बौरिएला एमाले ? पत्याउलान् जनताले ?

बुधबार, अशोज २०, २०७८

एन.मिडिया न्युज डेस्क

बौरिएला एमाले ? पत्याउलान् जनताले ?

पार्टी विभाजनले रन्थनिएको नेकपा एमालेले ६ हजारभन्दा बढी प्रतिनिधिलाई विधान महाधिवेशनमा सहभागी गराएर आगामी तीनै तहको निर्वाचनमा बहुमत हासिल गर्ने हुँकार गरेको छ । आफ्नै पार्टीको आन्तरिक द्वन्द्व र अन्तरविरोध समाधान गर्न नसकेर सरकारबाट बाहिरिएपछि पुनः चुनाव मार्फत बहुमतको सरकार बनाउन चुनाव जित्ने अभियानमा केन्द्रित भएको छ ।

आफ्नै कारण सरकारबाट पछारिएर सडकमा पुगेको र पार्टी विभाजनको दुःखद् अवस्था भोगेको एमाले यति छिटै अब कसरी बौरिएला ? मुलुकको समृद्धि र स्थायित्वका लागि एमाले नेतृत्वको वाम गठबन्धनलाई करीब दुईतिहाइ मत दिएका जनताका आस्था र विश्वासमाथि कुठाराघात भएपछि तिनै जनताले एमालेलाई पुनः बहुमत कसरी देलान् ? जिज्ञासा र प्रश्न दुवै उठेका छन् ।

विगतको निर्वाचनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर एमाले सत्तामा पुग्न सफल भएको हो । आफ्नो जीवनस्तरमा आमूल परिवर्तनको लालसा, आर्थिक अभाव र दरिद्रता समाप्तिको अभिलाषा अनि अन्याय, अत्याचार र भ्रष्टाचारमुक्त समाजको तीव्र आकांक्षा सहित जनताले एमालेलाई समर्थन र विश्वास गरेका हुन् । तर, एमाले नेताहरूका अहङ्कार र आपसी स्वार्थका कारण जनताका ती आकांक्षा पूरा हुन सकेनन् । आफ्ना आकांक्षा र भरोसा बीचमै टुटेपछि आम जनता यतिखेर एमालेबाट निराश, खिन्न र दुःखी भएका छन् ।

एमाले नेतृत्वले सत्ताको शिखरमा पुगेपछि नेपाली जनमतको अपार तागतलाई सम्हाल्न सकेन । नेताहरूले जनआकांक्षाको मर्मलाई उचित व्यवस्थापन गर्न जानेनन् । जनताले सुम्पेको जिम्मेवारीपूर्ण स्वर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् । नेताहरूमा अतिशय मात चढ्यो । पार्टीभित्र आन्तरिक विवाद बढ्दै जाँदा जनताको असीम आकांक्षामाथि विश्वासघात भइरह्यो ।

नितान्त व्यक्तिगत र पदीय स्वार्थका लागि पार्टीभित्र झगडाको आगो सल्काएर नेताहरूले जनअपेक्षामाथि कुठाराघात गरिरहे । नेताहरूले राजनीतिलाई पेशा बनाएर नै पार्टीभित्र तमाम विकृति र विसंगति बढाए । जनताले भोगेका तमाम समस्याप्रति उनीहरू गैरजिम्मेवार र बेखबर जस्तै बनेर आफ्नो नितान्त पदीय स्वार्थमा केन्द्रित भए ।

विपक्षमा रहँदा जनजीविकाका तमाम सवाल उठाएर लोकप्रिय बनेका एमाले नेताहरू सरकार चलाउन भने अपेक्षाकृत कुशल, सक्षम र सफल देखिएनन् । पार्टीको नीति, सिद्धान्त, विधि, विचार र अनुशासनमा नरहेपछि नेताहरू आफ्नो नैतिकता, आदर्श र जिम्मेवारीबाट समेत च्यूत हुँदै गए ।

