देशभित्र रोजगारी नपाउँदा जोखिमकै बीचमा युवा विदेश जान तयार

शनिबार, असार २७, २०७७

देशभित्र रोजगारी नपाउँदा जोखिमकै बीचमा युवा विदेश जान तयार

लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोजे  तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उनले खोजेजस्तो काम पाएनन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले मलेसिया जान पुनः श्रम स्वीकृति लिएका छन ।

मलेसियाको रोजगारी गुम्छ कि भन्ने चिन्तामा परेका  रमेशलाई पुनः श्रम स्वीकृतिको स्टिकर पाएसँगै यो डर सकिएको छ । यो महामारीका बेलामा कोरोनाको डर र जोखिम त संसारभरी नै छ । तर उहाँलाई त्यसको वास्तै छैन । कम्पनीले बोलाइरहेको छ । मलेसिया पुगेपछि काम निश्चित छ । मासिक आम्दानी पनि हुन्छ । रमेश प्रश्न गर्दै भन्छन , ‘यहाँ न काम छ न कमाई किन बस्नु ?’

मलेसियाबाट बिदामा घर फर्केका थिए   रमेश । कम्पनीले दिएको बिदा सकिनै लाग्दा कोरोनाको जोखिम बढ्यो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्‍यो । देशमा लकडाउन भयो ।उनि  मलेसिया फर्कन पाउनुभएन ।बिदामा आएका रमेश लकडाउनमा घरभित्रै बन्द हुँदा उता मलेसियामा काम चलि नै रहयो ।मलेसियाका पाहाङ राज्यमा सुपरमार्केमा काम गर्छन  रमेश । कमाइ महिनाको ६० हजार रुपैयाँ छ । बिदामा फर्किएकाले दुई महिनाको तलब त कम्पनीबाट लिनै बाँकी छ ।

‘यहाँ अहिले काम पाइँदैन, उता त गएपछि काम र कमाइ पक्का छ, किन बस्नु त यहाँ ?’ रमेश कोरोना महामारीकै बीचमा परदेश जान खोज्नुको कारण बताउछन्  ।

रमेशले जस्तै गुल्मीका मणी ज्ञवालीले पनि पुनः श्रम स्वीकृति खुलेपछि यूएई जाने प्रक्रिया थालेका छन् । मार्च २ तारिखमा बिदामा घर आएका  मणी कोरोना महामारीका कारण बिदा सकिएपछि फर्कन पाएनन  ।मणि  घरमै रोकिंदा पनि उता यूएईमा भने उहाँको काम रोकिएन । सुपरमार्केटमा काम गर्ने मणीको कम्पनी चलिरहेकै छ । झण्डै चार वर्षदेखि त्यही कम्पनीमा कार्यरत उहाँलाई सेवासुविधा र तलब पनि राम्रो दिएको छ । यहाँ यतिका महिना बस्दा पनि स्वदेशमै के काम गर्ने भनेर उहाँले मेसो पाएनन्  । उडान बन्दा हुँदा परदेशबाट कम्पनीले बोलाउँदा पनि जान पाइएन भन्छन  मणी ।‘सबै साथीहरुले काम गरिरहेका छन्, कसैलाई पनि केही भएको छैन, मैले पनि गएपछि सुरक्षा सतर्कता अपनाएरै काम गर्ने हो’ मणी भन्नुहुन्छ, ‘हुँदाखाँदाको जागिर छाडेर यहाँ के गर्नु ? न काम पाइन्छ, न अन्य केही कमाइको बाटो नै छ ।’

मणीले यूएई जानको लागि प्रक्रिया थालेका छन्  । त्यसका लागि कम्पनीसँग समन्वय पनि भइरहेको छ । उताको प्रक्रिया मिल्नासाथ मणी यूएई उड्ने योजनामा छन्  ।

यहाँ बेरोजगार बस्नुभन्दा सुरक्षा सतर्कता अपनाएर परदेश जान परिवारले पनि अनुमति दिएका छन् । ‘परीक्षण गरेरै जाने हो, उता पनि सुरक्षाका उपायहरु अपनाइन्छ, डर छैन’ मणी भन्छन  ।सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।

यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाउँछ । यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन: श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले, ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

थप रोजगारी सृजना भएन, युवा वैदेशिक रोजगारीमै आकर्षित भए

विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।

महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।

अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।

नेपालमा मात्र होइन, अहिले नेपाली जाने तयारी गरिरहेका यूएई, कतार, बहराइन, कुवेत लगायतका देशमा कोरोनाको जोखिम दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या पनि त्यसैगरी बढिरहेको छ । तर यो महामारीका बीचमा पनि युवाले वैदेशिक रोजगारी नै रोज्नुको कारण देशमा उनीहरुले अवसर नै नपाएको र पाउनेलाई पनि त्यसले बाँध्न नसकेको विज्ञ डा. गुरुङको भनाइ छ ।

‘मानिसले त आफूलाई कहाँ फाइदा छ भनेर तुलना गर्छ नि, अहिले सरकारले जुन विकल्प दिएको थियो, त्योे विकल्पभन्दा उनीहरुलाई विदेश नै ठिक लाग्यो,’ डा. गुरुङ भन्नुहुन्छ, ‘जसले जे भने पनि अहिले प्रदेश, जिल्ला र पालिकास्तरमा युवालाई तान्ने गरी रोजगारी सृजना भएका छैनन्, अवस्था पहिलेकै जस्तो छ ।’

अहिले सार्वजनिक गाडीहरु नचल्दा, लकडाउनकै अवस्थामा हुँदा र सङ्क्रमणको जोखिम दिनहुँ बढिरहँदा पनि पछिल्ला चार दिनमा झण्डै ११ सयले पुनः श्रम स्वीकृति लिनुले अवस्था केही सहज भएमा या गाडीहरु चल्न थालेमा यो सङ्ख्या ह्वात्तै बढ्ने उहाँ बताउनुहुन्छ । युवाहरु कहिले खुल्छ र वैदेशिक रोजगारीमा फर्कौंला भनेर पर्खेर बसेका छन् ।

गन्तब्य मुलुक मा अहिले जोखिम बढीरहेको र  यही अवस्थामा सरकारले पुनः श्रम स्वीकृति खोल्नु र युवाहरुले जानका लागि खुट्टा उचाल्नु जोखिमयुक्त रहेको डा. गणेश गुरुङको भनाइ छ । अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउछन्  ।

‘कोरोनाको कारण अवस्था देशमा मात्र होइन, विदेशमासमेत समान्य भएको छैन, यस्तो बेलामा भिडभाड गरेर कार्यालय खोलेर पुनः श्रम स्वीकृति किन दिएको हो भनेर मैले बुझेको छैन’ डा. गुरुङ भन्छन  । यो बेलामा पुनः श्रम स्वीकृति खोल्दा पनि डिजिटल माध्यमबाट कार्यालयमा उपस्थित नभइ लिन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::