नेपाली मूलका बैंकरको नजरमा यूएईको बैंकिङ र नेपालको बैकिङ्ग

मङ्लबार, पुस १, २०७६

नेपाली मूलका बैंकरको नजरमा यूएईको बैंकिङ र नेपालको बैकिङ्ग

क्रेडिट कार्ड लिँदा के गर्ने ?....

शैलेन्द्र खड्का युएईको दुवईमा काम गर्ने नेपाली युवा बैंकर हुन् । नेपालका च्याउसरी बैंक तथा वित्तिय सँस्था र त्यहा देखिने गरेका बेला–बेलाका वित्तिय अनियमितताका घटनालाई हेरेर शैलेन्द्रले बिजशालासँग कुरा गरेका छन् । काठमाण्डौमा हुर्किएका शैलेन्द्रसँग युएईको बैकिङ्गमा १३ वर्षको अनुभव छ ।

कुनै बेला काठमाण्डौको स्टार एफएममा मार्केटिङ्गको काम गर्ने शैलेन्द्र ग्राजुएसनपछि युएई हानिएका रहेछन् । युएईको बैकिङ्गमा काम गर्न थालेपछि कुनै बेला पर्सनल लोन र क्रेडिट कार्डको क्षेत्रमा रहँदा टप पर्फमर समेत बनेका रहेछन्, जसले उनलाई असिस्टेन्ट टिम म्यानेजर समेत बन्न सहज बनाएको रहेछ । युएईमा हाल ५२ बैक तथा वित्तिय सँस्था छन् ।

शैलेन्द्र खड्का सँग युएईको बैकिङ्ग र नेपालको बैकिङ्गका  युएई मा कार्यरत  पत्रकार  प्रकाश बञ्जाराले गरेको कुराकानी,

क्रेडिट कार्ड लिँदा के गर्ने ?

सामान्यतया क्रेडिटकार्ड भनेको बैंकहरुका लागि सबैभन्दा बढी रेभिन्यू जेनेरेट गर्ने प्रडक्ट हो । युएईमा रहेका बैंकहरुले लोनबाट त्यत्ति राम्रो मुनाफा लिन सक्दैनन् किनकि यहाँको ब्याजदर एकदमै कम छ । त्यसो हुँदा क्रेडिट कार्ड बैंकको नाफाका लागि महत्वपूर्ण प्रडक्ट हो ।

अहिले क्रेटिड कार्ड फेसनजस्तै भएको छ । धेरैजसो नेपालीको पाकेटमा क्रेटिडकार्ड हुन थालेको छ । युएई केन्द्रिय बैकको नियमअनुसार क्रेडिट कार्डका लागि योग्य हुन न्यूनतम ५००० दिराम मासिक तलव हुनुपर्ने प्रावधान छ । तर, कतिपय बैंकहरुले स्टेटमेन्टको आधारमा क्रेडिटकार्ड दिने गरेका छन् । क्रेडिट कार्डका लागि योग्य मान्छेको पर्समा २ देखि ३ वटासम्म कार्डहरु भेटिनु नौलो कुरा होइन । तर सबैलाई यो कुराको ज्ञान हुँदैन कि क्रेडिटकार्डको सही ठाउँमा सदुपयोग भएन भने त्यसले ठूलो नोक्सानी समेत निम्त्याउन सक्छ ।

युएई यस्तो ठाउँ हो, जहाँ ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रकारका सेल र अफरहरु लागिरहेका हुन्छन् । यस्तो बेलामा हामीले हामीसँग भएको क्रेडिटकार्ड आखाँ चिम्लेर प्रयोग गर्छौ । अर्को कुरा हामीलाई परिवारले नेपालमा राख्ने अपेक्षा पूरा गर्न पनि क्रेटिड कार्ड वालेटबाट निस्किन्छन्, तर यो कुरा याद गरेका हुँदैनौ कि हामीले स्वाइप गरिरहेको क्रेडिटकार्डमा भएको पैसा हाम्रो हैन, त्यो त बैंकको पैसा हो ।

बैंकले आफ्नो पैसा ग्राहकबाट कसरी असुल गर्नुपर्छ राम्रोसँग जानेको हुन्छ । त्यसैले क्रेडिट कार्ड लिनुभन्दा पहिले त्यसको टर्म कण्डिसनहरु राम्रोसँग अध्ययन गर्नुपर्छ । आफ्नो क्षमता अनुसारको मात्र प्रयोग गर्नुपर्छ । जसरी घाँटी हेरेर हाड निल्नु भन्ने उखान छ, त्यसैगरी क्रेटिड कार्डबाट सपिङ्ग गर्नुभन्दा पहिले एकपटक सोचेर मात्र किन्दा राम्रो हुन्छ । युएईमा इत्तिहाद क्रेडिट व्युरो भन्ने एउटा अर्गनाइजेसन छ । जसले हरेक व्यक्तिको फाइनान्स गतिविधिलाई नजिकबाट नियालिरहेको हुन्छ र हरेक बैंक तथा वित्तीय संस्थाले कारोबारको आवेदन दिएपछि तपाईको फाइनान्स गतविधिको स्कोर इत्तिहाद क्रेडिट ब्यूरोबाट माग्ने गरिन्छ । त्यसकै आधारमा तपाईको ऋण निवेदन स्वीकृत हुने गर्दछ ।

व्यक्तिगत ऋण

युएईमा पर्सनल लोन निकै सहज र सजिलो छ । नेपालमा जस्तो धितो जाँचपासको आवश्यकता पर्दैन र लामो झण्झट पनि हुँदैन । व्यक्तिगत ऋण लिनका लागि तपाईले खाता खोलेको बैंकमा तपाईको कम्पनी दर्ता छ कि छैन भन्ने मुख्य कुरा हो । यदि तपाईको कम्पनी उक्त बैंकमा दर्ता छ भने सहजै तपाईले आफ्नो आम्दानी अनुसारको ऋण स्वीकृत गराउन सक्नुहुन्छ । त्यसमा तपाईको न्यूनतम तलव, एलाउन्स र घरखर्च गरेर ५००० दिराम हुनुपर्ने केन्द्रिय बैंकको नियम छ ।

तपाईले आफ्नो तलव सुविधा सम्बन्धी जानकारी समेटिएको कम्पनीबाट एउटा सेलरी सर्टिफिकेट लिएर सहजै ऋण पाउनुहुन्छ । त्यो ऋण तपाईको मासिक तलबबाट बैंकले किस्ता कट्टि गरी बाँकी रकम तपाईको खातामै हालिदिन्छ । युएईमा रहेकाले आफ्नो आम्दानी हेरेर देशमा केही लगानी गर्ने भए व्यक्तिगत ऋण लिएर लगानी गर्नु राम्रो हो । किनकि यहाँ ब्याज एकदमै कम हुन्छ र नेपालमा जस्तो झण्झटिलो प्रक्रिया हँुदैन । तर, यसमा पनि ऋण लिनुभन्दा पहिला त्यो बैंक तथा आफूले लिन लागेको ऋणको टर्म एण्ड कण्डिसनहरु राम्रोसँग पढ्नुपर्छ ।

साथै आफ्नो वित्तीय गतिविधिलाई ब्यालेन्समा राख्नु पनि उत्तिकै आवश्यक हुन्छ । साथै अन्धाधुन्ध ऋण लिनुभन्दा पहिले केका लागि ऋण लिने, कति ऋण आवश्यक पर्छ जस्ता कुराहरुको हिसाबकिताब बेलैमा गर्नुपर्छ किनकि त्यो ऋण तपाईको खुनपसिनाको कमाई हो । कुनै योजनाबिना पाउँछु भन्दैमा ऋण लिनुभयो भने त्यो पैसा सही ठाउँमा सदुपयोग हुन पाउँदैन र त्यसले तपाईलाई ठूलो आर्थिक नोक्सानी हुनेछ ।

अटो फाइनान्स

दुवईमा हेर्दै आकर्षक देखिने ठूला र चिल्ला सडकमा सरर कारको यात्रा गर्न कसलाई मन नलाग्ला र ? फेरि यहाँ पेट्रोल पनि पानीको भाउमा पाईन्छ । व्यक्तिगत ऋणजस्तै कार तथा गाडीका लागि पनि युएईमा सहजै ऋण पाइन्छ । तपाईको तलबमान न्युनतम ५००० दिराम भयो भने सहजै २० प्रतिशत डाउन पेमेन्ट गरेर रोजेको गाडी किन्न सक्नुहुन्छ । प्लान हेरेर यस्तो लोन ४ बर्षसम्मका लागि पाईन्छ, तर गाडीको पूरा ऋण नहुञ्जेलसम्म गाडी तपाईको नभई बैंकको जस्तै हुन्छ यसको मतलव तपाईलाई जिम्मेवार बनाउनु हो ।

बैंकिङ फ्रडबाट कसरी जोगिने ?

पछिल्लो समयमा युएई र नेपालमा समेत बैंकिङ फ्रडका घटना बढिरहेका छन् । विभिन्न गिरोहरुले फोन तथा इमेलमार्फत विभिन्न बाहानामा बैकिङ्ग डिटेलहरु माग्ने र ह्याक गर्ने काम बढेको छ । यसबाट जोगिन कसैलाई पनि आफ्नो बैंक कार्डको डिटेलहरु दिनुहँुदैन, त्यो डिटेल तपाईलाई बैकले कहिले पनि माग्दैन । बेला–बेलामा आफ्नो बैंक कार्डको पिन परिवर्तन गरिरहनुपर्छ । अनलाइनबाट कुनै पनि सामान खरिद गर्दा ध्यान दिनुपर्छ ।