नेकपा एमाले जनसंगठनको हिसाबले मुलुकको सबभन्दा विशाल र व्यवस्थित पार्टी थियो । समाजका सबैजसो क्षेत्रमा प्रभाव जमाउन सफल एमाले संगठनको मूल आधार निम्न वर्ग र निम्न मध्यम वर्ग नै थियो । तर, आजभोलि सो पार्टीले मध्यम वर्ग र दलाल पूँजीपति वर्गको हितमा काम गर्न थालेको छ । पार्टीभित्रै निम्न र श्रमजीवी वर्गका आवाजहरू दबिन थालेका छन् ।

सरकारमा रहँदा तिनै दलाल पूँजीपति वर्गकै स्वार्थ र हित अनुरूप नै तमाम नीति र कार्यक्रमहरू ल्याइए । सांगठनिक रूपमा आफूलाई बलियो बनाउँदै सडकको आडमा पटक–पटकका सत्ता–अवसरलाई एमाले नेताहरूले नितान्त निजी स्वार्थका लागि दुरुपयोग गरे । पार्टी र जनताका लागि भन्दा पनि उनीहरूको स्वार्थ फगत पदकेन्द्रित र सरकारकेन्द्रित बन्यो । बिडम्वनाको विषय यही नै हो ।

मुलुकको समृद्धि र स्थायित्वका लागि एमाले नेतृत्वको वाम गठबन्धनलाई करीब दुईतिहाइ मत दिएका जनताका आस्था र विश्वासमाथि कुठाराघात भएपछि तिनै जनताले एमालेलाई पुनः बहुमत कसरी देलान् ? जिज्ञासा र प्रश्न दुवै उठेका छन् । जनताले ठूलै विश्वास र असीम आकांक्षा राखेर तीनै तहका सरकारमा एमालेलाई पठाएका थिए । ती सरकारले पार्टीका तर्फबाट पाउनुपर्ने सुझाव, पृष्ठपोषण र नियन्त्रण पाउन सकेनन् । फलस्वरूप सबै तहका सरकारले गरेका राम्रा कामको सम्प्रेषण पार्टी मार्फत जनतामा भएन ।

न त सरकारहरू पार्टीको घोषणापत्र, निर्देशन र कार्यक्रम अनुसार चल्न सके न त सरकारका कामको जिम्मेवारी पार्टीले लिने अवस्था नै रह्यो । आपसी अन्तद्र्वन्द्व र पदीय छिनाझपटीमै समय बर्बाद भइरह्यो । फलस्वरूप यतिखेर जनताले सुम्पेको एमाले नेतृत्वको सरकार न एमालेको हातमा छ न त जनताका मन–मनमा पार्टी नै बस्न सकेको छ ।

यतिबेला एमाले अरूका कारण हैन, आफ्नै कमजोरीका कारण गम्भीर संकटमा फसेको छ । आफ्नै दुर्बुद्धिले दुर्गतिपथमा घचेटिएको छ । आफ्ना नेतृत्वको करीब दुईतिहाइको सरकारहरू धमाधम ढलेर प्रतिपक्षमा पुगेको छ । पार्टीको आन्तरिक द्वन्द्व र व्यक्तिगत इगोका कारण नै एमाले यतिखेर सर्वाधिक समस्यामा परेको हो ।

एमाले विरोधी गठबन्धनले पनि उसलाई एक्लो बनाएर घेराबन्दीमा पारेकाले आगामी दिन झन् कठिन देखिंदैछ । गठबन्धन दीर्घकालीन अस्तित्वमा रहिरहे अब एमालेको भविष्य के हुने हो ? यसै भन्न सकिने अवस्था छैन ।

विगतका ती आपसका झगडा, परिघटना र परिस्थितिले एमालेलाई यतिखेर धेरै थोक सिकाएको हुनुपर्छ। आन्तरिक कलह र भित्रभित्रै रापिंदै गइरहेका गुट–उपगुटका शृङ्खलाले सिङ्गो पार्टीमा आगो कसरी सल्काउँछन् भन्ने पाठ एमालेले राम्रैसँग बुझेको हुनुपर्छ । पार्टीमा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दाको परिणाम कतिसम्म घातक हुन्छ भन्ने तीतो अनुभव पनि एमालेले गरेकै हुनुपर्छ ।

