
सोमवार, असार ६, २०७९
के पीएसजी र म्यानचेस्टर सिटि ले गर्दा युरोपेली फुटबलमै जोखिममा छ त ? यी यस्ता हजार प्रश्न हुन्, जसको उत्तर खोज्न आवश्यक छ, नत्र सिटी र पीएसजी जस्ता क्लबले सबथोक जित्ने छन् र अरूको काम त्यसलाई बाध्य भएर टुलुटुलु हेर्नु मात्र हुनेछ । यो कोही एकको मात्र धारणा होइन्, सिंगो स्पेनी ला लिगाकै विचार हो । त्यसैले त ला लिगाले भर्खरै जसो युरोपेली फुटबल महासंघमा गुनासो पोखेको छ, यी दुई क्लबले अर्थको आचार संहिता उलंघन गरेका छन् भनेर ।
कुनै क्लबमाथि पूरा एउटा सिंगो देश नै पछाडि लाग्छ भने के होला ? अझ त्यो देश असाध्यै धनी छ भने ? धनी मात्र होइन्, उसको खुलेर खर्च गर्ने बानी र हैसियत दुवै छ भने ? इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यसका दुई राम्रा उदाहरण हुन् । खर्च गर्ने मामिलामा यी दुई क्लबलाई छोइ नसक्नु छ । यी दुई क्लबमा मालिकलाई जति भन्यो त्यति खर्च गर्नलाई कुनै समस्या छैन् ।
सिटीमा यूएईका सेख मनसुको लगानी छ भने पीएसजीमा कतारी अमिरहरूको । यसमै टिकेर आ–आफ्नो घरेलु फुटबलमा यी दुई क्लबले एकछत्र राज जस्तै गरेका छन् । सिटी प्रिमियर लिगको च्याम्पियन हो भने पीएसजी फ्रान्सेली लिग विजेता । ला लिगाका अध्यक्ष ज्याभिएर टेबासले भनेका छन्, ‘युरोपेली फुटबलमा सबैबीच सकेसम्म समान हैसियतको आवश्यकता हुन्छ ।’ त्यो भने एक प्रकारले ‘इको–सिस्टम’ हो, जहाँ एक क्लब अर्कोमा निर्भर हुन्छ ।
पछिल्लो समय यो मुद्दा किन पनि धेरैले उठाउन थालेका छन् भने रियल म्याड्रिडले किन्न चाहेर र केयलिन एमबापेले जान चाहेर पनि यो अनुबन्ध हुन सकेन् ।
पीएसजी आफ्ना विश्वकप विजेता फ्रान्सेली खेलाडीलाई अत्याधिक पैसाको लोभ देखाएर आफूकै राख्न सफल रह्यो । अन्तिम समयसम्म पनि एमबापे रियल जाने तय जस्तै देखिएको थियो, तर पैसाको थुप्रो अगाडि उनी पनि नतमस्तक जस्तै भए, पीएसजीलाई नाई नै भन्न सकेनन् । त्यसो त पीएसजीले अहिलेसम्म युरोपेली च्याम्पियन्स लिग त जित्न सकेको छैन्, तर फ्रान्सेली घरेलु फुटबलमा उसको अगाडि बाँकी सबै क्लब एक कोश पछाडि देख्न थालिसकेका छन् ।
यस्तोमा नयाँ फ्रान्सेली सिजन सुरु हुँदा पहिलो दिनमै लिग र कपको उपाधि पीएसजीलाई सुम्पिने हो भने पनि केही फरक पर्ने छैन्, किनभने सिजनको अन्त्यमा हुने त्यही त हो । यस्तै स्थिति कम्तीमा इंग्ल्यान्डमा छैन्, तर पनि लिगमा सिटीको वर्चश्व झन झन बढ्न थालेको छ । डर छ, अबको इंग्लिस सिजन उसलाई बराबरीको टक्कर दिन लिभरपुल, चेल्सी, टोटनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड जस्ता पारम्परिक शक्तिलाई पनि गाह्रै छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया