युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम

सोमवार, भदौ १, २०७७

अर्पण तिवारी -स्पेन बार्सिलोना

युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम

‘सभ्य पत्रकारिता’लाई नै चुनौती दिँदैछ ‘युट्यूब पत्रकारिता’

आजभन्दा करिव तीन महिनाअगाडि कोरोना कहरकै बीचमा प्रदेश नं. ३ का जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर नारायण कार्की आफ्नो कर्मचारीसहित अफिसियल कामको लागि कार्यालय पोशाकमै परिचय पत्रसमेत घाँटीमा भिरेर तराइतिरबाट काठमाडौं आइरहेका थिए । काठमाडौं छिर्ने नाका नागढुङ्गामा चेकजाँच गर्ने बहानामा गाडी रोकियो । दुई ब्यक्ति रोकिएको गाडीनजिक आए । गाडीमा सवारी पास टाँसिएको थियो । टाँसिएको उक्त सवारीपास पनि तिनै युट्यूब पत्रकारले ‘कानुनसङ्गत नभएको’ अर्थ्याउन थाले । एउटाले मोबाइल झिकेर कार्कीतिर तेर्सायो र अर्कोले कुनै एक च्यानलबाट लाइभ स्ट्रिमिङ्ग दिन थाले । आफुलाई युट्यूब पत्रकार भनाउने एकले कार्कीलाई गाडीबाट ओर्लन लगाए । पछाडि रहेको झोलाको एक–एक खानतलासी क्यामेराको अगाडि गर्न लगाइयो ।

उक्त ‘महाशय’ले डाक्टर कार्कीको झोला र गाडीको मात्र खानतलासी गरेनन्, उनले त स्वास्थ्य क्षेत्रमा, विशेषतः ल्याब क्षेत्रमैै काम गर्ने एक उच्च तहका जिम्मेवार सरकारी कर्मचारीलाई माक्स कसरी लगाउनु पर्ने, कसरी रोग सर्ने–नसर्ने अर्थ्याउनसम्म भ्याए । युट्यूबर त्यहाँ एक युट्यूब पत्रकारको रूपमा मात्र सीमित रहेनन् । उनी त्यहाँ प्रहरी प्रशासन, स्वास्थ्य विशेषज्ञ, वकिल, न्यायाधीश, गुण्डा, यस्तै–यस्तै मिल्ने जति सबै बने । एक सार्वजनिक ओहोदाको पदभार ग्रहण गरेको व्यक्तिलाई सार्वजानिक ठाँउमा नै यसरी हुर्मत काड्दा कार्कीले ती युट्यूब पत्रकारलाई कहीँ–कतै उजुरी गर्ने स्पष्ट निकाय फेला पारेनन् । स्वास्थ्य क्षेत्रको उच्च तहमा रहेर काम गरिरहेका कार्कीको आत्मसम्मानमाथि आँच आउने खालको यो घटना युट्यूब पत्रकारिता र सामाजिक अभियन्ताको ट्याग भजाउँदै घटाउँदा न त मेनस्ट्रिम मिडियाको समाचारको शीर्षक बन्यो न त कुनै सरकारी निकायको टाउकोदुखाइको विषय नै बन्यो । बन्यो त केवल युट्यूब पत्रकारहरूको कमाइको मागी खाने भाँडो ।

युट्यूब पत्रकार भोजराज थापाले केही दिन अगाडि मात्र ‘खोज पत्रकारिता’को नाउँमा दाङ–देउखुरीको एउटा बलात्कारको घटना उद्धृत गर्दै युट्यूब भिडियो बनाए । १७ वर्षीया पीडित भनिएकी किशोरीलाई अन्तर्वार्तामा ल्याए । उनले स्पष्ट रूपमा ती किशोरीको परिचय लुकाउने गरी यो भिडियो तयार पारेका छौँ भनेर भनेका छन् तर क्यामेराअगाडि नै ती किशोरीलाई अनुहार स्पष्ट नदेखिने गरी, अनुहार वा शरीर मा कुनै नचिनिने इफेक्ट प्रयोग गरेका छैनन् । सो अन्तर्वार्ता प्रसारण भइसकेपछि ती युवतीले सामाजिक जीवन जिउन अब पाउने कि नपाउने ? अन्तर्वार्ता लिने क्रममा नै उनले महिनावारी भएको कति दिन पछि बलात्कार गरेको ? कुन–कुन अङ्ग मैथुन गरेको ? कति घण्टा मैथुन गरेको ? कति जनाले ? कुन–कुन अवस्थामा कसरी के–के गरेको भनेर अति तुच्छ तवरबाट प्रश्नहरू गरेका छन्, जसको केही अंश सार्वजनिक ठाउँमा सुन्न नसकिने खालका छन् । ती अंशहरू कहीँ–कतै सम्पादन नै नगरी जस्ताको तस्तै प्रशारण गरेका छन् । उनले सो भिडियोमा तथ्यलाई अतिरन्जित गरी विषयको गहनतालाई अति छुद्र रूपले प्रस्तुत गरेका छन् ।

  • युट्यूबमा तथ्यहरू बङ्ग्याएर अतिरन्जित गराएर सामाग्री प्रसारण गरिनाले विद्या चापागाईं जस्ता भद्र पत्रकारले बनाएका युट्यूब सामाग्रीहरू ओझेलमा परेका छन् ।

उनले यस भिडियो रिपोर्टमा अपराधी, बलात्कारीहरू समातिएको, कानुनी दायरामा आएको र तिनीहरूले विषेष खालको सजाए भोगिरहेको जस्तो कुनै विषयबस्तु सशक्त रुपमा उठान गरेका छैनन् । यस्ता खालका समाचारले बलात्कारीलाई कठघरामा ल्याई पीडित पक्षलाई न्यान दिन सहयोग गर्न भन्दा पनि कसरी सुरक्षित तवरले बलात्कार गर्न सकिन्छ भन्ने पक्षलाई पक्षपोषण गरेको स्पष्ट बुझ्न सकिन्छ । यस खालको पत्रकारिताले ती युवतीको सामाजिक जीवन त सकियो नै, त्यसका अलवा समाजमा अपराधजन्य घटनाहरूलाई कम गराउने भन्दा पनि पश्रय दिने निश्चितप्रायः देखिन्छ । यस्तै खालका युट्यूब पत्रकारिताको सहायताले समाजमा फैलिँदै जान सक्ने जघन्य अपराधहरूकोे दोषी को हुने ? जवाफदेहिता कोसँग खोज्ने ? यिनलाई नियमन कसले गर्ने ?

त्यस्तै, केही दिनअगाडि मात्र राजु कार्की र पुष्पा अधिकारीकौ विषयलाई लिएर युट्यूबमा अनर्गल प्रचारबाजी भयो । यसै विषयमा विभिन्न सुन्नै नसकिने शब्द प्रयोग गरिएका बाइटहरू जस्ताको तस्तै युट्यूब भिडियोहरूमा प्रसारण गरियो । सोही कारणले अब राजु विकको वैवाहिक अवस्था सम्बन्धविच्छेदको बिन्दुमा पुगेको छ भने बालगृह सञ्चालन गरेर बसेकी पुष्पा अधिकारीको सो बालगृहबाट बालबालिका हटाइएका छन् । युट्यूबमा तथ्यहरू बङ्ग्याएर अतिरन्जित गराएर सामाग्री प्रसारण गरिनाले विद्या चापागाईं जस्ता भद्र पत्रकारले बनाएका युट्यूब सामाग्रीहरू ओझेलमा परेका छन् । कुनै ब्यक्तिले गरेका ९९ असल कामलाई एक गलत कामले ओझेलमा पार्ने हाम्रो समाजमा विद्या चापागाईं जस्ता असल पत्रकारले बनाएका दर्जनौँ राम्रा भिडियोहरू छायामा पर्नु अब नियति नै बनेको छ ।

  • आफ्ना गुनासाहरू सुनिने थलोको रूपमा युट्यूब पत्रकारितालाई लिन थालिएसँगै युट्यूब पत्रकारिता र यसले उठान गर्ने विषयबस्तुप्रति सरोकार पक्ष, सरकार निकै सम्वेदनशील हुन आवश्यक देखिन्छ । अबको आवश्यकता युट्यूब पत्रकारितालाई अंकुश लगाउनु भन्दा पनि यसलाई कसरी सभ्य र भब्य बनाउन सकिन्छ भन्ने मात्र रहन्छ ।

सन् २००५ फेब्रुअरी १४ मा युट्युबलाई पहिलोपटक बनाउँदा युट्यूब बनाउने चार्ड हर्ली, स्टेभ चेन र जावेद करिमले युट्यूबले समाजका यस्तो किसिमको नकारात्मक प्रभाव पार्ला भन्ने कल्पनासम्म गरेका थिएनन् । जसरी २३ अप्रिल २००५ मा जाबेद करिमले कुनै चिडियाखानाको अगाडि गएर हात्तीलाई पृष्ठभूमिमा राख्दै सोबारे बोल्दै गरेको भिडियो ‘मि एट द जु’ नाम दिएर सबैभन्दा पहिलोपटक युट्यूबमा अपलोड गरे जसबाट सधैं यस्तै भद्र खालका भिडियोहरू अपलोड होस् भन्ने आकाङ्क्षा उनले राखे । युट्यूब मुलतः सबैको लागि उनीहरूले चाहेको भिडियो सामाग्री पोष्ट गर्न मिल्ने प्लेटफर्मको रूपमा विकसित गरे । सो समयताका युट्यूबका प्रयोगकर्ताहरूलाई कुनै पनि भिडियो अपलोड गर्न, प्रसारणमा वा हेर्नलाई रोकतोक लगाइएन । तर विस्तारै युट्यूबमा धेरै जसो नकारात्मक सामाग्रीहरू प्रसार हुन थालेपछि सन् २०१० बाट त्यस्ता भिडियो सामाग्रीहरू प्रसारणमा रोक लगाउने वा उमेर–हद राख्ने ब्यवस्था (Age Restriction System) लागु गरियो । यसले मुख्यतः नग्नता, हिंसा, गडबडी इमेजरी, यौन सुझाव, ब्यक्तिगत काटमार वा खतर्नाक विषयबस्तु समेटेको भिडियोहरू युट्यूबमार्फत प्रसारणमा रोक मात्र लगाएन, केही गरी अपलोड भैहाले सो सामाग्री हेर्न पनि उमेर हदबन्दी कायम गरायो । तर, विडम्बनाको कुरा ! युट्यूब भिडियो सामाग्रीहरूले कसैको ब्यक्तिगत वा निजी जीवन, सामाजिक जीवनमा खलल पुऱ्याइ समाजको सामाजिक सरंचना बिगार्ने, शान्ति स्थापना खलल पुऱ्याउने खालका भिडियो सामाग्रीहरूको प्रसारण रोक्नेबारे स्पष्ट सम्बोधन गर्न सकेन, जसको परिणाम नै हाल बढ्दै गएको अस्वस्थ युट्यूब पत्रकारितालाई लिन सकिन्छ ।

युट्यूब विश्वमा अहिले फेसबुकपछि प्रयोग गरिने दोस्रो ठुलो सामाजिक सञ्जाल हो जसको विश्वमा अहिले २ विलियन एक्टिभ प्रयोगकर्ताहरू छन्, ३१ मिलियन एक्टिभ युट्यूब च्यानलहरू छन् । हाल विश्वमा प्रतिमिनट ५०० घण्टाको भिडियो सामाग्री युट्यूबमा अपलोड हुन्छ । हाल विश्वबजारमा गरिने विभिन्न बस्तु तथा सेवाको विज्ञापनहरूमा ७८.८ प्रतिशत विज्ञापन युट्यूबमा गर्न थालिएको छ । विश्वबजारमा यसको महत्व बढ्दै जाँदा नेपालमा पनि महत्व बढ्नु सामान्य नै मानिन्छ । नेपाल टेलिकम्युनिकेशन अथोरिटीलाई आधार मान्दा हाल नेपालमा कुल जनसङ्ख्याको आधी जनसङ्ख्याले स्मार्टफोन प्रयोग गर्छन् । नेपाल टेलिकमको तथ्याङ्कलाई आधार मान्दा कुल जनसङ्ख्याको ६३ प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् । र, इन्टरनेट प्रयोगकर्तामध्ये ५७ प्रतिशतले युट्यूब प्रयोग गर्छन् । सामान्यतया मेन स्ट्रिम मिडियामा जनताका समस्याहरू प्रसारण हुनका लागि लामो प्रयास गर्नुपर्छ र यो निकै झन्झटिलो पनि छ । यसको तुलनामा जनताले आफ्नो प्रतिनिधित्व अहिले मेन स्ट्रिम मिडियाभन्दा पनि युट्यूबहरूमा पाउन थालेका छन् । आफ्ना गुनासाहरू सुनिने थलोको रूपमा युट्यूब पत्रकारितालाई लिन थालिएसँगै युट्यूब पत्रकारिता र यसले उठान गर्ने विषयबस्तुप्रति सरोकार पक्ष, सरकार निकै सम्वेदनशील हुन आवश्यक देखिन्छ । अबको आवश्यकता युट्यूब पत्रकारितालाई अंकुश लगाउनु भन्दा पनि यसलाई कसरी सभ्य र भब्य बनाउन सकिन्छ भन्ने मात्र रहन्छ ।

