दुश्मनलाई पनि नलागोस् कोरोना !

बिहिबार, कार्तिक ६, २०७७

कोरोना संक्रमित बनेपछि एक आम नागरिकले भोग्नुपरेको विवशताको तीतो अनुभूति
माधब बस्नेत

असोज २० गते साँझ ५.२६ । ओछ्यानमा पल्टिरहेको थिए । मोवाइलमा घण्टी बज्यो । फोन उठाए । ‘तपाईं माधव बस्नेत बोल्दै हुनुहुन्छ ?’ महिला स्वर सुनियो । ‘हजुर हो । बोल्दैछु’ उत्तर दिएँ । ‘म यहाँ नेपाल–कोरिया अस्पतालबाट । तपाईंको मिसेस कमला बस्नेत, छोराहरु मायुसन बस्नेत र सयुसन बस्नेत हुन् ?’ ‘हजुर ।’ प्रतिउत्तर दिए । उताबाट बोलियो, ‘तपाईंहरुले यहाँ कोभीड परीक्षण गराउनु भएको रहेछ नि.. । तपाईंहरु चारै जनालाई पोजेटिभ भएको छ । सुरक्षित बस्नु होला । भोलि स्थानीय तहबाट तपाईंलाई फोन आउँछ ।’

मेरो मोबाइलमा घण्टी बज्दा श्रीमती ओछ्यानको भुँइमा भित्तामा अडेस लागेर तातोपानी पिइरहेकी थिइन् । मैले संवाद गरिरहदा उनको अनुहार र कान चनाखा भएका थिए । फोन राख्न नपाउँदै प्रश्न गरिन्, ‘पोजेटिभ आयो ?’ निमेषभरमै उत्तर दिएँ, ‘अँ पोजेटिभ आयो ।’ कोठामा एक छिन सन्नाटा छायो । सन्नाटा चिर्न र आफैं आतंकित बनेको मनमस्तिष्कलाई सम्हाल्दै श्रीमतीलाई सान्त्वानाको शब्द फालेँ ‘पोजेटिभ आँउछ भन्ने ढुक्कै थियो नि । के अचम्म भयो र !’

उनी भुन्भुनिन थालिन्– ‘कहाँबाट कोरोना सारेर ल्यायौं र परिवारमै फैलायौं ?’ मलाई दोषी साबित गर्नभन्दा पनि निरिहता र विवशतामा उनको मुखारबिन्दबाट निस्किएको शब्द वाणले दिमागमा नमिठो झोक्का हान्यो। तर संक्रमणको पीडाले आहत उनको मनमा नूनचुक दल्नेगरी मैले कुनै प्रतिउत्तर फर्काइनँ । ‘के कुनै मान्छे जानीजानी आफैंलाई वा आफुलाई भन्दा बढी माया गर्ने परिवारका कुनै सदस्यलाई भयावह रुपमा प्रचार गरिएको रोग सार्न उद्यत होला ?’ आफैंलाई मनमनै प्रश्न गरे । ‘जसले जति बुझ्छ, त्यसले त्यति भन्छ । उनले त्यति नै बुझिन् । त्यति नै भनिन् ।’ आफूलाई सम्हालें । फेरि लार्पवाही त मेरै थियो । मलाई नै पहिले च्यापेपछि उनीहरुलाई सरेको थियो ।

म हुँदै हाम्रो परिवारमा देखिएको लक्षणअनुसार पोजेटिभ रिर्पोट आउँछ भन्नेमा परीक्षण गराउन जाँदै मनमनै निश्चिन्त थिएँ । हालसम्म कुनै औषधी पत्ता नलागेको यो संक्रमणसँग जुघ्न जनस्वास्थ्यका नियमहरुको पालना गर्नु, आत्मबल बलियो बनाउनु, सचेत हुनु र शरीरको रोग प्रतिरोधी क्षमता बढाउने उपायहरु अपनाउनुबाहेक अरु खासै ठोस विकल्प नभएकोमा पनि जानकार थिँए । कोरोनालाई केही दिनमै सय प्रतिशत जितिन्छ भन्नेमा पनि म विश्वस्त नै थिए । प्रिय भाइ मकर श्रेष्ठ (कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता) र म दुवै हाम्रो परिवारको रिर्पोट पोजेटिभ आउँछ भन्नेमा २० गते दिउँसै निश्चिन्त थियौं । रिर्पोट आएपछि अस्पताल वा आइसोलेसन सेन्टर जाने कि यथावत स्थान घरमै बस्ने ? अपरान्ह पाँच बजेतिरै हामीले लामो छलफल गरेका थियौं । म घरमै बस्ने निश्कर्षमा पुगेको थिएँ । प्रिय मकरले सशस्त्र प्रहरी बल, पाटन र भक्तपुर अस्पतालका डाक्टरहरुसँग कुरा गर्छु भनेका थिए । मकर भाइले घरमै बस्ने र अप्ठ्यारो परे जुनसुकै बेला जाने गरी डाक्टरहरुसँग मिलाउने ढाडस दिएका थिए ।

