रत्नपार्क: एक अनौठो प्रेमकथा

सोमवार, बैशाख २९, २०७७

राघबेन्द्र मिश्र

रत्नपार्क: एक अनौठो प्रेमकथा

“दुई हजार दिन्छु, जाने हो ?” करिब पैँतालिस वर्षको दाह्रीवाला व्यक्तिले सोध्यो ।

“प्याक छ, जान्न।” उनले झर्केर भनिन्।

उनको स्वरले मेरो ध्यान तान्यो। साह्रै मीठो स्वर थियो त्यो। मेरा पाइलाहरू उनी भएको दिशामा बढ्न थाले। नजिकबाट उनाइ हेरे। असाध्यै राम्री थिइन् उनी, बिलकुलै परी जस्ती। धानको बोटजस्तो सुनौलो रङ्गको पातलो शरीर, पातला र लामा-लामा हात खुट्टा र औलाहरू, तिखो गहिरो आँखा र गाढा गुलाबी ओठ। धेरै “मेकअप” पनि गरेकी थिइनन्।

यति आकर्षक शरीर देखेर तत्कालीन अवस्थामा यौनाङ्गबाट परिचालित मेरो मनले आफूलाई थाम्न सकेन। “जाने हो ? तीन हजार दिन्छु रातभरिलाई”

उनले माथिदेखि तलसम्म मलाइ नियालिन् । हेराइ यस्तो थियो जस्तो कि आफ्नो लागि ग्राहक होइन श्रीमान् रोजिरहेकी छे।

“रक्सी चुरोट खानुहुन्छ ?” झर्केकै स्वरमा प्रतिप्रश्न गरिन्। तर स्वरको मिठास सिधा मुटुको कुनासम्म पुग्यो।

“आजसम्म खाएको छैन। ओठ रातै भएको देखिनौ ?” मैले भने।

“मुख मात्रै चल्छ कि अरुकेही पनि चल्छ?” फेरि प्रश्न गरिन् ।

” भोलिदेखि आफै फोन गरेर बोलाउनेछौ।” हिन्दी फिल्मको हिरोको स्टाइलमा मैले जवाफ दिए।

“चार हजार लिन्छु। ठाउँ मेरो। पुलिसको झन्झट हुँदैन।” उनले भनिन्।

सायद उनले आफूलाई कहिल्यै ऐनामा हेरेको थिइनन्। उनीजस्तो रूपकी मालिक्नीले एक रातको लाखौँ लिन्छिन्। आफू फाइदामा रहेको महसुस गरेलगतै मैले “डिल” पक्का गरिहाले।

“यही पर्खिनुस्। म “स्कुटि” लिएर आउँछु।” भनेर उनी हिडिहालीन्।

उनी धनी बुबाको बिग्रेको छोरी रहेको ठम्याउन मैले धेरै समय खर्चिनु परेन। र आज आफ्नो पुरुषत्व प्रस्तुत गरेर भोलिदेखि आफ्नो र उनको यौन प्यास मेटाउन पैसा खर्च गर्न नपर्ने योजना बनाउन पनि धेरै समय लागेन। दैनिक दुई घण्टा “जिम हल”मा बिताउने मलाइ आफूले बनाएको योजना सफल हुने कुरामा पूरा विश्वास थियो। स्कुटिको “हर्न”ले मेरो कल्पना भङ्ग गर्‍यो।

“बस्नुस्।”

“कतै मेडिकल नजिक रोक्नु। छाता किन्नु छ।”

“छाता-साता चहिदैन। मज्जा आउँदैन।”

उनको यो जवाफले उनको बारेमा मेरो पुर्वधारणालाई झन् बलियो बनायो। म चुपचाप उसको स्कुटिको पछाडिको सिटमा बसिहाले।

स्कुटीका पाङ्ग्राहरू घुम्न थाले। करिब आधा घण्टाको यात्रापछि कुनै एकान्त ठाउँमा रहेको सानो घरको मुलढोकामा स्कुटी रोकियो। कुन ठाउँ हो भनेर मैले चिन्न सकिन। हामी मुलढोका हुँदै त्यो चारकोठे घरको पहिलो कोठामा प्रवेश गर्‍यौ। सानो तर चिटिक्क परेको कोठा थियो त्यो। एउटा कुनामा राखिएको दराजमा दर्जनौँ किताबहरू सजाएर राखिएका थिए।

म कोठाको एक छेउमा राखिएको सोफामा बसे। उनले दराजबाट केही कुरा झिकिन्। मुस्कुराउँदै नजिक आइन्, हात समाइन र औलामा केही कुराले च्वस्स घोचिन। औलामा निस्केको रगतलाई एउटा पातलो सिसाको छडिले टिपेर लगिन। एक छिन पछि फेरि मुस्कुराउँदै फर्किन्।

“एच आइ भि जाँचेको। नेगेटिभ छ।”

“एच आइ भि त तिमीलाई पनि त हुनसक्छ नि।”

उनले मेरो अगाडि आफ्नो रगत जाँचेर नतिजा मलाइ देखाइन्।

म समय खेर फाल्ने पक्षमा बिलकुलै थिइन। मैले उनको हात समाएर उसलाई आफूतर्फ ताने । उनले पनि आँखा चिम्लेर आत्मसमर्पण गरिन्। उनको काँप्दै गरेको ओठलाई चुम्दै सुरु भएको त्यो नगदी प्रेम उनको शरीरको हरेक अङ्ग सुम्सुम्याउदै बेजोड हलचलपछी उत्कर्षमा पुगेर शिथिल भयो। *** एक महिनापछि एउटा नयाँ नम्बरले मेरो मोबाइलको “रिङ्गटोन” बजायो।

“हेलो”

“हेलो। चिन्नुभयो ?”

त्यो मधुर स्वर उनैको हो भनी ठम्याउन मलाइ गाह्रो भएन।

“कसरी बिर्सिनु ? तपाईँसङ चार हजार रुपैयाँ फिर्ता लिन बाकी नै छ।”

“आज भेटौँ न त।” हाँस्दै भनिन्।

“हुन्छ।”

“बेलुका आठ बजे तयार भएर बस्नुहोला। म रत्नपार्क त्यही ठाउँमा तपाईँलाई लिन आउँछु।” भन्दै सम्पर्कबिहिन् भई।

पहिलो भेटको करिब एक महिनापछिको यो दोस्रो भेटमा पनि पहिलो भेटका सम्पूर्ण घटनाहरू हुबहु दोहोरिए। थकित शरीरमा शक्ति फिर्ता आएपछि मैले उनलाई सोधे।

“तिमी तेस्रो किसिमकी हौ ?”

“बुझिन।”

“केही दिन अगाडि मैले एउटा लेख पढेको थिए। नेपालमा तीन किसिमका देहव्यापारीहरु छन् रे ! बाध्यताले देहव्यापार गर्ने, पैसाको लागि देहव्यापार गर्ने र तेस्रो ठुलो कुलको महिलाहरूले यौन सन्तुष्टिको लागि पनि देहव्यापार गर्छन् अरे ! तिमी तेस्रो किसिमकी हौ, होइन ?” मैले व्याख्या गरे।

“के देहव्यापार गलत हो ?” उनले प्रश्न गरिन्।

“पैसाको लागि आफ्नो शरीर बेच्नु गलत हो।” मैले जवाफ फर्काए।

“यदि देहव्यापार गलत हो भने शरीर बेच्ने र किन्ने दुवै गलत हुन् । म पनि गलत हु र तपाईँ पनि।”

मैले हारेको महसुस गरे । उनी मतिर हेरिरहिन् । “कफी खानुहुन्छ ?” मैले समर्थन गरे ।

दस मिनेट पछि मेरो अगाडि कफीको कप थियो । हामीले कफीको पहिलो चुस्की लियौ।

“कफी मीठो छ” मैले तारिफ गर्दै थपे “र तिमी पनि।”

सोफामा बसेकी उनको नजर कोठाको छतमा अडिएको र अनुहार शून्य थियो। कतै गहिराइमा डुबेकी थिइन् उनी। उनीमाथि मेरो तारिफको केही पनि असर भएन। “यौन महिलाको आवश्यकता हो, अशक्तता होइन।”

मेरो नजर प्रश्न वाचक भावमा उनितिर तेर्सियो।

उनी थप्दै गइन् “म एक शिक्षिका हु। एक विवाहित शिक्षिका ।”

एक छिन रोकिएर उनले भनिन् “मेरो श्रीमान् समलिङ्गी हुनुहुन्छ। मेरो कुमारीत्व भङ्ग गर्ने पुरुष तपाईँ हुनुहुन्छ ।”

अझै पनि मैले उनको परिस्थितिलाई खासै महत्त्व दिएको थिइन । म त कसैको कुमरित्व भङ्ग गरेकोमा आफूलाई गौरवान्वित महसुस गर्न थाले। तर रात र कफी दुवै बाकी थिए। समय खर्चिन मैले हाँस्दै लापरवाह प्रतिक्रिया दिइहाले “त्यसो भए उ तपाइको श्रीमान् नै भएन नि।”

“उ मेरो श्रीमान् हो वा होइन भन्ने निर्णयको अधिकार मलाइ मात्रै छ सर । यसलाई पनि नखोस्दिनुस्। श्रीमान् हुनु एक भूमिका हो जुन उसले उत्कृष्ट तवरले निर्वाह गरिरहेको छ। एक पुरुषभन्दा पनि राम्ररी।”

“विवाहको पहिलो रात उसले मलाइ सबै थोक भनेको थियो। छोडेर जान सल्लाह पनि दियो। आफ्नो वास्तविकता समाजलाई भन्न सक्ने साहस थिएन उसमा। तर मलाइ धोका दिन चाहेन। मैले छोडेर गए पछि समाजले गर्ने प्रश्नहरूको सामना कसरी गर्थ्यो उसैले जानोस्। उसलाई अपनाउने वा त्याग्ने निर्णय लिन त्यति सजिलो थिएन। कैयौँ दिन “माथापिच्ची” गर्नुपर्‍यो, कैयौँ रात जागेरै बिताउनुपर्‍यो। यौनको लागि उसलाई छोडेर म पनि उ विरुद्ध उभिएको समाजमा मिसिनु कि उसको वास्तविकता लुकाउन सहयोग गरेर कम्तीमा एक जना समलिङ्गीलाई सहज जीवन बिताउन सहयोग गर्नु ! यौन महिलाको आवश्यकता हो, अशक्तता होइन सर। मैले साथ दिने निर्णय गरे।” “त्यसो भए म सङ्ग बिताएका रातहरू..”

मेरो प्रश्न पूरा नहुँदै उनले जवाफ फर्काइहालिन् “उत्तर पाउनुहुनेछ सर। धैर्य गर्नुस्।”

कफी र समय दुवै सकियो। म फेरि उनको स्कुटरको पछाडिको सिटमा थिए। रत्नपार्क पुगेर म ओर्ले। छुट्टिनु अगाडि उनले मेरो नाम सोधिन् र भनिन् “सायद यो हाम्रो अन्तिम भेट हो सर।”

स्कुटी हुइँकियो। उनी हराइन्। तर मलाइ अझै पनि अफसोस थिएन। गोजीमा दाम भए सुन्दरी त जस्तो नि आउँछन्।

करिब दस महिना पुग्नै लाग्दा मेरो फेसबुकमा फोटोसहितको एउटा मेसेज आयो, जसले मेरो लागि प्रेमको परिभाषा नै परिवर्तन गरिदियो। हो, त्यो उनैको मेसेज थियो। “सङैको फोटो तपाईँको र मेरो सन्तानको हो। तपाईँसङ बिताएका रातहरू उसकै लागि थियो। तपाइले दिएको चार हजारले उसलाई हरेक धर्मको धर्मग्रन्थ किनिदिनेछु, पढाउनेछु र सही अर्थ बुझाउनेछु । उसलाई मानिसबिचको विविधता स्विकार्न सिकाउनेछु। हरेक मानिसलाई समान व्यवहार गर्ने बनाउनेछु। जसले गर्दा उसको समाजमा कसैले पनि आफ्नो वास्तविकता लुकाउनु नपरोस्।”

मैले उनलाई ‘रिप्लाई’ गर्न नपाउँदै उनले मलाइ ‘ब्लक’ गरिसकेकी थिइन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::