नेवार समुदायको भोजमा सहभागी भएपछि जोसुकै पनि अघाउँछ

आइतवार, भदौ २९, २०७६

नेवार समुदायको भोजमा सहभागी भएपछि जोसुकै पनि अघाउँछ

खान लाज माने पनि भरिन्छ पेट....

एउटा भनाइ छ– खान लाज माने भोकै परिन्छ। यो कुन ठाउँमा भनिएको हो, थाहा छैन। नेवार समुदायको भोजमा भने तपाईं जतिसुकै लाज माने पनि भोकै पर्नु हुन्न। अर्थात् लाज मान्दामान्दै पनि तपाईको पेट भरिन्छ।

नभरिनु पनि किन ? दर्जनौं परिकार अनि दर्जनौं पटक पस्कने नेवारी शैलीले तपाईंभित्रको संकोच चिरेर तपाईंको पेट भरिदिन्छ। झो भ्वे (नेवारी भोज)मा रहने दर्जनौं थरिका परिकारलाई दर्जनौं पटक पस्कदा पेट नभरिने कुरै भएन।

‘ नेवार समुदायको भोजमा सहभागी भएपछि जोसुकै पनि अघाउँछ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘अतिथि सत्कार गर्ने नेवार प्रचलनमा जतिसुकै संकोच मान्ने पनि अघाएरै जान्छ।’ थरीथरीका मान्छे थरीथरीका परिकार बोक्दै ‘थपौ थपौ’ भन्दै आउँछन्,’ उनले भने, ‘यो प्रक्रिया दर्जनौ पटक दोहरिँदा भोको छुट्ने स्रभवान रहँदैन।’ बरु बफे सिस्टमको खानामा मान्छे भोको छुट्लान नेवार भोजमा भोको छुट्ने भन्ने सम्भावना नै नरहने उनको बुझाई छ।

नेवार समुदाको भोजमा सामन्यतया ६ देखि ८४ थरीका व्यन्जन पाक्ने उनी बताउँछन्। यति धेरै व्यन्जन कसरी त ? उनी भन्छन्, ‘उदारणको लागि मासु लिऔं। मासुको मात्र दर्जनभन्दा बढी परिकार बन्ने उनले सुनाए।

दाये्कागु ला ‐झोल मासु) कचिला ‐काचो मासु) छुयला ‐पोलको मासु) ख्ययायला ‐थलथले) स्याला ‐भुटेको मासु) लगायत थुप्रै भेराइटी परिकार बन्ने उनले सुनाए। ‘अझ भुटेको मासुमा नै दर्जन परिकार बन्छ,’ उनले हाँस्दै भने, ‘कान भुटेको, आँखा भुटेको, गिदी भुटेको, आन्द्रा भुटेको...। ’

भोज आयोजकले भोजमा प्रयोग गरिने रक्सी, जाँड, दही आदि पहिल्यै तयारी अवस्थामा राख्नुपर्ने हुन्छ भने भोजको लागि आवश्यक सामग्री, जस्तै ः च्युरा, पिठो, चामल, सागसब्जी, मसला आदि पनि पहिल्यै बन्दोबस्त गरिएको हुन्छ।

नेवारी शैलीको भोजमा मासुको अलावा च्युरा, साग, आलु, अचार, केराउ, काउली, गेडागुडी, भुटन, अमिलो सुप र दही आदि नेवारी परिकार राखिएको हुन्छ। भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला तथा गाँजर र फूलफूलको केही टुक्रा सलादको रूपमा राखिन्छ। ‘अचार पनि विभिन्न थरीका हुन्छन्,’ उनी थप्छन्, ‘अलिअलि चाख्दा पनि पेट भरिहाल्ने।’

लाइन लागेर खाइने यस्ता भोजमा दायाँ–बायाँको मान्छेले थपेको अनि खाएको देखेर पनि संकोच मान्नेको संकोच हट्छ। ‘कि एक घन्टासम्म चल्ने भोजमा हात बाधेरै बस्नुपर्यो,’ उनले भने, ‘त्यो खाना थप्न संकोच मान्नुभन्दा पनि बढी संकोच हुन पुग्छ।’

अनि भोज सुरु गर्दा पनि एकै पटक र उठ्दा पनि एकै पटक उठ्नु पर्ने नियम रहेको हुन्छ। नेवार सुमदायका चाँडपर्वसँगै भोजको पनि महŒव हुने उनले सुनाए। यतिबेला उपत्यकामा इन्द्रजात्राको रौनक छ। सम्यबजि अहिलेको मुख्य खानेकुरा हो। ‘ल छकु वयक सम्येबजि, वल वल पुलुकुसी’ अर्थात् मासुको एक टुक्रा आउने सम्यबजि, आयो आयो मान्द्रोको हात्ती’ भन्ने गाना गाइने उनले सुनाए।

नेवार समुदायमा जन्मदेखि मृत्युसम्मका हरेक कार्यमा भोज रहने उनी बताउँछन्। बाहिर बसेर खाइने भोजलाई सम्यबजि भनिन्छ भने बेलुका खाइने भोजलाई भोज भनिने उनले सुनाए। ‘सम्यबजिमा कम्तीमा पनि मासु, अदुवा, भटमास, लसुन र माछाका पञ्चतत्व हुुन पर्छ,’ उनले भने, ‘यसबाहेक साँग, आलु, केराउ, बोडी लगायतका कुरा थपिने गर्छ।’

नेवार समुदायको भोज वैज्ञानिक हुने उनको तर्क छ। भोजमा समाहित खानेकुरा पस्कने शैलीले त्यो प्रदर्शित गर्ने उनले बताए। ‘जस्तो की ः सबै कुरा खाएपछि अमिलो झोल र मेथीको झोल पनि आउँछ,’ उनले भने, ‘यसले खाना पचाउने र प्रेसर कन्ट्रोल गर्छ।’

नेवार समुदायको भोज यति धेरै हुन्छ की कतिपय ठाउँमा यसलाई संख्याले मापन गर्ने गरिन्छ, जस्तो ः कुनै भोजमा ११ नम्बरमा काउली आउँछ भने १४ नम्बरमा मासु, अनि १८ नम्बरमा माछा आउछ भने २१ नम्बरमा दही।’

कतिपय ठाउँमा त भोज बाड्न आउनेले पाकेको परिकारको संख्या र योचाहिँ यति नम्बरको समेत भनिदिने गर्छन्। ‘ल लाज मान्नेको सबै कुराबाट पेट भरिएन रे,’ ‘धौभडेल हास्दै सुनाउँछन् ‘लास्टमा ‘डिजर्ट’को रूपमा खाइने दही–चिउराले कसो नभरिएला ?’

नेवार_समुदाय

  • नागरिक न्युज साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::