ध्यान दिनुपर्ने अन्य कुरा

युएईमा चेक बाउन्स फाइनान्स क्राइम हो । त्यो हुनाले कसैलाई चेकमा हस्ताक्षर गर्दै गर्दा एकदमै ध्यान पुर्याउनुपर्छ । त्यो एउटा हस्ताक्षरले तपाईलाई कतै जेलको कोठरीसम्म त पुर्याउँदैन ? भन्ने कुराको सधैं हेक्का राख्नुपर्छ । साथै ऋण लिएर तथा क्रेटिर्ड कार्ड लिएर समयमा किस्ता तिर्न नसक्दा आत्तिएर बैंकबाट भाग्ने क्रम पनि छ । कति तिर्न नसक्ने अवस्थामा पनि हुन्छन् । कतिपयले आफ्नो करिअरमा पाएको अनुभवलाई त्यत्तिकै माया मारेर छोडेर जाने चलन पनि छ । यदि तपाईलाई त्यस्तो अवस्था आयो भने बैंकसँग सम्पर्क गर्नुहोस् । सरकारले सहयोग गरेको छ । बैंकले तपाईलाई बेस्ट पोसिवल अप्सन दिन्छ, कसरी तिर्न सकिन्छ, कति बर्षमा तिर्न सकिन्छ जस्ता कुराहरुमा विकल्पहरु प्राप्त हुन्छन् ।

बैंकमा एउटा बिभाग हुन्छ जसले फाइनान्स गाइडलाइन्स गर्ने काम गर्छ । यदि तपाई भागेर जानुभयो भने बैंकले उजुरी दर्ता गर्न सक्छ, त्यो भनेको अपराधसम्बन्धी उजुरी हुन आउँछ । त्यसबाट जोगिन हामी सधैं जिम्मेवार हुनुपर्छ ।

नेपालको बैंकिङ

युएईका यति कुरा गरेपछि हामीले नेपालको पनि कुरा गरौं । नेपालमा बैकिङ्ग गतिविधि कम हुनुको कारण मिटर ब्याज पनि हो । साथै पैसालाई बैकिङ्ग च्यानलमा आउन नदिनुको कारण घरजग्गामा धेरै लगानी हुनु पनि हो । जुन लगानीले लगानीकर्तालाई आम्दानी दिंदैन ।

ठूलो पैसा अनुत्पादक क्षेत्रमा लगानी हुँदा अर्थव्यवस्थामा हलचल नै आउँछ । बैंकिङ्ग च्यानलबाट आर्थिक कारोबार बढाउनकै लागि पनि हालै नेपाल सरकारले सामाजिक सुरक्षा प्रणाली अनुसार सबै कामदारको तलब बैकिङ्ग च्यानलबाट हुनुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाले धेरैभन्दा धेरै पैसा बैंकिङ्ग च्यानलमा ल्याउने अपेक्षा गरिएको छ । यसले धेरैभन्दा धेरै जनसंख्याको बैंकमा खाता हुनेछ । यसो भयो भने धेरैभन्दा धेरै नेपालीले बैंकको ऋण तथा बचत लगायतका सुविधाको बारेमा जानकारी लिने मौका पाउनेछन् । साथै रेमिट्यान्सलाई बैधानिक बनाउनका साथै धेरै नेपालीलाई बैंकिङ्ग च्यानलमा ल्याउन श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य गर्नु एउटा राम्रो पक्ष हो ।

नेपाल सरकारले खाडी राष्ट्रमा काम गर्ने नेपालीका लागि राम्रो आकर्षक योजना ल्याउन जरुरी छ । किनकि खाडीमा काम गर्ने धेरै नेपाली भोलि देश फर्किने नेपाली हुन् । उनीहरुलाई खाडी देशमा स्थायी बसोबासको अनुमति छैन । यसकारण ढिलो चाँडो देशमै आएर लगानी गर्ने, नेपालीले पठाएको रेमिट्यान्सलाई कसरी सही ठाउँमा सदुपयोग गर्ने साथै कुनै खास योजना ल्याएर उनीहरुलाई देश विकासमा सहभागी गराउने विषयमा गम्भीर भएर सोचिन आवश्यक छ ।

यस कुरामा नेपालका बैंक तथा रेमिट्यान्स हाउसहरुले पनि केही सोच्न सक्छन्, जसले खाडीका नेपालीलाई बैधानिक तरिकाले रेमिट गर्न आकर्षित गरोस् ।

विश्वका बैंकहरुमा प्रविधिको ठूलै प्रयोग हुँदासम्म पनि नेपालमा त्यस्तो प्रविधि भित्रिसकेको छैन । ग्राहकको हस्ताक्षर आईप्याडमै लिने, फर्महरु अनलाईबाटै भर्ने लगायतका कार्य नेपालका बैंकहरुले तत्काल सुरु गर्न सक्छन्(कतिपयले त गरिसकेका पनि होलान्) । साथै मोवाईल बैकिङ्गलाई अझ भरपर्दो र आकर्षक बनाउन पनि नेपालले भूमिका खेल्नुपर्छ । साथै ठाउँठाउँमा रकम डिपोजिट गर्ने एटिएम मेसिनहरु समेत खोलिनुपर्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::