धूमपान गर्ने व्यक्ति कोरोना सङ्क्रमणको उच्च जोखिममा

शनिबार, साउन १०, २०७७

धूमपान गर्ने व्यक्ति कोरोना सङ्क्रमणको उच्च जोखिममा

नियमित धूमपान तथा सुर्तीसेवन गर्नेलाई कोरोनाको उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । धूमपान गर्नेलाई रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्ने क्षमता नहुँदा जोखिम बढ्ने हुन्छ ।

विश्वलाई आतङ्कित बनाएको कोरोना भाइरसको सङ्क्रमणलाई सुर्तीजन्य पदाथले बढावा दिइरहेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुप्रसाद पौडेलले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्ति कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले धूमपान सेवन गर्ने व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्न नसक्ने बताउनुभयो । धूमपान गर्ने व्यक्तिलाई अन्य सामान्य व्यक्तिलाई भन्दा कोरोनाको जोखिम बढी हुने र श्वासप्रश्वासमा प्रभाव पार्ने हुँदा भेन्टिलेटर तथा आइसीयुमा राख्नुपर्ने हुन्छ ।

धूमपानले फोक्सोमा काम गर्ने क्षमतामा कमी आउने भन्दै डा पौडेलले सुर्तीजन्य पदार्थ हरेक रोगका लागि खतरा रहेको बताउनुभयो । विश्वव्यापी महामारीको चपेटामा कोरोना भाइरस रहेकोले धूमपान गर्ने व्यक्तिलाई कोरोनाको सम्भावना हुन्छ, डा. पौडेलले थप्नुभयो ,“कोरोनाबाहेक धूमपानले मस्तिष्काघात, मुटुरोग, श्वासप्रश्वास, छातीसम्बन्धी रोगलाई पनि उत्तिकै असर गर्दछ ।”

उहाँले सुर्तीजन्य पदार्थ र धूमपान गर्ने व्यक्तिका लागि कोरोना भाइरस घातक हुने बताउनुभयो । ‘सुर्तीजन्य पदार्थ र धूमपान गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण भइहाले समस्या जटिल हुने सम्भावना धेरै हुने भन्दै पौडेलले धूमपान गर्ने व्यक्तिले कोरोनाको चपेटामा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । क्यान्सर रोग विशेषज्ञ डा. पौडेललले सुर्तीजन्य पदार्थ र चुरोटको सेवनले कोरोना भाइरस सङ्क्रमणको जोखिम मात्र होइन मुटुरोग, फोक्सोसम्बन्धी रोग, मधुमेह, रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढाउने बताउनुभयो ।

उहाँले अन्य सामान्य व्यक्तिभन्दा धूमपान गर्ने व्यक्तिलाई कोरोनाको उच्च जोखिम रहने बताउनुभयो । डा. पौडेलले सुर्ति सेवन गर्दा चुरोट खाने व्यक्तिसँग आइपुग्दा धेरै व्यक्तिको हातबाट पास हुँदै आउने, चुरोट सेवन गर्दा लाइटर पनि विभिन्न व्यक्तिहरूले छुने हुँदा बाहिरी प्रयोगले पनि कोरोनाको जोखिममा सूर्ती सेवनकर्ताहरू पर्ने बताउनुभयो ।

उहाँले धूमपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने भएका कारण त्यस्ता व्यक्तिमा सङ्क्रमणको जोखिम धेरै हुने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणले सीधै फोक्सोमा असर गर्छ । कोरोनाले छाती, श्वासप्रश्वासमा समस्या देखिने र धूमपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने भएका कारण सङ्क्रमणको उच्च जोखिममा हुन्छ । उहाँले धूमपान गर्ने व्यक्तिहरू कोरोना सङ्क्रमित भए आईसियु वा भेन्टिलेटर भर्ना हुने सम्भावना पनि धेरै हने बताउनुभयो ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठनका अनुसार पनि कोरोनाको सङ्क्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा बढी देखिएको छ । दीर्घ रोगी, नसर्ने रोगका बिरामीहरूमा सङ्क्रमणको जोखिम उच्च हुनुका साथै उनीहरू सङ्क्रमित भएपछि गम्भीर समस्या देखा पर्ने हुन्छ । जनस्वास्थ्यविद डा. बाबुराम मरासिनीले सुर्ती नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदम सही भए पनि कार्यान्वयन पक्ष फितलो रहेको जानकारी दिनुभयो । उहाँले सुर्ती नियन्त्रणसम्बन्धी कानुनहरू कार्यान्वनयमा आए पनि प्रभावकारी भने नरहेको बताउनुभयो । दि युनियन एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा चालेका प्रयास सकारात्मक रहेको बताउनुभयो । सुर्तीजन्य पदार्थमा चुरोट, सुर्ती, खैनी, तमाखु आदि पर्दछन् । सेवन गर्नेबित्तिकै असर नपरे पनि लामो समयपछि यसको गहिरो असर देखिने गर्छ । हालसम्म चार हजारभन्दा बढी रसायनहरू सुर्तीजन्य पदार्थमा भेटिइसकेको छ जसमध्ये करिब २५० हाम्रो शरीरका लागि हानीकारक छन् । पचासभन्दा बढीले क्यान्सर निम्त्याउँछन् भन्ने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । सामान्य रुपमा मुख, गिजा तथा दाँतहरूको समस्यादेखि लिएर मुटुसम्मलाई असर गर्ने क्षमता सुर्तीजन्य पदार्थहरूमा हुन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइले संसारभर नसर्ने रोगहरूको प्रकोप बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले नसर्ने रोगको प्रमुख कारक तत्त्व जीवनशैली र सुर्तीजन्य पदार्थको प्रयोग भएको भन्दै लामो समयसम्म निरन्तर प्रयोग गर्नाले नसर्ने खालका दीर्घ रोगहरू देखा पर्ने बताउनुभयो ।

