
शनिबार, माघ १०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमान्डरसँग छलफल गरेका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले तत्कालीन माओवादी जनयुद्धका कमान्डरसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।सो क्रममा प्रधानमन्त्री ओलीले जनयुद्धमा कमान्डरहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै जनयुद्धको अवधिमा गरेको योगदान, त्याग, बलिदान र क्रान्तिप्रतिको सपनाप्रति आफूले सम्मान गर्ने बताएका थिए।
नेकपामा विभाजन आएपछि प्रधानमन्त्री ओली पछिल्लो समय पूर्व माओवादीलाई आफ्नो पक्षमा ल्याउनका लागि प्रयास आएका छन्। सोही क्रममा शनिबार प्रधानमन्त्री ओलीले पूर्व कमान्डरहरुसँग छलफल गरेका हुन्।
उनले विगतको नेतृत्वले कमान्डरहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूबाट त्यस्तो धोका नहुने विश्वास दिलाएका थिए।‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग ग¥यो। यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै सल्लाहकार थापाले भने, ‘यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’
बालुवाटार छलफलमा जाने कमान्डरहरु प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लाग्न सहमत भएका रहेको सो छलफलमा सहभागी एक पूर्व कमान्डरले बताए। प्रधानमन्त्रीले माओवादीका पूर्व कमान्डहरुलाई तान्न गृहमन्त्री रामबहादुर थापा र तत्कालीन माओवादी जनयुद्धका कमान्डर कालीबहादुर खामलाई खटाएको यसअघि नै चर्चा चलेको थियो। खामकै सक्रियतामा शनिबार पूर्व लडाकुहरु बालुवाटार गएको स्रोतले बतायो।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाज भएको छ। पूर्व माओवादी समूहका अधिकांश नेताहरु प्रचण्ड–नेपाल समूहमा लागे पनि गृहमन्त्री रामबहादुर थापासहित टोपबहादुर रायमाझी मणि थापा लगायतका केही नेताहरु मन्त्री खाएर ओली समूहमा खुलेका थिए।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया