बालबच्चासँग गरौं सामाजिक सम्बन्धको कुरा

आइतवार, भदौ २१, २०७७

बालबच्चासँग गरौं सामाजिक सम्बन्धको कुरा

आजका धेरै बच्चाहरूलाई आफन्त या गुरुजनलाई गरिने सम्बोधनको अघि प्रयोग गर्ने आदरार्थी शब्दको विषयले टाउको दुखाइरहेको हुन्छ । आदरणीय र पूजनीय जस्ता शब्द कुन सम्बन्धको अघि प्रयोग गर्ने ? भन्ने कुराले धेरैलाई अलमलमा पार्ने गर्छ ।

आफ्ना कोही आफन्तसँग भेट हुँदा कसलाई कस्तो सम्बोधन गर्ने भन्ने कुरा पनि आजका केटाकेटीको टाउकोदुखाइकै विषय हो । नेपाली सम्बन्धको ज्ञान हुने जोकोहीलाई पनि यो कुरा सामान्य लाग्न सक्छ तर सम्बन्धको विषयमा नै बेखबरहरूलाई यही जटिलताले सताइरहेको हुन्छ । अहिले कोरोना महामारीले समाज आक्रान्त छ । आफ्ना साथीभाइसँगको भेटघाट सम्भव छैन । यस्तो अवस्थामा मान्छे धेरै एक्लोपनाको शिकार हुने गरेका छन् । मनोविज्ञ मधुविलाश खनाल लकडाउन र निषेधाज्ञाको समयमा आफू कहाँ मनोपरामर्शका लागि आएका झण्डै ४ दर्जन व्यक्तिमध्ये धेरै त किशोरकिशोरीहरूमा एक्लोपनको समस्या देखिएको बताउँछन् । यस्तो समस्याले गम्भीर मानसिक समस्या निम्त्याउँदै मान्छेले आत्महत्याको बाटो समेत अपनाउनसक्ने गरेको उनको भनाइ छ । यसैलाई रोक्न पनि आफ्नो सम्बन्ध र आफन्तको बारेमा बच्चाहरूलाई जानकारी गराउनु उपयोगी हुने जानकारहरू बताउँछन् ।

किशोरावस्थामा समाज र आफन्तसँग खासै घुलमिल हुन नसकेका किशोरकिशोरीहरू परिपक्व हुँदै जाँदा त्यही सामाजिक सम्बन्ध र सामाजिक परिस्थितिसँग घुलमिल हुन नसक्दा आफैँलाई एक्लोपनको महसुस गर्ने र डिप्रेसनको अवस्थामा समेत पुग्न सक्ने सम्भावना हुन्छ । त्यसैले बच्चालाई विभिन्न सामाजिक सम्बन्धको बारेमा पहिलेदेखि नै सिकाउँदै गर्नु आवश्यक हुन सक्छ ।

समाजमा बदलिएको सम्बन्धको डोरी

हिजोआज वास्तविक सम्बन्ध पत्ता लगाउन एकले अर्कालाई झट्ट गर्ने सम्बोधन मात्रै काफी छैन । पहिलेपहिले सात टोल थर्किनेगरी ‘ए बा !’ भनेर गर्ने बाको सम्बोधन लोपोन्मुख अवस्थामा छ । कसैकसैले हजुरबुबालाई ‘बा’ भनेर सम्बोधन गर्छन्, त्यो पनि संकोच मान्दैमान्दै ।

नयाँ पुस्ताले ‘आमा’ भन्ने शब्दको अर्थ नै परिवर्तन गराइदिएका छन् । वास्तवमा आफूलाई जन्मदिने व्यक्तिलाई आमा भन्नुपर्ने हो । आमा भन्ने ओझिलो शब्दले आफूलाई १० महिनासम्म कोखमा राखेर जन्माउने व्यक्तिलाई जनाउनु पर्ने हो । तर हिजोआज ‘आमा’ शब्दको प्रयोग पनि सस्तो भएको छ ।

हिजोआज बाबुको आमा र छोराको आमा (हजुरआमा) एउटै हुने भएकोले होला छोराको बाबा र आमाको ‘बाबा’(श्रीमान्लाई धेरैले बाबा भनेर सम्बोधन गर्ने गरेका छन्) एउटै हुन थालेको छ ।

एक पुस्ताअघिसम्मका मान्छेले वास्तविक आमा शब्दलाई सही अर्थमा प्रयोग गरिरहेका थिए । तर हिजोआज त्यो अपभ्रंश भएको छ । संस्कृत शब्द अम्बाबाट परिस्कृत हुँदै आमा बनेको हो । यसको समानार्थी शब्दहरू माता, महतारी जननी आदि हुन् । यी कुनै पनि शब्द अहिले प्रयोगमा खासै आउँदैनन् ।