धूमपानले रक्तनली बिगार्ने, रक्त चाप बढाउने, मुटुसम्बन्धी दीर्घरोग लाग्ने, हार्ट अट्याक हुने, मष्तिकमा असर गर्ने, फोक्सो बिगार्ने, दम हुने, फोक्सोको क्यान्सर हुने, श्वासनलीको क्यान्सर हुने, रगत तथा पाठेघरको क्यान्सरसमेत हुनसक्ने बताउनुभयो । स्त्रीरोग विशेषज्ञ प्राडा जागेश्वर गौतमले गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भमा रहेको शिशुको स्वास्थ्यमा समेत ठूलो असर पर्ने बताउनुभयो ।

उहाँले गर्भ खेर जाने, मरेको बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको वच्चा जन्मिने तथा शिशुको शारीरिक तथा मानसिक विकासमा असर गर्ने जस्ता समस्याहरू पनि देखापर्न सक्ने बताउनुभयो । धूमपानले दैनिक ७४ जनाको मृत्यु यस्तै नियमित धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नाले दैनिक ७४ जना व्यक्तिको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ७४ जना व्यक्ति धूमपानका कारण मर्ने गरेका छन् । वार्षिक तथ्याङ्कअनुसार नेपालमा २७ हजारभन्दा बढीको मृत्यु धूमपान सेवन गरेकै कारणले हुने गरेको छ । धूमपानका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्ने रोगले मानिसको मृत्युृ भइरहेको छ ।

चिकित्सकहरूका अनुसार दैनिक सुर्तीसेवन गर्ने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने र विभिन्न रोग लाग्ने गर्दछ । यस्तै युरोपियन युनियन हेल्थ एजेन्सी’को रिपोर्टअनुसार धूमपान गर्ने व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण हुने र अन्य व्यक्तिको तुलनामा निको हुने सम्भावना निकै कम हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरूको फोक्सोमा इन्जाइम सक्रिय हुने भएका कारण कोरोनाको सङ्क्रमणको जोखिम उच्च हुने हुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । यस्तै १७ दशमलव १ प्रतिशतले चुरोट र १८ दशमलव ३ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको अनुसन्धान परिषदको अध्ययनले देखाएको छ ।

अनुसन्धानले महिलाका तुलनामा पुरुषहरू पाँच गुणाभन्दा बढी अम्मली रहेको देखाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था हेर्ने हो भने पनि महिलाभन्दा पुरुष बढी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा दीर्घ श्वासप्रश्वास रोग सिओपिटीका करिब ३४ लाख बिरामी छन् । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार विश्वभर करिब छ मिलियन व्यक्तिहरू सुर्तीजन्य पदार्थको सेवनको कारणबाट ज्यान गुमाइरहेका छन् । तीमध्य करिब छ लाख मानिसहरू अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले गर्दा ज्यान गुमाइरहेका छन् । हरेक छ सेकेण्डमा एक व्यक्ति सुर्तीजन्य पदार्थको सेवनबाट मरिरहेको छ । करिब ८० प्रतिशत प्रयोगकर्ताहरू हाम्रो देश जस्ता कम तथा मध्यम आयस्रोत हुने देशमा छन् । यस अर्थमा पनि हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न लागि पर्नुपर्ने देखिन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::