नाम मात्रको लोग्ने !

शनिबार, असार १४, २०७६

नाम मात्रको लोग्ने !

हो सुलभ ! हाम्रो प्रेमका लागि यो कदम उठाउँदै छु । केही समयका लागि मेरो शरीर तिमीबाट टाढा भए पनि मेरो मन सधैं तिमीसँगै हुनेछ । हो, छोरी भएको नाताले मैले मेरा बाबुआमाका लागि भए पनि यो निर्णय लिनुपथ्र्यो नै । कारण हामी दुईबीचको चोखो प्रेमलाई यो समाजले स्विकार्दैन ।

प्रेमलाई के नाम दिएर हामी समाजमा उभिन सक्थ्यौं र ? यो हाम्रो साँचो प्रेम भए पनि समाजले यसलाई पाप भन्छ ।

नौ वर्षअगाडि विराटनगरको चोकमा तिमीलाई पहिलोपटक देखेकी थिएँ । अग्लो, मिलेको शरीर, चौडा छाती । सायद गेमबाट आएकाले पनि होला । कति सुहाएको थियो रेड कलरको टिसर्ट र ट्राउजर तिमीलाई । मेरो सपनाको हिरोजस्तै तिमी मेरो सामु उभिएका थियौ । तिम्रो त्यो नशालु आँखाले मलाई हेरिरहँदा म लाजले गलिसकेकी थिएँ । तिमी मेरै छेउबाटै जाँदा तिम्रो शरीरबाट निस्केर मेरो सोझै नाकमा ठोकिन आइपुगेका त्यो सुगन्ध, सायद मैले कहिल्यै भुल्नेछैन ।

हाम्रो पहिलो भेट मेरा लागि सबैभन्दा अविस्मरणीय दिन थियो । मेरो जन्मथलो विराटनगर, तिम्रो धरान । योभन्दा पहिला तिमीलाई देख्दै नदेखेको त होइन तर पनि आज जुन नजरले तिमीलाई देखें, त्यो सोझै मेरो मनलाई चोर्न सफल भएको थियो ।

त्यो रात म निदाउन सकेकी थिइनँ । मेरो मनको नायक तिमीसँग भोलि पनि भेट हुन्छ कि हुँदैन भन्ने पीरले झन् छटपटिन थालेकी थिएँ । यो मेरो उमेरको दोष हो वा मेरो पहिलो प्रेम ? बाइस–तेइस वर्षको उमेरसम्ममा कुनै दिन यस्तो भएको थिएन । यस्तो छटपटी कहिल्यै महसुस गरिनँ ।

‘म सुलभ, तपाईं ?’ तिम्रो पहिलो वाक्य थियो ।

ओहो ! मान्छे जति सुन्दर थियौ । बोल्ने शैली पनि त्यत्तिकै सुन्दर ।

‘म जिया ।’ कस्तो लाज लागेको थियो, आफ्नो नाम भन्न पनि मलाई !

हुन त म मान्छेसँग खुलेर कुरा गर्नुपर्ने मान्छे । म खुला दिलको हँसीमजाक गर्नुपर्ने मान्छे । तर पनि थाहा छैन, तिम्रो अगाडि के भयो मलाई । साँच्ची सुलभ, जति जति तिमीलाई चिन्दै थिएँ । म झनझन तिम्रो नजिक हुँदै गइरहेको थिएँ । तिम्रा हरेक कुुराले मलाई लट्ठ पाथ्र्यो ।

सुलभ, दिनमा एक्लै बस्दा पनि तिम्रै नाम मात्र जपिराख्न मन लाग्न थालिसकेको थियो । कति नै भएको छ र हामी यति नजिक भएको । तर पनि अब तिमीबिना बस्न नसक्ने पारिसकेका थियौ तिमीले । थाहा छैन, के जादु छ तिमीमा ?

