भारत लगायतका देशबाट आउने बस्तुमा किन लेखिन्छ ‘वन्ली फर नेपाल’ ?

बिहिबार, भदौ १८, २०७७

भारत लगायतका देशबाट आउने बस्तुमा किन लेखिन्छ ‘वन्ली फर नेपाल’ ?

नेपालमा आउने कतिपय बस्तुमा ‘वन्ली फर नेपाल’ लेखिएको हुन्छ । यसको अर्थ, ती बस्तुहरु नेपालमा मात्रै बिक्रि गर्नका लागि अन्तराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेर पठाउने गर्दछन् ।

‘सबै खालका बस्तुमा यस्तो लेखिन्छ भन्ने होइन, तर कुनै कुनै बहु राष्ट्रिय कम्पनीका उत्पादनमा भने लेखिन्छ’ वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले भने ।

कस्ता बस्तुमा लेखिन्छ ?

वाणिज्य विभागको विशेष स्रोतका अनुसार नेपालले अर्डर गरेका बस्तुमा यस्तो लेखिँदै आईएको छ । विभाग स्रोतले दिएको जानकारी अनुसार विश्वका ठूला देशमा उपभोग्य म्याद ६ महिनाभन्दा कम भएका बस्तुहरुको ओसार पसार गर्न नपाईने नियम छ । तर नेपालमा भने ३ महिना भएपनि हुने भनिएकाले कम समय उपभोगको म्याद भएका बस्तुहरु नेपाल ल्याउन ‘वन्ली फर नेपाल’ अथवा ‘सेल फर नेपाल’ लेखिएको हुन्छ ।

३ महिना मात्रै उपभोग्य म्याद बाँकी भएका बस्तुहरु पनि किनबेच गर्न पाइने भएकाले त्यस्ता बस्तुहरु नेपाल ल्याउँदा नेपालका लागि मात्रै भनेर ल्याउँदा सहजै आयात हुने भएकाले त्यस्तो लेखिने गरेको स्रोतले बताएको छ ।

कस्ता कम्पनीका उत्पादनमा लेखिन्छ ?

विभागको बजार अनुगमन शाखाका अनुसार बहुराष्ट्रिय कम्पनीका उत्पादनमा यस्तो लेखिन्छ। बहुराष्ट्रिय कम्पनीले सम्बन्धित देशको क्रय शक्ति र बजार मागको आधारमा बस्तुको उत्पादन गर्ने भएकाले सोही अनुसार मूल्य तय हुने गर्दछ । मूल्यका आधारमा बस्तुको लेवलमा नै वन्ली फर नेपाल लेखिएको हुन्छ ।

‘मल्टिनेशनल कम्पनीले लेख्ने गरेका छन्, उनीहरुले देशै पिच्छे छुट्टाछुट्टै मूल्यको बस्तु उत्पादन गरेर पठाउँछन्’ स्रोतले भन्यो, ‘कतिपयले कुन देशमा कुन स्वाद बढी रुचाइन्छ, त्यसै अनुसार पनि बस्तु उत्पादन गर्ने गर्दछन् । जस्तो नेपालमा नुनिलो र पिरो बढी खाइन्छ, अरु देशमा यो स्वाद मन नपराउन सक्छन् । त्यसैले स्वादका कारण पनि सम्बन्धित देशमा मात्रै बेच्न पाउने भनेर लेखिँदो रहेछ ।’

किताबमा लेख्ने अभ्यास

विभिन्न क्षेत्रमा बिक्रि हुने किताबहरुमा भने यस्तो लेखिने अभ्यास छ । जस्तो ‘वन्ली फर साउथ एसिया’, ‘वन्ली फर भुटान’, ‘वन्ली फर नेपाल’ लेखेका पुस्तकहरु बजारमा पाइन्छ । यसको भित्रि रहस्य राजनीतिक तथा भौगोलिक प्रभाव पार्न खोजिएको भनेर ब्याख्या हुने गरेपनि भाषाको कारण यस्तो लेखिने गरिएको दाबी पनि गरिन्छ ।

‘लागत कम गरेर कम विकसित मूलुकमा पठाईने बस्तुमा यस्तो लेखिन्छ’ महानिर्देशक सुवेदीले भने, ‘कम विकसित देशमा पठाउने बस्तु कम लागतमा नै उत्पादन गर्ने विश्वव्यापी व्यापारीक रणनीति हो, मानवीय स्वास्थ्यलाई हानी नगर्ने बस्तुमा मात्रै यस्तो लेखिन्छ ।’

‘गुणस्तरमा शंका नगरौँ’

अहिलेसम्म किताबमा मात्रै यस्तो लेखिने भएकाले अन्य उपभोग्य बस्तुमा कम मात्रा लेखिएको भेटिएको वाणिज्य विभागका महानिर्देशक सुवेदीको भनाई छ । खाद्य बस्तुहरुमा कुनै एक देशमा मात्रै बेच्न पाउने भनेर लेखिएको कम मात्रामा हुने उनको दाबी छ ।

पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले पनि बस्तुको गुणस्तरमा कमी नहुने भएकाले लेखेकै आधारमा गुणस्तरमा शंका गर्नु नपर्ने बताएका छन् ।

‘नखाईने बस्तुमा लेखिएको पाइन्छ, यो नौलो होइन’ पूर्वमन्त्री यादवले भने, ‘सरकारी निकायले अनुगमन गर्ने भएकाले खाद्य बस्तुमा यस्तो हुँदैन, अरुमा हुँदा असर गर्दैन । असर गर्छ की भनेर शंका गर्नुपनि पर्दैन ।’

बेटानिया, गुड–डे र हल्देयाम जस्ता कम्पनीका बिस्कुटमा ‘वन्ली फर नेपाल’ लेखिएको पाइन्छ। यति मात्र नभई नेपालमा सबै भन्दा बढी निर्यात गर्ने देशमा पर्ने छिमेकी देश भारतले विश्वका अन्य देशमा पैठारी गर्ने बस्तुमा एक्स्पोर्ट क्यालिटि लेखेको हुन्छ भने नेपाल पठाउने समानमा मात्र फर सेल इन नेपाल ओन्ली लेखिएको हुन्छ।

यति मात्र नभई कतिपय नेपालमा उद्पादन हुने औषधि तथा अन्य बस्तुमा समेत फर सेल इन नेपाल वन्ली लेखिएका हुन्छन। यसलाई अन्य देशमा यहि गुणस्तरको बस्तु बिक्रि गर्न नपाइने भएकाले नेपालमा मात्र लेखिएको भन्ने समेत गरिन्छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::