नेपालमा मानसिक स्वास्थ्यको अवस्था: पाँच रोगीमध्ये चार जनाले उपचार नै पाउँदैनन्

मङ्लबार, कार्तिक ९, २०७८

नेपालमा मानसिक स्वास्थ्यको अवस्था: पाँच रोगीमध्ये चार जनाले उपचार नै पाउँदैनन्

नेपालमा मानसिक स्वास्थ्य क्षेत्र अझै पनि ओझेलमा परेको छ। मानसिक रोगीलाई अवहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भूत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारका नाममा तातो पन्युँले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ।

हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रूपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजरअन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको छ। बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागू पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङ्गिक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरताजस्ता कारकतत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ।

शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन। सन् १९९७ मा बनेको भनिएको मानसिक स्वास्थ्य नीति अझै पनि कार्यान्वयनमा आएको छैन।

नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन। तथापि हालै मात्र प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पनि पर्याप्त लगानी हुन सकिरहेको छैन। नेपालको संविधान २०७२ ले स्वास्थ्यको अधिकारलाई मौलिक हक–अधिकारको रूपमा समावेश गरेको छ।

ज्यका तीनवटै निकाय (संघ, प्रदेश र स्थानीय तह) सम्म आधारभूत स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण हिस्सा रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा मानसिक स्वास्थ्य सेवा निःशुल्क र सहज रूपले सर्वसुलभ हुन सकिरहेको छैन। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन्। नेपालमा ७७ जिल्ला मध्ये केही जिल्लाबाट मात्र सरकारले मानसिक स्वास्थ्य सेवा दिएको छ। भएका मानसिक रोग विशेषज्ञ काठमाडौंमै छन्। मोफसलमा चिकित्सककै अभाव छ।

विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठनपाठन तत्काल सुरु गर्नुपर्छ। विद्यालयहरू बालमैत्री बनाउनुपर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ।

नेपालमा ५ जना मानसिक रोगीमध्ये ४ जनाले उपचार नै नपाउने अवस्था रहेको देखिन्छ। निम्न आय भएका हाम्रो जस्तो देशमा करिब ८० प्रतिशत भन्दा बढी जनता मानसिक रोगको उपचारबाट वञ्चित बनेका छन्।

मानसिक स्वास्थ्यको सम्बर्द्धनका उपाय

– शारीरिक रोगझैँ मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्छ। मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ। धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाँक्री लगाएर, मानसिक रोग निको हुँदैन। बेलैमा यसका विज्ञलाई देखाउनुपर्छ।

– मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ।

– मानसिक स्वास्थ्यको बजेट नगण्य अवस्थामा छ, यसलाई वृद्धि गर्नु जरुरी छ। नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे पनि मानसिक स्वास्थ्यमा स्वास्थ्यको कूल बजेटको एक प्रतिशतभन्दा कम छ। मानसिक समस्याहरूको उपचारका लागि १ डलर मात्र लगानी गरेमा मात्र पनि त्यसको प्रतिफल स्वास्थ्य क्षेत्रमा मात्र ३ डलर बराबर अनि सर्वाङ्गीण अर्थतन्त्र र उत्पादनशीलतामा ५ डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएकोछ।

– मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई वृद्धि गर्नुपर्छ। अहिलेसम्म नेपालमा दुई सयको हाराहारीमा मनोचिकित्सक रहेका छन्। तीन करोड नेपालीमा पन्ध्र लाख बराबर एक जना मनोचिकित्सक पर्न आउँछ। मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ। स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउनु पर्छ।

– प्राकृतिक विपत्ति आइपर्दा, रोगव्याधि फैलिँदा, दुर्व्यवहार, अन्याय, विभेद र लाञ्छनाजस्ता जीवनमा कठिन अवस्थामा मानसिक समस्या पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा–सहयोगको व्यवस्था राज्यले तत्काल गर्नुपर्छ।

– विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठनपाठन तत्काल सुरु गर्नुपर्छ। विद्यालयहरू बालमैत्री बनाउनुपर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ।

– वैदेशिक रोजगारीमा जाने युवाहरूको लागि विदेश जानुभन्दा अगाडि मानसिक स्वास्थ्य परीक्षा, मानसिक स्वास्थ्यका बारेमा तालिम, तनाव व्यवस्थापन सम्बन्धी सीप सिकाउन अत्यन्तै जरुरी हुन्छ।

– आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति व्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ। आत्महत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ। मानसिक स्वास्थ्यलाई सबल बनाउन आफ्नो दैनिक रहनसहन, खानपान, जीवनशैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आवश्यक सहयोग लिन ढिला गर्नु हुँदैन।

– मानसिक स्वास्थ्यको संवर्द्धन र प्रवर्द्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ। सबै सरोकारवाला व्यक्ति, निकाय संघ–संस्थाबीच ऐक्यबद्धताको जरुरत छ।

– मानसिक स्वास्थ्यको संवर्द्धन र प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहन्छ। यसमा सञ्चार माध्यमले संवेदनशील भएर सकारात्मक भूमिका खेल्नुपर्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::