बढ्दो सुनको मूल्य र ‘महामूर्ख’ सिद्धान्त

आइतवार, साउन २५, २०७७

बढ्दो सुनको मूल्य र ‘महामूर्ख’ सिद्धान्त

अर्थशास्त्रमा एउटा रमाइलो सिद्धान्त छ, ‘ग्रेटर फुल थ्योरी’ जसलाई नेपालीमा ‘महामूर्ख सिद्धान्त’ भनेर अनुवाद गर्न सकिन्छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित क्रेइटन विश्वविद्यालयअन्तर्गतको हैदर कलेजका वित्तशास्त्रका प्राध्यापक रोबर्ट जोन्सनका अनुसार दिन प्रतिदिन विश्व बजारमा नै अस्वाभाविक रूपमा सुनको मूल्य बढ्नुमा सुनको अन्तर्निहित मूल्यभन्दा पनि यही ‘महामूर्ख सिद्धान्त’ले काम गरेको छ । नेपालमा मात्र होइन, संसारभर नै परापूर्व कालदेखि नै सुनलाई लोकप्रिय तथा सुरक्षित लगानीको माध्यम मानिँदै आएको छ । शायद त्यही भएर हुन सक्छ, कोभिड–१९ को महामारीले विश्वभरि नै अर्थतन्त्रलाई अधोगतितिर धकेलिरहेको अवस्थामा पनि सुनले भने आफ्नो मूल्य झन्झन् बढाइरहेको छ । आखिर किन अहिले यसरी सुनको मूल्य उकालो लागिरहेको छ त ? यो सानो आलेखमा यही सरल प्रश्नको सम्भावित उत्तर खोज्ने प्रयास गरिएको छ ।

अन्य वस्तुको जस्तै सुनको मूल्यलाई पनि त्यसको माग तथा आपूर्ति अवस्थाले निर्देशित गर्छ । माथि नै भनिएझैं सधैं सुरक्षित र भरपर्दो लगानीको माध्यम भएकाले नै अहिलेको महामारीले अर्थतन्त्रलाई पार्न सक्ने प्रभावको आकलन गर्न नसकिएको परिप्रेक्ष्यमा भविष्यमा हुन सक्ने अति मुद्रास्फीतिबाट त्रस्त मानिसहरू सुनमा लगानी केन्द्रित गर्न लागिपरेका छन् । विश्वव्यापी रूपमा विकसित भएको यही मानसिकताले सुनको मागमा तीव्र वृद्धि भएको छ । अर्थशास्त्रको यही सामान्य परिभाषाअनुसार यही तीव्र मागका कारण सुनको मूल्य बढेको छ ।

प्राध्यापक जोन्सनले चाहिँ सुनको मागमा तीव्र वृद्धि हुनुमा मानिसहरूमा ‘महामूर्ख सिद्धान्त’ कार्यान्वयन गर्न बढेको होडबाजीलाई प्रमुख कारणका रूपमा औंल्याएका छन् । महामूर्ख सिद्धान्तअनुसार भविष्यमा बढेको मूल्यमा बेच्ने लालचले वर्तमानमा पनि बढेको मूल्यमा नै कुनै पनि वस्तु किन्ने महामूर्खहरू हरेक समाजमा जहिले पनि हुन्छन् र यिनै महामूर्खले ‘बढाएको’ मागका कारण उक्त वस्तुको मूल्य वृद्धिदर झन् बढ्ने हुन्छ । यस्ता महामूर्खले त्यस्ता वस्तुको अन्तर्निहित मूल्यभन्दा पनि भविष्यमा अझ बढी मूल्यमा सोही वस्तु किन्ने अर्को झन् महामूर्ख अगाडि सर्ने मान्यता राखेर वर्तमानमा बढेको मूल्यमा नै वस्तुहरू किन्ने गर्छन् । अहिले बिट क्वाइन जस्ता प्रच्छन्न मुद्रामा हुने लगानीलाई यही ‘महामूर्ख सिद्धान्त’द्वारा निर्देशित लगानी मान्ने अर्थशास्त्रीहरू पनि प्रशस्तै छन् ।

तर, एक किसिमले भन्ने हो भने कोरोनाबाट उत्पन्न संकटले गर्दा आम रूपमा विश्वभरि नै लगानीकर्ता अहिले यही महामूर्ख सिद्धान्तलाई अनुसरण गर्नुपर्ने अवस्थामा छन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा सुनको मूल्य यही गतिमा बढ्ने हो भने विवाह–व्रतबन्ध हुने मङ्सिर महीनामा यसको मूल्यले कुन उचाइ ग्रहण गर्ने हो अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन । त्यही भावी सम्भावित उच्च मूल्यको जोखिमबाट बच्न पनि ‘बाध्यतामा’ परेकाहरूले अहिले ‘अनावश्यक’ रूपमा केही मात्रामा भए पनि सुनको माग बढाइरहेका छन् । यसबाहेक अहिले नेपालमा सुनको माग शून्यप्रायः नै रहेको बुझ्न कठिन छैन ।

अहिले सुनको माग बढ्नुमा बैंकहरूमा रहेको प्रचुर तरलताको अवस्थाले पनि सघाउ पुर्‍याएको छ । कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी गर्ने उपयुक्त अवस्था नहुँदा अहिले स्वाभाविक रूपले यसरी उब्रेको तरलता सुनतर्फ आकर्षित भएको छ ।

मूल्य निर्देश गर्ने अर्को प्रमुख तत्त्व ‘आपूर्ति’तर्फ ध्यान दिने हो भने अहिले सुनको आपूर्तिमा संकुचन आएको छ । कोरोना महामारीका कारण अहिले पर्याप्त मात्रामा खानीबाट सुन उत्खनन हुन सकेको छैन । जब उत्खनन कार्यमा व्यवधान हुन्छ त्यसले आपूर्तिमा ह्रास ल्याउने नै भयो । एकातिर विभिन्न कारणले मागको मात्रा उच्च हुनु र अर्कोतिर सोही बेला आपूर्तिमा संकुचन आउनाले सुनको मूल्य वृद्धिलाई त्यसले तीव्रतम बनाएको सहजै अनुमान गर्न सकिन्छ ।

अर्को, बैंकको ब्याजदरले पनि सुनको मूल्यलाई निर्देशित गरेको हुन्छ । तरलताको सहज अवस्थाले ब्याजदरलाई बढ्न दिँदैन । बैंकमा राखिने नगदले कम प्रतिफल दिने भएपछि नगद लगानी सुनतर्फ नै आकर्षित हुने गर्छ । कोरोना संकटका कारण व्यापक रूपमा बढेको बेरोजगारीले गर्दा अन्तरराष्ट्रिय स्तरमा ब्याजदरलाई निर्देशित गर्ने अमेरिकाको फेडेरल रिजर्भ तथा बेलायतको बैंक अफ इङल्यान्डले ब्याजदरमा गर्ने कटौतीले पनि निकट भविष्यमा नै सुनको मूल्य घट्ने संकेत गर्दैनन् ।

त्यसैगरी डलरको विनिमय दरमा हुने अस्थिरताले पनि सुनको माग अनि मूल्य वृद्धिलाई नै प्रोत्साहन दिइरहेको हुन्छ ।

कोरोनाका कारण विश्वभर नै अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएकाले पनि सुरक्षित लगानीको क्षेत्रका रूपमा सुनतर्फ आकर्षण बढेको देखिन्छ । कोरोना संकट शुरू हुँदाको समयमा महामारीको रूप छोटो हुनसक्ने भनी गरिएको अपेक्षाविपरीत यसको अन्त्य अनिश्चित भएपछि लगानीकर्ता तथा आममानिस सुनमा लगानी गर्न थप प्रेरित भएको बुझ्न कठिन छैन ।

फेरि यही बेला अमेरिका तथा चीनबीच बढ्दो व्यापार युद्धको तनाव मात्र होइन, अमेरिका तथा केही यूरोपेली मुलुकबीच बढेको व्यापार असमझदारीले समेत सुनको माग र मूल्य बढ्नुमा प्रचुर योगदान दिएको मान्नेहरू पनि छन् ।

यसरी विविध कारणले विकसित विश्व परिवेशले गर्दा अहिले लगानीकर्ता तथा आममानिससमेत चाहेर तथा नचाहेर पनि ‘महामूर्ख सिद्धान्त’को मार्गमा अगाडि बढिरहेका र त्यसले अन्ततोगत्वा सुनको समग्र माग नै बढाउने भएकाले त्यसले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य आगामी केही महीनासम्म निरन्तर बढ्ने अनुमान गर्न थालिएको छ । एक त कोरोना भाइरसको दोस्रो तरंगले नै यसलाई बढाउन प्रोत्साहन दिएको छ भने अर्कोतर्फ माथि नै भनिएझैं अमेरिकाको केही यूरोपेली मुलुकहरूसँग हालै विकसित भएको ‘व्यापार तथा भन्सारसम्बन्धी असमझदारी’ले सृजना गरेको अन्य क्षेत्रमा हुने लगानी सुस्तताको भार पनि ‘सुन’ले वहन गर्नुपर्ने देखिन्छ । त्यसमाथि अमेरिकाको चीनसँगको जारी व्यापार युद्ध त यथावत् छँदै छ ।

अन्तरराष्ट्रिय बजारमा यिनै विविध कारणले सुनको मूल्यमा तीव्र वृद्धि भएपछि नेपाली बजारमा स्वाभाविक रूपमा यसको मूल्य बढ्ने कुरा स्वतः स्पष्ट नै छ । विश्व बजारमा सुनको मूल्यको वृद्धिदर कहिले कुन विन्दुमा पुगेर स्थिर हुने हो, नेपालमा पनि सुनको मूल्य त्यसैमा निर्भर हुने भएकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन । फेरि कोरोना प्रकोपसँग यसको प्रत्यक्ष सम्बन्ध भएकाले पनि सुनको मूल्यसम्बन्धी भविष्यवाणी सत्य सावित नहुन सक्छ । तर पनि सुनको मूल्य यही गतिमा बढ्ने हो भने मङ्सिरसम्म नेपाली बजारमा सुनको मूल्य अहिलेको मूल्यमा अझै थप एक चौथाइ बढ्न सक्ने अनुमान सुनचाँदी व्यवसायीहरू गर्छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::