
शुक्रबार, कार्तिक ४, २०७९
एन ए मिडिया न्युज डेस्क
नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन र भदौ) मा नेपालले पर्यटनबापत पाँच अर्ब ९५ करोड आम्दानी गरेको छ। जबकि, यही अवधिमा नेपालीले विदेश यात्रामा १७ अर्ब ९५ करोड खर्च गरेका छन्। यसले पर्यटन क्षेत्रको आम्दानीभन्दा नेपालीको विदेश यात्राको खर्च तीन गुणा ज्यादा रहेको देखाउँछ।
नेपालीले विदेशमा गरेको खर्च रकममध्ये धेरैजसो वैदेशिक अध्ययनका लागि गएका नेपाली विद्यार्थीको छ। रु. १२ अर्ब ७६ करोड विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले खर्च गरेको राष्ट्र ब्यांकले जनाएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा दोब्बर हो। पछिल्ला वर्षमा अस्ट्रेलिया, जापान, बेलायत, अमेरिका सहितका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यामा अत्यधिक बढेको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक अध्ययनमा गएका नेपालीले ६७ अर्ब ७० करोड खर्च गरेका थिए। त्यस्तै, २०७७/७८ मा नेपालीले विदेश यात्रामा गरेको कुल खर्च रकम ९७ अर्ब ३२ करोड थियो। पछिल्ला वर्षमा सीमित क्षेत्रमा काम गर्ने नेपालीको आम्दानी बढेसँगै वैदेशिक भ्रमणमा जाने क्रम बढेको छ। जसले गर्दा पनि विदेशमा हुने खर्चमा बढोत्तरी भएको छ।
नेपालमा पर्यटनबाट आम्दानी तुलनात्मक न्यून देखिए पनि अघिल्लो वर्षको तुलनामा भने वृद्धि भएको छ। गत वर्षको पहिलो दुई महीनामा तीन अर्ब ४५ करोड मात्रै पर्यटनबाट आम्दानी भएकोमा यो वर्षको पहिलो दुई महीनामा ७२ प्रतिशतले बढेको छ। कोभिड–१९ का कारण शिथिल भएको पर्यटक आगमनक्रम बढेसँगै यस्तो आम्दानी पनि बढेको हो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया