बानी व्यवहारमा ध्यान दिए कोरोनाबाट जोगिन सकिन्छ

शनिबार, भदौ १३, २०७७

बानी व्यवहारमा ध्यान दिए कोरोनाबाट जोगिन सकिन्छ

के हो कोभिड–१९ कोभिड–१९ को मतलब ‘कोरोना भाइरस रोग २०१९’ हो । यो सार्स–कोभ–२ -SARS-Cov-2 नामक भाइरसका कारण हुन्छ । कोभिड–१९ भएका मानिसमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र अन्य विभिन्न लक्षणहरू देखा पर्छन् । सास फेर्न गाह्रो हुने समस्या चाहिँ जब संक्रमणले फोक्सोमा असर गरेपछि तथा निमोनिया भएपछि हुन्छ ।

कोभिड–१९ संक्रमण भएका धेरैजसो व्यक्ति गम्भीर बिरामी पर्दैनन् । तर केही भने हुन्छन् । धेरैजसो क्षेत्रमा मानिसलाई घरमै रहन र अरू व्यक्तिको सम्पर्कबाट टाढा रहन भनिएको छ । यो भाइरस फैलने तीव्रता कम गर्ने एक प्रयास वा उपाय हो ।

कोभिड–१९ कसरी फैलन्छ ? कोभिड–१९ निम्त्याउने भाइरस खासगरी व्यक्तिबाट व्यक्तिमा सर्दछ । जब संक्रमित व्यक्ति खोक्छ, हाछ्यूँ गर्छ, वा स्वस्थ व्यक्तिको नजिकै रहेर कुरा गर्छ भने यो सर्दछ । यो भाइरस सँगै बसेका व्यक्तिमा सजिलै सर्दछ । त्यस्तै मानिसको हुलमा, सँगै बसेर कुराकानी गर्दा, हात मिलाउँदा साथै अंकमाल गर्दा पनि यो भाइरस सर्दछ ।

यसैगरी सँगै खाना खाँदा वा नजिक बसेर सँगै गीत गाउँदा पनि यो भाइरस सजिलै सर्न सक्दछ । विज्ञ चिकित्सकहरूका अनुसार यदि संक्रमित व्यक्तिले छोएका केही वस्तु वा उसले प्रयोग गरेका सामान छोएर नाक, मुख वा आँखा छोइएमा पनि भाइरस सर्दछ ।

संक्रमित व्यक्ति जसमा कुनै लक्षण नभएका पनि हुन्छन्, उनीहरूबाट पनि यो भाइरस सर्न सक्दछ । त्यसैले व्यक्ति व्यक्तिबीच दूरी कायम गर्नु संक्रमण फैलिने तीव्रता घटाउने सबभन्दा उपयुक्त उपाय हो । संक्रमित व्यक्तिबाट जनावरमा पनि सर्न सक्ने सम्भावना रहेको छ ।

विशेषगरी घरपालुवा जनावरमा सर्न सक्ने सम्भावना रहेको छ । तर यो असामान्य अवस्था लाग्छ । अहिलेसम्म घरपालुवा जनावरबाट व्यक्तिमा संक्रमण सरेको भने कुनै प्रमाण पाइएको छैन । यस्तै पौडी खेल्ने पुल वा नुहाउने टबबाट पनि कोरोना सरेको कुनै प्रमाण भेटिएको छैन । तर भीड गरेर पौडी खेलिरहेका मानिसमा भने कोरोना सर्न सक्छ ।

त्यसैले भीड हुने जुनसुकै स्थान जोखिमपूर्ण छन् ।अन्य केही भाइरसझैँ कोरोना भने खानाबाट सर्छ भन्ने विज्ञहरूलाई लाग्दैन । यसको मतलब अहिलेसम्म खानाबाट यो भाइरस सरेको कुनै प्रमाण भेटिएको छैन ।

कोभिड–१९ का लक्षणहरू केके हुन् ? सामान्यतः व्यक्तिलाई संक्रमण भएको ४ वा ५ दिनपछि लक्षण देखा पर्छ । तर कतिपय व्यक्तिमा भने लक्षण देखा पर्न २ सातासम्म लाग्छ । कतिपय व्यक्तिमा भने लक्षण कहिल्यै देखा पर्दैन । व्यक्तिमा देखिने कोभिड–१९ का लक्षणहरू निम्नानुसार रहेका छन् : ज्वरो आउने खोकी लाग्ने सास फेर्न गाह्रो हुने थकान महसुस हुने थरथर काँप्ने मांशपेसी दुख्ने टाउको दुख्ने घाँटी दुख्ने गन्ध र स्वाद थाहा नपाउने

कतिपय संक्रमितलाई भने पाचन समस्या हुने देखिएको छ । जसकारण झाडापखला हुने, बान्ता हुने आदि लक्षण देखा पर्दछ । यस्तै छालाको समस्या हुने विवरण पनि आएका छन् ।

अधिकांश लक्षण देखिएका व्यक्तिलाई केही साताभित्रै सञ्चो हुन्छ । तर कतिपय लक्षण देखा परेका व्यक्तिमा भने महिनौँसम्म पनि उस्तै रहने गर्छ । यो चाहिँ विशेषगरी पहिलेदेखि बिरामी भएका तथा अस्पताल भर्ना गर्नु परेका व्यक्तिमा हुन्छ । केटाकेटीमा कोभिड–१९ संक्रमण भएमा पाका व्यक्तिमा जस्तो गम्भीर लक्षण यिनीहरूमा कमै देखिन्छ ।

के म गम्भीर बिरामी हुने जोखिममा छु ? यो तपाइँको उमेर स्वास्थ्यमा भर पर्छ । कतिपयमा कोभिड–१९ ले गम्भीर समस्याहरू निम्त्याउँछ । जस्तै : निमोनिया, पर्याप्त अक्सिजन नपाउने, मुटुको समस्या वा मृत्यु पनि हुन सक्छ । यो जोखिम वृद्ध उमेर समूहका व्यक्तिमा बढी देखिन्छ ।

यस्तै पहिलेदेखि नै अन्य रोग जस्तै; मुटु रोग, मिर्गौलाको समस्या, दोस्रो प्रकारको मधुमेह, दम, रक्त समस्या, वा मोटोपना भएका व्यक्ति पनि उच्च जोखिममा रहेका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू पनि गम्भीर समस्या हुने उच्च जोखिममा रहेका छन् ।

प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिहरू एचआईभी संक्रमित भएका, पहिलो प्रकारको मधुमेह भएका, उच्च रक्तचाप भएका आदि हुन् । लक्षण भएमा मैले के गर्नुपर्छ ? यदि तपाइँलाई कोभिड–१९ का लक्षणहरू– ज्वरो, खोकी, स्वास फेर्न गाह्रो हुने भएमा डाक्टर वा नर्सलाई भन्नुहोस् । तिनले तपाइँमा देखा परेको लक्षणबारे सोध्न सक्छन् । तपाइँको ट्राभल हिस्ट्रीका बारे पनि सोध्न सक्छन् साथै कोही संक्रमित बिरामीको सम्पर्कमा हुनुहुन्थ्यो कि सोध्न सक्छन् ।

यदि लक्षणहरू गम्भीर छैनन् भने अस्पताल जानुभन्दा पहिला फोनबाटै सोध्नु सबभन्दा राम्रो हुन्छ । डाक्टरले के गर्ने तथा तपाइँलाई चिकित्सकको निगरानीमा राख्नुपर्छ पर्दैन बताउने छन् । धेरैजसो सामान्य लक्षण भएका संक्रमित घरमै सञ्चो नभएसम्म कसैलाई नभेटिकन रहन राम्रो हुन्छ ।

यदि तपाइँ क्लिनिक वा अस्पताल जानुपर्दैन भने नाक र मुख छोप्न मास्क प्रयोग गर्नुहोस् । यसले अन्य व्यक्तिलाई सुरक्षित राख्न मद्दत गर्छ । चिकित्सकले तपाइँलाई आइसोलेसनमा रहन भन्नेछन् । गम्भीर बिरामी पर्नु भयो र क्लिनिक वा अस्पताल जानुपर्यो भने सम्भव भएसम्म जानुअघि फोन गर्नु उचित हुन्छ ।

यसले स्वास्थ्यकर्मीलाई अन्य व्यक्तिमा सर्न नदिने उपाय अपनाउँदै तपाइँको हेरचाहमा तयारी गर्न सहयोग मिल्छ । यदि तपाइँ सघन उपचारको खाँचो भएमा एम्बुलेन्सलाई तुरुन्त बोलाउनुहोस् । के कोभिड–१९ गराउने भाइरसका लागि परीक्षणको व्यवस्था छ ? छ । डाक्टर वा नर्सले तपाइँमा कोभिड–१९ भएको आशंका गरेमा उनीहरूले परीक्षणको लागि तपाइँको स्वाब संकलन गर्न सक्छन् । यदि तपाइँले खकारसहित खोकिरहनु भएको छ भने त्यसको पनि नमुना संकलन गरी परीक्षण गर्नेछन् । यी परीक्षणले चिकित्सकहरू तपाइँमा कोभिड–१९ छ वा अन्य कुनै रोग छ भन्ने कुराको निक्र्यौलमा पुग्नेछन् ।

कुनै स्थानमा परीक्षणका लागि तपाइँले डाक्टर वा नर्सलाई भेट्नुपर्ने हुन्छ । कतिपय स्थानमा भने संघ संगठनले जो कोहीको परीक्षणका लागि व्यवस्था गरेका हुन्छन् । स्वाब संकलन गरेपछि ल्याबअनुसार परीक्षणको नतिजा आउन केही दिन पनि लाग्न सक्छ ।

यदि तपाईँलाई भाइरस संक्रमण भएको छ भन्ने लाग्छ तर परीक्षण गर्न पाउनु भएको छैन भने तपाइँको चिकित्सकले के गर्ने भन्ने बारे बताउन सक्छन् । उनीहरूले घरमै रहन, अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहन, तथा लक्षण गम्भीर हुँदै गए सम्पर्क गर्न भन्न सक्छन् ।

विगत केही समय अगाडि कोभिड–१९ थियो कि भनेर रगतको परीक्षण गर्ने विधि पनि रहेको छ । यसलाई ‘एन्टीबडी’ परीक्षण भनिन्छ । सामान्यतः एन्टीबडी परीक्षण विधि कोभिड–१९ निक्र्यौल गर्न प्रयोग गरिँदैन ।

तर विज्ञहरूले यो विधिबाट निश्चित स्थान र समयभित्र कति मानिस यसबाट थाहा नपाइकन नै संक्रमित भएका थिए भन्ने थाहा पाउन सक्छन् । यस्तै यो विधिबाट पुनः कोभिड–१९ कसलाई हुन सक्छ भन्ने कुरा पत्ता लगाउन सक्नेछन् ।

कोभिड–१९ को उपचार कसरी हुन्छ ? धेरै मानिस स्वास्थ्य स्थिति सुधार भएपछि घरमै रहन सक्छन् । तर गम्भीर लक्षण भएका वा अन्य स्वास्थ्य समस्या भएका व्यक्ति अस्पताल जानुपर्ने हुन सक्छ । हल्का बिरामी : हल्का वा सामान्य बिरामी भन्नाले तपाइँलाई ज्वरो र खोकी हुन सक्छ, तर स्वास लिन अप्ठ्यारो हुँदैन ।

धेरैजसोमा हल्का लक्षण हुन्छ र उनीहरू सुधार नभएसम्म घरमै आइसोलेसनमा आराम गरेर रहन सक्छन् । सामान्यतः यो दुई हप्ताको अवधि हुन्छ, तर यो सबैमा उस्तै हुँदैन । यदि तपाइँ निको हुँदै हुनुहुन्छ भने पनि सामान्य क्रियाकलापमा फर्किन चिकित्सकले नभनेसम्म घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्छ ।