तर, अचम्म के भने मानसिक रुपमा पहिलेदेखि नै तयार हुँदाहुँदै पनि ‘पोजेटिभ’ भएको औपचारिक जानकारी पाएपछि ‘ला कोरोना लाग्यो ∕ मलाई कोरोना कहाँबाट कसरी सर्‍यो ?’ दिमागको रिल फनफनी घुम्दो रहेछ । बीपी कोइरालाको शत्रु कथाका पात्र कृष्ण रायले ‘उसले आक्रमण गर्‍यो कि उसले आक्रमण गर्‍यो कि भनेर सबैलाई शत्रु देखे जस्तै’ मलाई पनि उबाट सर्‍यो कि त्योबाट सर्‍यो कि, योबाट सर्‍यो कि ? बस्– यो कुरा दिमागमै नलिने भन्दा भन्दै पनि अहिलेसम्म मेरो मानसपटलले पचासौं हजार पटक सोचिसक्यो होला । तर, यहीबाट सर्‍यो भन्ने छेकछन्दो सुँइको पाउन सकेको छैन । न कि त्यसबीचमा धेरै मान्छे भेटेको र ठूलो भीडभाडमा गएको पनि होइन ।

जे होस्, यो सत्य हो । परिवारमा चारै जनालाई लक्षणसहितको कोरोना पोजेटिभ भयो । र, १४ दिनपछिको पुनपरीक्षणमा मबाहेक श्रीमती, छोराहरुको नतिजा नेगेटिभ पनि आइसक्यो । मलाई पनि सुधार भइरहेको छ । यद्यपि कोरोना पोजेटिभले मलाई जीवनमा असाध्यै ठूलो पाठ सिकाएको छ । अहिलेसम्म चिन्न/बुझन नसकेको सत्ता, शक्ति, मान्छे, व्यवहारलाई निकै नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ । कोरोना अनुभव मेरो जीवन दर्शनका लागि भिमकाय सिकाइ बनेको छ । ४२ वर्ष पूरा हुँदासम्म पाउन नसकेको चोट र ज्ञान मैले ठिक ४३ वर्ष टेकेको दिनबाट १५ दिनभित्र प्राप्त गरेको छु । एउटा सिकारु अभिलाषीका लागि योभन्दा ठूलो सिकाई अरु के हुन सक्छ ?

जोगिने प्रयास

आफुलाई कोरोना नसरोस् र अरुलाई समेत नसारौं भन्ने सोंचमा म कतिसम्म सचेत हुन खोजेको थिए भने– केही अनुभव सुनाउँ । एक– म जहाँ बस्छु, नजिकै अष्टजीको किराना/तरकारी पसल छ । जब म त्यहाँ तरकारी लिन पुग्थें । मानिसहरुको असावधानी, लापरवाही, भीड देखेर दिग्दार हुन्थें । भौतिक दुरी कायम राखौं । भीडमाथि भीड नखप्टौं भन्दा कतिपयसँग त सवालजवाफ नै चल्दथ्यो । कतिसम्म भने म तरकारी लिन गएपछि अष्टजीले ‘ल उहाँ सरलाई पठाउँ । त्यसपछि तपाईंहरु लिनु होला’ भनेर हुललाई हटाउँथे । मित्र नरेन्द्र अधिकारीजीको खाद्यान्न पसलमा पनि त्यस्तै हुन्थ्यो । मैले बारम्बार भीडभन्दा टाढै बसेर पछि मात्र सामान लिएको देखेपछि अधिकारीजीले ‘होइन, यसरी तर्किएर त सरले झन् छिट्टो ल्याउनु हुने भयो’ भन्दै जिस्क्याउनु हुन्थ्यो । नभन्दै पुग्यो पनि । मेडिकल पसलका रामप्रसाद पराजुलीजीले ‘आ सर, लाग्ने भए लागिहाल्छ । बढी सावधान भएर पनि जोगिन सकिन्न’ भन्ने भनाइले मलाई कुरीकुरी गरिरहेको अनुभूति हुने गरेको छ ।