अहिले ठूला बा, काका, माइला बा, काइला बा जस्ता शब्दलाई एउटै अंकल शब्दले विस्तापित गरिसकेको छ । काकी भन्ने शब्द अहिले आन्टी भएको छ ।

अर्काेतर्फ ऊ मेरी दिदी वा मेरो दाइ हो भन्दा ‘आफ्नै ?’ भन्ने प्रश्नवाचक चिह्न आइहाल्छ । किनभने आजभोलि दाजुभाइ दिदीबहिनी भन्ने शब्द पनि हलुका भएको छ ।

फुपूदिदीलाई पनि दिदी, आमाबुबाको दाइभाइकी छोराछोरीलाई पनि दिदीबहिनी भन्ने सम्बोधनका कारण फुपू, भान्दाइ जस्ता शब्दहरू पनि लोपोन्मुख अवस्थामा छन् । यसरी विभिन्न सम्बन्धलाई छुट्याउँदा सम्बन्ध अनुसार सम्बोधन र आदरसत्कारबारे जान्न पनि सहज हुन्छ । त्यसैले जतिसक्दो सम्बन्धलाई खुम्च्याउने भन्दा यसलाई प्रसार गर्नुपर्छ ।

आफन्तको पहिचान र सम्बोधनबारे सिकाऔं बच्चालाई

घरमा पाहुना आउँदा पहिलेका बच्चाहरू खुसी हुँदै आफ्नो अभिभावकलाई बोलाउन पुग्थे । सम्मान भावले नवआगन्तुकसँग आफ्नो अभिभावकले गरेको कुरा छेउमा बसेर सुन्ने गर्थे । विद्यालयमा सिक्न नपाउने महत्वपूर्ण कुराहरू त्यही छोटो कुराकानीमा सुनेर पनि सिक्ने गर्थे ।

तर अहिलेका बच्चाहरूमा त्यस्तो व्यवहार देखिन्न । दिनभरि डेकेयर वा स्कुलको बसाइ, बेलुका आएपछि मोबाइलमा मात्रै रमाउने प्रवृत्तिले बच्चाहरूलाई एक्लोपनमा रमाउने स्वभावको बनाएको छ । कोही पाहुना आउँदा वास्तै नगरी अर्काे कोठामा गएर मोबाइल चलाउने स्वभाव देखिन्छ । न त कुनै सम्बोधन न त कुनै आदर भाव । यसरी गर्ने व्यवहारले पछि बच्चालाई सामाजिक जीवनमा समस्या हुने देखिन्छ । त्यसैले बच्चालाई आफन्तहरूको सम्मान र उनीहरूलाई गर्ने सम्बोधनको बारेमा राम्रोसँग सिकाउनु जरुरी छ ।

सम्बन्धको बारेमा सिकाउनको लागि यस्तो गरौं

– बच्चालाई ५ वर्ष कटेपछि सामाजिक सम्बन्ध र त्यसको बारेमा ध्यान दिनुपर्ने कुराको बारेमा राम्रोसँग सम्झाउन सुरु गरौं ।

–सामाजिक सम्बन्ध र व्यवहारको बारेमा बच्चाले भनेको कुरा यदि मानेन भने उसलाई तर्कसंगत तरिकाले मनाउने कोसिस गरौं ।

–सम्बन्धको महत्वलाई बुझ्ने गरी बताऔं ता कि पछि गएर उसको व्यस्त जीवनशैलीमा समाज र आफन्तको काम आओस् ।

–आमाबुबाको समय मिलेसम्म बच्चालाई विभिन्न सम्बन्धका आफन्त कहाँ लैजानुपर्छ । साथमा उनीहरूसँग भेट्दा गर्ने सम्बोधन लगायतको बारेमा पनि सिकाउनुपर्छ ।

–बच्चाको अघि आफूले पनि कुनै आफन्तको बारेमा मजाक उडाउनु हुन्न । उनीहरुप्रति सम्मान भाव गरेमात्रै बच्चाले पनि त्यही अनुसारको ज्ञान सिक्छन् ।

–बच्चाले यहि कसैको बारेमा खिल्ली उडाउने काम गरिरहेको छ भने आफू त्यसमा सहभागी नबनौं ।

–आफ्नो परम्परा र संस्कारको बारेमा सानै उमेरदेखि ज्ञान दिने काम गरौं ।

–बच्चालाई धैर्यवान बन्न सिकाऔं जुन पछिको लागि काम लाग्न सक्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::