अहम् र दम्भकै कारण एमाले सत्ताको शिखरबाट सडकमा पछारिएर यतिखेर विक्षिप्त बनेको छ । त्यही विक्षिप्तता र पार्टी फुटको रनाहाका कारण एमाले संगठन निर्माणका लागि विधान महाधिवेशन, पार्टी महाधिवेशन र चुनावमा केन्द्रित हुन पुगेको हो ।

यतिखेर एमालेले विधान महाधिवेश मार्फत पार्टीलाई सुदृढ र एकताबद्ध बनाएको सन्देश दिन खोजेको छ तर एमालेभित्रका यावत् समस्याहरू अझै समाधान भइसकेका छैनन् । एकातिर पूर्वमाओवादीबाट आएकाहरूले आफूलाई एमालेभित्र पूर्णतः ‘कम्फर्टेबल’ र सहज महसूस गर्न सकेका छैनन् भने माधव समूहबाट फर्केका नेताहरू पनि निरीह र सशंकित अवस्थामै देखिन्छन् ।

१० बुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन हुँदैन कि भन्ने आशंका र अविश्वास जस्ताको तस्तै छ । यी आशंका र अविश्वास पूर्णतः नहट्दासम्म एमालेभित्रको एकता फगत देखावटी औपचारिकतामा मात्र सीमित हुने निश्चित छ ।

एमालेमा सामूहिकता हराउँदै गएको र एकल नेतृत्वको अभ्यास अगाडि बढाएको आरोप विगतदेखि नै लाग्दै आएको छ । विधान महाधिवेशन स्थलमा अध्यक्ष ओली मात्रै छाएकोले उनलाई विकल्पविहीन नेताका रूपमा अघि सार्ने प्रयास गरिएको आशंका यतिखेर पनि छँदैछ।

महाधिवेशनस्थलका होर्डिङ बोर्ड, ‘स्ट्याच्यु’ तथा सवारी साधनका फ्लेक्सदेखि पानीको बोतलसम्ममा अध्यक्ष केपी शर्मा ओलीको फोटो राखिनुले एमालेको एउटा समूहले अध्यक्ष ओलीलाई राजनीतिक ‘नायक’ बनाउन खोजेको स्पष्ट देखिन्छ। कम्युनिष्ट पार्टीले विचार र नीतिलाई प्राथमिकता दिने कि व्यक्ति र नेतालाई ? एकखालको बहस पार्टीभित्र र बाहिर चल्न थालेको छ ।

संसद् विघटन, नेकपा र एमालेको विभाजन, सरकारको भूमिका जस्ता विवादका विषयहरूमा अझै पनि एमालेमा मतैक्य हुनसकेको छैन । संसद विघटन गलत भएको र पार्टी सञ्चालन ठीक रूपमा नभएको भन्ने प्रश्न कतिपय प्रतिनिधिहरूले महाधिवेशनमै उठाए । पार्टी विभाजनको यो खालको अवस्था आउनुका कारणहरूबारे विधान महाधिवेशनमा ठोस समीक्षा पनि हुन सकेन । यस आधारमा पार्टी फुटपछि पनि एमालेमा कुनै गुटगत समस्या छैन भन्ने ग्यारेन्टी गर्ने बलियो आधार देखिंदैन ।

आजको एमालेप्रति हिजोको जस्तो जनताको दृढ विश्वास छैन । पार्टीप्रति कार्यकर्ता र आम जनताको अपेक्षा, आकांक्षा र आस्था विस्तारै हराउँदै गएको छ । आम जनता र कार्यकर्ताको मन नराम्रोसँग भाँचिएको छ सँगसँगै भरोसा र विश्वास पनि टुट्दै गएको छ । पार्टी विभाजनबाट आन्तरिक शक्ति क्षीण हुँदा कार्यकर्तामा त्यति उत्साह र सक्रियता देखिंदैन ।

आम जनता र कार्यकर्ताको मन नराम्रोसँग भाँचिएको छ सँगसँगै भरोसा र विश्वास पनि टुट्दै गएको छ । पार्टी विभाजनबाट आन्तरिक शक्ति क्षीण हुँदा कार्यकर्तामा त्यति उत्साह र सक्रियता देखिंदैन । तथापि एमालेले निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएर बहुमत हासिल गर्ने जमर्को गर्दैछ । यो दृढता र आत्मविश्वास एमालेमा कसरी पलाइरहेको छ ? पार्टीले कार्यकर्तालाई फगत सपना बाँड्दैछ वा परिस्थितिको यथार्थ विश्लेषण गर्न सकिरहेको छैन ? विषय विचारणीय छ ।

