युएइ की ३३ वर्षीया साराहअल अमिरी, जो पूरै अरब जगतले गौरव गर्ने मुस्लिम महिला बनिन

शुक्रबार, साउन ९, २०७७

युएइ की ३३ वर्षीया साराहअल अमिरी, जो पूरै अरब जगतले गौरव गर्ने मुस्लिम महिला बनिन

संयुक्त अरब इमिरेट्सले विज्ञानको क्षेत्रमा ठूलो फड्को मारेको छ । फड्को पनि सानोतिनो होइन अन्तरिक्षमा मंगल ग्रहसम्मको फड्को । युएइले मंगल ग्रहको लागि आफ्नो अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । पूरै अरब जगतमा पहिलो पटक भएको यो ‘मंगल मिशन’को सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसको नेतृत्व एक महिलाको हातमा छ । महिलाहरुलाई बुर्काभित्र लुकाउने र बाहिरी संसारमा कैयौं प्रतिबन्ध लगाइने मुस्लिम समुदायकी यी ३३ वर्षीया महिला अहिले पूरै अरब जगतको लागि गौरव बनेकी छिन् । यी महिला वैज्ञानिकको नाम हो साराह अल अमिरी । साराहको नेतृत्वमा भइरहेको यो मंगल मिशन सफल भएमा पूरै अरब जगतको लागि ठूलो कोसेढुंगा हुनेछ । यो सफलताको लागि पूरै अरब जगतको आशाको केन्द्र साराह नै हुन् । युएइको यो अन्तरिक्षयानलाई ‘अमल’ नाम दिइएको छ जसको अर्थ ‘आशा’ हुन्छ । युएइको यो ऐतिहासिक अभियानको सुरुवात जापानको तनेगाशिमा अन्तरिक्ष केन्द्रमा भएको थियो । यहाँबाट युएइको अन्तरिक्ष मिशन एच २ ए नामक रकेटको माध्यमले मंगल ग्रहतर्फ पठाइएको हो । यो अन्तरिक्ष यान ५० करोड किलोमिटरको दूरी पार गर्दै २०२१ को फेब्रुअरीसम्म मंगल ग्रहमा पुग्नेछ । त्यहाँ गएर यसले मंगल ग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । यो परियोजनासँगै अरब जगतका महिलाहरुको लागि आदर्श बनेकी साराहले यो मिशनको नेतृत्व गरिरहेकी छिन् । युएइजस्तो देश, जहाँ सामान्यतया महिलाहरुलाई पर्दापछाडि राखिन्छ, त्यहाँ साराहलाई यति महत्वपूर्ण मिशनको जिम्मेवारी दिइनु सबैभन्दा उल्लेखनीय पक्ष हो । साराहलाई अब विश्वले चिनेको छ । साराहले एक अन्तरवार्तामा आफू यो मिशनलाई लिएर आफू ‘नर्भस’ भएको बताएकी थिइन् । यसमा आफूसहितको टिमको ६ वर्षको परिश्रम रहेको बताउँदै उनले यसको सफलतामा आफूहरुको अगाडिको यात्रा तय हुने बताइन् । उनले यो मिशनबाट आफू धेरै आशावादी भएको पनि बताएकी छिन् । साराह यो मिशनमा त्यतिबेला जोडिएकी थिइन् जतिबेला युएइसँग कुनै अन्तरिक्ष एजेन्सी समेत थिएन । २०१४ मा युएइले आफ्नो अन्तरिक्ष कार्यक्रम घोषणा गरेको थियो । साराहका अनुसार यो मिशनलाई सफल बनाउन उनको टिमले दैनिक १२ घण्टासम्म काम गरेका छन् । यस क्रममा धेरै चुनौतीमो सामना पनि गर्नुपर्यो यद्यपि ती चुनौतीले उनको टिमलाई धेरै कुरा सिकाएका छन् । साराहले आफूले यो परियोजनाको नेतृत्व गर्न पाउँदा गौरव लागेको बताइन् । सानैदेखि अन्तरिक्ष विज्ञानमा रुचि राख्ने साराहले अमेरिकी विश्वविद्यालयबाट कम्प्युटर विज्ञान अध्ययन गरेकी छिन् । २०१४ मा युएइले आफ्नो अन्तरिक्ष मिशन घोषणा गरेपछि साराहलाई यसको नेतृत्वको जिम्मेवारी दिइएको थियो । साराहका अनुसार १५० जनाको उनको टिममा महिलाको संख्या अधिक छ । ३३ वर्षकी साराह यो परियोजनामा डेप्युटी प्रोजेक्ट म्यानेजर हुन् । ब्रह्माण्डमा रहेको एन्ड्रोमिडा ग्यालेक्सीको तस्वीर हेर्दै साराहले यसलाई शब्दमा बयान गर्न कठिन भएको तर यसलाई महसुस गर्न सकिने बताइन् । साराहका अनुसार उनी कलेजमा हुँदा मध्य एशियाका विश्वविद्यालयमा उच्च शिक्षाका निकै सीमित अवसर थिए तर अब युएइमा विज्ञान र प्रविधिमा उच्च शिक्षाका नयाँ ढोका खुल्ने उनले आशा व्यक्त गरिन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::