सेल्फ आइसोसनको मतलब अरू मानिसभन्दा अलग बस्नु भन्ने हुन्छ, यतिसम्म कि जो तपाइँसँगै बस्दै आउनुभएको थियो । तपाइँ कति समय आइसोलेसनमा बस्ने भन्ने कुरा चाहिँ लक्षण देखा पर्न छोड्ने वा तपाइँको पीसीआर परीक्षण नेगेटिभ आउनेमा भर पर्छ ।

गम्भीर बिरामी : यदि तपाइँ सास फेर्न गाह्रोसँगै अझ गम्भीर बिरामी पर्नुभयो भने अस्पतालमा रहनुपर्ने हुन्छ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा पनि भर्ना गर्नुपर्ने हुन सक्छ । तपाइँ त्यहाँ रहनुहुन्छ भने त्यो विशेष आइसोलेसन कोठा हो ।

त्यसमा विशेष किसिमको गाउन, मास्क, ग्लोभ्स र भाइजर प्रयोग गरेर अस्पतालका स्वास्थ्यकर्मीलाई मात्र प्रवेश अनुमति हुन्छ । चिकित्सक तथा नर्सहरूले तपाइँलाई श्वास लिन र अन्य अंगहरूको कार्य गराउनका लागि साथै सहज महसुस गराउन सम्भव भएसम्म सहयोग गर्नेछन् ।

तपाइँलाई सास फेर्न सहजताका लागि अक्सिजनको आवश्यकता पर्न सक्छ । तपाइँलाई सास फेर्न असाध्यै गाह्रो भयो भने भेन्टिलेटरको आवश्यकता पर्न सक्छ । यो तपाइँलाई श्वास लिन मद्दत गर्ने मेसिन हो ।

के कोभिड–१९ रोकथाम गर्न सकिन्छ ? कोभिड–१९ रोकथामका लागि अहिलेसम्म कुनै पनि खोप छैन । तर यसको फैलावट कम गर्न तपाइँ केही उपायहरू अपनाउन सक्नुहुन्छ । यी उपायहरू जो कोहीका लागि उपयुक्त छन् । विशेषगरी कोभिड–१९ का केसहरू बढी भएका क्षेत्रका मानिसलाई उपयोगी हुन्छ ।

कोभिड–१९ बाट आफू बच्न र अरूलाई बचाउन निम्न उपाय अपनाउन सकिन्छ : – सामाजिक दूरी कायम गर्ने अभ्यास गर्नुहोस् । बिरामी भएका व्यक्तिबाट टाढा रहनु निकै महत्वपूर्ण हुन्छ । तर सामाजिक दूरीको मतलब सबै व्यक्ति (जो तपाइँ बस्नुभएको घरमा बस्दैनन्) सँग दूरी कायम गर्नु हो । यसलाई शारीरिक दूरी पनि भनिन्छ । भीडमा नजानु सामाजिक दूरीको एक महत्वपूर्ण पाटो हो । तर साना जमघट पनि जोखिमपूर्ण हुन्छन् । त्यसैले जति सक्दो घरमै बस्नु राम्रो हुन्छ । जुनबेला तपाइँ बाहिर जानुहुन्छ, त्यसबेला हरेक व्यक्तिसँग कम्तिमा ६ फिट (करिब २ मिटर) को दूरी कायम गर्नुहोस् ।

– बाहिर निस्कँदा कपडा वा मेडिकल मास्क प्रयोग गर्नुहोस् । धेरै देशका विज्ञले यसलाई सिफारिस गरेका छन् । यदि तपाइँ बिरामी हुनुहुन्छ भने यो अत्यावश्यक छ । साथै तपाइँमा कुनै लक्षण छैन भने पनि अन्य व्यक्तिमा तपाइँले भाइरस सार्ने सम्भावना धेरै कम हुन्छ । यसले तपाइँलाई अन्य संक्रमितबाट पनि जोगाउँछ ।

