प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

शुक्रबार, पुस ३०, २०७८

प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

नेपाली ब्याडमिन्टन खेलाडी  प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो ।मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । अगाडिका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।

फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ ।

प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।

१७ वर्षीय प्रिन्स सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेको अर्को वर्ष जुनियर विश्व वरीयतामा समावेश भएका थिए । कोरोना महामारी सुरु हुनुअघिसम्म नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी पछिल्लोपल्ट सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए ।

घरेलु प्रतियोगितामा वरिष्ठ खेलाडीहरूलाई हराउन सक्ने भइसकेका प्रिन्सले २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । उनले गत वर्ष सिन्धुपाल्चोकमा आयोजित तोप–२१ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरेका थिए ।

प्रिन्स सन् २०१९ को मे महिनादेखि विश्व वरीयतामा समावेश भएका हुन् । त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा भारतका वरुण कपुरलाई पराजित गरेपछि १०३ बाट ५४औं वरीयतामा पुगेका थिए । वरीयतामा समावेश भएयता ११ प्रतियोगितामा एकलतर्फ २९ खेल खेलेका उनले १९ वटामा जितेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::