जो ब्यालोन डी’ओरका दाबेदार थिए

मङ्लबार, साउन ६, २०७७

जो ब्यालोन डी’ओरका दाबेदार थिए

विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएसँगै त्यसलाई लिएर अनेक टिका टिप्पणी हुन थालेका छन् । उपाधि दिने फ्रान्स फुटबलले सोमबार एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको हो पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता घोषणा गर्न आवश्यक रहेको आधारहरु न्यायोचित रुपमा पर्याप्त नरहेको बताउँदै रद्द गर्ने निर्णय लिएको जनाएको छ । कोरोना संक्रमणका कारण केहि लिग रद्द हुँदा केहि लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको छ ।

यस वर्ष उपाधि विजेता घोषणा नहुने भएपछि गतवर्षको विजेताले नै एक वर्षसम्म उक्त उपाधि राख्न पाउनेछन् । गतवर्ष बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । अमेरिकाकी मेगन रापिनो उत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । नेदरल्यान्ड तथा युभेन्टसका म्यथिस डे लिग्ट उत्कृष्ट युवा खेलाडी र लिभरपुल तथा ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक भएका थिए ।

यस वर्ष पनि विगतझैं मेस्सी र रोनाल्डो उपाधिको लागि दावेदारमा थिए । यी दुईसँगै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । रियल म्याड्रिडका सर्जियो रामोस र करीम बेन्जेमा पनि दाबेदारका रुपमा अगाडी आएका थिए । हेरौं दाबेदार रहेका खेलाडीको प्रदर्शन :

लिओनेल मेस्सी :

मेस्सीका लागि व्यक्तिगत रुपमा यस सिजन पछिल्ला सिजनजस्तो रहन सकेन । बार्सिलोनालाई यस सिजन कुनै उपाधि दिलाउन नसकेका मेस्सीको अन्तिम आशा च्याम्पियन्स लिगमा टिकेको छ । उनले लिगमा २५ गोल गर्दै पिचिची ट्रफी जितेका थिए । सँगसँगै २१ असिस्ट प्रदान गर्दै लिग इतिहासमै सर्वोत्कृष्ट प्रदर्शन समेत गरे ।

क्रिस्टियानो रोनाल्डो :

सिजनको सुरुवातमा कमजोर प्रदर्शन गरेसँगै रोनाल्डोको करिअरबारे प्रश्न गर्ने धेरै थिए । कतिपयले रोनाल्डोको अवसान सुरु भएको लख समेत काटे । तर रोनाल्डोले उत्कृष्ट पुनरागमन गर्दै सबै आलोचकको मुख थुने । कोरोनापछि लगातार गोल गर्दै आएका रोनाल्डोले लिगमा ३० गोल पार गरिसकेका छन् । अझै लिगका खेल बाँकी रहेकाले उनले युरोपेली गोल्डेन बुट समेत जित्ने सम्भावना छ ।

रोबर्ट लेवान्डोस्की :

यसपटक उपाधिका सबैभन्दा बलियो दाबेदारका रुपमा लेवान्डोस्की दरिएका थिए । बायर्न म्युनिखलाई जर्मन लिग उपाधि दिलाउन उनको भूमिका महत्त्वपूर्ण थियो । उनले लिगमा ३४ गोल गर्दै कीर्तिमान समेत कायम गरे । च्याम्पियन्स लिगमा बायर्नले गरिरहेको प्रदर्शनलाई उनले फाइनलसम्म निरन्तर राख्न सके उनको उपाधि पक्काजस्तै थियो ।

केभीन डे ब्रुएन :

म्यान्चेस्टर सिटीको मिडफिल्डमा गोल र असिस्ट निकालिरहेका बेल्जियन मिडफिल्डरले आफ्नो प्रदर्शनमा एकरुपता देखाइरहेका छन् । उनले प्रिमियर लिगमा १८ असिस्ट प्रदान गरिसकेका छन् । लिभरपुलले प्रिमियर लिग उपाधि जितेपनि उनलाई वर्ष खेलाडी बन्नबाट रोक्ने देखिंदैन । च्याम्पियन्स लिगमा सिटी अझै कायम रहेकाले पनि उनलाई दाबेदारको रुपमा हेरिएको हो ।

सर्जियो रामोस र करीम बेन्जेमा :

रामोस र बेन्जेमाको जोडीले बार्सिलोनालाई स्तब्ध पार्दै ला लिगा उपाधि जित्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । बेन्जेमाले आक्रमणमा गोल र असिस्ट दिंदा रामोसले डिफेन्स सम्हाल्दै केहि गोल समेत गरे । कोरोनापछि लगातार ११ खेल अपराजित रहेको रियललाई यी दुईले उर्जा दिएर लिग उपाधिसम्म पुर्याए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::