– साबुन पानीले पटक पटक हात धोइरहनुहोस् । खासगरी सार्वजनिक स्थलमा गएपछि वा अरू धेरैले छुन सक्ने सामान तथा वस्तु (ढोकाको चुकुल, रेलिङ, कुर्सी आदि) छोइसकेपछि हात धुनुहोस् । यसरी कुन वस्तु वा सामान छुँदा सर्ने जोखिम हुन्छ भन्ने कुरा अझै राम्ररी निक्र्यौल भएको छैन, तर त्यति सर्ने सम्भावना चाहिँ उच्च छैन । तैपनि पटक पटक हात धोइरहनु चाहिँ ठिक हुन्छ ।

कम्तिमा २० सेकेन्डसम्म साबुनले हात धुनुहोस् । हात धुँदा नाडी, औँला र औँलाका काप पनि राम्ररी सफा गर्नुहोस् । त्यसपछि टावेल वा कुनै टिस्यु पेपरले हात पुछ्नुहोस् । यदि साबुन पानी छैन भने ‘ह्यान्ड स्यानिटाइजर’ वा जेलले हात सफा गर्नुहोस् । यस्ता जेल वा स्यानिटाइजरमा ६० प्रतिशत अल्कोहल भएको राम्रो हुन्छ । तर साबुन पानीले धुनु नै बढी प्रभावकारी हुन्छ ।

– हातले अनुहार नछुनुहोस् । विशेषगरी मुख, नाक र आँखा नछुनुहोस् ।

– आवश्यकता छैन भने यात्रा नगर्नुहोस् । केही विज्ञहरूले कोभिड–१९ का संक्रमित पाइएका क्षेत्रतिर वा त्यहाँबाट कतै यात्रा नगर्न भनेका छन् । तर केही भीड, जस्तै विमानस्थलमा अलि लामो समय रहनु भएको छ भने संक्रमणको जोखिम बढी हुन्छ । यदि तपाइँ यात्रा गर्दै हुनुहुन्छ भने गन्तव्य स्थानमा कोभिड–१९ का बारे कुनै नियम छन् कि यात्रा गर्नु पहिले जानकारी लिनुहोस् ।

कुनै स्थानमा १४ दिनसम्म क्वारेन्टिमा रहनुपर्ने हुन्छ । यसको मतलब हो कुनै सार्वजनिक स्थलमा नजाने तथा कसैसँग भेटघाट नगर्ने । यी नियमले अन्य व्यक्तिलाई कोभिड–१९ सर्नबाट रोक्छ ।

सामाजिक दूरी किन यति धेरै महत्वपूर्ण छ त ? भाइरस फैलिनबाट रोक्न एक अर्काबीच दूरी कायम गर्नु सबभन्दा राम्रो उपाय हो । यो किनभने भाइरस सजिलै सर्ने र कसलाई संक्रमण भएको छ भन्ने थाहा नहुने भएकाले महत्वपूर्ण छ । विभिन्न क्षेत्रमा फरक नियम हुन सक्छ । धेरैजसो स्थानहरू जस्तै; विद्यालय, डे केयर्स र बजारहरू बन्द छन्, साथै कार्यक्रमहरू रद्ध वा मिति सारिएको छ ।

तर सामाजिक दूरी ठूला भीडहरू बेवास्ता गर्नु मात्र होइन । सबभन्दा सुरक्षित उपाय भनेकै तपाइँको घरबाहिर हुने साना वा ठूला जुनसुकै भीडमा सामेल नहुनु हो । धेरै मानिसले अहिले अनलाईन वा फोनबाट कुरा गर्ने तथा सम्पर्कमा रहिरहने उपाय अवलम्बन गरेका छन् । यदि तपाइँसँग खालि जमिन छ भने अन्य व्यक्तिसँग दूरी कायम गरी हिँड्डुल गर्दै स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ ।

