पिसिआर टेस्ट रिपोर्ट एकै व्यक्तिमा फरक–फरक किन?

सोमवार, भदौ १, २०७७

पिसिआर टेस्ट रिपोर्ट एकै व्यक्तिमा फरक–फरक किन?

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोन भाइरस (कोभिड- १९ ) ले संसारभरि नै गम्भीर खालको निमोनिया र श्वासप्रश्वासको रोग निम्त्याउन सुरु गर्‍यो। सुरुवाती दिनमा यसलाई २०१९ नोबेल कोरोन भाइरस भनिए पनि पछि यो भाइरसबाट हुने रोगलाई कोभिड-१९ भनियो भने यो रोग लगाउने भाइरसलाई सिभिअर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोन भाइरस -२ (सार्स कोभ -२ )भनियो। योभन्दा पहिला सन् २००३ मा सार्स कोरोना भाइरस र सन् २०१२ मा मर्स कोरोना भाइरस देखिएको थियो।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा मास्क नलगाई हाछ्युँ गर्दा, खोक्दा र बोल्दा मुखबाट निस्किने साना ड्रपलेटहरु अर्को व्यक्तिको नाक मुख र आँखाको माध्यमबाट शरीरभित्र प्रवेश गरेमा सर्छ। त्यसैले यसबाट बच्नको लागि सधैं मास्कको प्रयोग गर्नुपर्छ। खोक्दा, हाछ्युँ गर्दा रुमाल अथवा टिस्सु पेपरले छोपेर मात्र गर्नुपर्छ भने साबुनपानीले मिचीमिची हात धुने बानी बसाल्नुपर्छ। सामाजिक दूरी कम्तीमा १ मिटर कायम गर्नुपर्छ। भीडभाडमा जानु हुँदैन। सबैले बारम्बार छुने वस्तुहरु छोएपछि ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नुपर्छ अथवा कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले हात धुनुपर्छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमा पर्याप्त मात्रामा लक्षणहरु नदेखिए पनि ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु र पखाला लाग्नु यसका प्रमुख लक्षण हुन्।

कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि प्रमुख दुई वटा तरिका अपनाइएको पाइन्छ, जस आन्तर्गत- १. डाइरेक्ट भाइरस छ/छैन भनेर पत्ता लगाउने विधि २. कोरोनाको संक्रमण भइसकेपछि शरीरले कोरोनाको विरुद्धमा निकाल्ने रोग प्रतिरोधात्मक तत्वको जाँच गर्ने, जसलाई हामी सेरोलोजिकल टेस्ट पनि भन्छौं।

डाइरेक्ट भाइरस छ/छैन भनेर पत्ता लगाउनको लागि विभिन्न विधिहरुको प्रयोग गरिन्छ जसमा धेरै प्रयोग भइरहेको विधिको नाम हो, आरटी-पिसिआर टेस्ट। अर्को विधि हो, आइसोथर्मल एम्प्लिफिकेसन एस्से। त्यससँगसँगै र्‍यापिड एण्टिजिन डिटेक्सन टेस्ट पनि प्रयोग गर्न सकिन्छ।

सेरोलोजिकल टेस्टहरुमा एकदमै चलनचल्तीमा रहेको आरडिटी टेस्ट हो भने अन्य टेस्टहरुमा इलाइजा, किलिया र न्युट्रलाइजेसन एस्सेहरु पर्छन्। तर सबैभन्दा राम्रो गोल्ड स्ट्याण्डर्ड मानिएको टेस्ट चाहिँ रिअल टाइम पिसिआर टेस्ट नै हो। पिसिआर भनेको पोलिमरेज चेन रियाक्सन हो, यो संसारभर व्यापक रुपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीव विज्ञान) प्रविधि हो। यसमा कोरोना भाइरसको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छ कि छैन भनेर हेरिन्छ। यो अत्यधिक संवेदनशील विधि हो।

यसमा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई २ चरणमा परीक्षण गरिन्छ। पहिलो चरणमा नमुनामा भएको भाइरसको आरएनए छुट्याइन्छ। त्यस विधिलाई आरएनए एक्सट्रयाक्सन भनिन्छ। दोश्रो चरणमा एक्सट्रयाक्सन गरिएको आरएनएलाई कोभिड-१९ को विशेष प्राइमरसँग जुधाइन्छ र संक्रमण शंका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छैन भने कुनै प्रतिक्रिया आउँदैन र नतिजा नेगेटिभ आउँछ। तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट छ भने त्यो विशेष प्राइमरसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेन्स) देखिन्छ, जसले परिणाम पोजेटिभ भएको पुष्टि गर्छ।

एउटा गुणस्तरीय रिपोर्ट निकाल्नका लागि प्रयोगशाला र त्यसमा प्रयोग भएको विधि मात्र नभएर नमुना संकलन, नमुनाको प्रकार, नमुनाको भण्डारण, संक्रमणको अवस्था, नमुनाको ओसारपसारले ठूलो भूमिका खेल्छ, जसलाई हामी प्राविधिक भाषामा प्रि-एनालाइटिकल फेज भन्छौं। यसले ५० देखि ८० प्रतिसतसम्म रिपोर्टको गुणस्तरीयतालाई निर्धारण गर्छ। तसर्थ, नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढी नै ध्यान दिन जरुरी छ। नभए एकै व्यक्तिमा एकै दिनमा निकालेको नमुनामा पनि फरकफरक रिजल्ट आउन सक्छ, जसमा मेसिन, म्यानपावर, मेथड र मेटेरियलको कुनै दोष हुँदैन।

अर्को पक्ष भनेको कोरोना संक्रमित व्यक्तिको नमुना संकलन भएकै दिन अथवा संक्रमण भएको एक/दुई दिनमै नमुना संकलन गर्दा संकलन गरेको नमुनामा पर्याप्त मात्रामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट नपाइनुले पनि रिजल्ट नेगेटिभ आउन सक्छ। त्यही व्यक्तिको नमुना पुन: तेस्रो वा चौथो दिनमा संकलन गरेर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउन पनि सक्छ। संक्रमण भएको पहिलो हप्ता अथवा ३ देखि ७ दिनसम्म भाइरसको संख्या उच्च हुन्छ भने विस्तारै हाम्रो शरीरले रोग प्रतिरोधात्मक तत्वको विकास गरेसँगै भाइरसको संख्या घट्दै जान्छ।

पिसिआर विधिबाट रिपोर्ट पोजेटिभ आउनको लागि १ एमएल नमुनामा ५०० भन्दा बढी भाइरसको संख्या हुनुपर्छ। त्यसैले कोरोनाको संक्रमणको लक्षण भएका अथवा शंका लागेका व्यक्तिहरुमा पिसिआर रिपोर्ट नेगेटिभ आउँदैमा ऊ संक्रमित भएको छैन भन्न सकिँदैन। अरु प्रविधिभन्दा धेरै संवेदनशील र खर्चिलो प्रविधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका, जाँचको मापदण्डमा नपरेका र अति आवश्यक नभएका व्यक्तिहरुमा पिसिआर टेस्ट नगराउँदा पनि हुन्छ।

कोरोना संक्रमण भइसकेपछि पनि २ देखि ३ हप्तामा हाम्रो शरीरले कोरोनाको विरुद्धमा रोग प्रतिरोधात्मक तत्वको विकास गर्ने र कोरोना भाइरसलाई विस्तारै निष्क्रिय पार्ने भएकोले पनि पिसिआर टेस्ट नेगेटिभ देखिन सक्छ। यस्तो बेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्यून अथवा शून्य बराबर हुन्छ।

-स्वास्थखबर साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::