क्रमिक रूपमा हाम्रो भेटघाट अझ आधुनिक शब्दमा भन्दा डेटिङ बाक्लिँँदै गइराखेको थियो । तिम्रो उपस्थितिले म कति रोमाञ्चित हुन्थें ।

सुलभ, म अब तिमीबिना बाँच्न सक्दिनँ र सायद तिमी पनि मबिना । हाम्रो यो कञ्चन र पवित्र प्रेममा कसैको पनि आँखा नलागोस् । अब तिमी मेरो सबै थोक भइसक्यौ । मैले आज तिमीलाई आफ्नो शरीर पनि सुम्पिदिएको छु । अब यो शरीरको हक जमाउने तिमी मात्र हौ सुलभ ।

म आफ्नो बेडमा छरिएका कपडाहरू टिपेर लगाउँदै उसको अनुहार हेर्छु ।

ऊ केही बोलेको थिएन । ऊ सोफाको एक छेउमा टुसुक्क बस्यो । मायालाग्दो गरी ।

‘तिमी सारै आकर्षक छौ मेरो प्रिय,’ उसको चौडा छातीमा एउटा सानो रातो कोठी हेर्दै मैले भनें ।

‘तिम्रो नराम्रो भनेको केही छैन । तिमी जस्तो जीवनसाथी मैले पाउनु म आफूलाई भाग्यमानी सम्झन्छु र मेरा बाबुआमा पनि तिमी जस्तो ज्वाइँ पाउनु, भाग्यमानी ठान्छन् ।’

‘अझ हाम्रो विवाह भएको छैन । याद छ कि छैन ?’ ऊ होटेलको झ्याल छोपेर उभिएका रंगीन पर्दाहरू खोल्दै भन्छ । कोठामा उज्यालो थपिन्छ । धरानको गर्मी, त्यसमा टन्टलापुर घाम लागिरहेको छ बाहिर ।

‘भर्खरै चलेको ओछ्यानको न्यानोमै मात्र सीमित राख्ने भन्ने सोचेकी छौ ?’ म जंगिन्छु ।

मेरो रूप देखेर ऊ नरम हुन्छ र कसेर मलाई अँगालोमा बाँध्छ । थाहा छैन, जब जब म उसको अँगालोमा हुन्छु । आफूले कहिल्यै नपाएको न्यानो माया पाउँछु । यसरी नै सधैं उसको अँगालोमा बाँधिरहन पाए बरु भोकै पनि बस्थें ।

‘सुलभ, मैले हाम्रा बच्चाहरूको पनि नाम राखिसकें । ‘स्निग्धा र सुभान’ हाम्रा हुने बालबच्चाहरूको नाम ।’

सुलभ मलाई एकोहोरो हेरिरहन्छ ।

जोगबनी, भेडेटार, धरान र विराटनगरमा हामीले बिताएका रमाइला पल । मारवाडी बास्ना आएको मिठाई, होटल क्याल्रोनमा बिताएका क्षण, मेलिना स्टुडियोमा हामी दुई सँगै बसेर खिचेका फोटा, तिमीले मलाई कालो सारी लगाउँदा राम्रो देखिन्छ भनेर घरको कौसीमा तिमी र म भएर सँगै खिचेका फोटाले आजीवन मलाई तिम्रो समीपमा राख्न मद्दत गरिरहन्छन् ।

‘जिया, तिम्रो त सुलभ अंकल हो । तिम्रो बुबाको सानीआमाको छोरा,’ एक्कासि दिदीले दिनुभएको यो जानकारीले मुटुभित्रै पुगेको चिसो सुइरो भएर पोल्न थाल्छ । समालिन खोज्दा खोज्दै पनि अवाक् बनाइदिन्छ यस परिस्थितिले । एउटा गहिरो निःश्वास छाड्छु । मानौं, बोल्नलाई केही शब्द नै छैन ।

एकैछिनमा सबै उथलपुथल भएको जस्तै । मानौं, हिरोसिमामा नभई मकहाँ आएर पड्किएको जस्तो भइरहेको छ । किन आज नै दिदीसँग हाम्रो भेट हुनुपरेको होला । आँखाबाट आँसुका भेल थामिएको छैन । जसलाई मनबाटै मेरो सबै थोक मानिसकें । जसका लागि मंगलबारको व्रत बस्छु । तिमीबाट हजुर भइसकेको अवस्थामा किन र के हुन गयो आज ?

सुलभ, हजुरकै नामबाट टाउकोमा लुकेर सिन्दुर लगाउँथें र हातमा चुरा भने आज के भयो यस्तो ?

नजाने कुन साइतमा उसका ती भावुक र नशालु आँखासँग मेरो आँखाको मित्रता हुन पुगेथ्यो कुन्नि ? हरेक खाली समय उसलाई नियाल्दैमा बित्थे । मलाई देख्नासाथ आँखाले स्पर्श गरेर ओठमा काउकुती लगाउने मुस्कान छाड्न ऊ कहिल्यै बिर्संदैनथ्यो । यी सब हाम्रा प्रारम्भिक दिनदेखिका आजसम्मको सबै एकएक गरेर आँखाअघि घुम्न थालेका छन् ।

सुलभ मेरो अंकल रे । बिहानसम्म ‘मेरो प्रिय’ भनेको मैले र ‘मेरो जानु’ भनेको सुलभले, के भोलिबाट पनि हामी यही सम्बोधनले एकअर्कालाई बोलाउन सक्छौं होला त ?

‘प्रिय, प्रेममा सबै थोक जायज छ । प्रेम अन्धो हुन्छ त्यसैले त भनेका हुन् नि ! बरु म आमाबाबु र इष्टमित्र केही भन्दिनँ । मलाई हजुर मात्र भए पुग्छ । मलाई यो समाजसँग केही लेनदेन छैन । कसलाई चाहिँ भन्न बाँकी राखेको छ र यो समाजले । म हजुरका लागि जे पनि गर्न तयार छु,’ होटल क्यालरोनमा मैले यसो भन्दै गर्दा सुलभ टाउको झुकाएर बसेको थियो ।

मलाई थाहा थियो, सुलभका लागि मेरो के महत्व थियो भन्ने ? मेरा लागि उसले उसकी आमालाई समेत छोड्न तयार हुन्छ भन्ने ।

‘दुई वर्ष सुलभ हामीकहाँ नै बसेर पढ्छ काठमाडौंमा,’ ममीले भनिरहँदा मलाई यस्तो लाग्यो, म आकाशमा चरासँगै उडिराखेको छु जस्तो ।

मेरो राजा, मेरो सपनाका सन्तान स्निग्धा र सुभानका ड्याडी, मेरो सुलभ आउँदै छ । त्यो पनि काठमाडौंमा हाम्रै घरमा ।

सुलभ हजुरलाई के थाहा, मैले प्रत्येक सामान आफैंले मिलाएर सजाएको छु, हजुर बस्ने रुमको ।

अब बिहान उठ्नेबित्तिकै हजुरलाई हेरेर दिनको सुरुवात गर्न पाउने र हजुरलाई माया गरेर गुडनाइट भन्न पाउने भएँ ।

हो, घर र समाजमा काकाभतिजी भए तापनि हामी जे थियौं, त्यो हाम्रा लागि अरूभन्दा अलग थियो र हामी यसैमा खुसी थियौं ।

मलाई कैले पनि यो चुट्की सिन्दुरको ढोंग, जन्ती र बाजाको विश्वास लागेन र अब त झन् छँदै छैन । म जीवनलाई आधुनिक सभ्यतासँग एकाकार गर्न चाहन्छु र म विवाह नगरीकन यसरी नै हजुरसँग बाँकी जीवन बिताउन चाहन्छु ।

म विवाह नगरी आमा बन्न पनि तयार छु । अरूले मलाई आधुनिकताको भूत चढेको भन्लान् तर यो भूत नभएर वास्तवमा नै म आधुनिक छु । त्यसैले म अब विवाह गर्न चाहदिनँ ।

म विवाहपछिको घर, सासू–ससुरा, लोग्नेलाई मान्नुपर्ने, बिहान चाँडै उठेर पूजापाठ, सबैलाई मान्नुपर्ने आदिबाट म धेरै पर छु । मलाई ‘बुहारी’ भन्ने शब्द नै मन पर्दैन । म पढेलेखेको मान्छे, राम्रै ठाउँमा काम गर्छु भने किन म अरूको अन्डरमा बस्ने ?

अहिलेको एक्काइसौं शताब्दीमा आएर चौधौं शताब्दीको विचार राख्ने मान्छेप्रति मलाई घृणा लाग्छ । सबैभन्दा ठूलो म स्वतन्त्र हुुनुपर्छ र त्यसका लागि म जे पनि गर्न सक्छु ।

मलाई थाहा छ, सुलभ अरूभन्दा भिन्दै छ र मेरो हरेक सपना पूरा गर्ने औकात छ उसमा ।

राजा, हो म अरूभन्दा फरक छु । हजुरलाई मैले भनेकी थिएँ, जो मैले सानोमा काठमाडौं आएर आफ्ना मान्छेकहाँ बस्दा पाएकी दुःखहरू ।

मेरा बाबुआमा काठमाडौंमा आएर संघर्ष गर्दै थिएँ । म घरकी जेठी भएकीले गर्दा पनि मैले ती सब इच्छा हुँदा हुँदै पनि कहिल्यै पाइनँ । अरूको घरमा बस्दाको पीडा त्यो मैले भोगेकी छु । सुलभ, अब म आफू कमाउनेछु र अब म सब कुरा गर्नेछु, जुन मैले सानैदेखि जवानी हुँदासम्म गर्न पाइनँ । भोलि के हुन्छ, कसले देखेको छ र ? त्यसैले म आजका लागि बाँच्ने मान्छे ।

म ती सब कुराको अनुभव गर्न चाहन्छु, जुन कुरा पहिले पाएकी थिइनँ । मलाई कसले के भन्छन्, मतलब छैन । म जिया हुँ र जियाले जे पनि गर्न सक्छ राजा ।

जुन कुरा गर्नदेखि घृणा लागेर आउँछ, त्यही कुरा बारम्बार सुनिरहनुपर्दा वाक्क लाग्छ मलाई । कहिलेकाहीँ त भनिदिन मन लाग्छ सबैलाई, ‘तिम्रो हुनेवाला ज्वाइँ मैले आजभन्दा नौ वर्षअगाडि नै खोजिसकेकी छु ।’ तर विवश छु ।

हुँदा हुँदा आज सुलभलाई नै गएर भन्नुभएछ मम्मीले, ‘जियालाई बिहे गर्न मनाउनुप¥यो ।’ विचरा सुलभ भनोस् पनि के ?

‘जिया, हेर त विदेश बस्ने केटाको कुरा आएको छ । काठमाडौंमा नै बस्ने परिवार पनि सानो । मलाई हेर्दा ठीकै लागेको छ । आज यस केटाकी आमालाई पनि भेटेर आयौं । अब तेरो के छ विचार ? कि सधैं बिहे नगरी बस्छु भनेर भन्नुप¥यो होइन भने एउटा निर्णय लिनुप¥यो,’ मम्मीले मेरो अगाडि तीन वटा फोटा राखेर भित्र जानुभयो ।

अहिल्यै सलाई कोरेर ती सबै फोटा जलाइदिऊँ जस्तो लागेको थियो ।

सुलभलाई धेरैपटक भनेको पनि छु, ‘अब हामीले एउटा निर्णय लिनुपर्छ । होइन भने हजुरकै अगाडि मलाई अर्कैको पल्ला भिडाइदिनेछन् । अनि हजुर लाटोले केरा हेरेको जस्तै हेर्दै बस्नू ।’

‘मलाई मात्र हजुरको साथ पाए म हजुरसँगै भाग्न पनि तयार छु,’ भनेकी थिएँ ।

तर सधैं सुलभ भाग्ने कुरामा हच्किन्थ्यो र सधैं मैले पनि घरमा बिहेको कुरा पन्छाउन सक्दिनथें ।

यो बाजाका धुनले मेरो कान फुट्ला जस्तो भइराखेको छ । घरका सबैका अनुहारमा खुसी छाएको छ । तर म छैन, यो मेरो अगाडि उभिएको मान्छेलाई म लोग्ने कदापि मान्न तयार छैन ।

यो विवाह सुलभ र मेरो सपना साकार गर्न मात्र हामी दुईले बनाएको योजनाभित्रको पहिलो चरण थियो । चलचित्रमा नायिकाले फिल्ममा गरेका बिहे जस्तै । यो पनि मेरा लागि त्यस्तै थियो ।

मेरो बिहे त आजभन्दा धेरै अगाडि भइसकेको थियो । मेरो मनको राजकुमारसँग ।

यो केटो विदेशबाट मसँग बिहे गर्छु भनेर आएको । कति भने यसलाई म तिमीसँग बिहे गर्दिनँ पनि भनें तर मान्दै मानेन ।

यसले मेरो सिउँदोमा सिन्दुर हाल्दा टाउकामा झुसिल्कीरो हिँडेको जस्तो चिलाउन पो थाल्यो बा । अझ कति न लोग्ने भएको फूर्ती झारेर फोटो खिच्नलाई मसँगै टाँसिन आउँछ पो । होइन, यो जस्तो नराम्रो मान्छे सायद मैले कोही देखेको छैन । के देखे होलान् मेरा बाबुआमाले पनि ।

झट्ट सुलभलाई सम्झें । बिचरा एउटा कुनामा गएर रुँदै होला । सुलभको एक छेउमा पनि यसलाई राख्न सुहाउँदैन । बाबुआमा रुन थाले ।

‘गर्दिनँ भन्दा भन्दै कर गरेर बिहे गरिदियौ । अहिले चाहिँ रुँदै नाटक,’ मनमनै भनें । सुलभलाई सम्झें, हाम्रा स्निग्धा र सुभानलाई सम्झें । डाँको छोडेर रुन मन लाग्यो ।

