जापानी टेनिस स्टार ओसाका बनिन् विश्वकै धनी महिला खेलाडी

शनिबार, जेष्ठ १०, २०७७

जापानी टेनिस स्टार ओसाका बनिन् विश्वकै धनी महिला खेलाडी

जापानी टेनिस स्टार नाओमी ओसाका विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी छन् ।

फोर्ब्स  म्यागेजिनले जनाएअनुसार ओसाकाले सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा शीर्ष स्थान हासिल गरेकी हुन् । यो  संगै उनले अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई विस्थापित गरिन् । २२ वर्षीया ओसाकले पछिल्लो १२ महिनामा पुरस्कार रकम र विज्ञापनबाट ३० दशमलव ७ मिलियन पाउन्ड कमाएकी छन् ।

अहिलेसम्म करियरमा २ वटा ग्रान्डस्लाम जितेकी ओसाकाले ३८ वर्षीया विलियम्सको भन्दा १ दशमलव १५ मिलियन पाउन्ड बढी आर्जन गरेकी छन् । विलियम्स आधुनिक टेनिसमा सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने पहिलो महिला खेलाडी हुन् । उनले अहिलेसम्म २३ ग्रान्डस्लाम हात पारिसकेकी छन् । उनी २४औं ग्रान्डस्लाम जितेर सर्वाधिक ग्रान्डस्लाम जित्ने मार्गेरेट कोर्ट बराबरी गर्न अग्रसर छिन् ।

यी दुबै धनी टेनिस खेलाडीले रुसकी मारिया सारापोभाले सन् २०१५ मा एकै वर्षमा २४ दशमलव ४ मिलियन पाउन्ड कमाएर राखेको विश्व कीर्तिमान भंग गरेका छन् । सन् १९९० देखि महिला खेलाडीको आम्दानी रेकर्ड राख्दै आएदेखि टेनिस खेलाडीले नै शीर्ष स्थान हासिल गर्दै आएका छन् ।

फोर्ब्स ले  २०२० का विश्वका १ सय धनी खेलाडीको सूची सार्वजनिक गर्दा ओसाका २९औं स्थानमा रहेकी छन् । जबकी उनी भन्दा माथिका २८ धनी खेलाडी सबै पुरुष रहेका छन् । विलियम्स ३३औं स्थानमा छिन् । ओसाका र विलियम्सले सन् २०१८ मा यूएस ओपन ग्रान्डस्लाम फाइनलमा भिडेका थिए ।

न्युयोर्कमा भएको खेलमा विलिम्यसले अम्पायरलाई चोर ठग भनेर चिच्याउँदा उनको निकै आलोचना भएको थियो । जापानी खेलाडीको भने यो नै करियरको पहिलो ग्रान्डस्लाम उपाधि थियो । यसको लगतै २०१९ मा उनले अस्टे«लियन ओपनको रुपमा दोस्रो ग्रान्डस्लाम जितेकी थिइन् ।

विलियम्स पछिल्लो चार वर्षमा विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी थिइन् । यसअघि मारिया सारापोभाले लगातार ५ वर्ष विश्वकै सर्वाधिक धनी महिला खेलाडी बन्न सफल भएकी थिइन् । ओसाका भने पहिलो पटक विश्वकै सर्वाधिक धनी महिला खेलाडी बन्न सफल भएकी छन् । उनी जापानमा विभिन्न कम्पनीका लागि लोकप्रिय खेलाडी हुन् । उनले नाइकी, निसान र योनेक्स जस्ता विश्वव्यापी प्रसिद्ध रहेका कम्पनीसँग विज्ञापन सम्झौता गरेकी छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::