विज्ञहरूले घरमै रहन सिफारिस गरिरहेका बेला यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ । साथै निर्देशनहरूको पालना उचित पालना गर्न आवश्यक छ । यदि अन्य व्यक्तिसँग भेट्नैपर्ने छ भने निम्नानुसारका कुरा याद गर्नुहोस् : – भाइरस भित्र र बाहिर जुनसुकै स्थानमा सर्न सक्छ । तर तुलनात्मक रूपमा बाहिर जोखिम कम हुन्छ । – जति धेरै मानिसलाई भेट्नुहुन्छ, त्यति धेरै भाइरस सर्न सक्ने सम्भावना बढी हुन्छ । – पटक पटक हात धोइरहने, कम्तिमा ६ फिट (करिब २ मिटर) दूरी कायम गर्ने, र मास्क प्रयोग गर्नाले भाइरस सर्ने जोखिम कम गर्छ ।

तपाइँलाई बानी परिवर्तन गर्न निकै गाह्रो हुन्छ । सामान्य अवस्थाझैँ गर्न खोज्न सामान्य पनि पक्कै हो । तर सम्झनुहोस्, तपाइँ कोभिड–१९ बाट धेरै बिरामी नपर्नु भए पनि तपाइँबाट सर्ने व्यक्ति गम्भीर बिरामी पर्न सक्छ । यदि मानिसले सामाजिक दूरी कायम गरेनन् वा चाँडै लकडाउन खोले धेरैलाई सर्ने सम्भावना हुन्छ । यो धेरै स्थानमा भएको छ ।

यदि घरमा कसैलाई कोभिड–१९ भए मैले के गर्नुपर्छ ? यदि कोही तपाइँको घरमा कोभिड–१९ संक्रमित भएमा आफू बच्न र अरूलाई बचाउन केही थप उपायहरू छन् : – बिरामी भएको व्यक्तिलाई अरूबाट टाढा राख्नुहोस् : बिरामी व्यक्ति बेग्लै कोठामा बस्नुपर्छ र सम्भव भएसम्म छुट्टै सौचालयको व्यवस्था गर्नुपर्छ । उनीहरूले आफ्नै कोठामा खाना खानुपर्छ । विज्ञहरूले पनि घरपालुवा जनावरहरूबाट पनि निको नभएसम्म टाढा रहन भनेका छन् । – मास्क लगाउन दिनुहोस् : अन्य व्यक्तिहरू सँगसँगै एउटै कोठामा बस्दा कोभिड–१९ भएका बिरामीले कपडा वा सर्जिकल मास्क प्रयोग गर्नुपर्छ । यदि बिरामीले लगाएको छैन भने आफू बच्नका लागि तपाइँले मास्क लगाउनुहोस् ।

– सफा गरिरहनुहोस् : सफा गर्दा अपनाउनुपर्ने उपायहरू तपाइँलाई सहयोगसिद्ध हुन सक्छन् : - सफा गर्दा पुनः प्रयोग गर्न नमिल्ने किसिमका पञ्जा प्रयोग गर्नुहोस् । बिरामी व्यक्तिको लुगाफाटो, खाने थाल भाँडा वा अन्य वस्तुहरू छुँदा पनि पञ्जाको प्रयोग गर्न उचित हुन्छ ।

-बिरामीले ओढ्ने लुगा सफा गर्दा राम्ररी धुनुहोस् । तपाइँको शरीरलाई लाग्न नदिनुहोस् । लुगा धोइसकेपछि लुगा धोएको मेसिन वा बाथरुम राम्ररी सफा गर्नुहोस् । -धेरै छोइरहने वस्तु नियमित सफा गर्नुहोस् । यसअन्तर्गत काउन्टर, ढोकाको चुकुल, टेबल, फोन वा मोबाइल, कम्प्युटर, बाथरुमको भागहरू आदि पर्दछन् । - घरका वस्तुहरू साबुन पानीले राम्ररी सफा गर्नुहोस् । त्यस्तै डिस्इन्फेक्सन गर्ने केमिकलको पनि सम्भव हुने स्थानमा प्रयोग गर्नुहोस् ।