श्रीमतीसँग बाटोमा हिँड्दा ‘तिमी हिँड्दै जान्दिनौं । भीडमा मिसिन पुगिहाल्छ्यौं’ भन्दै भनाभन हुन्थ्यो । बालकृष्ण बानियाँजीको दही/मोही पसल होस् वा अन्जनाजीको तरकारी पसल– भीड हटेपछि मात्र सामान लिने मेरो ‘कथित सावधानी’ ले मलाई कोरोनाबाट जोगाउन सकेन । नेपाल–कोरिया अस्पतालले कोरोना पोजेटिभ भएको जानकारी दिए लगत्तै श्रद्धेय घरपट्टी राजु थापालाई फोन गरे । ‘सरले एकदमै सावधानी अपनाएकोबारे म जानकार छु । त्यति सावधानी अपनाउदा अपनाउँदै पनि कसरी लाग्यो सरलाई’ भन्दै उहाँ पनि अचम्ममै पर्नु भयो । र, ढुक्कले घरमा बस्न ढाढस दिनु भयो । कोरोना भनेपछि छि÷छि र दुर÷दुर गर्ने समाजमा मेरा लागि राजु थापा धन्यवादका सद्पात्र हुनुहुन्छ ।

सुरुवातमा पत्याइन,पछि चौपट

कोरोना त साँचिकै कोरोना नै रै,छ । ‘तातो पानी, बेसार पानी पिएर जितिहालिन्छ’ जस्ता हल्का कुरा नपरुन्जेल/नचेतुन्जेलको मात्र हो । यद्यपि लक्षण बिनाका मेरा थुपै्र आत्मियजन, साथी, शुभेच्छुक, चिनारुहरुले सहज रुपमै कोरोनालाई पछार्नु पनि भएको छ । म र मेरो परिवारलाई सायद लक्षणसहित देखिएकोले हो वा मेरो शरीरको कोरोना प्रतिरोधात्मक क्षमता कमजोर भएर हो– आत्मवल असाध्यै बलियो बनाउँदा बनाउँदै पनि कोरोनाले लत्याकलुतुक बनाएरै छाड्यो । मलाई उच्च रक्तचाप, मधुमेहलगायतको उच्च समस्या छैन । अहिलेसम्म कुनै पनि दीर्घ वा अल्प रोगहरुको औषधी खानु परेको छैन । म आफुलाई स्वस्थ नै ठान्दछु । यसर्थ शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च भएको विस्वास थियो । त्यसैले सुरुवाती दिनहरुमा सामान्य रुघाखोकी, ज्वरो, जिउ दुख्ने जस्ता समस्या देखिँदा मौसम परिवर्तन हुन लागेको संकेत ठानेर परीक्षणमा जान चाहिनँ । किनकि मौसम परिवर्तन हुने बेला वर्षेनीजसो मलाई त्यस्तो हुन्थ्यो नै ।