मनमा विद्रोह जागिराखेको थियो । अझै पनि समय छ, छोड्दे सबैलाई । तेरो गन्तव्य यो होइन भनेर । तर पनि सकिनँ । मायामा हरेक कुरा जायज हुन्छ भन्दै अर्को चरणतिर खुरुखुरु प्रवेश गरें ।

आफ्नो मनको अदालतमा परास्त मान्छे दुनियाँको कुनै पनि न्यायालयमा विजय प्राप्त गर्न सक्दैन । त्यसैले हार्न हुँदैन । यो त पहिलो चरण मात्र हो । यस्ता अझै धेरै चरण पार गर्दै हामीले देखेको सपनाको चुचुरोमा झन्डा गाड्नै छ ।

जे जे गर भने त्यही त्यही गर्दै गएँ । यो घर र यहाँका मान्छे कुनै अर्कै ग्रहबाट आएका एलियन जस्तै लागिराखेको थियो ।

अब यो विदेशबाट आएको केटोसँग रात बिताउनु छ भन्ने कुराले अहिल्यै डाहा पैदा भइसक्यो । रात आउँदै नआए पनि हुन्थ्यो जस्तो भइरहेको थियो ।

हुन त यसलाई विदेशमा नै प्रस्ट भनिसकेकी थिएँ, ‘जबसम्म मेरो मञ्जुरी हुँदैन तबसम्म मलाई छुन पाउँदैनौ ।’

हुन्छ त भनेको थियो तर हेर्दै डाँकु जस्तो छ के भर ।

ऊ र म मात्र एउटै कोठामा थियौं । सुङ्गुर बस्ने खोर जस्तो सानो कोठा ।

हाँस्दा पनि कस्तो नसुहाएको । म त्यो नीलोठुटो जस्तो ओठ, चिम्सा आँखा, टाउकाको कपाल लगभग छैन भन्दा पनि हुने । टाउको, मुखभरि छ्याका नै छ्याका आएको । डल्लो । सबै कुरा सानो लाग्ने तलदेखि माथिसम्म, शरीरलाई हेर्न नपरोस् भनेर मोबाइलतिर फर्किन्छु ।

‘आज हाम्रो सुहागरात,’ भन्दै मेरो नजिक आएर थचक्क बस्छ ।

कुनै पशु मरेर सिनो गनाएझैं सोझै मेरो नाकमा छिर्छ । दौडेर गएर बान्ता गरूँ जस्तो भइराखेको थियो । उसको शरीरबाट आएको गन्धले । जुरुक्क उठेर आफूसँग भएको अत्तरले त्यस वातावरणलाई केही हदसम्म भए पनि कम गर्न खोज्छु ।

आँखा एक्कासि घडीमा पुग्छ, एघार बजिसकेछ । सुलभले मेरो फोन नै कुरिराखेको होला । बाहिर कौसीमा गएर फोन गर्न थाल्छु । कोठामा फर्कन्छु ।

अझै सुतेको रहेनछ त्यो । यसले मलाई चिनेकै छैन म के चीज हुँ भनेर ।

अब हाम्रो योजनाको दोस्रो चरणमा प्रवेश गर्ने बेला भयो ।

‘म कुमारी केटी होइन । मेरो अर्कै केटा छ । म अब चाँडै यो घरबाट जाँदै छु,’ भनिदिएँ । मन हल्का भयो ।

ऊ एकटकले मतिर हेरिरहन्छ । यसको हेराइ र अनुहारबाट सजिलै अनुमान लगाउन सक्छु, मेरो वाक्यले नराम्रोसँग यसको हृदयलाई घोचेको छ । विचित्रको उदासीले भरिएको यसको आँखा एक्कासि राता भए । काला र नीलोठुटो जस्तो ओठहरू थर्थराउन थाले । मलाई के मतलब उता पल्टिएर सुतिदिएँ ।

दिनभरिको थकान । एकैपटक बिहान पूजाको घण्टी बजेको आवाजले निद्रा खुल्यो । यसो घडी हेरें, बिहानको पाँच बजेको रहेछ । होइन, यो घरका मान्छेको कसैको काम त छैन तर पनि के छोप्नलाई यति चाँडो उठेका होलान् ।

‘जेसुकै होस्, मलाई किन नाटक गर्नलाई उठ्नप¥यो र नि यिनीहरूसँगै ?’ फेरि सुतिदिन्छु ।