संक्रमितसँग सम्पर्क भए के गर्ने ? यदि तपाइँ कोभिड–१९ संक्रमितसँग भेट्नुभएको छ तर कुनै लक्षण देखिएको छैन भने घरमै कम्तिमा १४ दिन क्वारेन्टिन बस्नुपर्छ । यसको मतलब सम्भव भएसम्म घरमै रहने हो अनि घरमा रहेका अन्य सदस्यसँग कम्तिमा ६ फिटको दूरी कायम गर्नुहोस् ।

सेल्फ–क्वारेन्टिन सेल्फ आईसोलेसन भन्दा अलि फरक छ, जुन जब व्यक्ति बिरामी हुन्छ तब पूर्ण रूपमा बेग्लै कोठा व्यवस्था गरेर एक्लै बस्ने हो । कुनै लक्षण देखा पर्ने कुरामा आफै चनाखो हुनुपर्छ । यदि कुनै लक्षण देखिए डाक्टर वा नर्सलाई सम्पर्क गर्नुहोस् ।

यदि गर्भवती भए के गर्ने ? गर्भवती महिलामा कोभिड–१९ संक्रमण भएमा यसले सामान्य व्यक्तिभन्दा बढी गाह्रो पार्ने र आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था हुने एक अध्ययनले देखाएको छ । तर धेरैजसो व्यक्ति बच्चा हुनुभन्दा पहिले नै निको हुन्छन्, र अस्पतालमा रहनु पर्दैन । उही उमेर अन्य मानिसभन्दा गर्भवतीहरूको ज्यान जाने जोखिम पनि कम देखिएको छ ।

कोभिड–१९ संक्रमित गर्भवती महिला समय अगावै डेलिभरी हुने सम्भावना हुन्छ । यसको मतलब गर्भवती भएको ३७ हप्ता अघि नै बच्चा जन्मिनु हो । यसले निमोनिया हुने जोखिम उच्च रहन्छ । समय अगावै जन्मिने बच्चामा गम्भीर किसिमका स्वास्थ्य समस्या हुन सक्ने भएकाले यो आमा र बच्चाका लागि खतरा हुन्छ ।

तनाव र डरको सामना गर्न म के गर्न सक्छु ? कोभिड–१९ का सम्बन्धमा डर र चिन्ता हुनु सामान्य नै हो । यस्तै तपाइँको दैनिकी तथा साथीभाइ अनि आफन्त नदेख्दा तनाव वा एक्लो महसुस हुनु पनि सामान्य हो । तपाईँ निम्नानुसारका उपाय अपनाउँदै आफै आफ्नो ख्याल राख्न सक्नुहुन्छ ः – नियमित समाचारहरूबाट टाढा रहनुहोस्, – नियमित शारीरिक व्यायाम गर्नुहोस् र स्वस्थ खानेकुरा खानुहोस्, – तपाइँलाई रमाइलो लाग्ने र घरमै गर्न मिल्ने क्रियाकलाप पत्ता लगाउनुहोस्, – तपाइँका साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहिरहनुहोस् ।

घरमै बस्ने, मास्क लगाउने, ठूला भीडभाडमा नजाने आदि गर्नाले पनि तपाइँ र तपाइँको समुदायलाई कोभिड–१९ संक्रमणबाट जोगाउन सक्नुहुन्छ । धेरैजसो व्यक्ति कोभिड–१९ बाट गम्भीर रूपमा बिरामी पर्दैनन्, यो कुरा आफ्नो दिमागमा राख्नुहोस् ।

यसले जोखिम कम गर्ने उपाय अवलम्बन गर्नका लागि तयार रहन मद्दत मिल्छ । यस्तै कसरी यसको संक्रमण फैलिने दर कम गर्न सकिन्छ भने काम गर्न पनि टेवा पुग्छ । तर यसबाट डर वा त्रास नलिइकन बस्ने कोसिस गर्नुहोस् ।

(लेखक कलेजो प्रत्यारोपण शल्यचिकित्सामा पीएचडी गर्नुभई हाल चीनको चच्यांग विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ । )

  • साभार : हेल्थपाटि

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::