  • युट्यूब पत्रकारितामा सहयोगको नाममा बढ्न थालेको आर्थिक अपारदर्शीता एक गहन र जटिल विषय बन्दै गएको छ । यसलाई तत्काल रोकिएन वा नियमन गरिएन भने यसले अर्को विकराल रूप लिनेमा कुनै दुविधा राख्नु पर्दैन ।

सामान्यतया मानिसहरू भीडमा दौडिने गर्छन् र लहलहैमा लाग्छन् । नेपालमा गरिवी र बेरोजगारीको दर उच्च रहेकोले पनि यस्तो भीडमा दौडिने जनसङ्ख्या उच्च रहेको छ । अधिकांश युट्यूब पत्रकारहरूले भिडियो सामाग्रीहरू बनाउँदा विषयको सवेदनशीलता, गहनता भन्दा पनि समाचार प्रभावले निम्त्याउने भीडको अध्ययन गरेर भीडलाई आकर्षित गर्ने खालका भिडियो सामाग्री बनाउने परिपाटी विकसित हुँदै गएको छ । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले केही युट्यूबरहरूले आवाजविहीनहरूको आवाज उठाउँदै आएको र सोही निहुँमा नितान्त ब्यक्तिगत कुराहरूलाई अतिरन्जित रूपमा प्रस्तुत गरी पारिवारिक, सामाजिक विखण्डन ल्याउने, सामाजिक सदभाव भड्काउने, तथ्यलाई बङ्ग्याउने र आफूअनुकुल भ्यू बढाउने नाउँमा केन्द्रित रहेर समाचार सम्प्रेषण गर्ने कार्य भइरहेको र यसलाई तत्काल रोकिनुपर्ने बताएका छन् । उनका अनुसार कसैको निजी जीवन छताछुल्ल गराउने अधिकार युट्यूब पत्रकारलाई हुँदैन ।

त्यस्तै, एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले त युट्यूब पत्रकारितालाई खुलेर नै ‘मिडिया’ मान्न नसकिने, मात्र ‘मिडियम’को रूपमा स्वीकार गर्न सकिने राय ब्यक्त गरेका छन् । युट्यूब पत्रकारहरू आफू नै वकिल, प्रहरी, न्यायाधीश बन्दै राज्यमा कानुनी राज्य नै नभएजस्तो व्यवहार युट्यूब पत्रकारहरूले रोक्नुपर्ने श्रेष्ठ बताउँछन् । अरुको इज्जत–प्रतिष्ठालाई ध्वस्त पारेर आफुले जीविकोपार्जन गर्ने साधनको रूपमा हाल युट्यूब पत्रकारिता जान थालेको र त्यस्ता पक्षको नियमन गर्न आफुहरू लागिरहेको उनले बताएका छन् ।

केही समय अगाडि तात्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्यूब पत्रकारहरूलाई नियमन गर्छु भन्दा धेरै नै आलोचना खेपे । अहिले युट्यूब मिडियाहरूमा जे–जस्तो सामाग्री प्रसारण हुन्छ त्यसको पछि लाग्ने प्रचलन बढ्दो छ, जसलाई रोक्न प्रायः असम्भव देखिन्छ । यसका लागि युट्यूब पत्रकारितासम्बन्धी आचारसंहिता, नियमन निकाय वा ‘साइवर ल’भित्र यस विषयलाई समावेश गर्न सकियो भने पनि केही हदसम्म युट्यूब पत्रकारिताले न्याय पाउने देखिन्छ । युट्यूब पत्रकारितामा सहयोगको नाममा बढ्न थालेको आर्थिक अपारदर्शीता एक गहन र जटिल विषय बन्दै गएको छ । यसलाई तत्काल रोकिएन वा नियमन गरिएन भने यसले अर्को विकराल रूप लिनेमा कुनै दुविधा राख्नु पर्दैन । युट्यूब पत्रकारिताले कसैको जीवन तमासाको विषय नबनोस्, कसैको जीवन नबिग्रियोस्, मनोरञ्जन या हाँसो र तमासाको विषय नबनोस् । छिट्टै युट्यूब पत्रकारितालाई नियमन गर्ने निकाय बनोस्, ‘साइबर ल’सँग जोडियोस् अनि सभ्य र भब्य पत्रकारिता बनोस्, शुभकामना ! जय पत्रकारिता !!

स्रोत :घटना र बिचार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::