असोजको पहिलो सातादेखि नै मलाई सामान्य रुघाखोकी, जिउ दुख्ने समस्या थियो । एक दिन ‘स्टोरी’ लेख्नै सकिनँ । त्यसको जानकारी कार्यालयमा गराएँ पनि । तर, फेरि केही ठिक भयो । यसरी नै दैनिकी बितिरहेको थियो । असोज १५ गते अपरान्हबाट भने मलाई कटकट जिउ खाने, रुघाखोकी लगायतले निकै च्याप्यो । रातभर तातोपानी पिउँदै हँ, हँ गरेर काटे । अर्को कोठामा छोराहरुसँग सुतेकी श्रीमतीले तीन÷चार पटक ढोका खोलेर ‘गाह्रो भयो ? अस्पताल जाउँ न त’ भन्दै नियालिन् । ‘केही भएको छैन । सामान्य हो’ भन्दै टारे । १६ गते बिहान वान्ता भयो । पखाला चल्यो । खानपिनमा यथेष्ट सावधानी नपनाएको भन्दै ‘बुढी’ ले तातोपानीमा कागती बिरे नुन घोलेर र तातो पानीमा मह हालेर दिइन् । तै पनि शरीरको आलस्य घटेन । खानामा रुची भएन । श्रीमतीको कर पछि थोरै खाना खाए । बेसार पानी त कति हो कति ? ओछ्यानमा पल्टिरहें । म सुतेको कोठामा ‘तिमीहरु नआउनु’ भन्दै श्रीमती–छोराहरुलाई सुझाए । मुड चलेका बेला राती उठेर लेख्ने/पढ्ने भएकोले बत्ती बाल्दा उनीहरुलाई ‘डिस्टर्व’ नहोस् भनेर म छुट्टै कोठामा सुत्छु । यसर्थ उनीहरुलाई म सुत्ने कोठामा नआउन त भने । तर, बच्चाले के टेर्थे ? सुटुक्क छिर्दै मोवाइल ‘चोर्दै’ गरिरहेछन् ।

घरेलु औषधी खाएर चार दिनसम्म सुत्दा पनि ठिक हुनुको साटो परिवारलाई समेत रुघाखोकी, छाती दुख्ने समस्या देखिएपछि म परीक्षणमा जान सहमत भएको थिए । परीक्षणको चाँजोपाँजो भाई मकर श्रेष्ठले नै मिलाएका थिए । म र मेरो परिवालाई कोरोनाले घाँटी दुख्ने, ज्वरो आउने, सास फेर्न ग्राहो हुने, जिउ कटकट खाने, छाती फुट्ला झैं हुने, एकैछिनमा लछप्पै भिज्ने गरी पसिना आउने, पसिना पुछेपछि एकदमै जाँडो हुने, गन्ध, स्वाद केही थाहा नपाइने, खानेकुरा के खाएको हो पत्तै नहुने र यो सबैभन्दा माथि खोकीले मुटु, फोक्सो फुट्ला जस्तो भयो । जिउ तातेजस्तो हुने, नाप्दा ज्वरो धेरै नदेखिने, थकान महसुस हुने, झुम्म नसामा भएर के बिर्से के बिर्से जस्तो लाग्ने, ल्यापटप, मोवाइलको स्क्रिनमा हेर्दा आँखा तिरमिराउने, पोल्ने समस्या पनि देखायो कोरोनाले मलाई ।

सरकारीदुर्व्यवस्थाका कारण आमनागरिकले भोग्नुपर्नेनिरिहता

सर्वसाधारणलाइ साह्रोग्राहो परेको बेला गरेको सहयोग, दिएको ढाढस र आदरभावले मानिसहरुले सरकारप्रति एउटा तस्विर कोरेका हुन्छन् । आफुहरुप्रति उत्तरदायी भूमीका निर्वाह नगरेका कारण जनताले केही वर्ष यता आफ्नो मनमा कुनै पनि सरकारप्रति सग्लो तस्विर बनाउन सकेका छैनन् ।

संयोग–

नेपालको इतिहासमा झण्डै ६० वर्षपछि दुई तिहाई सक्निकट जनमतले अनुमोदित ‘बलियो’ सरकार भएकोले र कोरोना नियन्त्रणमा लिन अर्बौ रकम सकियो भनेर हल्ला खल्ला गरेकाले स्वास्थ्य सम्वन्धी संयन्त्रहरुको विकास राम्रै गरेको होला । सर्वसाधारणको अपेक्षामा आशा सिञ्चित गरिरहेकै होला । विरोध गर्नेहरुले विरोधका लागि मात्र सरकारमाथि उछितो काडेका होलान् भन्ने ठम्याइ कोडिभ–१९ ले आक्रान्त बनाउनु अघि मेरो मानसपटलमा थियो । कोरोनाले ग्रसित भएको दुई साताभन्दा लामो समयखण्डमा आफूले भोग्नुपरेको तीतो अनुभूतिका आधारमा लेख्न बाध्य छु– जनस्वास्थ्य समेतका हिसाबले आमजनताप्रति यतिको गैरजिम्मेवार र नालायक सरकार नेपालको इतिहासमा यस अघि बनेको थियो कि थिएन ? भन्न सक्तिनँ । आगामी दिनमा भने कहिल्यै नबनोस् भन्ने कामना छ ।

कोरोना संक्रमणप्रति संसारै जिते जसरी ट्याउ, ट्याउ ओठे जवाफ दिनुबाहेक सरकार रौं बराबर पनि संवेदनशील छैन । रोगलाई नियन्त्रण गर्न, सर्वसाधारणको संवेदना छुन सरकार मन, मुटु, बचन र कर्मैदेखि खटिरहेकै छैन । यद्यपि आफूले भोगेको समस्या जस्ताको जस्तै कहँदा सत्ताधारी मठाधीशहरुले बढाइचढाइ गरेर सरकारको विरोध गरेको भन्ने खतरा उत्तिकै छ ।

राज्यको दायित्व पूरा नगर्ने, नागरिकको कर भने जता फर्किदा पनि सोस्ने र समाजका सबभन्दा कलंकित पात्रहरुलाई प्रशय दिने/च्याप्ने सत्ताधारीहरुले जेसुकै भनुन्, एउटा सचेत नागरिक, त्यसमाथि एउटा श्रमजीवी कलमजीवी हुनुको नाताले मेरो अनुभव भन्नै पर्छ– कोभिङको यो महामारीमा सरकारले सबै व्यवस्था मिलाइसकेको हँसीमजाक गर्ने, सर्वसाधारण मृत्युबाट छट्पटाइरहदा समेत कमिशनको खेलमा लाग्ने, नागरिकको मृत्यु टुलुटुलु हेर्ने र शव गणना गर्नेबाहेक उपचारको प्रभावकारी उपाय चाल्न बिल्कुलै भाँती पुर्‍याएको छैन । ओली सरकारले सर्वसाधारको आशालाई नराम्रोसँग तुषारापात गरिदिएको छ । त्यसैले यहाँ सरकारले पद्दति, प्रणाली विकास गरिरहेको छ, सुशासन कायम गरिरहेको छ भनेर कसैले भन्छन् भने लुट खसोट गरी रहेका, त्यसको आडमा मस्तीको जीवन बिताइरहेका पहुँचवाला र चम्चागिरीहरुले मात्र भन्न सक्नेछन् । म जस्तो सर्वसाधारण नागरिकले सरकारसँग पद्दति, प्रणाली (सिष्टम), करुणा, न्याय छ भन्ने अनुभूति एक क्षण गर्न सकिनँ ।

ओली सरकार आफ्नो पार्टीको चुनावी घोषणापत्र र संविधानप्रदत समाजवाद उन्मुख राज्य र जनताको कामदार नभएर दलाल पुँजीवाद एंव टाक्सिएको पुँजीवादको असली प्रतिनिधि बनिरहेको छ भन्ने मेरो निश्कर्ष छ ।

तीन दिनमा भेटिएको सरकार एकै छिनमा वेपत्ता

नेपाल–कोरिया अस्पतालले मेरो परिवारलाई कोरोना पोजेटिभ भएको सूचना दिएको तेस्रो दिन असोज २२ गते अपरान्ह जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरबाट भन्दै एक जना महिलाले नाम, ठेगाना, कार्यथलो लगायतको जानकारी लिएकी थिइन् । त्यसैक्रममा सोधिएको थियो, ‘अहिले तपाईं र तपाईंको परिवारलाई कुनै अप्ठ्यारो छ ?’ त्यसबेला मेरो ठूलो छोरोलाई एकदमै च्यापिरहेको थियो । यसर्थ मैले उसलाई अक्सिजन र बेड चाहिन सक्ने आग्रह गरे । ‘त्यसो भए उहाँलाई जुनसुकै बेला फोन गर्न सक्नु हुन्छ । उहाँ हाम्रो जनस्वास्थ्य प्रमुख हो । एम्बुलेन्स र बेडको व्यवस्था उहाँले नै गर्नुहुन्छ’ भन्दै एक जना महिलाको मोवाइल नम्वर दिएर वेपत्ता भएको त्यो महिला आवाज फेरि कहिल्यै सम्पर्कमा आएन । उनले नम्वर दिएको अर्को पात्रले पनि कहिल्यै फोन उठाएनन् न त फोन नै फर्काए।

२४ गते अपरान्ह मध्यपुर थिमीको जनस्वास्थ्य विभागबाट भन्दै एक जनाले नाम, ठेगाना सोधेका थिए । मैले ‘उपचारमा सहजीकरण गर्ने व्यवस्था हुन्छ भने भन्छु, नत्र तपाईंलाई अभिलेख राख्न मात्र किन भन्नु’ भनें । आफू सानो तहको कर्मचारी भएकोले अह्राए/खटाएको काम मात्र गर्ने हुँदा उपचारका लागि नगरपालिकाको जनस्वास्थ्य प्रमुखलाई सम्पर्क गर्नु भन्दै उनको नम्बर दिएर मेरो नाम, नम्बर, ठेगाना टिपेर ती पात्रले फोन राखेका थिए । त्यही २४ गते, २५ गते मलाई निकै असहज भयो । मैले जनस्वास्थ्य प्रमुख भनिएका पात्रको फोनमा सम्पर्क गरे । तर, फोन उठाएनन् । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र वडा नम्वर दुईका वडा अध्यक्ष राम थापा मगरलाइ पनि पटक पटक सम्पर्क गरे । उनीहरुले फोन पनि कहिल्यै उठेन । न त पछि कुनै जवाफ नै आयो ।

मलाई कोरोना लक्षण देखिएकै दिन असोज १५ गते सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण निशुल्क गर्न सरकारलाई आदेश दिएको थियो । म संक्रमित नै भइरहँदा सर्वोच्चले पुन: अर्को आदेश दियो, ‘संविधानमा उल्लेख अधिकार अनुसार सबै कोरोना संक्रमितलाई नि:शुल्क उपचार गर्नु ।’ सरकारले त्यो न्यायिक आदेशलाई मान्ला भन्ने अपेक्षा थियो । तर, दिनहरु बित्दै जाँदा सरकारको नालायकी अझ् बृहत्तर बन्दै गयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर ‘महाराज’ ले बेहोस हुनेजस्तो भएपछि मात्र अस्पतालनमा जान निर्देशन दिए । उनको यो निर्देशनले थुप्रैले अकाल मृत्युको सामना गर्नु पर्‍यो । त्यसको केही दिन नबित्दै कात्तिक २ गते त प्रवक्ता गौतमले संविधान प्रदत मौलिक हक र सर्वोच्च अदालतको आदेश विपरित कोरोना संक्रमणको उपचार व्यक्ति आफैले ब्यहोर्नु पर्ने आदेश फर्माए । यति मात्र होइन, राज्यका प्रतिनिधि गौतमले योभन्दा असंवेदनशील हुँदै भने ‘घरकै आइसोलेशनमा बस्दा कोरोना संक्रमणबाट कसैको मृत्यु भयो भने उनीहरुको शवको व्यवस्थापन परिवारले नै गर्नु पर्नेछ ।’ वास्तवमा त्यो स्वास्थ्य प्रवक्ता जागेश्वर हैन, उनको बोलीमा राज्यको नालायकी र गैरजिम्मेवारीपन, हुतिहारापन र लाछीपन बोलिरहेको थियो ।

एकातिर अस्पतालको आइसोलेशन सेन्टरमा जाउँ– ठाउँ छैन, बेड छैन । बेहोस भएपछि मात्र अस्पताल आउ भन्ने । अर्कातिर शव व्यवस्थापन समेत आफैं गर भनेर हद तहको निकृष्ठता देखाउने काम सरकारले गरिरहेको छ । कोरोनाको ग्राफ जति जति बढ्दैछ छ, सत्ता सञ्चालकका असंवेदनशिलताहरु थप सरलीकृत शब्द बन्दै छन् । नागरिकलाई आवश्यकता पर्दा सरकारले अक्सिजन बेड, आइसियु, भेन्टिलेटर उपलब्ध गराउँछ भन्ने विस्वास हुन नसक्दा म यति काँतर हुन पुगे, १३ र ७ वर्षे छोराहरुलाई समेत कोरोना पोजेटिभ भएका छौं भनेर जानकारी गराउन सकिनँ । मेरो छेउमा उभिएर ‘बाबा हाम्रो रिर्पोट के आएको छ’ भन्दा ‘एकदम राम्रो आएको छ’ भनेर टार्न विवस भए । सरकारी निकम्माका कारण म निकै लाक्षी बाबु बन्नु पर्‍यो । क़पछि 'ठूलो छोरालाई संक्रमणले च्यापेपछि आलस तालस हुँदै बाबा मलाई हस्पिटल लैजानु होस् न भन्दा समेत बेड नपाएकोले एक छिन पर्ख है भन्दै झुक्याउन बाध्य भए । प्रत्येक महिना कर तिरेको राज्यको निकम्मापनले १३ वर्षको बच्चाले हस्पिटल, हस्पिटल भन्दा पनि लैजान नसक्नु, नपाउनु भन्दा ठूलो बिडम्बना एउटा अभिभावकका लागि के हुन्छ ?'