बिहान सात बजेसम्म सुतेर काम गर्ने दिदीले बेडमा दुई राउन्ड टी ल्याएपछि मात्र बेड छोड्ने म । हरेक दिन सके कल नै गरेर, होइन भने मेसेज नै भए पनि सुलभलाई गरेर मात्र दिनको सुरुवात गर्थें म ।

राम्री भएर एरोबिक गर्न जान्थें म । त्यहाँ पनि एकसे एक केटाहरू हुन्थे । सबको नजर ममाथि हुन्थे तर पनि त्यस्ता झारेझुरेले कहाँ मलाई सक्थे नि ।

अब ढिला भयो, बिहानको आठ नै बज्न लागिसकेछ । केही पो भन्ने हुन् कि ? तर मलाई के मतलब तेह्र–चौध दिनका लागि जे भने पनि सहिदिन्छु ।

कस्तो वैरागलाग्दो वातावरण । मेरो सुलभ राजा यतिखेर के गर्दै होला । मन र दिमागमा मात्र राजाको नै याद आइराखेको छ । फुत्त उठेर जान पनि नमिल्ने ।

कस्तो चलन हो यो घरको, कहीँ नभएको सबैको हातमा ढोग्नुपर्ने रे । सासूको त बिहान खुट्टै ढोग्नुपर्ने रे । होइन, यिनीहरू कुन शताब्दीका प्राणी हुन् ?

राजा हजुरले त सबैभन्दा पहिला जे गरे पनि मलाई नसोधी केही गरिबक्सिन्नथ्यो । तर, यो त मातृभक्त नै रहेछ । जतिखेर पनि ममी ममी भनेको छ । कानको जाली च्यातिन मात्र बाँकी छ ।

राजा हजुर भनिसिन्छ, ‘एक महिना जति कुरौं ।’ तर मलाई यो हप्ता पनि कटाउन गाह्रो भइसक्यो ।

मैले हप्ता दिनमै यसलाई वाक्क पारिसकेकी छु । सायद आफैं चाँडै फर्किन्छु जस्तो कुरा गरिराखेको सुनेकी थिएँ अघि । राजा, यो विदेशमा चाँडै गएमा हाम्रा योजना सफल हुनुलाई झन् सजिलो हुने भयो ।

राजा मेरो शरीर यो नर्कमा भए पनि मेरो बाँकी सबै हजुरकैमा छ । म सुलभको मात्र हुँ ।

‘राजा, म मंगलबारको बिहानको फ्लाइटमा आउने भएँ । म अब सब छोडेर मात्र हजुरको हुनलाई आउने भएँ । मंलबारबाट मेरा बाबुआमा सबै हजुर नै । हजुरलाई अँगालो हालेर धेरै रुन मन छ मलाई । अब हाम्रा सपनाको स्निग्धा र सुभानलाई वास्तविकतामा ल्याउन म आउँदै छु राजा । मैले यसलाई पनि कुरा मिलाइसकें । अब केही बाधा अड्चन रहेन राजा मलाई । अब पूर्ण रूपमा हजुरको हुनलाई,’ मेसेज पठाउँछु ।

अरू दिनको तुलनामा त्यो आज खुसी देखिन्छ । मेरा आँखामा छाइएको खुसीले गर्दा पो हो कि यसलाई पनि खुसी देखेको मैले ।

बिहानको साढे चार बजेको छ । यो आफैं मेरो लुगामा आइरन लगाइदिँदै छ । मलाई बाटामा खानुपर्छ भनेर स्न्याक पनि ब्यागमा हालिदिएको छ । हिजै उसले नै मलाई नेल आर्ट गर्न पनि लगेको थियो ।

कति खुसी छु आज म । नौ वर्षदेखिको हाम्रो सपना आज पूरा हुँदै छ । हतारहतार लुगा लगाएर भ¥याङ हुँदै ओर्लिन्छु । तलसम्म मेरो ब्याग बोकेर मलाई छोड्न आउँछ ।

‘होइन, यसलाई थाहा त छ, जसलाई बिहे गर्न विदेशबाट आएर बिहे गरेकी स्वास्नी आज कहाँ जाँदै छ र के गर्न जाँदै छ भनेर पनि ?’ मनमनै सोच्छु ।

यो भ¥याङमा बसेर मलाई हात हल्लाइराखेको हुन्छ । म चाँडोचाँडो गाडी चढेर आफ्नो सपना साकार पार्नतिर लाग्छु ।

(समकालीन साहित्यबाट)

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::