आइतवार, साउन २९, २०७४
NA Media
कुनै जमाना थियो, मनपर्ने साथीलाई ब्यान्ड उपहार दिने । साथीको नाममा हातमा ऊन वा अन्य धागो वा प्लाष्टिकबाट बनेका रंगिविरंगी ब्यान्ड नाडीमा बाँध्दा युवा पुस्ता मख्ख परिरहेका भेटिन्थे ।
झट्ट हेर्दा सानो आकारका नाडी घडी जस्ता देखिने पातला ब्याण्डहरू वर्षौंपछि पुनः बाँधिन थालिएका छन् । तर, पहिलेका जस्ता फ्रेन्डसीप ब्यान्ड भने होइनन् । अहिले बाँधिने ब्याण्ड भने हुन् ।
एन्टिभिटी ट्रयाकर, फिटनेस ब्याण्ड, स्मार्ट ब्याण्ड, एक्टिभिटी मनिटर विभिन्न नामले चिनिने यी स्मार्ट फिटनेस ब्याण्डले स्मार्ट घडीको काम त गर्छन् नै । तपाईंको स्वास्थ्यको दृष्टिकोणले तपाईंका हरेक गतिविधिलाई ‘ट्रयाक’ गरेर तपाईंको अवस्था चित्रण पनि गर्ने गर्छन् ।
नाडीमा घडीझैं बाँध्न मिल्ने ब्याण्डमा जोडिएको सेन्सरको सहायताले मुटुको गति, हिँडेको पाइला, हिँडेको किलोमिटर, दौडाइ, बाइक वा गाडीमा हिँडेको अवधी आदि विषयमा सूचना तथा संकलन गर्नुका साथै यी सबै काम गर्दा तपाईंको क्यालोरी कति खर्च भयो भन्ने हिसाब समेत राख्छन् । बिहान बिहान मर्निङ वाकमा हस्याङ फस्याङ गर्नेदेखि जिमखानामा जिम गरिरहेका युवाहरूका हातमा फिटनेस ब्याण्ड बढी देख्न सकिन्छ ।
‘हेल्थ कन्सियस’ युवाहरूले पछिल्लो समयमा फिटनेस ब्याण्डको प्रयोग गरिरहेको देखिन्छ । आवश्यकता भन्दा बढी तौल भई मोटोपना घटाउने सोच भएकादेखि स्मार्टवाचको सोख भएकाहरूले फिटनेस ब्याण्डको प्रयोग गर्ने गरेका छन् । चौविसै घण्टा शरीरलाई ट्रयाक गर्ने भएकाले पनि यस्ता ब्याण्डलाई फिटनेस ट्रयाकरका रूपमा लिने गरिन्छ ।
फिटनेस ब्याण्ड र स्मार्टवाच एउटै हो ? फिटनेस ब्याण्ड वा ट्रयाकरका बारेमा जानकारी लिई नसकेका धेरैले सोध्ने प्रश्न हो, फिटनेस ब्याण्ड र स्मार्टवाच एउटै हो ? स्मार्ट टेक्नोलोजीमा आधारित घडीलाई स्मार्ट वाच भनिने भएको र फिटनेस ब्याण्ड पनि झट्ट हेर्दा घडी नै जस्तो देखिने भएकाले यस्तो दोधार रहनु स्वभाविक पनि हो ।
त्यसमाथी फिटनेस ब्याण्डमा सामान्य अवस्थामा डिस्प्लेमा घडी नै हुने गर्छ । यद्यपी फिटनेस ब्याण्ड र घडीमा मिल्दा कुरा धेरै छन् । फरक पनि त्यतिकै छन् । स्मार्ट वाचमा सामान्यतया डिजिटल रुपमा समय, मिति, आफ्नो छनौट अनुसारको मेसेज हेर्न पाउने, फोन उठाउन मिल्ने, मेसेज पठाउन मिल्नेदेखि सिम नै राखेर फोन गर्न मिल्नेसम्मका सुविधा हुन्छन् ।
यी हेर्दै घडी नै जस्ता देखिन्छन् । फिटनेस ट्रयाकरले पनि समय, मिति देखाउनेदेखि मेसेज हेर्न र फोन आएको थाहा पाउन मिल्ने खालका हुन्छन् । अहिलेसम्म आएका ट्रयाकरमा सिम हाल्न मिल्ने वा फोन उठाउन मिल्ने फिचर खासै पाइँदैन ।
ट्रयाकरको मुख्य विशेषता भनेकै सेन्सरको सहायताले तपाईंको शरीरको अवस्थाबारे जानकारी लिने हो । यसले मुटुको गति, हिँडाइ, दौडाइ, व्यायाम, सुताइ सबैको रेकर्ड राख्ने गर्छन् । स्मार्टफोनमा भएको जस्तै अलार्म र रिमाइन्डरसमेतका फिचर फिटनेस ट्रयाकरमा पनि पाइन्छन् । फिटनेस ब्याण्ड सस्तोदेखि महँगोसम्मको आधारभूत काम र मूल्य अन्तर कम देखिन्छ ।
कसरी चलाउने ? तपाईंले आफ्नो गच्छेअनुसारको ब्याण्ड किनेर पहिले फुल चार्ज गर्नुहोस् । तपाईंको ब्याण्डअनुसार तोकिएको सफ्टवेयर तपाईंको स्मार्टफोनमा डाउनलोड गर्नुहोस् । सफ्टवेयरको सहायताले ब्लुटुथको माध्यमबाट ब्याण्डलाई स्मार्टफोनमा कनेक्ट गर्नुहोस् ।
तपाईंको आफ्नो शरीरको आधारभूत सूचना जन्म मिति, तौल र उचाइलगाएत एप्लिकेसनमा इन्ट्री गर्नुपर्ने हुन्छ । यसपछि तपाईंको ब्याण्डले तपाईंको फिटनेसको रेकर्ड राख्न थाल्दछ । तपाईलाई मोबाइलमा फोन आउँदा ब्याण्डले भाइब्रेसन गरेर जानकारी दिन्छ तर यसका लागि ब्लुटुथ अन गरेर ब्याण्ड मोबाइलमा कनेक्ट भएको हुनुपर्छ ।
कतिपय ब्याण्डमा ब्याण्डबाटै फोन काट्न मिल्छ भने कतिपयमा म्यासेज पनि पढ्न मिल्छ । यसका लागि मूल्य सामान्य भन्दा अलिक महँगो पर्न सक्छ । बाँकी फंसनका लागि भने सधै ब्लुटुथमा जोडिरहन आवश्यक पर्दैन, समय समयमा ब्लुटुथ कनेक्ट गरेमा अटोमेटिक डाटाहरू एपमा सुरक्षित हुन्छन् । सम्बन्धित ब्याण्डको एपले तपाईंको शरीरको गतिविधिको तथ्यांक विश्लेषण गरेर तपाईंको शरीर घटाउनु पर्ने वा बढाउनु पर्ने विषयमा सुझाव दिन्छ ।
आफूलाई कति मात्रामा शरीर घटाउन वा बढाउनु पर्नेछ, सोही अनुसार लक्ष्य निर्धारण गरेर पनि ब्याण्डको प्रयोग गर्न सकिन्छ । मुख्यतया मुटुको गति, हिँडाइ र सुताइका आधारमा तयार पार्ने सूचनाका आधारमा एपले तपाईंले कति व्यायाम गर्नुपर्ने भन्ने पनि सुझाउँछ ।
फिटनेस ब्याण्डहरू आइफोन वा एन्ड्रोइड दुबैमा कनेक्ट गरेर चलाउन सकिन्छ । विश्व बजारमा नाम चलेका फिटनेस ट्रयाकरहरूमा फिटविट, ग्रिमिन, जाउबोन, मिसफिट, नोकिया, पोलार, टमटम, हुवावे, मोटोरोला, मुब, गोजी, माइक्रोसफ्ट ब्याण्ड टु, सोनी आदि कम्पनी तथा ब्राण्डका फिटनेस ट्रयाकर पनि उपलब्ध छन् । यी ट्रयाकरहरू युरोप, अमेरिका लगाएतका बजारमा बढी प्रचलित छन् । यी ब्याडहरू ३ हजारदेखि २५ हजारसम्मका छन् ।
कति विश्वसनीय छन् ? हातमा बाँधिएका स्मार्ट ब्याण्डकै आधारमा प्राप्त सूचनालाई कति विश्वास गर्ने ? के सबै फिटनेस ब्याण्डहरू विश्वसनिय छन् ? यीनले यथार्थमै काम गर्छन् वा झुटा सूचना दिन्छन् ?
यी प्रश्न हाम्रा मनमा आउनु स्वभाविक छ । विश्वबजारमा फैलिएका स्मार्ट ब्याण्डका बारेमा दुई तीन वर्ष अघिदेखि नै प्रश्न नउठेका भने हैनन् । कतिपयले अनुसन्धान फर्मले यसमा अनुसन्धान पनि गरेका छन् ।
डेलीमेलको केही समयअघि प्रकाशित आलेखलाई आधार मान्ने हो भने, स्मार्टब्याण्डले औषतमा सही सूचना दिइरहेको मान्न सकिन्छ । सत प्रतिशत नभए पनि यीनले दिने सुझावहरू धेरै प्रतिशत सत्य रहने पाइएको छ । यद्यपी यसमा बहस त चलि नै रहेको छ ।
ब्याण्डहरूको सूचना यथार्थ नहुने भए एक पछि एक कम्पनीहरू एकपछि अर्को यस्तै उत्पादनहरू, महँगो लागतमा उत्पादन गर्ने थिएनन् होला ।
।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया