‘डिप्रेशन’बाट जोगिनुपर्ने समय

बिहिबार, भदौ १८, २०७७

बबिता बस्नेत

‘डिप्रेशन’बाट जोगिनुपर्ने समय

केही गर्नै मन लाग्दैन, लेखपढ होस् या अरु काम, आफुलाई ‘फोकस’ गर्नै सकिरहेको छैन, माहौल नै के–के भइरहेको छ ।’ हिजोआज जोसँग कुरा गरे पनि यस्तै–यस्तै कुरा सुनिन्छ । हुन पनि मिडिया हेऱ्यो यता सङ्क्रमित, उता मृत्यु, सङ्क्रमितलाई समाजले गरेको दुर्व्यवहार, क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्नेहरूलाई राज्यले गरेको दुर्व्यवहार जताततै मानिसले भोगेका अप्ठ्याराहरू मात्रै देख्दा मनमा गाह्रो हुनु स्वभाविकै पनि हो । बाहिर हेऱ्यो जीवनमा कहिल्यै नसोचेको अवस्था छ । आफुलाई हेऱ्यो कामकाज ठप्प छ, टार्नु पुऱ्याउनु, जिन्दगीका नियमित र अनियमित अनेकौँ कुराहरू छन् ।

आर्थिक अभावले मानिसलाई जीवनमा गर्नुपर्ने नपर्ने धेरै अनुभवहरू दिलाउँछ । अहिले हामीमध्ये धेरैजसो त्यस्तै अनेक अनुभवबाट गुज्रिनुपर्ने अवस्थामा छौँ । पेशा ब्यवसाय, उमेरअनुसार सबैका आ–आफ्ना समस्याहरू छन । वर्तमान परिस्थितिसँग कसरी सामना गर्ने सोच्दासोच्दै मानिसहरूलाई निराशाले गाँज्न थालेको छ ।

यस्तो बेलामा मनलाई स्थिर गर्नुपर्छ भन्ने छ तर भन्न जति सजिलो छ गर्न त्यति नै गाह्रो छ । मन कुनै पनि बेला बहकिन सक्ने भएकाले आफ्नो मनलाई सम्हाल्न सक्नु निकै ठूलो कुरा हो । महाभारतमा ‘वायुभन्दा तीव्र गति केको हुन्छ ?’ भनी यक्षले गरेको प्रश्नको जवाफमा युधिश्ठिरले ‘मन’ भनेका छन् । मनको गति हावाभन्दा तीव्र हुन्छ । मन र मष्तिष्क कुनै पनि बेला कुनै पनि ठाउँमा पुग्ने हुँदा राम्रो नराम्रो दुवै स्थानमा यिनको पहुँच हुन्छ । राम्रो ठाउँमा पुग्दा परिणाम राम्रै बन्छ र नराम्रो ठाउँमा पुग्दा नराम्रै । परिणाम भौतिक रूपमै तत्काल देखिन्छ भन्ने छैन यसले मानसिक रूपमा प्रभाव पारिरहेको हुन्छ । सोचहरूको कुनै सीमा हुँदैन, मानिसले कतिबेला के सोचिरहेको हुन्छ भन्न सकिन्न । कसको मन र मष्तिष्कमा के चलिरहेको हुन्छ थाहा हुने भए संसारको रूप अर्कै हुने थियो होला ।

मानिसको सोच र मनलाई प्रभाव पार्ने कुरा धेरै छन्, कहिले दृष्यले प्रभाव पार्छ, कहिले ध्वनीले प्रभाव पार्छ त कहिले माहौलले । राम्रा कुराहरू देख्दा, सुन्दा मनमा उत्पन्न हुने भाव र द्वन्द्व या विपद देख्दाको छट्पटी फरक हुन्छ । अहिले हामी विपद्को समयमा छौँ । विपदका फरक–फरक पाटाले हामीलाई असर गर्दै लगेको छ । कोही प्रत्यक्ष प्रभावित छन् त कोही आंशिक । यस्तो बेलामा मलाई कुनै प्रकारको प्रभाव परेको छैन भन्ने मान्छे भेट्न गाह्रो छ । दुःख या खुशीको माहौलले मन र मष्तिष्कलाई मात्र फरक पार्दैन, यसको असर शरीरमा पनि पर्छ ।

मन र शरीरबीचको सम्बन्ध गहिरो छ । मन रमाएको बेला शरीरमा स्फूर्ति हुन्छ र मन दुःखी भएको बेला आलस्य र गाह्रो हुन्छ । मन उज्यालो छैन भने बाहिर सूर्यको प्रकाशले जीवनमा त्यति ठूलो अर्थ राख्दैन । दुःख होस् या खुशी, मानिसको जीवनमा भएका सबै घटनाहरू चेतन, अवचेतन मनमा सुरक्षित रहन्छन् । मानिसको मन र मष्तिष्कमा के–कति दृष्य र घटनाहरू अटाउँछन् भन्ने कुराको कुनै सीमा छैन । पेनड्राइभ, हार्डड्राइभ, गुगलड्राइभ, कुनै पनि ड्राइभले मानव मन र मष्तिष्कको विशाल स्पेसलाई भेट्न सम्भव छैन । ती घटनाले जीवनको कुनै पनि मोडमा दखल दिन सक्छन् ।

अहिले हामीलाई माहौलले विगतभन्दा फरक बनाउँदै लगेको छ । हाम्रो ‘मोविलिटी’ रोकिएको छ । भौतिक यात्रा रोकिएपछि मनको यात्रा थप बढेको छ । कतिका आफन्तहरू बाहिर छन्, नजिकै भएकाहरूसँग पनि भेटघाटको वातावरण छैन । निकटवर्तीहरूसँग भेट्न पनि डराउनुपर्ने अवस्था छ । मानिसको जीवनमा भौतिक निकटताले पनि माने राख्छ । कतिपय कुरा त मानिसको ‘बडी ल्याङ्ग्वेज’, ‘मुड’ हेरेर पनि उ कस्तो अवस्थाबाट गुज्रिरहेको छ थाहा पाउन सकिन्छ । कोरोनापछिको भौतिक दूरीले आफन्त र निकटवर्तीहरूकै बारेमा बेखबर बन्नुपर्ने अवस्था छ ।

प्रविधिले हामीलाई सचित्र कुरा गर्ने अवसर त दिएको छ तर त्यसले मानवीय सम्वेदना बुझ्न त्यति मद्दत गर्दैन जति सशरीर भेट्दा एकार्कालाई बुझ्न सकिन्छ । आर्थिक र भावनात्मक दुवै कुराले मानिसहरूमाथि मानसिक दबाब छ । यस प्रकारको दबाबले मानिसलाई फ्रष्टेशन हुँदै विस्तारै डिप्रेशनतिर धकेल्छ । डिप्रेशन जस्तो मानसिक स्वास्थ्यका बारेमा हामीकहाँ कमै मात्र चर्चा र कुराकानी हुने गरेको छ । मलाई मानसिक रूपले गाह्रो भयो भन्यो भने घर–परिवारमा पनि ‘पागल नै भयो कि क्या हो’ भनेर बुझिदिने हुँदा धेरैले आफूलाई गाह्रो भएको कुरा भन्दैनन् । मनमै दबाएर राख्दा यसको मात्रा झन बढ्दै जान्छ ।

मनलाई दुई भागमा बाँडेर हेर्ने गरिएको छ, चेतन मन र अवचेतन मन । मानिसलाई कहाँ कतिबेला कुन घटनाले असर गरिरहेको हुन्छ भन्नै सकिन्न । कसैलाई सामान्य लागेको कुरा कसैलाई असामान्य लाग्न सक्छ । मनले विचार उत्पन्न गर्छ । प्रेम र घृणा दुवै मनबाटै उत्पन्न हुने हुन् । यस्तो बेलामा आफ्नो मनलाई ‘कन्ट्रोल’ आफैले गर्नुपर्ने हुन्छ । अहिलेसम्म मनलाई नियन्त्रण गर्ने रिमोट कन्ट्रोल बनेको छैन । भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । मनलाई वशमा राख्ने काम ब्यक्ति स्वयमको हो । मनमा उत्पन्न हुने भावना र मष्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । आफ्नो मन अशान्त भएपछि मानिसले बाहिर कतै पनि शान्ति देख्दैन । शान्ति महसुस गर्ने कुरा हो ।

हाम्रो पारिवारिक संरचना ‘हाइऱ्यार्की’वाला छ जसका कारण सन्तानले बाबुआमासँग र बाबुआमाले सन्तानसँग धेरै कुराहरू भन्न सक्ने अवस्था छैन । मलाई एक्लोपनको महसुस भइरहेको छ भनेर कसैले भन्यो भनें ‘यसको प्रेम–जीवनमा केही भयो होला’ भन्ने सोचिन्छ । एक्लोपन प्रेम–जीवनसँग मात्र जोडिएको या जोडिने कुरा होइन । मानसिक कठिनाइका बारेमा हाम्रा सोच र दृष्टिकोणहरू सही नहुँदा अप्ठ्यारो परिस्थिति भोगिरहेका मानिसहरू अस्पतालसम्म पुग्न सक्दैनन् । अहिले डिप्रेशनबाट युवाहरू बढि प्रभावित भएको देखिन्छ । एकप्रकारले भविष्यको परिकल्पना गर्दा गर्दै फरक परिस्थिति अगाडि आइदिँदा कतिले आफूलाई सम्हाल्न सकेका छैनन् । बढ्दो आत्महत्याको तथ्याङ्कले यही देखाउँछ ।

अहिले एकातिर भीडभाडबाट टाढा बस्ने समय हो भने अर्कोतिर डिप्रेशनबाट बच्नुपर्ने समय पनि हो । एक्लै बस्नु र एक्लोपनको महसुस फरक कुरा हुन् । मानिस एक्लै बस्दैमा उ एक्लोपनबाट गुज्रिएको छ भनेर बुझ्नु हुँदैन र परिवारसँग बस्दैमा उ एक्लोपनसँग जुधिरहेको छैन भन्ने ठान्नु हुँदैन । मन र मष्तिष्कलाई जता लग्यो त्यतै जाने हुँदा राम्रा कुराहरू सुन्ने, पढ्ने, सोच्ने, आशावादी हुने कुराले मानिसलाई डिप्रेशनबाट जोगाउँछ । ध्यानलाई साथी बनाउन सकियो भने ठूलो मद्दत पुग्नेछ । यस्तो अवस्थामा आफूलाई जोगाउने आफ्नै सोचले हो, आफैले हो । यो आफूले आफैलाई सम्हालेर डिप्रेशनबाट जोगिने समय हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::