यसै पनि म बिना तथ्य प्रमाण कुनै संस्था वा व्यक्तिहरुप्रति आरोप लगाउन हुन्न भन्ने दृढ मान्यताको पात्र हुँ । त्यसैले मैले यि शब्दहरु त्यतिकै लेखिरहेको छैन । मलाई थाहा छ– शासकहरुले प्रश्न नउठाउनेहरुलाई मात्र मन पराउँछन् । प्रश्न नउठाउनेहरुलाई उनीहरु निमेषभरमै विरोधीको कित्तामा उभ्याइदिन्छन् । हरेक शासकको यो शैली सनातनी धर्म नै हो । यसबाट ओली सरकार पनि अछुतो रहने कुनै छैन । तर, सत्य लेख्दा/बोल्दा मलाई कसैको प्रिय र साखुल्ले हुनु छैन ।

डाक्टरमाथि भरोसा

किष्ट मेडिकल कलेजमा कार्यरत डा. महेन्द्रकुमार पुडासैनीले रात दिन नभनी मध्यरातसम्म यो औषधी खानुस्, यसरी सुत्नुस् भनेर सबै परिवारका सदस्यलाई फोन र ‘काउन्सिलिङ’ नगरि दिनु भएको भए सायद म यसरी लेख्न सक्ने अवस्थामा फर्कने थिइनँ । यसर्थ म र मेरो परिवारलाई डा. पुडासैनीले तिरी नसक्नु गुन लगाउनु भएको छ । मलाई कोरोना पुष्टि भएको आधा घण्टा नबित्दै रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्माले फोन गरेर डा. पुडासैनीको नम्वर उपलब्ध गराउनु भएको थियो । ओम शर्माले स्वास्थ्य संवेदनशिलताप्रति यति मर्मज्ञको नम्वर उपलब्ध गराई दिनु भएछ कि ओम दाजुलाई उत्तिकै धन्यवाद । डा. पुडासैनीले जुनसुकै बेला फोन उठाएर र मैले भन्दा अझ् बढी उहाँले नै गरेर ढाढस दिने, सुझाव दिने, औषधी सिफारिस गरिदिनुभयो । ८८ भन्दा तल हुन नहुने पल्स अक्सिमिटर असोज २३ गते राती ११ बजेतिर ८२ मा झर्‍यो । म त झण्डै ढले नै, डा. पुडासैनी समेत अक्सिजन बेड खोज्न भौतारिनु भयो । तर, प्राप्त गर्न सकिएनँ । यसपछि डा पुडासैनीले झ्याल, ढोका खोलेर लामो–लामो सास तान्न÷फेर्न र पुनः अक्सिमिटरले ‘चेक’ गर्न सुझाउनु भयो । यसपछि भने मुटुको गति ९१÷९२ मा पुग्यो । २५ गते राती २.३८ मा झल्यास्स ब्युझिँए । सास फेर्नै धौ–धौ । अक्सिमिटर चेक गरे । पल्स ७४ मा झरेको रहेछ । लौ बित्यास । डाक्टरलाई फोन गर्न पनि सकिनँ । घस्रदै झ्याल खोलें । ढोका उँघारे । झ्यालबाट चिसो हावाले स्पन्दन गर्‍यो । लामो सास ताते । फालें । सुधार भयो । डा. पुडासैनीको ठूलो सहयोगको परिणाम, अहिले मलाई खोकीको समस्या मात्र बाँकी छ । उहाँले खोकी अन्तिममा मात्र ठिक हुन्छ भन्नु भएको छ । खोकीकै कारण दिमाग भरी स्टोरी खेलीरहँदा पनि लेख्न भने सकिरहेको छैन ।

