पोर्टफोलियोमा तरल सम्पति किन महत्वपूर्ण हुन्छ ?

मङ्लबार, कार्तिक ९, २०७८

पोर्टफोलियोमा तरल सम्पति किन महत्वपूर्ण हुन्छ ?

वित्तीय क्षेत्रसँग चासो राख्ने हरेक व्यक्तिले सुन्दै आएको शब्दमध्ये एक हो तरलता अर्थात लिक्विडिटी । तरलता अभाव, अधिक तरलता, तरलता व्यवस्थापन लगायत पदावली पनि तरलता (नगद वा नगदमा तत्काल परिणत गर्न सकिने) को विशेष अवस्थालाई जनाउन प्रयोग हुँदै आएको छ । तरलताले कुनै पनि सम्पति कतिको छिटो नगदमा परिणत गर्न सकिन्छ भन्ने जनाउँछ । तरलता वास्तवमा कुनै पनि व्यक्ति वा व्यवसायको नगदसँग पहुँच कस्तो छ भन्ने मापन गर्ने साधन पनि हो । त्यसैगरी, तरल सम्पति त्यस्तो सम्पति हो जुन सहजै रुपमा बिक्री गर्न वा कारोबार गर्न सकिन्छ । कुनै पनि सम्पति चाहे त्यो लगानी होस् वा बहुमूल्य धातु– नगदमा परिणत गर्न जति धेरै सहज हुन्छ त्यति नै धेरै तरल मानिन्छ । सामान्य अर्थमा भन्दा, त्यस्तो सम्पति जुन तत्काल नगदमा परिवर्तन हुन्छ त्यो नै तरल सम्पति हो । यद्दपि, हरेक सम्पतिको तरलताको स्तर फरकफरक हुन सक्छ । तरल सम्पतिको रुपमा सामान्यतयः बन्ड, सेयर, बैंक डिपोजिट, डिबेन्चर लगायत समावेश हुन्छन् ।

तरल सम्पतिले कसरी काम गर्छ ? कुनै पनि सम्पति साँच्चै तरल हुनका लागि विभिन्न विशेषताहरु आवश्यक छन् : –तरल सम्पति विद्यमान वा स्थापित बजारमा कारोबार गर्न सकिने किसिमको हुनुपर्दछ । अर्थात, सम्पति खरिद र बिक्रीका लागि हरेक समय खरिदकर्ता र बिक्रीकर्ताको उपस्थिति हुनुपर्छ । साथै, हरेक समय कुनै न कुनै मूल्यमा उक्त सम्पतिको बजारमा माग हुनुपर्दछ । हरेक समय खरिदकर्ताको उपस्थिति हुँदा सम्पति बिक्री गर्न सहज हुन्छ, जसले उक्त सम्पतिलाई अझै धेरै तरल बनाउँछ । –तरल सम्पतिलाई छिट्टै नगदमा बदल्न सकिन्छ । सम्पतिलाई नगदमा बदल्न जति धेरै समय लाग्छ उक्त सम्पतिलाई त्यति नै कम तरल मानिन्छ । –सम्पति साँच्चै तरल हुनका लागि उक्त सम्पति बेच्ने वा कारोबार गर्ने प्रक्रिया पनि सहज र सुरक्षित हुनुपर्दछ । उदाहरणका लागि, बैंक खातामा रहेको पैसालाई लिन सकिन्छ । बैंकमा रहेको पैसालाई नगदका रुपमा लिनका लागि धेरै सहज र सुरक्षित छ । सेयर तथा स्टक एक्सचेन्जमा कारोबार हुने अन्य फन्डहरुमा पनि सोही कुरा लागू हुन्छ । सेयर तथा फन्डहरु पनि नगदका लागि कारोबार हुन्छन् र इच्छुक खरिदकर्ताहरु पनि पाइन्छन् । तरल सम्पतिको उदाहरण –नगद तथा नगद सरह : नगद भन्दा तरल सम्पति अन्य सायदै होलान् । नगदलाई जुनसुकै वस्तु खरिदका लागि प्रयोग गर्न सकिन्छ र तरल बनाउनका लागि थप कारोबार पनि आवश्यक पर्दैन । साथै, नगद सरह मानिने ‘सर्टिफिकेट अफ डिपोजिट’ लाई पनि सोही वर्गमा राख्न सकिन्छ । यद्दपि, यसलाई नगदमा बदल्न भने केही शुल्क तिर्नुपर्ने हुनसक्छ । –ट्रेजरी बिल, बन्ड तथा डिबेन्चरहरु : सरकारले जारी गर्ने ट्रेजरी बिल तथा कम्पनीहरुले जारी गर्ने बन्ड तथा डिबेन्चरहरुलाई पनि तरल सम्पतिको रुपमा लिइन्छ । बन्ड तथा डिबेन्चरका लागि खरिदकर्ता पाउन पनि सहज हुने गर्दछ । बन्ड तथा डिबेन्चरहरुलाई सेयर बजारमा कारोबार गर्न पनि मिल्दछ । –सेयर : सेयरलाई निकै छिटो र सहज तरिकाले नगदका लागि खरिदबिक्री गर्न सकिन्छ । सेयर खरिदबिक्रीपछि खातामा पैसा आउन केही समय लाग्न सक्छ । साथै, बजारको उतारचढावले नोक्सानी व्यहोर्नुपर्ने वा खरिदबिक्री शुल्क बुझाउनुपर्ने पनि हुनसक्छ । तर यसलाई जुन सहजताले नगदमा परिणत गर्न सकिन्छ त्यसकै कारणले यसलाई तरल सम्पतिको रुपमा लिइन्छ । –बहुमूल्य धातु : सुन, चादिँ, हिरा लगायत बहुमूल्य धातुहरुलाई पनि तरल सम्पतिको रुपमा प्रयोग गरिन्छ । खरिदबिक्रीका लागि भने बजार वा स्थानीय स्टोरसम्म पुग्नुपर्ने भए पनि नगदमा परिणत गर्न भने सहज हुन्छ । –विदेशी मुद्रा : विदेशी मुद्रामा गरिएको लगानीलाई पनि तरल सम्पतिको रुपमा लिइन्छ । नेपालमा व्यक्तिका लागि वैदेशिक मुद्राको कारोबार गर्न सहज नभए पनि तरल सम्पतिको एक माध्यम भने वैदेशिक मुद्रा पनि हो । तरल सम्पति किन महत्व छ ? तत्काल नगदमा परिणत गर्न सकिने भएकै कारण तरल सम्पतिको महत्व बढी भएको हो । आपतकालीन अवस्थादेखि वित्तीय अवश्यकता वा तत्काल नगद चाहिने अवस्थामा यस्ता सम्पतिले महत्वपूर्ण भूमिका खेल्दछन् । तसर्थ, स्वस्थ वित्तीय पोर्टफोलियोका लागि नगदमा पहुँच अनिवार्य हुन्छ । र, यसका लागि तरल सम्पति पनि एक महत्वपूर्ण हिस्सा हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::