त्यसो त पार्टी फुटपछि एमालेभित्रको रडाको यतिखेर केही मत्थर भएको छ । आफ्ना कार्यकर्तालाई फकाउन र जनतालाई रिझाउन संगठन निर्माणमा केन्द्रित भएको छ । नेकपाभित्रको चरम अन्तद्र्वन्द्व र राजनीतिक अवरोध अन्त्यका लागि केपी ओलीले गरेको प्रतिनिधिसभाको विघटन र चुनावको घोषणा पूर्णतः गलत नै थियो भन्ने ठोस आधार अहिलेसम्म पुष्टि हुनसकेको छैन ।

विघटनका पटक–पटकका प्रयासलाई सर्वोच्च अदालतले खारेज गरे पनि पुनःस्थापनाको औचित्य पुष्टि गर्न वर्तमान गठबन्धनको देउवा सरकार असफल भइरहेको छ । गठबन्धनको नयाँ सरकार जनसरोकारका विषयमा उत्तरदायीविहीन बन्दै जाँदा जनतामा असन्तुष्टि र निराशा तुलनात्मक रूपमा झन् बढ्दै गएको छ । राजनीतिक गतिरोध निकासको कुनै स्पष्ट मार्ग सरकारले पहिल्याउन नसक्दा नयाँ सरकारप्रति जनताको विश्वास कत्ति पनि देखिंदैन ।

तीन महीना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने वर्तमान लाचार सरकारका शृङ्खलाबद्ध असफलताहरू क्रमशः बाहिरिंदै छन् । दल फुटाउने कुत्सित मनसायले जारी गरिएको अध्यादेशका कारण सरकारको बदनियत छर्लङ्ग पारेको छ । जनजीविकाका तमाम समस्याप्रति सरकारको उदासीनता र प्रम देउवाको लाचारीपनले हद पार गरिसकेको छ ।

सरकारका लोकतन्त्रविरोधी गतिविधिले सर्वोच्च अदालतको पुनस्र्थापनाको मर्म र भावना अनुरूप सरकार चल्न नसकेको स्पष्ट देखिन्छ । पूर्ववर्ती सरकारले थालेका विकास र संरचना निर्माणका काममा वर्तमान सरकारले गरेको रोकावटका कारण गठबन्धन सरकार तुलनात्मक रूपमा विकासविरोधी र जनविरोधी रहेको प्रतीत हुन थालेको छ । सरकार बदनामीको दिशातर्फ अगाडि बढ्दैछ । आम जनतामा वर्तमान सरकारप्रति न कुनै आकांक्षा छ न कुनै विश्वास र भरोसा नै । यसको प्रत्यक्ष फाइदा प्रतिपक्षी दल एमालेलाई पुग्ने नै देखिन्छ ।

शायद यही यथार्थ परिस्थितिलाई बुझेर एमालेले पार्टी विभाजनको क्षति न्यूनीकरण गर्दै अबको चुनावमा बहुमत ल्याउने सपना देखेको छ । पार्टीको विरासत फर्काउन भन्दै विधान महाधिवेशनमा भेला भएका ६ हजारभन्दा बढी नेता–कार्यकर्तालाई उच्च मनोबलसहित चुनावकेन्द्रित हुन प्रेरित गरेको छ।

विभाजनबाट हल्लिएको पार्टीको जग र गठबन्धनबाट घेरिएको एमालेको उक्त सपना कसरी पूरा होला ? फुटको रनाहामा परेको नेतृत्व अब सुध्रिएर पुनः बौरिन्छ वा जनताको नजरमा अझ गिर्दै जान्छ ? एमालेविरोधी गठबन्धनको निरन्तरता, सरकारका कामकारबाही र एमाले पार्टीले अपनाउने सिद्धान्त, रणनीति, व्यवहार तथा आचरणले नै तय गर्नेछन् ।

स्रोत : अनलाईन खबर

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::