यसबाहेक पाटन अस्पतालमा कार्यरत डाक्टर यज्ञ पोखरेल, जनस्वास्थ्यविद् डा. रबिन्द्र समिर, जनस्वास्थ्य विद दाजु कोमल भट्टराई, वर्षौदेखि अमेरिकामा बसेर कोरोना संक्रमणकै अनुसन्धान गरिरहनु भएका डा. वीरेन्द्र तिवारीले पनि निकै महत्वपूर्ण स्वास्थ्य सुझाव दिनु भयो । म र मेरो परिवारलाई कोरोना संक्रमणले च्यापेको जानकारी पाए लगत्तै आफ्नो गृह जिल्ला रुपन्देहीमा उत्पादित आयुर्वेदिक औषधी राती साडे नौ बजे समेत छोरोलाई पठाउन तत्पर हुनु भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको ढाढस र निरन्तरको फोन सुझाव पनि एउटा उर्जा बन्यो । आफू कार्यरत संस्था रातोपाटीका सहकर्मी मित्रहरुहरुको लेखाइको चिन्ता नगर्न, स्वास्थ्यको ख्याल गर्नलगायतका आत्मबल बढाउने सुझाव र सान्त्वनाले पनि थप उर्जा प्रदान गर्यो ।त्यसैले मेरो स्वास्थ्यमा चासो दिनु हुने सबैमा नमन छ ।

अन्त्यमा,

आफ्नै स्वेच्छिक निर्णय वा डाक्टरहरुको परामर्शमा घर वा डेरामै आइसोलेसनमा बसेका संक्रमितलाई स्वास प्रस्वासमा समस्या हुँदा अक्सिजन मात्र दिन पाए पनि बिरामीहरुलाई सघन उपचार कक्षमा राख्नु पर्दैन । कोरोना संक्रमितले शुरुदेखि नै निगरानी पाए एकदम थोरैलाई मात्र आइसियु वा भेन्टिलेटर भए पनि पुग्ने रहेछ । तर, सामान्य अक्सिजन, यसपछि चाहिने आइसियु र भेन्टिलेटरको अभावमा धेरैको मृत्यु भइरहेको छ ।

मैले के पनि सुँइको पाए भने सहज सरकारी पहुँच भएकाहरुले आवश्यक नहुँदा नहुँदै पनि आइसियु कब्जा गरेका छन् । डाक्टरहरु लुत्रुक्क पर्न बाध्य छन् । प्रधानमन्त्री केपी ओलीले भन्नु भए झैं घरमै बसेर बेसार पानी र गुर्जो पानी पिएर मात्र धेरैलाई यो संक्रमण निको हुन्न । कोरोनासँगको निस्लोठ लडाइँको यो क्षण सरकारका तर्फबाट भएका सबै कमजोरी म यहाँ उल्लेख गर्न चाहन्नँ । म र म जस्ताको सरोकार यति मात्र हो, संविधान प्रदत अधिकार र सर्वोच्च अदातलको आदेश समेत सरकारले मान्दैन भने न्याय कहाँबाट मिल्छ ? सर्वसाधारणहरुले चाहिँ सरकारले दिएको आदेशलाई किन मान्ने ?

कोरोना महामारीले घरकै आइसोलेसनमा मृत्यु भएकोहरुको शव व्यवस्थापन समेत परिवारले नै गर्नु पर्ने हो भने आपतविपतमा सरकार किन चाहियो ? के सर्वसाधारणले जुनसुकै बेला सरकार गुहारेका छन् ? र, यो भन्दा महत्वपूर्ण कुरा– भुँइ मान्छेको पीडा, मर्का सरकारले बुझ्दैन/हेर्दैन भने सर्वसाधारणले चाहिँ सरकारलाई किन मान्ने, कर किन तिर्ने ? सरकारको दायित्व रमिते मात्र हुने हो ? सरकारले जिम्मेवारी बोध गरेर उत्तर दायित्व निर्वाह गरोस् भन्ने कामना छ ।

लेखाइलाई बीट मार्दामार्दै आफूले भोगेका तीतो अनुभूतिको आधारमा म यति मात्रै भन्छु– दुश्मनलाई नै पनि नलागोस् यो कोरोना !!!

  • रातोपाती साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::