न सक्छौँ । तर जीवनको अर्थ नै आनन्द हो । हामीले नित्य आनन्दका स्रोतहरुको सिर्जना गर्नुछ । सिर्जनाको हतियार हाम्रो सङ्कल्प हो, विचार र सोचाइ हुन् । हामी त्यसैले पनि आनन्द उत्पन्न हुने किसिमका विचारहरुलाई मन र मस्तिष्कमा आउन दिऔँ ।

हाम्रो विचारको प्रथम भ्रूण नै हाम्रो सुख वा दुःखको सङ्केतक हो । कुनै पनि विचार यदि मनमा आयो भने त्यतिबेला हामीभित्र सकारात्मक वा नकारात्मक गरी दुई किसिमका भावहरु उत्पन्न हुन्छन् । हामीभित्र जन्मिएको विचारले यदि हामीमा खुसी ल्याएको छ, उमङ्ग र उत्साह वर्धन गरेको छ भने ब्रह्माण्डले त्यो विचार हाम्रो हितमा छ भन्ने प्रारम्भिक सूचना पठाएको छ भनेर बुझ्न सकिन्छ ।

यदि हामीले ग्रहण गरेको विचारले हामीमा प्रसन्नता ल्याउन सकेन र सकारात्मक उमङ्ग सञ्चार गर्न सकेको छैन भने त्यो हाम्रो हितमा छैन भनेर बुझ्न सकिन्छ । यसरी ब्रह्माण्डीय रहस्यको क्षेत्रमा क्रियाशील विज्ञहरुले हाम्रा विचारप्रति तत्काल प्रतिक्रिया दिएर ब्रह्माण्डले हाम्रो भविष्यको सङ्केत गर्ने रहस्यको उद्घाटन गरेका छन् ।

त्यसैले आफूसँग कुनै पनि कुरा छैन र भएन भनेर दुःखी नहुनुस् । तत्काल आफूलाई अपार सम्पत्ति, इष्टमित्र, छरछिमेकी, मोटरगाडी, शुभेच्छुक र सहयोगीहरुको पूर्ण व्यक्तित्वका रुपमा कल्पना गर्नुस् ।

कल्पना गर्न कन्जुस्याइँ नगर्नुस् । सम्भावनाको सीमालाई भत्काएर भव्य र व्यापक सफलताको कल्पना गर्नुस् । बारम्बारको यो विचार र कल्पनाले तपाईं अन्ततः एकदिन आपैmँले कल्पना गरेअनुरुप आदर्श पात्रका रुपमा आफूलाई पाउनुहुने छ । जीवन कुरुप छैन, हामीले सोचेभन्दा हजारौँ गुना सुन्दर छ ।

हामीलाई जहिले पनि रूग्णता, गरिबी, शोक र अभावका लागि मात्र सोचविचार गर्न लगाइयो वा प्रेरित गरियो । हाम्रो त्यही विचारको परिणामका रुपमा आज हामीसँग अभावग्रस्त र पीडादायी जिन्दगी छ तर पनि ढिलो भएको छैन । हामीसँग विगतमा चाहे जेसुकै भएको होस् वा जस्तोसुकै हामीले सोचेका नै किन नहोऔँ, तिनलाई बदलेर एकाएक सम्पन्न व्यक्तित्वमा बदलिएको कल्पना गरौँ ।

यो कल्पनाले हामीभित्र एउटा सकारात्मक तरङ्ग उत्पन्न गर्ने छ र हामी रोमाञ्चित हुने छौँ । यो हाम्रो सकारात्मक र आनन्ददायी जीवनको पूर्वसङ्केत हुने छ । हामी स्वयम् हाम्रो जीवन र भोगाइका स्रष्टा हौँ । हामीले सोचेभन्दा फरक केही हुनेवाला छैन । हामीले जे सोच्यौँ वा विचार ग¥यौँ, यही हाम्रो वर्तमान हो । अब हामीले समृद्ध र सम्मानित जीवनको कल्पना गरौँ ।

यो पूरा ब्रह्माण्ड हाम्रो सपना साकार पार्न तम्तयार छ । कतै पनि निराशा, हिंसा, अभाव र अराजकतालाई स्थान नदिऊँ । सबै प्रसन्न छन्, सबै समृद्ध छन्, सबैमा शान्तिको अविरल धारा प्रवाहित छ । हामी, हाम्रो समाज, राष्ट्र र सम्पूर्ण विश्व नै अपार समृद्धि, सौन्दर्य र शान्तिको उज्यालोले धपक्क बलेको अवस्था छ ।

यही कल्पनाको चित्रलाई सबैले मन र मस्तिष्कमा बारम्बार दोहोर्याउ  र सार्थक बनाउने यात्राको सुखद श्रीगणेश गरौँ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::